कवि भगवती बस्नेतले लेखन र सञ्चारकर्म समान्तररुपमा अगाडि बढाईरहनु भएको छ । नारी संवेदनशीलतालाई केन्द्रमा राखेर लेखीएका प्राय उहाँको कतिताहरु समाजको बेथितिहरुको बिरोधका प्रतिकहरु हुन् प्रस्तुत छ साताको तीन कविता ।
परिवर्तनको महाकुम्भ
जहाँ आज डर छ
त्यहाँ एउटा अदृश्य पर्खाल छ
भोको पेटको डर
औषधी नपाउने पिर
सन्तानको असुरक्षित भोलि !
अँध्यारो कुनामा लुकेको
त्यो छायाले
मान्छेको आत्मविश्वासलाई
ऐँजेरु झैँ खाइरहेछ।
त्यहीँ भोलि सुरक्षा
र विश्वास हुनुपर्छ
एउटा यस्तो ओत
जहाँ राज्यको न्यानो स्पर्श
महसुस होस्
जहाँ न्यायको घामले
कसैलाई विभेदको
शितल नदेखाओस्,
जहाँ विश्वासको
जरा यति गहिरो होस् कि
कसैले आफ्नो देश छोड्नुअघि
हजार पटक सोच्न बाध्य होस् !
दुर दराजमा
जहाँ आज तुइन छ
त्यहाँ एउटा काँपिरहेको जिन्दगी छ
फलामको एउटा चिसो डोरीमा
झुन्डिएको मृत्यु र समयको
बीचमा एउटा साँघुरो खेल
त्यो तुइन केवल खोला तर्ने
साधन होइन
त्यो त हाम्रा बाध्यताहरूको
एउटा तिखो बिम्ब हो
जसले हरेक साँझ
एउटा आमाको मनलाई
ढुकढुक बनाउँछ !
भोलि त्यहीँ बलियो
पुल उभिनु पर्छ,
कंक्रीट र फलामको
मात्र होइन
सपनाहरूको पुल
जसले सुदूर गाउँको
अभावलाई बजारको
सामर्थ्यसँग जोडोस्
त्यो पुल
जसले पहाडको पसिनालाई
समथरको समृद्धिसँग मिसाओस्
र खुट्टा नकमाई मानिसहरूले
आफ्नो भविष्य आफैँ
तय गर्न सकून् !
देश बन्ने कुरा सपना मात्रै होइन
यो कुनै दन्त्यकथाको
परिको कथा होइन
न त यो कुनै शासकको
निगाहबाट मिल्ने उपहार नै हो
यो त हाम्रो इतिहासको
ऋण तिर्ने एउटा महायज्ञ हो
जहाँ हरेक नागरिकको
पसिना ‘आहुति’ बन्नुपर्छ
यो हाम्रै पालामा सम्भव छ
किनकि हामीसँग प्रश्न गर्ने
साहस छ र उत्तर खोज्ने सामर्थ्य
आक्रोशको खड्गलाई
अब सिर्जनाको कुटो-कोदालो बनाऔँ
असमानताको
त्यो उबड-खावड धर्तीलाई
साझा संकल्पले सम्याऔँ
हाम्रै आँखाको अगाडि एउटा
यस्तो नेपाल मुस्कुराओस्
जहाँ कोही होचो नहोस्,
कोही अग्लो नहोस्,
मात्र एउटा शान्त,
सुन्दर र समतामूलक
‘हाम्रो’ संसार होस् !
जेन्जी अवतार
कहिले निर्दल,कैले बहुदल
कैले लोकतन्त्र
कहिले गणतन्त्र
अनेक विद्रोह झेल्नुपर्ने
भाग्य दुर्भाग्यको साक्षी
सिंहदरवार ।
देशको राजधानीमा उभिएर
अनेक व्यवस्थाको
साक्षी बनेर हेरिरह्यो
व्यवस्था बदलिए पनि
अवस्था कहिल्यै बदलिएन
चरित्र वदलिएन
निमुखाको जीवन बदलिएन
जनजनका लागि
दुर्गम भयो सिंह दरवार!
विगत र वर्तमानको साक्षी
ईतिहासको साक्षी
दम्भ र अहङ्कारको साक्षी
सिंहदरवारमा विस्फोट भयो अग्नी
र जलिरह्यो सिंहदरवार
जलिरहे इतिहासका पानाहरू
विस्फोट भइरहे अनन्त असन्तष्टिहरू
धूवाँ वनेर ढाकिरह्यो
काठमाडौंको आकास ।
जेन्जीको सहारामा
साराका सारा असन्तुष्टिहरू
जलिरहे धूवाँ बनिरहर थुप्रो देखियो
खरानीको ।
खरानीमा
फिनिक्स जन्माउने
सामर्थ्य लुकेको हुन्छ भन्ने
तर्कहरू तैरिन थालेका छन्
तर समयले खोजेको छ
जेन्जीको अवतारमा
नयाँ युगको जन्म
नयाँ युगको थालनी
नेपाल आमाको आँसुलाई
मोती बनाउने सङ्कल्प ।
त्यो तिमी हौ
सप्तरंगी रहरहरू बोकेर
सामुन्द्रिक तटको शुन्यतामा सुस्ताउदै
काल्पनिक संसारको मोहमा
हजारौ कोष टाढा भए पनि
तिम्रै कल्पनामा
यी नयन टोलाईरहन्छन्
टोलाइरहन्छन् यी नयन
जिन्दगीका आरोह अवरोहमा
सुख दुःखका हरेक पलहरूमा
र खोजिरहन्छन्
एक आकृति
एक अनुहार
खोजिरहन्छन् सुदूर क्षितिजहरूमा !
त्यो त्यही आकृति हो
त्यही अनुहार हो
जोसँग म
निर्धक्क खुल्न,मुकुराउन सक्छु
मीठो आत्मियता साट्न सक्छु
किनकि
त्यो तिमी हौ
किनकी
म तिम्रो असल साथी हुँ ।





