नेपाली महिला आन्दोलनको एक अग्रणी व्यक्तित्व , जिउदो सहिद सुशीला श्रेष्ठ हाल जनता समाजवादी पार्टी ( जसपा )को तर्फबाट प्रतिनिधि सभा सदस्य (समानुपातिक तर्फ) हुनुहुन्छ । महिला सुरक्षा दबाब समूह नेपालको संस्थापक तथा हाल केन्द्रीय सदस्य समेत रहेकी श्रेष्ठ लैङ्गिक समावेशीकरण र महिला अधिकारको क्षेत्रमा उहाँको नाम अग्रणी स्थानमा आउँछ । प्रस्तुत छ यसै बिषयमा केन्द्रीत रहेर गरिएको पाँच प्रश्न ।
तपाईलाई जिउँदो सहिद भनेर पनि चिनिन्छ । तपाईको राजनीतिक यात्रा कसरी सुरु भयो, महिलालाई राजनीति गर्न कति सहज छ ?
त्यो घटना २०३६ साल चैत्र २७ गतेको हो । विहान इलामको इभाङ्गबाट रत्न कुमार बान्तावासँग पार्टीले मलाई तोकि दिएको कार्यथलो ताप्लेजुङ्ग जाँदै थियौं । रत्न कुमार वान्तावा, म र राममाया राई तीन जना लहरै जोशिलो कुराकानी गर्दै ओरालो झर्दै थियौं । इलामको इभाङको जंगलको मुखमा प्रहरीहरुसँग जम्काभेट भयो । एक जना मानिसले रत्नलाई चिनायो । हामी तुरुन्तै घेराउमा पर्यौ । लाठ्ठी चार्ज भयो । सिट्टी बज्यो । अचानक अन्धाधुन्ध गोली चल्यो । शान्त जंगल रणभुमी बन्यो । एउटा गोली रत्न कुमार बान्तवाको छातीमा लाग्यो । रत्न कुमार वान्तावाको घटना स्थलमा नै मृत्यु भयो । मेरो टाउकोमा लागेको लाठी प्रहारको चोटले म भुईमा पछारिएर मुर्छा परें । त्यो बेला मलाई हानेको गोली मेरो पछाडी उभिई रहेको पुलिसलाई लाग्यो । त्यसैले उक्त गोली नलागेकोले म मृत्युको मुखबाट बच्न सफल भएँ ।
दोश्रो, मलाई इभाङको उक्त घटनाबाट फक्रिएर रत्नको शवलाई अगाडी अगाडी मलाई पछाडी पछाडी पाता फर्काएर लग्यो । धुसुने भन्ने ठाउँमा पुगेपछि रत्नको शवलाई बाटोको चौतारामा राखे । मलाई वडा अध्यक्षको घरमा लगे । प्रहरीहरू खाना खाने तरखरमा लागे । “शत्रुहरु सक्रिय भएको बेला आफु निस्कृय बन्नु, शत्रुहरु निस्कृय भएको वेला आफु सकृय बन्नु” भन्ने माओत्सेतुङको उक्ति सम्झेँ । म बसेको ठाउँबाट उठेर बारीको कान्ला तिर लागेँ। “दिसापिसाब फेर्न जान्छे होला पछि पछि जा” भनेर इन्स्पेक्टरले एउटा पुलिसलाई अरायो । मेरो पछिपछि एउटा प्रहरी आयो । केही पर पुगे पछि मैले “दिसा पनि खाने गरेका छौ र पछि पछि आएको? ” भने । ऊ बारीको डिलमा अडियो । म खोल्सा भित्र पसेँ । खोल्सैखोल्सा जान सकिन । पहरा रहेछ । खोल्साको पारीपट्टी खेतमा उक्लिएँ । बारीको डिलमा बसेको पुलिसले देख्यो । “भागी।।।।” भनेर करायो । प।।ट।।ट।। गोलीको पर्रा छुट्यो । म गोली छल्दै ओरालो कुदे । घेराउ तोडेँ । चर्को घाममा शरिरबाट पसिना रगतसँग मिसिएर बगिरहेको थियो । केही समयपछि खुट्टा काप्न थाल्यो । नातगत महसुस भयो । हिंडने आँट आएन । एउटा खोल्छीमा ढुङ्गाको कापमा लुकेर बसेँ । त्यसबेला पनि बचेँ। तेस्रो, म घेराउ तोडेर जंगल बसेको बेला मानिसहरु मेरो खोजीमा भौँतारिए । सुकेको सालको पात माथि हिंडेको सोर्ल्याक.. सोर्ल्याक आवाजले मलाई सतर्क बनाउथ्यो । म सास बन्द गरेर ढुँगामा लेसिएर बस्थेँ । मलाई फेला पार्न नसकेर केही समयपछि च।।ट।।ट।।को आवाज आयो । लुकेको टाउँबाट निस्किए र आवाज आए तिर हेरेँ । धुँवाको मुस्लो आईरहेको देखेँ । जंगलमा आगो लगाए छन् । जंगलमा ओरालो देउमाई खोला तिर झरेँ । जीउमा आगो लागि हाले खोलाको पानीले निभाउँछु भन्ने सोचेँ । मानिसहरु राँको बोकेर जंगलमा आगो झोस्दै हिडिरहेका थिए । मैले दुई पट्टीको डढेलो जोडी नसकेको ठाउ“ फेला पारेर खोलातिर हाम्फालेँ । देउमाई खोलाको ढुङ्गो कापमा दिन भरी लुकेर बँच्न सफल भएँ । त्यसैले एकै दिनको तीन–तीनवटा दुर्घटनाबाट बाँचेको हुनाले साथीहरूले मलाई जिउँदो सहिद भनेका होलान् । म विद्यालयमा पढ्दा स्कुल, घर र समाजमा छोरा र छोरीको विचमा विभेदको विरोधमा सवाल जवाफ गर्थेँ। महिलाहरु माथि भएको विभेद, शोषण, अन्याय,अत्याचार, पञ्चायती व्यवस्थाले गरेर भएको हो भन्ने मेरो बुझाई वढ्दै गयो । म २०२८ ,२९ सालदेखि विद्यार्थी आन्दोलनमा सकृय भएर लागेको थिएँ । राजनीतिमा सक्रिय भएर निरंकुश पञ्चायती व्यवस्था विरुद्ध २०३५ सालमा नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी–लेनिनवाद) को पार्टी सदस्यता प्राप्त गरें । बि।सं। २०३५ सालदेखिनै भूमिगत भई सक्रिय राजनीतिक कार्यकर्ताको रूपमा काम गर्न शुरु गरें ।
त्यसवेला राजनीतिक रुपमा काम गर्न सबैलाई कठिन थियो । निरंकुश पञ्चायती व्यवस्थामा मौलिक हक अधिकार केहि दिइदैन थियो । पञ्चायती ब्यवस्थाको विरोधमा बोल्ने, लेख्ने, संघसंगठन निर्माण गर्ने कुनै पनि मौलिक अधिकार थिएन । पुरुषलाई पनि गाह्रो थियो । महिलालाई त झन गाह्रो हुने भई हाल्यो। महिलाले राजनीति गर्नु अलिकति पनि सहज वातावरण थिएन । हिजोको त्यो दिनलाई सम्झँदा अहिले पो डर लाग्छ । अहिले सम्झँदा मलाई तरवारको धारमा हिडेको महसुस हुन्छ ।
तपाईसँगै राजनीति गरेका पुरुषहरु मन्त्री, प्रधान मन्त्री भइसके तपाईलाई के लाग्छ, यसो फर्केर हेर्दा ?
त्यसबेला राजनीतिमा लाग्दा मन्त्री, प्रधानमन्त्री हुने सोचाई नै थिएन । कसरी निरंकुश पञ्चायती ब्यवस्थालाई ढाल्ने भन्ने एउटा मात्र उद्देश्य हुन्थ्यो । त्यसबेला आफुले लिने वा पाउने भन्ने कल्पना पनि थिएन । आफुसँग के छ त्यो पार्टीलाई दिन प्रेरित भएर राजनीतिमा लागेको थिए । मैले आफुसँग भएका लुगाफाटो, गरगहना र बैंकमा डिपोजिट गरेको पैसा सबै पार्टीलाई सुम्पिएर भुमिगत भएको थिएँ । अहिले हामीले ठूलो त्याग, तपस्या र बलिदान दिएर निरंकुश पञ्चायती व्यवस्थाको सट्टामा संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएका छौं। म शुरूमा राजनीतिमा लाग्दा प्रजातन्त्र र आमूल परिवर्तनको विचार बोकेको थिएँ । अहिले पनि त्यहिँ विचारको पक्षपोषण गरि रहेको छु । धेरै पुरुषहरू मात्रै हैन धेरै महिला साथीहरु पनि मन्त्री तथा उपल्लो ओहदामा पुग्नु भएको छ । त्यसैमा मैले गर्व गरेकोछु । तर जनताको अवस्था जुन रुपमा रुपान्तरण भएर बदलिनु पर्ने हो त्यो हुन सकेन । त्यसमा दुःख लागेको छ।
तपाईको राजनीतिक जीवनलाई हेर्दा सुरुमा कम्युनिष्ट आन्दोलन, महिला आन्दोलन हुँदै अहिलेसम्म आईपुग्दा जनता समाजवादी पार्टीमा हुनुहुन्छ किन यस्तो परिस्थिति आई लाग्यो ?
पहिला कम्युनिष्टहरुले वर्गीय, जातीय र लैङ्गिक समानताका लागि काम गर्छन् भन्ने विश्वास लागेको थियो । मेरो लामो युवा जीवन कम्युनिष्ट वन्ने र वनाउने अभियानमा लागाएँ । तर जुन रूपले वर्गीय , जातीय र लैङ्गिक समानताको काम हुनु पर्ने थियो, त्यो रुपमा नभएको महशुस भएको छ । भाषण र गफ राम्रो गर्ने व्यवहारमा कार्यान्वयन नहुने भएकोले कम्युनिष्ट पार्टी छोडेर जनता समाजवादी पार्टी निर्माणगर्ने अभियानमा लागेको छु । यो जनता समाजबादी पार्टीमा संघियता, सुशासन,समृद्धि र समाजबादको नारा लिएर समानता र सम्मानको अभियानमा लागिरहेको छु । यसैबाट महिला आन्दोलनलाई पनि सम्बोधन गर्ने जमर्को गरिरहेको छु ।
निर्वाचन नजिकिदै छ २०८४ मा महिला सहभागिता र नेतृत्वमा वृद्धि गर्न पार्टीहरूले कस्तो रणनीति अपनाउन जरूरी छ ?
२०८४ को निर्वाचन नजिकिँदै छ । निर्वाचन आयोगले “महिला पहिला” हुने गरि निर्वाचन ऐन रनियमावलीहरू बनाओस् भन्ने अनुरोध गरिरहेको छु। यदि महिला मैत्री महिला निर्वाचन ऐन र नियमावली बनाउन सक्यौं भने सहभागिता र नेतृत्वमा वृद्धि हुन्छ । तर पार्टीहरुलाई महिला उम्मेद्वारी दिने र जिताउने बाध्यकारी परिस्थिति बनाउन सकेनौं भने “हात्ति आयो,हात्ती आयो फुस्सा’’ हुन्छ भन्ने मलाई लागेको छ । हाम्रो पार्टीले महिला सहभागिता र नेतृत्व बृद्धी गर्ने काममा पहल गर्नेछ । त्यसैले विभिन्न पार्टीेका महिला नेताहरू र सामाजिक अभियन्ताहरूसँग सहकार्य गर्दै एकिकृत आवाज उठाउन पर्ने आजको आवश्यता बनेकोछ। निर्वाचन आयोग र राजनीतिक पार्टीहरूलाई सीड र संयुक्त राष्ट्र संघको महासन्धीहरूमा सरकारले गरेको प्रतिवद्धतालाई कार्यान्वयन गर्न महिला सहभागिता र नेतृत्वमा वृद्धि गर्न पैरवी गर्नुपर्छ ।
भन्नै पर्ने कुराहरु केही छन् भने भन्नुहोस् ?
अहिले महिला आन्दोलन मात्रै होइन सबै प्रकारका आन्दोलनहरु सुषुप्त अवस्थामा रहेका छन् । समाजमा भ्रष्टाचार, बेतिथी, विकृति र बिसंगती बढेको छ। जनता निरासामा डुबेका छन् । यूवाहरु विदेश पलायन भएका छन् ।भ्रष्टचार रोक्ने र सुशासन कायम गर्ने, सेवा प्रवाह र निर्माणका कामहरु समयबद्ध र गुणस्तरीय रुपमा सम्पन्न गर्ने हो भने देश विकाश गर्न, जनजीवन सुखमय बनाउन धेरै समय लाग्ने छैन । देशमा शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चितता कायम गर्न सरकार र निजी क्षेत्रमा इच्छा शक्ति पैदा गर्न आवश्यक छ। देशमा भएका श्रोत र साधनलाई सहि सदुपयोग गरी जीविका उपार्जनका नयाँ आयामहरु खोजी गर्न अध्ययन अनुसन्धानको काममा पहल गर्नुपर्छ ।