प्राक्कथन

एउटा विचारग्रस्त खोपडी जहाँ अगणित विचारको ज्वारभाटा चल्छ । वैचारिक ज्वारभाटाको प्रकोपबाट एउटा विशिष्ट रचनाले प्रकट हुने अवसर पाउँछ – ‘हङकङ भित्र”।

हङकङ अर्थात मेरो दोश्रो नेपाल जसलाई नियतिले मेरो कर्मभुमि बनायो । कुनै बेला कहिल्यै सूर्य नअस्ताउने देश बेलायतको स्वामित्वमा हङकङ रहेको बेला एउटा गोर्खा पल्टन उदाउँछ इतिहासमा । गोर्खा पल्टनको अस्तित्व मार्फत अंकुरित गोर्खा वंशको श्रीबृद्धि हङकङमा जारी नै छ । यस मानेमा कर्मभुमि हङकङ बारे दुईचार शब्द कोर्नुलाई मैले आफ्नो कर्तव्य ठानेको छु ।

यस पुस्तकमा मैले हङकङ लेख्न खोजेको हो तर अन्य कुरा पनि प्रसंगवश थोपरिएका छन् । जीवन यसरी जिउँछु भन्नु तर जीवन अर्कै घट्नु जस्तो कुरा रहेछ लेख्नु पनि । यथार्थकृत कल्पना यस्तै हुन्छ क्यार ।

हङकङको भूगर्भ खोतल्दा पृथ्वी के गर्भ पनि छिटपुट उत्खनन् भएको छ । पृथ्वीमा घटित जीवविकासको इतिहासलाई बहुमुखी कोणबाट हेर्ने प्रयास गरिएको छ । अस्तित्वलाई आध्यात्मिक र वैज्ञानिक विश्लेषणको कसौटीमा घोटेर आफ्नै किसिमको सर्वतत्व सिद्धान्त (Theory of Everything) निकाल्न पाठक वर्गलाई उद्वेलित गराओस् भनेर तत् विषय माथि गरिएका केही विचारोत्तेजक टिप्पणीहरूलाई पनि समेट्ने प्रयास गरेको छु ।

आफ्ना उर्वर र सिर्जनशिल बैंशहरू प्रवास पलायनमा खपत भएको नियतिलाई पचाउन बाध्य एउटा देशभक्त नेपालीको मन घरिघरि फरक तरीकाले दुख्दो नै रहेछ देशभित्रै बसेर केही गर्न नसकेकोमा । तिनै दुखाईद्वारा उत्सर्जित मिश्रित आवेगको मन्थनबाट उत्पन्न एउटा वस्तु अर्थात नियात्रा संग्रह ‘ हङकङ भित्र ‘ समयान्तरमा भएपनि प्रस्तुत गर्न पाउनु मेरो अहो भाग्य नै हो भन्छु । अबोप्रान्त यस कृतिको पहिलो र अन्तिम व्याख्याता पाठक नै हुन भन्ने वाणीका साथ कलम बन्द गर्दछु ।

– क्रान्ति सुब्बा


शुभकामना

नेपाली संस्कृतिमा वाचन इतिहास निकै पुरानो हो । यो हाम्रो सभ्यता सँगसँगै विकसित हुँदै आएको परम्परा हो । यो प्राचीन हुँदाहुँदै पनि लो कप्रिय छ । अझ वाचनको हाम्रो शैली अत्यन्तै रोमाञ्चक र मनोविनोदपूर्ण पनि छ । त्यसैकारण यो आजसम्म पनि जीवित छ । हामी हरेक दोश्रो ने पालीहरू वाचनकलामा निपूण छौं भन्दा पनि हुन्छ ।

नेपाली वाङमयमा नियात्रा लेखन एउटा महत्वपूर्ण अंग हो । विद्यमान यथार्थलाई सुरुचिपूर्ण तरीकाले प्रस्तुत गर्नु नियात्राको विशेषता हो । यसले पाठकलाई रोमाञ्चक तरीकाले विषयमा प्रवेश गराउँदा गराउँदै गम्भीर यथार्थ र गुढ सूचनासम्म पु-याइसक्छ ।

बेलायती सेनामा कार्यरत गोर्खालीहरूको पौरख र पसिना परेको हङकङसँग नेपालीहरूको नजीकको साईनो छ । आज पनि त्यहाँ नेपालीहरूको संख्या उल्लेख्य रूपमा रहेको छ । धेरै नेपालीहरूको हङकङ आउजाउ बाक्लै र हने गरेको छ ।

प्रस्तुत पुस्तकले हङकङको उत्पतिकाल देखि हालसम्मको विकासक्रमका साथै त्यहाँको जीवनशैली, नेपालीहरूको अवस्था, आदिको सविस्तार वर्णन गरिएको छ । हङकङ मै रहेर पनि कतिपयलाई ती इतिहास र भूगोलको बारेमा जानकारी नहुन सक्छ । अतः पुस्तक हङकङबारे रूचि राख्ने सबै लाई रूचिकर लाग्न सक्छ ।

लेखक क्रान्ति सुब्बा यस पुस्तकमार्फत झण्डै अढाई दशक पछि बाहिर निस्कँदै छन् । उनी मुलतः कवि तथा पत्रकार समेत हुन् । निकै लामो समयको गुप्तवास पछि उनी एउटा कृति सहित पदार्पण हुन लागेको यस घडीमा उनिसँग सहकार्य गर्ने अवसर जुरेको छ । यसका लागि उनी प्रति हार्दिक आभार व्यक्त गर्दछौं ।

कृतिको सफलताको शुभकामना

संस्कृति


विषय सुची

क) प्राक्कथन

ख) आरम्भ

१. हङकङको चिम्टे माटोमा पलाएको नेपाली मुना

२. एउटा ऐतिहासिक दिवस

ग) खण्ड- १

म्याक्लेहोस ट्रेल

३ सांग्रिलामा हराउँदा

४. पृथ्वीको छेउतिर बरालिँदा

५. एकलासमा रूमल्लिएका मनहरू

६. अनुपम दृष्य र दुर्लभ अनुभूति

७. केइ लिङ हाको बास – १

८. केइ लिङ हाको बास – २

घ) खण्ड -२

हङकङ ट्रेल

९. शुन्यताको कोलाहल

१०. पोक फुलाम देखि एवर्डिन सम्म

११. एउटा पलायन यात्रा

१२ एडर्विन कन्ट्रीपार्क भिजीटर सेन्टर

१३. एवर्डिन माछा बजार र सि फुड रेष्टुरेण्टहरू

१४. उकाली ओराली भञ्ज्याङ देउराली

ङ) खण्ड -३

अन्य

१३. समुद्रका राक्षसी तरङ्गहरू

१४. यात्रा चिम बे चुइको

१५. हुस्सुले पुरेका पहाडहरू

१६. आमा रकको कथा

१७. लाम्मा द्वीपमा एकदिन

१८. पत्रकार संघ जन्मँदाको सेरोफेरो

नोट : यस स्तम्भमा लेखक क्रान्ति सुब्बाको पुस्तक ` हङकङभित्र ´ का रचनाहरुलाई क्रमशः राख्दै लगिनेछ। अर्को अंकमा `हङकङको चिम्टे माटोमा पलाएको नेपाली मुना´ प्रतीक्षा गर्नुहोस् ।

तपाईको प्रतिक्रिया