पुस्तक चर्चाः

हङकङमा नियमित हुने ‘साझा साहित्य’को ९९ औं श्रृङ्खलामा साहित्यकार दाजु गुरुङ मार्फत् साहित्यकार शिव प्रधानद्वारा लिखित उपन्यास ‘रुदिना’ हामी उपस्थितहरूलाई निशुल्क वितरण गर्नुभयो । जसमा दुई–तीन जना साथीहरूको हस्तलिखित नामै सम्बोधन गरेर प्रधानजीले सप्रेमले पठाउनु भएकोरहेछ, तर उहाँहरू व्यस्तताले नै होला यो धारावाहिक कार्यक्रममा कहिलै उपस्थित हुनु भएन ।

हुन त यो भन्दा अघि पनि साहित्यकार प्रधानले मे २६, २०१९ को ८५ औं साहित्यिक श्रृङ्खलामा चित्रकार एवं साहित्यकार रमण गुरुङ मार्फत् ‘वौलाहीको यात्रा’ भन्ने कथा संग्रह करिव आधा दर्जन हामी पाठकहरूलाई पढ्ने अवसर प्रदान गर्नु भएको थियो । जुन कुरोलाई यसै मुहार पुस्तिकामा उल्लेख गरेर धर्म निभाएको थिए । उक्त पुस्तकको घतलाग्दा कथाहरूले म साह्रै प्रभावित भएको थिएँ । पाएँ भन्दैमा बाँकी नराखी हङ्रायोले पाङ्रा निलेझैं नखानु रे पनि भन्छन् ! यस ‘रुदिना’ मार्फत् स्वयं लेखकले ‘आफ्नो कुरोमा’ यसलाई सुम्सुम्याउनुहोस् वा प्याट्ट पिटेर भए पनि प्रतिकृया दिनुहोला भन्ने अनुरोध गर्नुभएको छ । यो वाक्यले मलाई केही नलेख्नु कता–कता लज्जा वोध भयो । त्यसैले आफू त्यस्तो समालोचक, सममीक्षक, विज्ञ नभए तापनि अथवा रुदिनालाई खुट्याउन सक्ने क्षमताको नभए तापनि एउटा साधारण अध्येता वा पाठक हुनुको नाताले ८–१० हरफ भए तापनि टिप्पणी गर्ने जमर्को गरेको छु ।

‘रुदिना’ भन्ने पुस्तकको नाम नै कौतुहल लाग्ने ! न त रुनुको अकर्मक क्रिया रुदिन, रुन्न, भन्न खोजेको भन्ने पनि आउँछ । यस्तै उत्सुकताका वावजुद फेद देखि टुप्पैसम्म पढेपछि सिनेमा हेरेझैं छर्लङ्ग भयो । एउटी अबोला नारी जसले पारिवारिक सामाजिक मुल्य र मान्यतासंग अनगिन्ती आरोह अवरोहहरू छिमल्दै संघर्ष गर्ने मुख्य पात्र रुदिना महिला रहेछ ।

चीनको हङकङ शहरको वातावरणलाई लक्षित गरी लेखक शिव प्रधानद्धारा कोरिएको यो उपन्यासबाट विशेषतः नेपाली समाज ई.सं. १९९४–९५ देखि अहिलेसम्मको अधिकांश विवरण प्राप्त हुनेछ । जस्तै नेपालीहरू हङकङ आईडी कार्डमा कसरी गए ? कहिलेबाट किन गए ? यहाँ गएर नेपालीहरू कसरी बसे ? के काम गरे ? आदिदेखि लिएर यसले कसरी विकास र उन्नतिमा फड्को मारी, विश्वकै टप फाईभ धनी र महङ्गो शहरमा कसरी स्थापित भए ? यहाँ जनजीवनको वातावरण कस्तो छ ? आदि हङकङको बारेमा विश्वको कुनै कुनामा बसेर पनि जान्न ईच्छुक हुनेहरूको लागि यो पुस्तक पढेपछि करिब जिज्ञासा मेटिने छ भने, हङकङमा बस्ने जो कोहीले त झन् पढ्नैपर्ने देखिन्छ । अझ प्रष्ट पार्दा हङकङको एउटा दस्तावेजको रुपमा ‘रुदिना’ उतार्न लेखक सफल हुनुभएको छ ।

मुख्य पात्र रुदिनाको जीवनमा कोरिएको यो उपन्यासले हङकङमा बस्ने धेरै नेपालीहरूको परिवार र समाजमा पनि आधारित जीवन कहानीको उपन्यास बन्न पुगेको छ । मनोवैज्ञानिक ढङ्गले जिन्दगीको कथालाई जीवन्त उतार्न लेखक लिप्त भएर डुव्नु भएको छ । एउटी महिला रुदिनालाई पहिलो आफ्नो सन्तानको कति चाहना हुन्छ । शिशु जन्मने बेलामा प्रसव वेदनाले कति कष्टकर पीडादायी हुन्छ र यस्तो अवस्थामा आफ्नै श्रीमान अनिलको कति खाँचो हुन्छ र उनको रिक्तताले न्यास्रो सुत्केरी कति बेचैन र विक्षिप्त बनिन्छ भन्ने कुरोमा उपन्यासकार सम्वेदनशील ढङ्गले पाठकको हृदयमा बस्न सफल हुनु भएको छ ।

त्यस्तै घरमा सबैभन्दा ठूलो जीवन र कर्म दिने अभिभावक नै कमसल भएपछि एउटी महिलाले कति दुःखहरूसंग पौठेजोरी खेल्नुपर्छ भने, त्यही अभिभावकको मार्गदर्शन , ममताबाट बञ्चित भविश्यको एउटा कर्णधार किशोर छोराले बाबु आमाकै कारण कुलतमा लागेर एउटा सुन्दर जीवन कसरी समाप्त गर्छ भन्ने ज्वलन्त उदाहरण यश पुस्तकमा देख्न पाइन्छ । तर यसरी बिग्रेर माया मारिसकेको त्यही छोरो सुजन, भाग्यवश सुधार गृहमा उपचारको निम्ति जान्छन । पहिलोचोटी छोरोलाई भेट्न दुई महिनापछि आमा रुदिना छोरीको साथमा जान्छ्न र त्यहाँ एउटा असिम खुशी तुल्याउने सारगर्भित मिलन घटछ ।त्यो खुशीको पराग पाठक सम्मले अनुभूत गर्न पाउछ्न।

पुस्तकको भाग ‘एक’ सुरुवात गरिसकेपछि नसकिन्जेलसम्म झन्–झन् रहस्यमय कौतुहल लाग्ने यथार्थपरक कथावस्तु भए तापनि कुरो नचपाई भन्नुपर्दा केहि सिमित कुरोमा लेखक चुक्नुभएको पनि देखिन्छ । पाठ ‘चौध’ औंको १४४ पेज सम्म उपन्यासमा पात्र, कथा, परिवेश, विषयवस्तु आदि सबै कुरो नायल नदी अविरल वगेझैं सललल आफ्नै गतिमा रुदिना परिवारको राम कहानी बगिरहेको वेला परिच्छेद नै परिवर्तन नगरी अप्रत्याशित ‘हङकङमा प्रत्येक जातजातिको साम्प्रदायिक वर्गीय, क्षेत्रीय, आआफ्नै गुट उपगुट, गाँऊ, टोल, वडा आदिका अनगिन्ती संघसंस्थाहरु छन ।’ भनेर यिनीहरूले विकृति फैलाएको सम्मान, खदा र ठालु हुनेहरूको दोहोलो काडेर ईष्र्याको वमन गरेको देखिन्छ । यथार्थमा यहाँ जातियता र क्षेत्रीयता वैमनस्यताको खाडल खनिएकै छ, लेखकले अकाट्य सत्य बोल्नु भए तापनि उपन्यासको मुख्य कहानीसँग बेमेल हुनाले यस्ता प्रसङ्गविहीन कुरोले गर्दा पाठक अल्मलिने देखिन्छ ।

त्यसो त भन्नै पर्दा अहिले कोरोनाको कहरले गर्दा मात्र केही न्युन भएको देखिन्छ, नत्र त च्याउ उम्रेझैं यस्ता संघसंस्थाहरू पाँचसय भन्दा ज्यादा भएको र तिनीहरूले हप्तै पिच्छे नेपालदेखि ठुटे नेता र कलाकार भनाउँदा आफ्नो मान्छे ल्याउँदै ५–७ ठाउँमा कार्यक्रम गरेर जुधाएको पनि छँदै छ । त्यस्तै कुनै एउटै व्यक्तिले भएभरको आफ्नै शाखा सन्तान सवै तानीवरी, ईष्टमित्र,गाउँले आदिलाई समेत हङकङ भित्र्याएर करोडौं आर्थिक उपार्जन गरि उधुमै मच्चाएको यथार्थ पनि छ।

त्यस्तै लेखकले ९४ पृष्ठमा ‘हङकङमा नेपाली केटाकेटीहरू फेन्सिडल नखाने को होला र ? केटाकेटीको के कुरा र ! अधवैंशेहरू पनि’ भनेर हङकङमा हुने २,४ जना दुर्ब्यसन लाग्यो भन्दैमा सबै नेपालीहरूलाई एउटै घानमा मुछ्नु विलकुल नमिल्ने तर्क देखिन्छ । त्यस्तै माथिको जस्तै ‘हङकङमा अनिलको मृत्यु पश्चात् उनको पार्थिव शरीर नेपाल पुरयाएर सबै परिवार ईष्टमित्रको साथमा दाहसंस्कार गरिवरी आमा रुदिना र छोरो सुजन हङकङ फर्किए’ भनेर पृष्ठ १९५ मा भनियो । तर, पुन रुदिना धेरै वर्ष पश्चात् जन्मभूमि नेपाल आउन पाउँदा कान्छी आमासँग भेट, बावुसँग गनथन’ आदि नेपाल नै नसकी माथिको सुरुमै हङकङ फर्किएको कुरोले एक चोटि पाठक झुक्किन पुगेको छ ।

यस्ता सामान्य गल्ति भए तापनि रुदिना प्रेरणामुलक, चेतनामुलक र सन्देशमुलक उपन्यास बन्न पुगेको छ । लेखकको एउटा घतलाग्दो अकाट्य वाक्य ‘बाह्र वर्षमा खोला पनि फर्कन्छ रे, तर नेपालीहरू हङकङमा स्थायी रुपले बसेको २० वर्ष भन्दा ज्यादा भएर पनि हाम्रा छोराछोरीहरू आज्ञाकारी भै सुबाटोमा लागे, कन्स्ट्रक्सनमा भए कुल्ली र छोरीहरू भए बार कि कफी सोपको काममा लागेको देखिन्छ, योभन्दा खासै उपलब्धि देखिँदैन । सत्य कथामा आधारितझैं लाग्ने यो ‘रुदिना’ उपन्यासका लेखक साहित्यकार शिव प्रधानज्यूलाई हार्दिक बधाई तथा शुभकामनासहित यो मेरो मनगढन्ते विचारलाई यहीँ टुङ्ग्याउँदछु, अस्तु ।

तपाईको प्रतिक्रिया