क्रान्ति सुब्बा

फेब्रुअरी २६ तारीख शुक्रबारबाट हङकङ सरकारले जनसाधारणलाई  निशुल्क कोभिड खोप वितरण गर्न थालिसकेको छ। भ्याक्सिन र  भ्याक्सिन ग्रहण कार्यबिधी बारे केही जानकारी दिने प्रयास यहाँ गरिएकोछ।

. कस्तो किसिमको भ्याक्सिन हङकङमा  उपलब्ध छ?

हङकङ सरकारले निम्न तीन उत्पादन कम्पनीबाट ७५ लाख ( ७.५ मिलियन ) डोज भ्याक्सिन खरिद गरेको छ। ती हुन : साइनोभ्याक बायोटेक, फाइजर-बायोएनटेक र अस्ट्राजेनेका । यी तिनै कम्पनी भ्याक्सिन दुई डोज लाउनु पर्छ।

सरकारले १८ फेब्रुअरीका दिन चीन निर्मित साइनोभ्याक भ्याक्सिनलाई आपतकालीन प्रयोगको लागि स्वीकृति दियो। यो भ्याक्सिनको वितरण २६ फेब्रुअरीबाट वितरण शुरु भैसकेको छ।

अमेरिका र जर्मनी मिलेर उत्पादन गरिएको फाइजर- बायोएन्टेक भ्याक्सिन हङकङले सांघाइ स्थित फार्मसिटिकल कम्पनी फुसान फार्मा मार्फत अर्डर गरेको हो।सरकारले जनवरीमा नै आपतकालीन प्रयोगको लागि स्वीकृति दिएको थियोे ।

अक्सफोर्ड युनिभर्सिटीसंगको सहकार्यमा बनिएको अस्ट्राजेनेका भ्याक्सिन २०२१ को मध्यतिर आइपुग्ने अनुमान गरिएको छ।

. कोभिड भ्याक्सिनहरु कतिको प्रभावकारी र सुरक्षित छ?

निर्माण कम्पनीले उपलब्ध गराएको दस्तावेज अनुसार एक डोज ( खुराक ) खोप लगाए बापत उपलब्ध हुने प्रभावकारिताको रेट ५०.६६ प्रतिशत हो। र  २८ दिन पश्चात् दोस्रो डोज ग्रहण गरिसके पछि  यसको प्रभावकारिता बढेर ६२.३% प्रतिशत पुग्दछ।

सरकारले दिएको सूचना अनुसार यो भ्याक्सिनको प्रभाव  ६० वर्ष पुगेका र नाघेकाहरुमा कस्तो पर्छ यकिन गर्न नसकिने बताइएको छ। परिक्षणको बेला नगण्य नमूना मात्र संकलन भएका कारण यस्तो भएको हो।

फाइजर – बायोएन्टेक भ्याक्सिनको प्रभावकारिता ९५% प्रतिशत हो र विश्व स्वास्थ संगठनले गत  डिसेम्बरमा नै १६ वर्ष माथीकाले ग्रहण गर्न सक्छ भनी  आपतकालीन प्रयोगको स्वीकृति दिएको थियोे ।

कुनै पनि व्यक्ति कुनै रोगबाट पीडित रहेको अवस्था छ भने डाक्टरको सल्लाह लिएर मात्र कुनै पनि खोप लाउनु पर्दछ। गर्भवती र स्तनपान गराउदै गरेको महिलाले साइनोभ्याक भ्याक्सिन लाउनु कतिको सुरक्षित छ भन्ने विषयमा यथेष्ट अध्यन भएको छैन। तर बायोएन्टेक भ्याक्सिन भने यस्तो अवस्थामा लगाउन हुन्न।

. कति डोज भ्याक्सिन मैले लाउनु पर्छ? के यो निशुल्क हो?

माथि उल्लिखित तीन वटै भ्याक्सिन २ डोज लाउनु पर्छ र यो निशुल्क हो।
साइनोभ्याकको दोस्रो डोज पहिलो डोज लगाएको २८ दिन पछि लाउनु पर्दछ भने बायोएन्टेक दोस्रो डोज २१ दिनको अन्तरालमा लाउनु पर्छ।

भ्याक्सिनको पहिलो डोज लगाइ सकेपछि उनलाई भ्याक्सिन रेकर्ड कार्ड दिइनेछ। “iAM Smart” अथवा “e Health” मोबाइल एप्स डाउनलोड गरिएकोछ भने भ्याक्सिन लगाएको रेकर्ड त्यसबाट हेर्न सकिन्छ ।

.यो भ्याक्सिन पहिला कसले लाउन पाउछ?

हालको  पहिलो चरण  अन्तर्गत पाँच प्राथमिकता समुह भ्याक्सिन पाउने योग्य  कोटिमा परेका छ्न । ती हुन
१. ६० वर्ष पुगेका र नाघेका र दुई जना ७० वर्ष नाघेका नागरिकका सुसारे
२.स्वास्थकर्मी तथा महामारी विरुद्ध मैदानमा खटिएका व्यक्ति
३. अपांग र वयोवृद्ध स्याहार केन्द्रका निवासी र कर्मचारीहरु
४.महत्त्वपूर्ण सार्वजनिक सेवामा काम गर्ने व्यक्ति (प्रहरी , अध्यागमन कर्मचारी आदि )
५. सिमाना वारपार गर्ने व्यक्ति जस्तैः ट्रक ड्राइभर

.१६ देखि ५९ वर्ष बीचका दीर्घ रोगीहरुको पालो यसपछि अर्थात दोस्रो चरणमा आउनेछ। त्यसपछि मात्र अरुको पालो आउनेछ।

. कहाँ र कसरी मैले भ्याक्सिन लिन पाउँछु?

भ्याक्सिन वितरण गरिने जम्मा चार वटा मार्ग छ्न। तर प्रत्येक मार्गमा एक किसिमको मात्र खोप उपलब्ध हुनेछ। त्यसकारण प्रत्येक मानिसले आफ्नो रुचि अनुसारको भ्याक्सिन रोज्न पाउनेछन।

कम्युनिटी भ्याक्सिनेसन सेन्टर ( CVCs) :

फेब्रुअरी २६ तारीख शुक्रबार उप्रान्त जनताको निमित्त २९ वटा कम्युनिटी भ्याकसिनेसन सेन्टर (CVCs) हरु खोलिनेछ्न । पाँच वटा सेन्टरहरुले साइनोभ्याक वितरण गर्नेछ भने बाँकी रहेको २४ वटा सेन्टरहरुले बायोएन्टेक भ्याक्सिन वितरण गर्नेछ ।

प्रत्येक हङकङ बासिन्दाले २४ घण्टा खुल्ला रहने अन्लाईन सिस्टम प्रयोग गरेर बुकिङ गर्नुपर्नेछ। कम्युनिटी भ्याक्सिनेसन सेन्टर दैनिक बिहान ८ बजेबाट बेलुकी ८ बजे सम्म खुल्ला रहेनेछ । खोप ग्रहण गर्न जाने व्यक्तिले आफ्नो परिचय पत्र, आफू कुन प्राथमिकता समुहमा पर्दछ सो प्रमाणित गर्ने कागजात र एपोइन्ट्मेन्ट पुष्ठि गर्ने पत्र वा मेसेज साथमा लिएर जानू पर्दछ ।

हस्पिटल अथरिटीद्वारा परिचालित १८ वटा क्लिनिक मध्ये  कुनै  एकमा गएर पनि  साइनोभ्याक खोप बुकिङ गरेर ग्रहण गर्न सकिनेछ।

मार्च महिनाबाट हङकङ भरिका १,५०० भन्दा बढी प्राइभेट  क्लिनिकहरुले पनि  साइनोभ्याक भ्याक्सिन उपलब्ध गराउनेछ्न।

सरकारले केयर होम र एल्डर्ली होमका बासिन्दाहरुलाई बासस्थान मै खोप लगाइदिन मेडिकल कर्मचारीको टोलिलाई खटाउने व्यवस्था समेत गर्नेछ ।

. यदि खोपले शरीरमा नकारात्मक असर परेमा के गर्ने ?

भ्याक्सिन लगाए पछि देखा पर्ने सामान्य नकारात्मक असरहरु हुन : टाउको दुख्नु, थकान महसुस हुनु, सुइ हानेको ठाउँ दुख्ने , सुनिने  र रातो हुने हुनु।

केहि अपवादको अवस्था जस्तै बायोएन्टेक  खोप लगाएका १,००० जना मध्ये एक जनामा अनुहारको एक पट्टीको मसल छोटो समयको लागि प्यारालाइस हुनसक्छ । साइनोभ्याक भ्याक्सिन लगाएपछि भने ०.०१ देखि ०.१ प्रतिशत व्यक्तिमा मांसपेशी बाउडिने, भुँडी ढाडिने शरीर तातिने हुन सक्दछ।

हङकङ सरकारको स्वास्थ बिभागले खोप लगाइसकेपछी प्रतिकुल असर देखा परेमा रिपोर्ट गर्ने सयंन्त्र स्थापित गरेकोछ। नागरिक आफैले पनि त्यस्तो नकारात्मक लक्षण देखा परेमा संबंधित स्वास्थकर्मीलाई उजुर गर्न सक्छ्न।

त्यसो त सरकारले हङकङ डलर १ अरब क्षतिपूर्ति रकम छुट्याएकोछ। भ्याक्सिन लगाएका कारण गम्भीर नकारात्मक असर देखा परेका व्यक्तिले  वा कसैको मृत्यु भएमा उसको आफन्तले अधिकतम ३० लाख सम्म क्षतिपूर्ति पाउने व्यवस्था गरिएकोछ।

. भ्याक्सिन लगाइसके पछि के म देश बिदेश यात्रा गर्न पाउछुँ ? के भ्याक्सिन लगाइसकेको मान्छे क्वारेन्टाइन बस्नु पर्छ?

भ्याक्सिन लगाइसकेको मानिसले खुल्ला रूपमा यात्रा गर्न पाउने नपाउने निर्णय हुन बाँकी छ। इन्टरनेशनल एयर ट्रान्स्पोर्ट  एसोसिएसनले अब चाडैं डिजिटल ” कोभिड ट्राभल पास” बजारमा ल्याउदैछ । यो पासले खोप लगाइ सकेको मानीसलाई यात्रा गर्ने कुरामा थप स्वतन्त्रता दिन सक्दछ।
कोभिड भ्याक्सिन लगाइ सकेको मानिसले हङकङ प्रवेश गरेपछि क्वारेन्टाइन बस्नु पर्ने या नपर्ने विषयमा हङकङ सरकारले नयाँ नियम ल्याएको छैन। तीन हप्ता सम्म होटेल क्वारेन्टाइन बस्नु पर्ने नियम नै अहिले लागू छ।

तपाईको प्रतिक्रिया