मिश्रा गुरुङ नेपाली कविता लेखनमा परिचित र स्थापित  कवि हुनुहुन्छ । कविता पढिरहदा पाठकहरुलाई  सरल तर गहन अर्थ बोध हुनु उहाँको कविताको बिशेषता हो । प्रस्तुत छ साताको तीन कविता ।

तस्वीर

न आवाज छ

न छ इसारा नै

न गर्छ कुनै चाल

तर  मौनतानै छ वेमिसाल

फगत एक नजरम़ै पनि

गहिरो संवाद गर्छ

र उप्काउछ

स्मृतिको विशाल

सघनता

तस्वीर

सँधै सँधै यसरी

चुपचाप बसेर पनि

बगाउछ एउटा

अथाह गहिरो सागर

आदिम संझनाको !!!

दोभान

सदियौं देखी

चुपचाप बग्ने

हिमालको आँशु

पहाडका दुःखहरु बोकेर

बगेको देह

छङ छङ खस्ने कञ्चन

झर्नाको हतार

या भंगालाहरु छुटेको पिडा

यी तमाम ब्यथाहरु भुल्दै

कथाहरु बटुल्दै

सागरमा मिल्ने

साझा सपना बोकी

भेटियौं यात्रामा

अनि

दोभान भयौं

अब

आउ हामी सँगै बगौं

समानान्तर छन्

किनारहरुको साथ

बाँकी यात्रा सँगै हिडुँ ।

पानी

पानीको मुल्य

नबुझ्नेको लागी

पानी फगत  पानी हो

कतै जमेर बस्छ,  कतै बहेर जान्छ

त्यही पानी जब

धरतीको कोखमा हुदैन

मानव जिउदो रहदैन

त्यही पानी जब

मान्छेको आँखाबाट बहदैन

मानवियता जिउदो रहदैन ।

 

तपाईको प्रतिक्रिया