साडे तीन दशकको साहित्यिक लेखनयात्रा गरेका डा. उप्रेती कवि, निवन्धकार र टेलिभिजन पत्रकारका रूपमा परिचित हुनुहुन्छ  । उनका एक दर्जन कविता, निबन्ध, मिडिया र सांस्कृतिक अनुसन्धानका किताब प्रकाशित छन् प्रस्तुत छ साताको तीन कविता ।

पेन्सिल

परिकल्पना गरिरहेछु
एउटा विशाल इरेजर
सगरमाथा जत्रो

सत्ताजस्तो
एउटा
लाSSSSSSSSSSSSSSSSSSSSSSSSSSSSSमो
पेन्सिल
जो लेखिरहन्छ गल्ति
गल्तिमाथि गल्ति
तर त्यो पेन्सिलको टाउकोमा छैन
गल्ति मेट्ने इरेजर

परिकल्पना गरिरहेछु
एउटा विशाल इरेजर
सगरमाथा जत्रो ।।

गरिबहरूको उन्मलन

आँशु छ,
विद्रोह छ,
असैह्य पीडा छ,
वेदनाको आगोमा मन जलिरहेछ

सेना, पुलिसले ताकेका बन्दुकको नालमुनि
दविएको छ चट्याङ जस्तो मेरो आवाज
मेरो देश मेरो छाना भत्काउन उद्धत छ
टुक्रूक्क बसेका बालबालिकाका अबोध आँखा
दृश्य हेर्न नसकेर बन्द देख्छु

अदृश्य हिंसा आयोजना गरेर
कमजोरहरूमाथि कथित विजयोल्लास मनाइरहेछ
मेरो देश!

देश जारी गर्दैछ
एउटा कालो घोषणापत्र
सहज समाधान हुँदैछ
गरिबहरूको उन्मुलन
गरिबहरूकै समर्थनमा ।।

पेन्सिल र म
हजारौं
सक्रिय इरेजरहरूको बीचमा
उभिएको छु

तीखो
टुँडो लिएर
सत्य नै लेख्न
खडा
जिवन्त सर्जक जस्तो !

तपाईको प्रतिक्रिया