नेपाली साहित्यमा पचासको दशकमा “सृजनशिल अराजकता ” नामक साहित्यीक आन्दोलनको प्रवर्तक मध्ये एक मदन पुरस्कार बिजेता साहित्यकार राजन मुकारुङ पछिल्लो समयमा आदिवासी जनजाती साहित्यकार लेखक महासङ्घ नेपालको केन्द्रीय अध्यक्ष हुनुहुन्छ । पछिल्लो समयमा खुवालुङ बचाउ आन्दोलनको कारण फेरि एकपटक चर्चाको बिषय बनेका मुकारुङ नेपाली साहित्यमा चली आएको मुल्यमान्यता भन्दा नितान्त फरक पीँधका मान्छेका कुरा गर्न रुचाउनु हुन्छ र अबको दिनमा नेपाली साहित्यको स्वरुप अब बदल्नु जरुरी छ भन्ने बिषयमा आफ्नो स्पष्ट मत राख्नुहुन्छ । प्रस्तुत छ उहाँसग कवि छम गुरुङले गरेको कुराकानी

.नेपाली साहित्यको केन्द्रमा आदिवासी जनजातिहरुको सवाल कसरी आइरहेछ ?

एक त नेपाली साहित्यको केन्द्र नै भइसकेको छैन । तपाईंले जे–जसतिर केन्द्र भन्ने संकेत गर्नुभएको छ, त्यो त हिन्दू धार्मिक ‘एस्थेटिक’ मात्रैको कुरा भयो । यो एकल र एकात्मक छ । नेपाली समाज त विविधतायुक्त छ ।

नेपाली साहित्यमा विविधताहरू स्थापित नभएसम्म केन्द्र भन्ने नै बन्दैन । त्यो केन्द्र भनेको साझा स्वर र सौन्दर्यहरुको स्वीकारोक्ति हो । आदिवासी जनजातिहरुको सवालमा यही कुरा लागू हुन्छ । आफ्नो छुट्टै पहिचान भएर पनि सीमान्तमा पारिएका आदिवासीहरु, जनजातिहरुको सवाल अहिले पनि सुनुवाइ हुन सकेको छैन ।

समुदायका केही व्यक्तिहरुले सफलता पाए झैं देखिएको होला । तर तिनले आदिवासी जनजातिको अनुहार मात्रै भन्ने हो, मुद्दा भनेको छैन ।

.नेपाली राजनीति र राज्य दलित, महिला, मुस्लिम, मधेसी, कर्नाली हुँदै आदिवासी जनजाति समुदायको लागि कति परिवर्तन भएको जस्तो लाग्छ ?

अघि नै भनिसकेँ । सीमित अनुहारहरु देखिएका होलान् । जरुर छन् । मुद्दाचाहिँ कतै अलपत्र छ ।

.आजसम्मको साहित्यलाई यसो नियाल्दा ‘नेपाली साहित्य’ भनेको के हो जस्तो लाग्छ ? अथवा के कस्तो हुनुपर्थ्यो जस्तो लाग्छ ?

नेपाल भूगोलमा सानो क्षेत्रफल भए पनि मानव समूहहरुको सभ्यता विकासक्रम हेर्दा अत्यन्त बृहत् छ । भाषा, संस्कृति वा जीवन–पद्धतिका हिसाबले विविध आयामहरु छन् । ती सबै आयामहरु नेपालको साझा मौलिकता र सौन्दर्य हुन । यसैको प्रयोग र स्वीकार नै खासमा नेपाली साहित्य हो ।

तर, मैले अघि नै भनिहालेँ– यहाँ एकात्मकता मात्र स्वीकार्य छ । हिन्दू धार्मिक कथन मात्र सेटेड गराइएको छ । जस्तो कि लिम्बूको पालाम, राईको साकेला वा गुरुङको रोधीँ नै भन्नोस्, ती राष्ट्रिय मानिन्नन् । बरु रविन्द्र संगीतको व्याकरणलाई मानक मानिन्छ । त्यसैको घेराभित्र अरुलाई कुँज्याइन्छ ।

साहित्यको हकमा पनि यही कुरा लागू गरिएको छ । सत्ताको कथन यही छ । यसो हुँदा नेपाली साहित्य भन्ने नै निर्माण भएको छैन । सीमित अभिजात वर्गको साहित्यलाई नेपाली भनिदिने चलन छ । यो नै गलत छ । यहाँका आदिवासी जनजाति, सीमान्त समुदाय वा क्षेत्रका मौलिक मान्यताहरुलाई स्थापित नगरी नेपाली साहित्य नै बन्दैन ।

. यो देशको भाषा–राजनीति पनि छँदैछ । जस्तो कि, शिक्षामन्त्री गिरिराजमणि पोख्रेलको अध्यक्षतामा राष्ट्रिय पाठ्यक्रम विकास केन्द्रले ०७६ माघ २ मा गरेको निर्णयबाट ०७७ देखि संस्कृत शिक्षा १ कक्षाबाट लागू गर्दै जाने, त्यसका लागि पाठ्यपुस्तक समेत तयार पारिसकेको पाठ्यक्रम विकास केन्द्रको ०७७ वैशाख २ को विज्ञप्तिमा छ । ‘पर्वते खस’ भाषाको दमन त छँदै छ, थप संस्कृत भाषाको पनि जबर्जस्त लाद्न खोज्ने राज्य–नीतिलाई के गर्ने ? संस्कृत पाठशाला देखि विश्वविद्यालयको सुविधा नै छ । नेपालमा यतिका भाषिक विविधता छन्, संवैधानिक अधिकारसमेत सुरक्षित छ, तर एउटा पनि बहुभाषिक विश्वविद्यालय छैन । आदिवासी जनजाति या बहुभाषिक विश्वविद्यालयको अब स्थापना गर्नैपर्छ, होइन र ?

नेपालको विशेषता वा सुन्दरता भनेकै भाषिक विविधता पनि हो । तर, सत्ताधारी वर्ग वा जात खास नश्लीय छ । खास धर्मी छ, एकल चिन्तनको छ । स्वार्थी पनि छ । उसले आफ्नै मात्र एस्थेटिकहरु प्रयोग गरिरहेको छ । यसैको उदाहरण हो यो पनि ।

भएका संस्कृत विश्व–विद्यालयलाई नै व्यवस्थित गर्न सकिरहेको छैन । अझ त्यसैमा भार थप्न खोजिरहेको संकेत मिल्छ । नियतमा राजनीति भइहाल्यो ।

रह्यो कुरा बहुभाषिक विश्व–विद्यालयको । विश्व–विद्यालय टिक्नको लागि सबभन्दा पहिले त बेसिक विद्यालयहरु नै मजबुत हुन पर्छ । बेसिक विद्यालय नै नभएपछि विश्व–विद्यालयतिर चासो राख्ने नै हुँदैन । बहुभाषिक विश्व–विद्यालयको सपना देख्दै गर्दा हामीले व्यक्तिको मातृभाषाको शैक्षिक हक र अधिकार जो मौलिक हकको कुरा पनि हो भन्ने ख्याल राख्नै पर्छ । तसर्थ, मातृभाषाको अनिवार्य सर्त र अधिकार स्थापित गर्नु पहिलो दायित्व हो ।

.त्यस्तै गरी, वि.सं. १९७० मा चन्द्र शमशेरका प्रिय पात्र राममणि आचार्य गोरखा भाषा प्रकाशिनी समितिमा आएपछि आदिवासी जनजातिका ३० हजारभन्दा बढी भाषा, लिपि, धर्म, संस्कृति र इतिहाससम्बन्धी ग्रन्थहरू खोजीखोजी डढाएर खरानी पार्न लगाएका थिए । वि. सं. १९९७ मा कवि केशरी चित्तधर हृदय नेपाल भाषामा कविता प्रकाशन गरेकोमा १० वर्ष जेल परेका थिए । त्यसै साल कवि सिद्धिचरण श्रेष्ठले नेपाल भाषामा ‘वर्षा’ शीर्षकमा कविता प्रकाशन गरेबापत् सर्वस्वसहित जन्मकैद गरिएको थियो । हुँदा हुँदा भर्खर पनि काठमाडौँमै आदिवासीका भूमि र सम्पदा रक्षार्थ आन्दोलित सुमन सायमि, विरोचन श्रेष्ठ लगायत साथीहरू नेपालभाषा बोलेकै निहुँमा गिरफ्तार गरिरहेकै छ । ‘खुवालुङ’ माथि राज्यको सांस्कृतिक–आक्रमण विरुद्धमा तपाईं स्वयं प्रत्यक्ष जोडिरहनु भएकै छ । यस्तो किन भइरहेछ ?

राज्य नै धार्मिकहरुको पेवा भएको छ । हर्कत यस्तो भइहाल्छ, भइरहन्छ । राज्यलाई हामीले न्यायिक बनाउने हो । समतावादमा आधारित राज्य हुँदा मात्रै तपाईंका सबै तथ्यपूर्ण जिज्ञासाहरु मेटिने र न्याय भेटिने हुन्छ ।

.साहित्य–लेखनको लागि विचारधारा, वाद या दर्शनमा प्रतिबद्धता किन जरुरी लाग्छ ? वर्ग–समाजमा वर्ग–साहित्य हुन्छ नि ? आम मानिसका माझमा आजका लेखकहरुलाई कसरी चिन्न पर्ला ? लेखक–सत्ता राज्य–सत्ता अघि कहाँ छ र हुनुपर्छ जस्तो लाग्छ ?

विचारधारा, वाद वा दर्शनकै माध्यमबाट मात्रै मानिसले आफूलाई म को हुँ भन्ने चिन्छ । आफूलाई चिन्नु भनेको आफ्नो हक–अधिकारलाई चिन्नु हो । हक–अधिकार चिन्नु भनेको चेतना वा गतिशील समाजलाई बोध गर्नु हो । यसैको लागि त प्रतिबद्धता चाहिने हो ।

प्रतिबद्धताको सौन्दर्य भनेको परिवर्तनका लागि तयार हुनु पनि हो । त्यसको लागि विचारधाराले नै निर्देशित गर्ने कुरा हो । आजका लेखकहरु आम मानिसका माझमा अलि कम र आत्मरुझान (व्यक्तिकेन्द्र) मा बढी हाबी छन् । यसैको कारण त लेखकसत्तालाई राज्यसत्ताले एकदुई थान पदक र विभुषणहरुमा नराम्ररी फसाइदिएको छ । जुन सत्ता एकदमै निरंकुश छ, अधिनायकवादी छ, अलोकतान्त्रिक छ भन्दै त्यही लेखक सडकमा नाराबाजी गर्छ, त्यही सत्ताले पदक वा विभुषण दिएपछि अस्विकार गर्नुको सट्टा सत्तालाई धन्यवाद दिएर सेल्फी पोस्ट गरिहाल्छ । समस्या यहीँ नेर छ । लेखक–सत्ता आलोचनात्मक चेतसहितको बन्न सकेन ।

.पुरस्कार भनेको के हो ? यसको राजनीति र संस्कृति कस्तो हुन्छ ? यसले के गर्छ ? यो खासमा कसको लागि हो ? मदन पुरस्कारहरूलाई कसरी बुझ्न पर्ला ?

पुरस्कार भन्ने नराम्रो होइन । कुनै पनि काम गरेबापत पाइने स्याबासी वा पुरस्कारले व्यक्तिलाई ऊर्जा नै प्रदान गर्छ । यसको राजनीति वा संस्कृति त पाउने व्यक्तिलाई होइन, दिने संस्था वा व्यक्तिको नियतमा भर पर्ने कुरा भयो । पुरस्कार खास जो मेहनत गर्छ, उसैको लागि हो । उसैलाई दिइनुपर्छ ।

मलाई जानकारी भएसम्म मदन पुरस्कार एक दिवंगत व्यक्तिको नाममा स्थापित गुठीले दिने पुरस्कार हो । यसलाई राज्यले आफ्नो मातहतमा ल्याएको छैन । नेपालमा लामो समय पार गरेर आएकोले यसलाई साहित्यिक क्षेत्रका धेरैले अलि चासोका साथ लिन्छन् होला । त्योभन्दा अरु केही हो जस्तो लाग्दैन ।

यस्ता पुरस्कारहरु नेपालमा धेरै छन् । यीनले व्यक्तिकै सन्दर्भमा बढी राजनीति गर्ला । जस्तो कि मदन शमशेरलाई सम्झाइरहने राजनीति मदन पुरस्कारको होला । अरु त के होला र ! बरु छ वर्षअघि मात्रै स्थापित ‘पहिचान पुरस्कार’ भने सिधा पहिचानको आन्दोलन र राजनीतिसँग जोडिएको पुरस्कार हो ।

व्यक्तिको नाममा पनि छैन, मुद्दासित सम्बन्धित छ । एक व्यक्तिको होइन, धेरैभन्दा धेरै पहिचानको आन्दोलनसँग जोडिएका व्यक्तिहरुको साझा पुरस्कार हो । यसले सिधा आन्दोलनको माग गर्दछ ।

.आख्यान के हो ? कवितामा पनि यात्रारत हुनुहुन्छ । आख्यान–मैदान सप्ठेरो–अप्ठेरो के छ ? अबको तयारीमा तपाईंको ताजा पुस्तक ?

आख्यान भने पनि वा कविता भने पनि वा अरु नै विधा । विधागत हिसाबमा सबैको आ–आफ्नै महत्व हुन्छ । काम हो गर्ने । त्यो भनेको सिर्जनात्मक हो । मेरो हकमा म नन–फिक्सन झनै धेर रुचाउने व्यक्ति हुँ । तर, मेरो लेखन निरपेक्ष रहँदैन । म सामाजिक यथार्थ लेखन गर्ने स्रष्टा हुँ ।

विधागत हिसाबले आख्यान अलि धेरै धैर्य गर्न सक्ने मान्छेले लेख्ने कुरा हो । अझ जड समाजका अगाडि सामाजिक यथार्थको आख्यान लेख्नु त निकै नै चुनौतीपूर्ण कुरा हो । मसिना मसिना कुरामा गम्भीर हुनु, सचेत रहनु सबभन्दा ठूलो कुरा हो ।

‘अयोग्य’ उपन्यास लेख्न थालेको नौ वर्ष भइसक्यो । अझै चित्त बुझ्दो लेख्न सकिएन कि भन्ने नै लागिरहन्छ । अब त आइहाल्छ भनेर बोलेको धेरै भइसक्यो । ढाँटेको ठहर भइरहेछ । हेरौं, यसपालि आफूलाई अलि चित्त बुझाइएको छ । आउँछ कि ।

.तपाईंले साहित्य लेखनमा कस्ता खाले गैरआख्यानिक पुस्तकको भूमिका रहेको अनुभव गर्नु भएको छ ? यो समयमा हामीले नपढी नहुने केही गैरआख्यानिक पुस्तकमा कुन–कुन र किन याद गर्न चाहनु हुन्छ ?

सामाजिक न्यायसँग सम्बन्धित पुस्तकहरु धेरै छन् जसले मलाई साहित्यमा जिम्मेवार लेखन गर्न प्रेरित गरेका छन् । नामै भन्न त कस्तरी गाह्रो होला । तर, एन्जेला डेविसको ‘वुमेन, रेस एण्ड क्लास’ पढ्दा निकै नै गम्भीर भएको छु म । त्यसो त सुधिस पचौरी, अजय तिवारी, गोपिचन्द नारङ्गहरुका किताब पढ्दा पनि मज्जा लिएको छु । तिनलाई पढ्दा नै मैले पढ्नुलाई केवल पढ्नु होइन, दृष्टिकोण तयार गर्नु हो भन्ने ज्ञान पाएको हुँ । धेरै छन् । ‘ब्ल्याक लिटरेचर’सँग सम्बन्धित पुस्तकरहरु एकदमै आफ्ना लाग्छन् मलाई । यो समयमा नेपाल चिन्न र समस्या चिर्नका लागि आहुतीका पुस्तकहरु सबैले पढौं !

.लेखन कोही न कोही लेखकबाट प्रभावित हुन्छ भन्ने लाग्छ । तपाईंको या कहाँको लेखनबाट कसरी बढी प्रभावित हुनुहुन्छ ?

उसो त नेपालमा रसियन, चिनियाँ साहित्य अनुवाद भएर जेजति आइपुगे तिनैको कहीं न कहीं प्रभाव छ ममा । मेरो विद्यालय स्तरमा तिनै साहित्यले उत्प्रेरित गरे । पछि ‘ब्ल्याक लिटरेचर’को लत बस्यो ममा । यसैले पहिचानको आन्दोलनमा लाग्न प्रेरित गरयो । अहिले त ‘इण्डिजेनियस लिटरेचर’को स्वादमा बढी नै केन्द्रित छु । यसैबाट ‘सौन्दर्य शास्त्र’को निर्माण गर्ने लक्ष्य राखिएको छ ।

.जति लेखेर पनि अझै लेख्नै नसकेको र जीवनमा नलेखी नछोड्ने के छ, तपाईंसँग ?

भर्खरै भनेँ नि । अब नेपालको साहित्यमा ‘नेपाली आदिवासी सौन्दर्य’ लेख्नु पर्छ । लेख्न नसकिएको यही हो । नलेखी नछाड्ने पनि यही हो । सिर्जनात्मक र सैद्धान्तिक दुवै ।

.साहित्यिक आन्दोलन बारे पनि केही भनिदिनुस् ? अबको दिनमा नेपाली साहित्यमा उठाउनुपर्ने आन्दोलन, बहस के के हुन सक्लान् ?

‘आदिवासी जनजाति साहित्यकार लेखक महासङ्घ’ स्थापना भएको छ । नेपाली साहित्यमा यो संगठन स्थापना हुनु नै एक ऐतिहासिक आन्दोलन हो । सामाजिक न्यायका लागि पहिचानको आन्दोलन यही संगठनले हाँक्नेछ । आदिवासी सौन्दर्यशास्त्र निर्माण गर्नेछ । सह–अस्तित्व, सह–सम्मान वा समतामूलक, साझा र सामुहिक निर्णयको समाज नै आदिवासी सौन्दर्यशास्त्रको मुल सर्त हो । यही सर्तले एकात्मक, एकल जातिवादी हर्कतका विरुद्ध बहस मात्रै गर्दैन; आन्दोलन नै हाँक्छ ।

तपाईको प्रतिक्रिया