श्याम इङनाम
आज यो गुप्तवासको अन्तिम दिन। यो २१ दिने बसाइको संघारमा आइपुग्दा मन एउटा मिश्रित भावनामा रुमल्लिरहेकोछ। लाग्छ जीवन बिभिन्न घुम्तीहरुको संगम रहेछ। कति घुम्तीहरु चाहनाका, कति बाध्यताका। ति तमाम घुम्तीहरुलाई पार गर्दै जानुको विकल्प रहेनछ।
रुनलाई मानिससंग दुखको सगरमाथा कम हुन्छ तर खुशी हुन ममताले भरिएको एउटा निस्वार्थ मुस्कान नै काफी हुने रहेछ। आमाको सघन उपचार पछि वहाँको स्वास्थ्यमा आएको सुधार, अनुहारमा आएको उज्यालो मुश्कान मुटुमा कैद छ। त्यही उज्यालोले जीवन निर्देशित हुनेछ। अनि लाग्छ आमाको मुस्कान भन्दा उज्यालो यो सृष्टिमा अरु उज्यालो छैन, आमाको उज्यालो मुहारबाट निस्कने सुन्दर वचन संसारको सुन्दर संगीतभंदा सुन्दर हुनेरहेछ।
जीवनको नाममा लेखिएका सबै घुम्तीहरुलाई सहर्ष स्वीकार्नु छ। मेरो भागको एउटा घुम्ती रिगल होटलको वरिपरी घुम्यो २१ दिन। जसको अन्तिम खुड्किलोको निम्ति अन्तिम पाइला उठाउँदैछु।
फर्केर हेर्दा:
यहाँ बस्दा प्रतक्ष्य, अप्रत्यक्ष रुपले सहयोग गरि मेरो यो गुप्तवासलाई सरल बनाउन सहयोग गर्नुहुने सम्पूर्णमा सदा आभारी रहनेछु। विशेषगरी स्रष्टाहरु, सल्लीपिर र उलारका नयनराज पाण्डे, आज रमिता छ का आइ.वि. राई, दोचा र मोक्षांतका कुमार नगरकोटी, जंग बहादुरको जीवन यात्राका – पद्मजंग सम्सेर, द काइट् रनरका- खालिद होसेनी, जिजिविषाका – मनीषा कोइराला, बिमान विद्रोहका – दुर्गा सुवेदीहरु प्रति हृदय देखि आभार र सम्मान व्यक्त गर्दछु। वहाँहरुकै शब्द उपहारले मेरो यो समय सार्थक भएको महसुस गरेकोछु।
अझ विशिष्ट रुपमा मलाई हरक्षण साथ दिएर सहयोग गर्ने प्रिय एकथान बेड, एउटा तन्ना र तिन वटा तकिया, एकथान सोफा र एउटा सिसाको टेबल, एउटा हिटिंग केटल र एउटा ठुलो तर पल्ला नखोलिने झ्याल र यसका तिन खाप पर्दा। त्यसैगरी एउटा बाथरुम र धेरै ऐनाहरु। छोटो समयमै यी सबै सँग एउटा गहिरो र आत्मीय मीत्रताको सम्बन्ध निर्माण भएछ। र अव यी मेरा सारथी भए यहाँ बसुन्जेल। कोठामा भएका ऐनाहरु सँगको सामिप्यता बिशेष रह्यो।
ऐना हेर्ने काम सायद अलिक ज्यादा गरियो कि! तर यसरी ऐना हेर्दा अरु समय बाहिरी शरीर देखिदों हो तर यो अवधीमा म भित्रको “मलाई” हेर्ने प्रयास रह्यो।
मेरा उटपटयांग चाल र उदेक लाग्दा संवादहरु (मनोसंवाद) झर्को नमानी सुनीदिने र बुझे जस्तो गरि मौन प्रतिसंवादको लागि मेरा सारथीहरु प्रति साधुवाद। यी सबैसगं व्यतित् गुप्तवासका गुप्त कुराहरु सदा स्मृतिमा रहनेछन्। अब भोलि यहाँ अर्कै अपरिचित व्यक्ति आइपुग्नेछ र यस्तै गुप्त कुराहरुले निरन्तरता पाउनेछन्। मेरो सुभकामना।
विश्वभरिका देशहरुले कोरोना महामारी संगको लडाई र रोकथामको खातिर बिभिन्न उपायहरु अपनाएका छन्। यो मध्ये एउटा क्वारेन्टिन विधि हो। एक व्यक्तिबाट अर्कोमा संक्रमण नहोस् भन्ने हिसावले मानिसलाई समुहबाट अलग राख्ने विधीनै क्वारेन्टिन हो । क्वारेन्टिनको अवधी देशै पिच्छे फरक रहेको पाइन्छ।
हङकङमा यो अवधि २१ दिन रहेको छ भने अन्य मुलुकमा ७ देखी १४ दिन सम्म मात्र पनि पाइएको छ। खैर, आफु बसिने ठाउँको नियम सहर्ष स्वीकार गरि पालना गर्नु असल नागिरकको कर्तव्य हो। नगरे सजायको भागिदार हुने ! वापतमा $२५,००० जरिमाना र ६ महिना जेल त छँदैछ। हगी!
२१ दिन एउटा कोठामा थुनिएर बस्ने कुरो चानचुन भने होइन। धेरै मानिसहरु क्वारेन्टिन भन्ने बितिक्कै त्रसित हुने गरेको पाइएकोछ। एक तरिकाले हेर्ने हो भनि सहि झैं पनि लाग्छ। चार दिवार भित्र गुमसुम बस्ने , मान्छेसँग प्रतक्ष्य भेटघाट नहुने, खुला हावाबाट वन्चित हुने जस्ता यावत चुनौतीहरु सम्झिदा नै निस्सासिनु स्वाभाविक नै हो। तर, परे पछि नियमको पालना गर्नै पर्ने।
परिस्थिति र समयको कारण हामी जो कोहि पनि क्वारेन्टिन बस्न परे यसको सकारात्मक पाटोलाई अङ्गाल्ने प्रयास गरे समयको भरपुर फाइदा लिन अवश्य सकिन्छ। समस्या र चुनौतीहरुलाई अवसरमा बद्लिन सके यो अवधिलाई जीवनकै अविस्मरणीय समय बनाउन सकिन्छ। जीवनमा आफुलाई पर्गेल्ने मौका हुनेछ। के थाह! एउटा फुक्काफाल समयले जिन्दगीकै अनमोल उपहार बोकेर पो ल्याएको छ कि ?
यो समयमा बिभिन्न रचनात्मक र सकरात्मक कृयाकलापहरु गरी सरल बनाउन सकिन्छ। मैले प्रयास गरेका मध्ये प्राय कृयाकलाप फाइदाजनक नै भयो। चाहेको जति पुस्तक पढियो। चाहेको सिनेमा हेरियो। योगा र ध्यानको अभ्यास गर्ने प्रयास गरें। आफै भाषण गर्ने, आफै उदघोषण गर्ने, अतिथि आफै बस्ने गरें । वाद्यवादनमा आफै, गायनमा आफै। कविता लेख्ने आफै, भन्ने आफै, सुन्ने आफै। यी सारा कुरा कुनै डर, त्रास, लाज, लघुताभास र बिना हिच्किचाहट गर्न सकिन्छ भने, त्यो समय यही हो। मेडिटेसनको अभ्यास गरी आफु भित्रको आफु पहिचान गर्ने समय पनि येही हो।
हरेक चिजको नकारात्मकतालाई फालेर सकारत्मक पाटो पहिल्यान सके जिन्दगीका घुम्तीहरु पार गर्न सहज हुन्छ। यही सत्य हो यही जीवन हो। बस्दै जाँदा कहिलेकाहीं एक्लोपन र नैराश्यताको कालो बादल मनभरि छाउँदो रहेछ। आमा बाबा, श्रीमति, छोरा छोरी, परिवारका अन्य सदस्यहरु र घरको यादले न्यास्रो लाग्छ। तर त्यो कालो वादल फाटेपछिको सफा आकास देखिने आसाले मन पुलकित भैदिन्छ।
जीवनका हरेक दुखमा पहिलो पाइला अघि सार्ने अनि हरेक खुशीमा अन्तिम पाइला उठाउन चाहने जीवन संगिनी हेमालाई सधैँ उस्तै माया र प्रेमले सम्झीरहें।
भौतिक दूरीले लगभग २० कोष भन्दा कमको फासलामा रहेका छोरी निशाम र छोरा मिसेक यो अवधिमा सबै भन्दा धेरै मिस् गरिएका दुइटा मुटुहरु थिए। ति अबोध, निस्चल, र कोमल मुटुहरु जीवनमा सधैं अझ धेर जिउने प्रेरणाका स्रोत हुन्।
यो अवधिमा केहि चिजको आवश्यक भयो भने त्यो नानिहरुको निश्चल आवाजमा मिस्सिएको कोलाहल, उनीहरुले सोध्ने कयौं अर्थपूर्ण र कयौं बेसुरका प्रश्नहरु अनि अनि मैले जानी नजानी दिइने उत्तरहरु।
यसै तेसै यो २१ दिनको एक्लो बास आज टुंगिन गैरहेकोछ। अल्ली माथि उल्लेखित् स्रष्टाहरुसँग मलाई परिचित गराई दिने मित्र इन्द्र थेगिम जो आफै एउटा स्रष्टा र राम्रो पाठक हुनुहुन्छ। वहाँलाई हृदय देखि आभार व्यक्त गर्दछु।
सल्लीपिर, उलार, आज रमिता छ, द काइट रनर जस्ता सुन्दर पुस्तकहरुको निम्ति बिशेषआभार।
यो बसाईमा, समय समयमा बिभिन्न आवश्यकीय सामान साथै खान्ते पिन्ते उपलब्ध गराइदिने हिम सिङ्घक दाइ, किशोर इङ्नाम दाइ, हेमराज अन्छाङबो भान्जा, जेनी बैनी, सरस्वती भदैनी लगायत सम्पूर्ण प्रति आभार। तेसैगरि कम्पनीबाट सदैव ऊर्जाको विगुल फुकिदिने टी.बी. सर, अग्नि सर र रुपेन सरहरु प्रति नमन। नेपालबाट दाजु, दिदीहरु र अन्य आफन्तजनबाट प्राप्त आशिर्वाद सदा शीरमा रहने विश्वास गर्दछु ।
धेरै सहयोगी मनहरुको खात छ मनमा। र मनले यो पहेली खोल्दै जानु छ। मस्तिस्कले यस्तै सम्झीदै थिए। एउटा सुरिलो स्वर कानमा गुन्जेको आभास भयो। त्यो कोकिल स्वरले मन्त्र मुग्ध बनाउने लय र मधुर संगीतमा मिठो गीत गाए जसरी भन्दै थिइन् । या गाउँदै थिइन्? कृपया जहाज पूर्ण रुपमा नरोकिए सम्म आफ्नो सिटमा बसिदिनुहोला…। सिटको पेटीको साइन अफ नभैञ्जेल पेटी नखोली दिनुहोला…… । नेपाल वायु सेवा निगमको उडान न.४०९ मा यात्रा गर्नु भएकोमा धन्यवाद , …येस्तै येस्तै ।आह ! कति मधुर आवाज, कति प्रेमिल !! मैमत्त हुंदै आँखा खोलें र झल्यास्स ब्युँझे। म अझै सिट न. १७ बी. आर.ए. ४०९ मै कैद रहेछु। अनि थाह पाएँ हामी काठमांडू बाट हङकङ एयरपोर्ट ल्याण्ड भएको रहेछौं।
दुवै हत्केलाले एक पटक आफ्नो अनुहार, निधार देखि चिउँडो सम्म सोरें। दुइटै ओठं एक आपसमा दबाएँ र अल्लि माथि उठाएँ। अनि दिमागमा जोर दिन थालें । के यो सपना थ्यो ? के म अहिले हङकङ एयर पोर्टमै छु ?
तेसो भए त्यो रिगल होटल, रुम न.८०७ , ति पुस्तकहरु, ति गुप्तगुहरु, हेनेसी र सुकुटीहरु, ति २१ दिनका यावत कुराहरु। कि, ति चाहीं सपना थिए ? के यो हुन सम्भव छ ? मन एक तमासको भयो, एक प्रकारले खुशी पनि हुँदै थिएँ किन भने त्यो २१ दिन केवल सपना मात्र होस् भन्ने मनमा आयो।
हो! यो सपना नै हो। होइन! यो वास्तविकता नै..sss … हो। पक्षमा र विपक्षमा बिभिन्न धुरन्धर ओकिलले बहस गर्न शुरु गरे। दिमाग भित्रै। प्रमुख न्यायधिस र न्याधिसहरुले बिभिन्न उटपट्यांग प्रश्नहरु सोधे। धेरै लामो बहस भयो। कसैले यो सपनालाइ प्रतिगम भने कसैले यसलाइ अग्रगमन भने। कसैले एक खोस्टो सपना भने। सडकमा यही बिषयमा आन्दोलन हुन थाल्यो। बहसमा धारा २१.. उपधारा १,२..२१ गर्दै सबै धारा, कुवा र इनारकै पानी रित्तिन लाग्यो। तर फैसला भएन। अहँ, फैसला हुँदै भएन। बरु शरीरमा पसिना चिट चिट आउन थाल्यो, हात खुट्टा बाँधेर दौडमा भाग लिन तेसै हुत्याइ पठाएको भगौडा सैनिकको ताल जस्तो हुन थाल्यो। बोल्न खोज्दा ओठं हल्लिने तर आवाज नआउने भयो।
येतिकैमा कानै छेडिने गरी फोनको घन्टी बज्यो, हतार हतार एक हातले आँखा सोर्दै अर्को हातले मोबाइल हेरें। उठाएँ। हेमाको कल रहेछ, भनिन् १२:०० बज्न लाग्यो कति खेर होटल बाट निस्किने ? ओहो !! होत नी! म रिगल होटल कै बेडमा रहेछु। अघि सामानहरु प्याक गरेर एकछिन बेडमा ढल्केको थिएँ, भुसुक्कै निधाएको रहेछु । र मैले सपना भित्र अर्को सपना देखेछु।
पहिले नै प्याक गरेको सामान तानें ढोका बाहिर घ्यार घुर पार्दै। एक पटक फर्केर कोठा हेरें। त्यहाँ दुनियाँकै बेहाल देखें। तन्नाहरु टक्क मिलेका थिएनन्, सोफा अर्कै ठाउँमा थियो , कार्पेट फोहोर देखिन्थ्यो, बाथरुम असरल्ल ! अनि सोचें। हो २१ दिन यही कोठामा बसेको हुँ। यो अस्तव्यस्त कोठाले प्रमाणित गर्यो, म क्वारेन्टिन नै बसेको हो। अनि एउटा सपना जतिकै मिलिक्क विताउन सकिने यो वास्तविकता, यो वाध्यता अनि जिवनलाइ आफैले क्वारेनटिन सकुसल समाप्त भएको फैसला सुनाएं।
फोहोर? यसको त के कुरा? २१ दिन लामो यहि कोठामा विताउदा अलि अलि फोहोर त भैहाल्छ नि। इत्ना तो बन्ता हे,यार !
सुटकेस घिस्यायें, लागें रिसेप्सन तिर!
जय जिन्दगी !!!
दिनाङक- ८ फेब्रुवरी २०२१, समय रातको ११:५५
रिगल ओरियेन्ट्ल, काउलुन सिटी
हङकङ