नेपाली नाट्य क्षेत्रमा डेढ दशकदेखि निरन्तर लागीरहेकी कलाकार पशुपती राई आफ्नो पुस्तामा चर्चीत र गम्भीर कलाकारको रुपमा चिनिन्छीन ।उनले निर्देशन गरेका नाटकहरु मध्ये चर्चीत नाटक हेच्छाकुप्पा र धोचोलेचा हुन् । थोरै कलाकार मध्ये अभिनयमा जीवन्तता ल्याउन सक्ने औलामा गन्न सकिने र आम स्रोताहरुले त्यतिकै मन पराएका कलाकार मध्ये एक हुन ऊनी । प्रस्तुत छ कलाकार पशुपति राईसंगको कुराकानी ।

०कोरोना कहरले यतिबेला नाट्यक्षेत्र एक किसिमले थलिएको अवस्थामा छ, यस्तो परिस्थितिमा कसरी आफ्नो समयको सदुपयोग गरिरहनुभएको छ ?

कोरोना कहरको बेला धेरै जसो फिल्म हेरेर बित्यो, सिरिजहरू हेरेँ । किताबहरू पढ्ने, नाटक विषयका अनलाइन कक्षाहरू लिने, साथै कथाहरू लेखनको प्रयास गरेँ । यो समयको सदुपयोग गरी आफ्नो स्वास्थ्यको लागि शारीरिक व्यायाम दैनिक गरेँ, वजन घटाइयो ।

० तपाईंको नाट्ययात्राको सुरुवात कसरी भयो ?

मेरो नाट्य यात्रा मेरो घर धरानबाट सुरु भएको हो । म पहिला नृत्य गर्थें । धरानमा त्यो बेला ‘अनाम नाट्य जमात’ भन्ने पुरानो प्रसिद्ध समूह थियो । त्यस संस्थामा म आबद्ध भएपछि मेरो नाटक यात्रा सुरु भएको हो । त्यही संस्था मार्फत मैले काठमाडौंको गुरुकुलमा छात्रवृत्ति पाएपछि नाटक सम्बन्धी पढाइ सुरु भयो । यसरी मेरो नाटक यात्रा सुरु भयो ।

० नाट्य–क्षेत्रमा महिला र त्यसमाथि जनजाति महिला कलाकारहरूको अवस्था र चुनौती के–कस्ता छन् ?

नाट्य क्षेत्रमा मात्र नभएर सबै क्षेत्रमा महिलाको उपस्थितिले नै बुझाउँछ, कति चुनौती छ भन्ने कुरा, झन नाटकलाई मनोरञ्जनको रूपमा मात्र हेरिने समाजमा थुप्रै चुनौतीहरू छन्, पहिलो त उसको चरित्रसँग जोडेर हेरिन्छ । नाटक गर्ने त हुन्न भन्ने किसिमले सजिलो कामको हिसाबले हेरिन्छ । झन् आदिवासी जनजाति महिलाको कुरामा एकै किसिमको चरित्रहरू गर्नुपर्ने स्थिति छ , जहाँ नि जनजाति महिला पात्रलाई आफ्नो खराब श्रीमानलाई कुटपिट गरेको , अलिक चर्को स्वरमा बोलेको देखाइन्छ । यस्तो किसिमको पात्रको रुपमा मात्र हेरिएको अवस्था र यस्तो हेराइलाइ बदल्नु नै हाम्रो चुनौती रहेको छ।

० तपाईंले नाट्यक्षेत्रमा धेरै त जनजाति महिला पात्रहरूको भूमिकामा अभिनय गर्नुभएको छ । भूगोलमै गएर हेर्दाचाहिँ समग्र जनजाति महिलाहरूको अवस्था कस्तो पाउनुभयो ?

समग्रमा भन्नु पर्दा चाहिँ हामी जनजाति महिलाहरू केही हदसम्म अरु महिलाहरू भन्दा स्वतन्त्र पाउँछु तर पनि हामीमा समाज अध्ययनको कमी देख्छु, जसको कारण हामी जति समाजमा अघि हुनुपर्ने हो, त्यति देख्दिनँ । हामी बढी आफूले गर्न मन लाग्ने कुरामा मात्र ध्यान दियौँ कि जस्तो लाग्छ । अनि हामीलाई यो राज्यले हेर्ने दृष्टिकोण नै फरक बनायो— सोझो, बुद्दु, रिसाहा केही नजान्ने खालको चरीत्रको रूपमा हामीलाई चित्रण गरिएको स्थितिले हाम्रो अवस्थालाई देखाउँछ । मैले गरेको धेरै नाटक, चलचित्रमा जनजाति महिलाको चरित्र त्यो भन्दा माथि उठेर देख्ने प्रयास, कथा भन्ने आँट कसैले गरेको छैन जस्तो लाग्छ ।

० नाटक र चलचित्र मार्फत् आदिवासी जनजाति महिलाका मुद्दा कसरी समेट्न सकिएला ?

नाटक, चलचित्र भनेको कलाको एकदमै प्रभावशाली माध्यम हो, जसले चाँडै र धेरै रूपमा प्रभाव पार्छ । हाम्रो समाजको कथा भन्ने माध्यम भएकोले आदिवासी जनजाति महिलाको कथासँगै हामीले हाम्रा मुद्दा समेट्न सक्छौँ । हामीले हाम्रो कथा मार्फत चरित्रका अनेकौं पाटा प्रदर्शन गर्न सक्छौँ ।

० एक कलाकर्मीको नजरबाट यो राज्य र समाजलाई कसरी हेरिरहनु भएको छ ?

राज्यले कलाकार र कलालाई मनोरञ्जनको रुपले भन्दा बढी अरु आँखाले हेरेको पाइँदैन, अझैपनि । यो दुख
लाग्दो कुरा हो । अहिलेको समाजमा परिवर्तन आइरहेको छ तर राज्यको उपस्थिति अरु क्षेत्रमा होला तर कला क्षेत्रमा नगन्य या शून्य प्रायः नै देख्छु ।

० कलाकारहरू पनि ‘मी टू’बाट अप्रभावित भएनन् । महिलाहरूमाथि सामाजिक अन्याय र हिंसा बढ्दै गइरहेको छ । सामाजिक न्यायको सवालमा कलाकर्मीको भूमिका के–कस्तो हुन सक्छ ?

जहाँ महिला पुरुष काम गर्छन्, त्यहाँ निश्चित रुपमा केही न केही हिंसाहरू हुन्छन्, यसको मतलब शारीरिक हिंसा हुन्छ नै भन्ने होइन, त्यसको थुप्रै प्रकारहरू छन् । कलाकारहरू पनि त महिला पनि छन्, पुरुष पनि । अनि यहाँ चैँ हुँदैन भन्न सकिन्छ र ? पुरुष भन्दा नि यहाँ सोचाइको कुरा आउँछ । महिलालाई हेर्ने तरिका उसको गलत छ भने त जहाँ भए नि त्यो मान्छेले प्रभावित पार्छ । त्यस किसिमका मान्छेहरू जहाँ पनि पाइन्छ, त्यसमा कलाकार पनि मान्छे नै हो । कलाकारहरू समाजको अरु भन्दा चेतनशील, संवेदनशील, अध्ययनशील हुन्छन भन्ने मान्यता छ, त्यही कारणले हामीले भन्ने कथामा समाज आउनु पर्छ, जहाँ समाजले आफूलाई हेर्न सकोस्, सिक्न सकोस्, सायद हामी कलाकर्मीले गर्न सक्ने भनेको नै समाज देखाइदिने काम हो ।

० अन्तर्राष्ट्रिय नाट्य परिदृश्यको तुलनामा नेपाली नाट्यक्षेत्र यति बेला कहाँ उभिरहेको पाउनुहुन्छ ?

नेपाली नाटक अन्तर्राष्ट्रिय परिदृश्यमा राम्रो ठाउँमा उभिएको पाउँछु । हामी आफ्नो तरिकाले काम गरेर यहाँसम्म आएका छौं । तर जुन किसिमले हामीले हाम्रो शैलीलाई विकास गर्नुपर्ने हो,आफ्ना कथाहरू भन्नू पर्ने हो , त्यसो गर्न सकिरहेको छैनौ । तर विभिन्न किसिमका नाटकहरू गर्ने र अन्तर्राष्ट्रिय महोत्सवमा हाम्रो सहभागिता भैरहेको देख्दा नाट्य क्षेत्र राम्रो देख्छु ।

० कोरोना कहरपछि अब नाट्यक्षेत्रको यात्रा कतातिर मोडिएला ?

यसै भन्न सकिने अवस्था छैन । तर बिस्तारै कामहरू सुरु हुनुपर्छ, सुरक्षा अपनाएर । सबै खुलिसकेको अवस्थामा पनि नाटक घरहरू खुल्न सकेको छैनन।

० तपाईं नाटकसँगै चलचित्रमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ ? यी दुईमध्ये कुन माध्यमसँग तपाईंको आत्मियता बढी छ ?

मैले धेरै चलचित्र गरेको छैन, धेरै समय नाटकमा बिताएको हुनाले यो क्षेत्र मलाई सधैँ प्रिय, आत्मिय लाग्छ । तर चलचित्रको काम पनि फरक माध्यम भएकोले ठिक लागिरहेको छ । एउटा कलाकारलाई राम्रो चरित्र गर्न पाइयोस भन्ने लोभ सधैं हुन्छ, चाहे त्यो नाटकमा होस वा चलचित्रमा ।

० तपाईंलाई मन परेका नाटक र चलचित्र कुन–कुन हुन् र ती किन मन परे ?

मलाई मन पर्ने नाटकहरू थुप्रै छन्— पुतलीको घर, इडिपश, सुनकेसरी, खरिको घेरो, जात सोध्नु जोगीको । यस खाले नाटकहरू धेरै जसो कथाको कारणले, प्रस्तुतिले, सामाजिक मुद्दा, जसले बहस सृजना गरेको छ । चलचित्रमा नि थुप्रै छन्— मसान, कालोपोथी, सेतो सूर्य, फरेस्ट गम्प, फ्लाइङ ड्रागन, रोड होम, लास्ट ओटम…।

० अबको तपाईंको नयाँ योजना के छ ?

अहिले फिल्म कलेजमा पढाउन सुरु गरेको छु । अब केही स्कुलहरूमा नि अभिनयको कक्षा दिदैछु । अब एउटा नाटकको तयारी गर्दैछु, एउटा फिल्मको पनि तयारी गरिरा’को छु । नयाँ योजनामाथि लेख्ने विचार गर्दै छु, केही राम्रा फिल्म छन, गर्ने छु ।

० करियरको रुपमा कलाकारिता रोज्न चाहने भाइबहिनीहरूलाई तपाईं के–कस्ता सुझावहरू दिन चाहनुहुन्छ ?

नयाँहरूलाई स्वागत गर्छु । तपाईहरू यो क्षेत्रमा आउँदा धेरै धैर्य लिएर आउनुस्, नआतिनुस् भन्छु । जुनै पनि कामले निरन्तरता खोज्छ । यहाँ त झन् चाहिन्छ । सिकेर आउनुस्, सिक्न जहिले उत्सुक हुनु होस् ! सबभन्दा जरुरी कुरा, तपाईंले आफूले गर्ने काममा विश्वास गर्नुस् ।

तपाईको प्रतिक्रिया