नेपाली साहित्यको शिखर व्यक्तित्व कवि बैरागी काईलाको कविताहरु आफैमा एक बहुआयमीक मानक हुन् जसले सधै समानता र मानव चेतनालाई शुक्ष्म रुपमा व्याख्या गर्ने कोशीस गरेका छन् । आजको साताको तीन कवितामा हामीले उहाँको पछिल्लो कविताहरुको संगालो बैरागी काईलाको सङ्कलित कविताकृतिबाट लिएकौ छौ। प्रस्तुत छ साताको तीन कविता ।
सुत्केरी ढुङ्गा : इतिहासको नयाँ सन्दर्भमा
हाँगाको अँगालोमा
दुध चुहिरहेका कोपिलाका कलिला ओँठसित
छात्तीमा रुखको नलेखेर,
अशुभ घडी
भुत प्रेत र अनिष्ट गर्ने जङगली देवता
पर पर आकाशमा
हात हल्लाउँदै मन्साउनु,
मन्त्र र वाचाहरु लेखेर ध्वजामा
आँगनमा अल्गो बाँसको लिङ्गोका टुप्पामा पछिल्तिर
आफ्नु ना
आफूले बाँचेका क्षणहरु
अथवा जीवनको सानो अभिलेख
कप्न थालेको छु ढुङ्गामा,
भित्ताको !
म आफैँ कुँदिनु लागेको छु ढुङ्गामा !
साँध लगाए सौर्यको सिलढुङ्गामा,
भीमसेन थापाले उचालेको
खुँडा र खुकुरी
खाँडो जगाएर वाताबरणको वारपार !
उचाल्नु नसक्ने यी नातागत नाडीहरु
अब फेरि स्थापित गरिरहेछन्
शिबलिङग-
साँस्कृतिक राजपथको दुवैतिर !
कटहरका रुखहरुका फेदमा !
माया गरेको दिनका अनुहारहरु !
युद्ध गरिरहेका भर्म बचाउनु स्वास्नीमा
राम र लक्ष्मण रामायणको पन्नाभित्र
अनि भागिरहेका पनि योद्धाहरु कुरुक्षेत्रमा पक्रेर
टाँस्न थालेका छन् यी हातहरु
नपखालिने भलले दुर्घटनाको
अजन्ताको भित्ता भित्ता मान्छेभित्रको गुफामा
बिजुलीको बल्बहरु बालेर ।
हो, सुत्केरी भएको दिन ढुङ्गाले पनि
जन्माउँछ घाँसी कुनै चट्टानमाथि !
सभ्यताको नानीलाई बचाउँछ
थुनेर बाढीलाई किनारमा
पस्न नदिई शहरभित्र
अनि गर्दन चापेर घोप्टिँदैन आङ कुप्रिई ढुङगा
निधारको बेँसी र खेतका गराहरु बँझाएर इतिहासमा ।
हिँड्नु लागेका सडकहरु जिन्दगीको परिभाषा बन्छ
नेपालीको हुटेलको अघिल्तिरको नालीमा
जुठो रछ्यानहरुको बीचबाट
यौटा मानिसको कार्टुन जस्तो मानिसले
भातको एक एक सिता टिप्छ ।
बैधानिक आमाले मातृत्वको अपमान गरेर
नालीमा फ्याँकेकी भक्खरैको शिशुलाई
अनाथलयका परिचालिकाहरुले देखेर झट्ट उठाए झैँ
भातका एकएक सिता नालीबाट टिप्छ ।
जबजब भातका एकएक सिता टिप्छ
उनको जिङ्ग्रिङग परेको फाटेको थाङ्गाजस्तो हातमा
ती भातका सिताहरु
खाई सकेर हाँस्न थालेका शिशुझैँ हाँसेका हुन्छन्
नेपालीको हुटेलको अघिल्तिरका सडकहरु
हिड्नलाई चल्मलाउँछन् अनि
ती हिँड्न लागेका सडकहरु जिन्दगीको परिभाषा बन्छन् ।
बिदाईको देउरालीमा
स्याउली राखी सुकिजाला
केको छोडुँ चिनो भन, बिदाईको देउरालीमा ।
मेरो माया आकाशमा झुण्डिबस्ला टिपिहाल
मेरो माया बतासमा उडिजाला समाइहाल
रुमाल पनि मैल जान्छ
केको छोडुँ चिनो भन, बिदाईको देउरालीमा ।
फर्की आउला बसन्त यो, फेरि फुल जब फुल्छ
मेरो माया रोपिदेऊ फागुनमा उम्रिदिन्छ
आँशु पनि सुकिजान्छ
केको छोडुँ चिनो भन, बिदाईको देउरालीमा ।
बैरागी काइँलाका सङ्कलित कविताकृतिबाट साभार