२९ अप्रिल २०२१ हङकङ । क्रान्ति सुब्बा ।

आजबाट ६ महिना अघिदेखि बन्द रहेको बार र नाइट क्लबहरु पुन संचालन हुनेभएको छ। सरकारले महामारी नियन्त्रण मापदण्डलाई खुकुलो तुल्याउदै लैजाने निति अनुरुप ” भ्याक्सिन बबल” भन्ने योजना कार्यान्वयनमा ल्याएको छ जस अनुसार रेस्टुरेन्टहरुले आफ्नो सेवाको दायरालाई वृद्धि गर्न सक्ने भएकाछ्न।

भ्याक्सिन बबल अन्तर्गत रेस्टुरेन्टलाई सरकारले प्लान A,B,C,D को संयन्त्र अनुसार चलाउन सक्ने विकल्प दिएकोछ भने ग्राहक र कर्मचारीले भ्याक्सिनको पहिलो डोज लगाएको स्थितिमा बार , नाइट क्लब,बाथ हाउस ,पार्टी रुम, माजोङ पार्लर र काराओके पुन परिचालन गर्न सकिनेछ।

प्लान A
मोडेल A अनुसार संचालन हुने रेस्टुरेन्टका कर्मचारीले नियमित भाइरस टेस्टमा जानू पर्दैन । तर यो रेस्टुरेन्ट राति १० बजेसम्म मात्र खोल्न पाइन्छ र एउटा टेबुलमा केवल दुई जना ग्राहकलाई मात्र बस्न दिइनेछ।

प्लान B
सिस्टम B चाहिँ अहिले प्रायःजसो रेस्टुरेन्टले लागु गरेको स्थिति छ। यस प्लान रहेका रेस्टुरेन्टका स्टाफले प्रत्येक १४ दिनमा कोरोना टेस्ट गर्नु पर्दछ। यी रेस्टुरेन्टमा खान जानेले आफ्नो विवरण एप या पेपरमा लेखेर छोड्नु पर्दछ। र यो प्लान अन्तर्गत रहेका भोजनालयले राति १० बजेसम्म एउटा टेबुलमा ४ जना सम्म बसाएर सेवा प्रदान गर्न सक्छ।

मोडेल C र D चाहिँ कोभिड नियन्त्रण मापदण्डलाई थप नरम तुल्याउने निति अनुरुप ल्याइएको भ्याक्सिन बबलसंग संबंधित रहेकोछ।

प्लान C
यो प्लान अपनाउने भोजनालयको प्रत्येक स्टाफले कम्तीमा कोभिड भ्याक्सिनको पहिलो डोज लगाएको हुनु पर्दछ। हङकङ सरकारले उपलब्ध गराएको दुई किसिमको भ्याक्सिन (साइनोभ्याक कम्पनी मार्फत बेजिङ्ले उत्पादन गरेको र बायोएन्टेक/ फोसन कम्पनी मार्फत जर्मनीले उत्पादन गरेको कोमिनार्टी ) मध्ये एक जुनसुकै कम्पनीको भ्याक्सिन लगाए पनि हुन्छ।

प्लान C अन्तर्गत रहने ग्राहकको लागि एउटा छुट्टै एरिया छुट्याउनु पर्दछ। जुन निर्दिष्ट एरियामा एउटा टेबुल बराबर छ जना मानिस मध्यरात सम्म बस्न पाउनेछ्न र सबैले अनिवार्य ट्रेसिङ एप प्रयोग गरेको हुनुपर्दछ। आफ्नो निजि विवरण कागजमा टिपाउन चाहनेले यो एरियामा प्रवेश पाउने छैनन।

प्लान D

यो प्लान अपनाउने भोजनालयका प्रत्येक स्टाफले भ्याक्सिनको दुवै डोज लिएको हुनु पर्दछ र यथेष्ट रोग प्रतिरोधक तत्व शरीरमा उत्पादन हुन चाहिने  १४ दिनको समय व्यतीत गरिसकेको हुनुपर्ने छ।
यो समुहको लागि छुट्टै एरिया तोकेको हुनुपर्नेछ र ट्रेसिङ एप प्रयोग गर्न मन्जुर हुनुपर्नेछ। यो समुहको मानिसहरु एउटा टेबुलमा ८ जना बिहान २ बजे सम्म बस्न सक्नेछ्न।

प्लान A, B, C अन्तर्गत परिचालित भोजनालयले आफ्नो कुल क्षमताको आधा क्षमतालाई मात्र प्रयोग गर्न सक्नेछ र भोजभतेरको लागि २० जना भन्दा बढी मानिस भेला गराउन पाइने छैन । तर तत भोजनालयको प्रत्येक स्टाफले कम्तीमा एउटा खुराक भ्याक्सिन लगाएको खन्डमा रेस्टुरेन्टको ७५ प्रतिशत क्षमतालाई प्रयोग गर्न सकिनेछ र भोजभतेरमा १०० जना मानिसलाई सहभागी गराउन सकिनेछ ।

यदि बार, पार्टी रुम र काराओकेमा स्टाफ र कस्टमरले कम्तीमा भ्याक्सिनको एक डोज लिएका छ्न भने उक्त स्थलहरुलाई  बिहान २ बजे सम्म संचालन हुन छुट दिइने छ। बार र नाइट क्लबमा एउटा टेबलमा २ जना बस्न सक्नेछ्न भने पार्टी रुम र काराओके क्लबमा एउटा कोठामा ४ जना सम्म बस्न पाउनेछन।

भ्याक्सिन लाउन अयोग्य अथवा अनफिट कुनै पनि रेस्टुरेन्टका स्टाफले डिक्लेरेसन फर्म भर्नु पर्ने छ र डाक्टरले दिएको प्रमाणपत्र पेश गर्नु पर्नेछ। तर उनिहरुले प्रत्येक हप्ता कोरोना टेस्ट गर्नु पर्नेछ।

३० जना भन्दा कम स्टाफ र पर्यटकहरुको सहभागिता रहेकोे लोकल टुर ग्रुप बनाएर पर्यटन व्यवसाय संचालन गर्न सकिनेछ जसको लागि स्टाफले कम्तीमा एउटा डोज भ्याक्सिन लगाएको हुनु पर्नेछ।

माथि उल्लिखित नयाँ मापदण्ड आगामी मे महिनाको १२ तारीख सम्म कायम रहनेछ।

तपाईको प्रतिक्रिया