तेह्रथुम जिल्लाको ओयाक्जुङमा वि। सं। २०१३मा हरितीमा-सरस्वती र नन्दिकेशर दुलालको पहिलो सन्तानको रूपमा जन्मेका कृष्ण बाउसे २०२७ सालदेखि लेख्न र २०३१ सालदेखि प्रकाशित हुन थालेका कवि हुन्। अज्ञात यात्राका पदचिह्नहरू, सपनाको जीर्णोद्धार र पर्याप्रेमको गुञ्जन उनका प्रकाशित कविताकृति हुन् भने देशको बिन्तिपत्र नामक मुक्तक सङ्ग्रह प्रकाशित छ। बालसाहित्यतर्फ नानीको रहर , माथि माथि चढ्ने हो, पढ्नै रमाइलो , कलम र कापी , अक्षरका पुतली र हाम्रो चिनारी उहाँका प्रकाशित बाल कविताकृति हुन् । उनको रिन्चेन शीर्षकको चित्रमय बालकथा पनि प्रकाशित रहेको छ । उहाँ पछिल्लो समय पर्यावरण बिषयमाथि साहित्य लेख्दै आउनु भएको छ प्रस्तुत छ साताको तीन कविता ।

मेरा बाको अनन्त-यात्रा

शतायुको खुड्किलो नजिकै पुगिसक्दा पनि
उहाँका कतिपय दौँतरीले झैँ
उहाँले-
कुँजिनु पर्दा दुख पाउनु परेको थिएन ।
झर्के फर्केको सहारा लिएर
ओछ्यान र शौचालय धाउनु परेको थिएन ।

घरव्यवहारको मामिलामा
उहाँका उमेरका धेरैजनाले जस्तो
चौतारीमा भेला भएर
उहाँले
कसैलाई गनगन सुनाउनुपरेको थिएन ।
खाने-लाउने कुराको प्राप्ति
र आफ्नो रुचिबीच सन्तुलन गुमाउनुपरेको थिएन।

सन्तानको नामको खोटा-सिक्का थिएँ नै म
तर, स्वभाव नै उहाँको त्यस्तो
जीवनको अन्तिम चरणमा पनि
उहाँको मनले
कुनै चरम पीडा हुर्काउने गरेको थिएन ।
र सन्तोषको खास कुरा
उहाँले
हुरीले चिचिला झारिदिएको
आफ्नै आँगनको आँपको रुखलेझैँ
सन्तान झरी जानुको पीडा
आँखाका पोखरीहरूमा लुकाउनुपरेको थिएन।

हुन त
आफ्ना पिता विषादी छरेको तोरीबारीको मौरी बन्दा
केवल चौध महिने बालक रहेकाले
टुहुरोको विशेषणलाई
शिरोपर गर्न विवश हुनुहुन्थ्योे उहाँ ।
हुन त
वृद्धकालसम्म आइपुग्दा
आफ्नो दुवै लोचनमा
हरिती र सरस्वती हराएपछि
एक्लै यात्राको साइत कुर्दै हुनुहुन्थ्यो उहाँ ।

तर
काँडाहरूको बीचमा
फक्रेको फूललाई एकटक हेरेर
त्यसैमा समाहित हुने स्वभावको मान्छेलाई
यस्ता कुराले केही फरक पार्दा रहेनछन्
र त
जीवनको अन्तिम स्वास फेर्दासमेत
मुस्कुराइरहनु भएको थियोे उहाँ ।

जेबाट पनि शिक्षै लिँदा रहेछन् लिन जान्नेले
कसैलाई त
प्रेमै हुँदोरहेछ घोचेपनी काँडाले
अब त
काँडासँग मिलेर जीवनको गीत गाउँदा गाउँदै
अनन्तको यात्रामा गइसक्नुभएको छ उहाँ ।
अब त
वन तस्करको नजरमा जतिसुकै तिरमिराए पनि
आस्थाका कारण ढाल्न नमिल्ने
देवीथानको रूखमा समाहित भइसक्नुभएको छ उहाँ ।
.

 घाँडो

उसैले
फक्रँदै गरेको
हाम्रो यौवनको छिद्र खोजेर
बिहेको नाउँमा
दुखको बिजन छिराएको हो।

उसैले
हाम्रा छातीका
प्रेमिल धड्कनका सुमधूर धुनहरूलाई बिगारेर
बिहेको नाउँमा
आफ्नै स्वार्थको भजन गवाएको हो ।

हामी बन्धनमा बाँधिन सकेनौँ

चहार्न थाल्यौँ
आआफ्नै मनका बगैँचाहरूमा
अर्थात्
अपराध गर्नथाल्यौँ
उसको परिभाषामा ।

ठिकै छ
मुर्दाजस्तो नभई बाँच्नु अपराध होभने
हाम्रो अपराधको सारा सजाय
समाज भनाउँदो
त्यही तानाशाहले भोगोस् ।

बाँड्न होइन
धन साँच्न सिकाउँदै,
रोप्न ध्यान नदिई
रुखहरू काट्न सिकाउँदै,
प्रकृतिका नियमलाई आफूअनुकूल तोडमोड गरेर
मलाई उसको इसारामा नाच्न सिकाउँने
अपराधी त्यही हो ।
वर(पिपलको प्रेमिल सभ्यतामाथि
आधुनिकताका धारिला खुँडाहरू प्रहार गरेर
हाम्रा कोमल मनहरूलाई
स्वार्थग्रस्त धुवाँको मुस्लोमा गुम्स्याउने
अपराधी त्यही हो ।

अर्थात् उसैले
जबर्जस्ति
मेरो गलामा पत्नीको
र तिम्रो गलामा पतिको
घाँडो भिराएको हो ।

हुनत
प्रकृतिसँग वैरभाव गरेपछि
भएकै भएपनि
के पो अर्थ हुन्थ्यो र
केवल तिम्रो र मेरो आपसी प्रेमको !
.

 दुनियाँ बहुलाउँदा

त्यहाँ
कलमहरू कुन्ठित छन्
किताबहरू बन्चित छन्
र कापीहरू अलिखित छन् ।

त्यहाँ बाटाहरू निशेधित छन्
बाहनहरू गतिरोधित छन्
र जागरुक पैतालाका ओहोर दोहोरहरू प्रतिबन्धित छन् ।

त्यहाँ
तर्क–बिर्तकहरू असुरक्षित छन्
आलोचना–समालोचनाहरू अस्वीकृत छन्
र प्रतिस्पर्धाहरू आफैँसँग अमुदित छन् ।

तर त्यहाँ
केही नङ्ग्राहरू सधैँ जागृत छन् ।
तर त्यहाँ
केही दाह्राहरू सधैँ प्रमोदित छन् ।

उफ् ! बारुद पिएर मातेका दाह्राहरू !
उफ् ! दया र मायाले भरिएका छाती चिथोर्दा चिथोर्दै
सक्कली आततायी भएका नङ्ग्राहरू !
त्यहाँ
तिनले आफ्नै साम्राज्य चलाएका छन् ।

अहो कस्तो राम्रो !
म एकदमैै लोभिएको छु
मानव सभ्यताको त्यस्तो तस्विरबाट
त्यसैले त प्रचण्ड गर्जनका साथ
यस्तो घोषणा गरिरहेको छु यसबेला—
अब यहाँ पनि त्यहाँजस्तै
मैले होइन
मेरो दाह्राले जे भन्छ त्यही हुन्छ
अब यहाँ पनि त्यहाँजस्तै
मैले होइन
मेरो नङ्ग्राले जे भन्छ त्यही हुन्छ
र बहादुरका हातहरूको स्पर्श पाएर
निमुखाका ढाडहरूमाथि सैर गर्न पल्केका
गौरवशाली बारुद, बन्दुक र बुटहरूले
जे जे चाहन्छन् त्यही त्यही हुन्छ ।

प्रिय !
मलाई सुनेर किन अचम्म मान्यौ ?
धूमपानको बहानामा
अरूको फोक्सोमा विषालु धुवाँ कोचिदिने त
तिमी पनि हौ नि !
तिर्खाले मर्न लाग्दा पानी बुत्याएको खाली बोतललाई
माझसडकमै मिल्काउने त तिमी पनि हौ नि !
बजारबाट तिम्रो सामान बोकेर तिमी सँगै घर आइपुगेका
सजिला झिलझिले झोलाहरूलाई
निर्विवेकी भएर निर्ममतापूर्वक
जथाभावी मिल्काउने त तिमी पनि हौ नि !
अनि आफ्नै घरको ढल बागमतीमा मिसाएर
आर्यघाट पुग्दा आकाशतिर फर्केर थुक्ने त
तिमी पनि हौ नि !

के तिमीले यो सबै सद्दे भएरै गरेका हौ र ?
के दुनियाँ बहुलाउँदा
म मात्र सद्दे रहन सक्छु र ?

 

 

तपाईको प्रतिक्रिया