जन्म मिति- २०३८/४/८मा भोजपुरमा जन्मीएकी लेखक कविता राई नेपाली साहित्यको एक प्रभावशाली लेखक हुनुहुन्छ । जसका लेखनीले पहिचानको मुद्वालाई आफ्नो लेखनको माध्यमबाट नेपााली साहित्यको केन्द्रमा स्थापित गर्न भुमिका खेल्दै आएको छ । उहाँको हालसम्म कविता कृति – आमा र जून र बालकथा कृति – खरानीको बादल अनि उपन्यास – गुरु प्रकाशित छ ।
कविता महोत्सव प्रथम २०७८, पहिचान पुरस्कार – २०७९, भोजपुर प्रतिभा पुरस्कार बेलायत २०७८, दैवज्ञराज न्यौपाने स्मृति पुरस्कार २०७५, प्रदेश प्रतिभा पुरस्कार प्रदेश सरकार २०७८, धनमाया लामिछाने स्मृति पुरस्कार धनकुटा लगायतका सम्मान र पुरस्कारबाट सम्मानित हुनुहुन्छ । प्रस्तुत छ साताको तीन कविता ।
राजाको नाम
उसले पोहोर साल लोकसेवा फेल गर्यो
राजाको नाम भन्नु नजानेर
राजाहरू इतिहास भइसके
ऊ लोकसेवा फेल भयो
इतिहास नजानेर
खोरिया फाँडेर घैया छरेको साल
उसको बाजेले बनाएको हो
उसको घुमाउने घर
गुमनाम सिकर्मीले खोपेको हो
आँखिझ्यालका बुट्टाहरू
मुसाले दुलो पारेपछि
ढलेको हो उसको बाबुको खेतको पर्खाल
जानेन उसले
ताजमहल कसले बनायो ?
बर्लिनको पर्खाल कसरी ढल्यो ?
त्यसैले ऊ लोकसेवा फेल भयो
तान, ढिकी जाँतो, कोल
हलो, जुवा र कोदालो
असँख्य आविष्कार छोडेर गए पुर्खाले
आँशु, पसिना र पाखुरीको भरमा
माटोको कथा रचेर गए
तिनै पुर्खाले भरेको
जीवन सङ्गीतको लय समाति आएको
ऊ,
लोकसेवा फेल भयो
दर्शन, ज्ञान, विज्ञान नजानेर
राजाको नाम भन्न नजानेर ।
नागबेली खोला,
दहका समाजबादी माछा,
जङ्गलका रुखको समता,
वनका चराको सङ्गीत,
भारि बोकेर चढ्नु पर्ने रुप्सेभिरको उचाइ
ढीँडो पकाउँदा मिलाउनुपर्ने
पानी र पिठोको सुत्र
कोदो र मर्चा मिलाउनुपर्ने
जाँडको बिज्ञान
ढिकी जाँतोको प्रविधि
आकासमा उडेका कर्याङकुरुङ् हेरर
बदलिने ऋतुको ज्ञान
कटुस फुलेको देखेर थाहा पाउने
सहको अनुमान
यी सब-सब जानेर पनि
किताब कण्ठ गर्न नजानेर
ऊ लोक सेवा फेल भयो
राजाको नाम भन्न नजानेर
ऊ लोक सेवा फेल भयो ।
पोहोर साल,
हातमा सर्टिफिकेट बोकेर
अन्तिमपटक अन्तरवार्ता दिएपछि
आशाको डोरी पनि
अन्तिमपटक नै चुँडिएको हो
उसको बाबुले बुनेको दाम्लोजस्तै
बटारिएको हो उसको बाटो
बोजुको चर्खा जस्तै जिन्दगीमा
कस्तो भुवा जस्तै मन बोकेर
सपनाहरू टिप्न
अरब पुगेको हो ऊ
सपनाहरू धेरै छैनन्
सन्तोकले दुई छाक खाने रहर छ
साहुकोमा बन्दकी राखेको
टारी खेत आफ्नो बनाउनु छ,
गोठमा हल गोरु
र
आमाबाबुको ओठमा मुस्कान
केटाकेटीका आङ्मा नफाटेका लुगा
यस्तै यस्तै रहर छ,
तर,
उसका सपनाहरू
अक्करमा फुलेका फूल जस्तै छन्
रातको जून तारा जस्तै छन्,
मरुभूमिमा पसिना बगाउन
ऊ राजी भएकै हो,
जीउज्यान अरबको मर्जीमा छोडेकै हो
काम गर्न नसकेर पहिलो कोर्रा खाएको दिन
उसले झल्याँस्स सम्झियो
राजाको नाम अरबब हो
आँखा जुधाएर हेर्न नसकिने
ऐय्या !,भन्न नसकिने
नाइ ! भन्न नमिल्ने
हस्… भन्नु पर्ने
अरब !, राजा जस्तै हुन्छ
रेगिस्तान छिरेपछि बल्ल थाह भयो उसलाई
राजा !, अरब जस्तै हुन्छ ।
चराको देश हुदैन
मलाई चरा मन पर्छ
किन कि चराको देश हुदैन
ऊ धर्तीको हुन्छ
ऊ आकाशको हुन्छ
त्यसैले मलाई चरा मन पर्छ
तर हाम्रो देश हुन्छ
देशको भूगोल हुन्छ
हामी पनि चरा जस्तै उड्यौँ
पँखेटा फिजायौँ र वेग मार्यौँ
कहिले टिस्टा पुग्यौँ
कहिले सतलज पुग्यौँ
जहाँ पुग्यौँ त्यहीको भयौँ
हामीलाई छोडेर उडे केही
ती कहिल्यै फर्किएनन्
फर्किए तर आफ्ना भएर आएनन्
उडी जानेहरूसँगै
कोरलेर बच्चाहरू
जङगल छोडीजाने निष्ठूर माउचरी जसरी
बनाएर दलिनमा गुँड
भीरमै फर्कीजाने गौँथली जसरी
फर्किगयो देश पनि
तर हामी उही छौँ
जहाँ टेकेका थिए पुर्खाले वीरशाली पाइला
दिग्विजयको अभियानमा
बसाएका थिए सभ्यताको बस्ती
त्यही माटोको भएर
सम्हाली रहेछौँ आफ्नो विरासत
हामीले देश छोडेको होइन
देशले हामीलाई छोडेको हो
जति चौडा बनाए पनि छाति
साँघुरिदै साँघुरिदै जाने त देशको नक्सा हो
टिष्टामा बगेको आशु सतलजमा बगेको रगत
सम्झिएर नरुने मन
देशको हो हाम्रो होइन
जसरी सक्दैन
बगेको खोलालाई तरबारले टुक्र्याउन
उडेको हावालाई हत्केलाले छेकेर कैद गर्न
त्यसै गरी सक्दैन
युद्धका विभिषिकामा कोरिएका
भूगोलका रेखाहरूले हामीलाई अलग्याउन
किञ्चित पनि सक्दैन
सपाट हृदयको पत्रपत्र कोरिएका
भावनाको मसी एउटै हो
राष्ट्रियताको कुनै सिमाना हुँदैन
त्यसैले मलाई चरा मन पर्छ
चरा कहिल साइबेरियाको हुन्छ
चरा कहिले भारतको हुन्छ
चरा कहिले अफ्रिकाका हुन्छन्
चरा कहिले नेपालको हुन्छ
ऊ धरतीको हुन्छ
ऊ आकाशको हुन्छ
त्यसैले मलाई चरा मन पर्छ
किन कि चराको कुनै देश हुँदैन ।
फूलको प्रेम
ईश्वर आउन्
र,
ती फूलहरू सुम्सुम्याउन्
जुन तिमीले
मेरो नाममा रोपेका हौ ।
मेरो शरीरमाथि नपरुन् ती
मेरो शीरमा परुन् ती
घाम-पानी आओस्
र,
लेखोस् एउटा इन्द्रेणी
क्यामेरा खोलोस् फोटोग्राफर
केटाकेटी उफ्रिउन् आगनमा
चराले मधुर गीत गुञ्जाओस्
हावा सुस्तरी चलोस्
त्यही इन्द्रेणी जस्तै छ
एउटा फूलको प्रेम,
अन्त्य छैन र छैन अस्तित्व ।





