महिला उत्पीडन र समानताको निम्ति दुइ दशक भन्दा लामो समयदेखि नेपाली साहित्यको बिशेषगरि कविता लेखनको माध्यमबाट निरन्तर कलम चलाईरहेकी कवि पञ्चकुमारी परियारको कविता प्रस्तुत छ साताको तीन कवितामा ।

मेरो तस्वीर खिच

विनापारिश्रमिकको कामदार म
बच्चा जन्माउने मेसिन
कस्ती देखिन्छु ?
सादा या रङगीन
प्रिय फोटोग्राफर
मेरो तस्वीर खिच ।

तिम्रो नजरमा
सुनगाभा झैँ
तिम्रो शरीरमा टाँसिएर फुल्ने म
तिम्रो लैङिगक क्यामेराको स्क्रिनमा
कस्ती देखिन्छु ?
अर्धाङगिनी कि शरीर उभिएकी छु
प्रिय फोटोग्राफर
मेरो तस्वीर खिच ।

तिम्रो मर्यादाको पालक
तिम्रै कुलको चालक
तिम्रो सन्तानको जन्म दिने
कस्ती देखिन्छु ?
धार्मिक क्यामेराको केन्द्रमा
कठपुतली कि युग जन्माउने जननी
प्रिय फोटोग्राफर
मेरो तस्वीर खिच ।

तिम्रो मनोरञ्जनको पात्र म
तिम्रै व्यवसायको विज्ञापन
कस्ती देखिन्छु ?
तिम्रो क्यामेराको फ्लासमा
मनलागी फेर्दै लगाउन मिल्ने
जुत्ताजस्तो कि
अरुलाई उज्यालो दिँदा
आफै सिद्धिएको दियोजस्तो
प्रिय फोटोग्राफर
मेरो तस्वीर खिच ।

यौन पिपासु लोग्नेको तिर्खा मेटदामेटदै
टुक्राटुक्रा पारिएकी गिता ढकाल म
बोक्सीको सफायामा
जिउँदै जलाएर खरानी बनाएकी
ठेगुनीदेवी महतो म
तिमीले जुन कोणबाट हेर्छौ
म त्यहि हो
समानताको खोजीमा भडकीएकी म
कस्ती देखिन्छु ?
तिम्रो क्यामेराको लेन्समा
पत्थरको प्रतिमुर्ति कि
जिउँदो मान्छे
प्रिय फोटोग्राफर
मेरो तस्वीर खिच ।

सधैं तिम्रो इच्छाअनुसारको
आभुषण पहिरीएर
तिम्रै रङमञ्चको अभिनेत्री म
यस पटकदेखि
सारा आभुषण फालेर
विचारको मसाल बालेर
तिम्रो प्राचिन क्यामेराको विरुद्धमा धावा बोल्दै
समानताको
आधुनिक क्यामेरा लिएर उभिएकी छु
प्रिय फाटोग्राफर
मेरो तस्वीर खिच ।

आगो

म सानै छँदा
अगेनाको डिलमा बसेर
आगो खेलाइ रहन्थें ।

आमा भन्नुहुन्थ्यो
आगो नखेलाउ
ओछयान मुतिन्छ ।

बा भन्नुहुन्थ्यो
आगोसंग नजिस्क
आगोको झिल्कोले संसार डढाउँछ
व्यर्थ मै घाउ लाग्छ
अनाहकमै ज्यान जानसक्छ ।

जब म वयस्क बुझ्ने भएँ
पाषाणकाल देखिनै
मान्छेले आत्मरक्षाका लागि
आविस्कार गरेको यो आगो
दलनको विरासत भोगिरहेकी
मेरी आमाको कानमा
आगोसंग खेल्नेहरु
ओछयान मुतुवा
कायर हुन्छन भनेर
कसरी भ्रम भरयो यो समाजले ?

सायद त्यतिबेला
मेरा बा सहि थिए
बेमौसममा आगो बाल्नेहरु
विना एकताको आगो बाल्नेहरु
आफै जलेर खरानी भए ।

यतिबेला
आगो निभाएर
यततत्र अगुल्टा फाल्नेहरु
भुसमा आगो लगाएर
भित्रभित्रै जल्नेहरु
काँचो दाउरामा आगो झोसेर
धुँवामात्र पुतपुताउनेहरु
हामी एकैठाउँमा दाउराहरु जोडेर
यति ठूलो आगो बालौं
ताकि यहि आगोमा
पाँचहजार वर्ष पुरानो
ब्राम्हाणवादको अभिमान पोल्न सकौं
कुसंस्कार र दलन पोल्न सकौं
यहि आगोको बलमा
जात नामको आवरण खोल्न सकौं
आजदेखि हामी पनि
मान्छे भयौं भनेर
चौकमा उभिएर सगर्व बोल्न सकौं ।

फुलनदेवी

अक्षर पढदै थिएँ स्कुलमा
जीवन पढनै बाँकी थियो
कोपिला नै थिएँ
फक्रिएर लालित्य पोतिनै बाँकी थियो
निश्चल आँखाहरुमा
सपना सजाउनै बाँकि थियो
अनायास स्कुल पोशाकमै
गाउँले दाईबाटै बलात्कृत भएँ
जीवनको सारा सपना र खुशी
आँशु र रगतसंगै बग्यो
आफै बच्चा थिएँ म
पेटभित्र अर्को बच्चा हुर्किए पछि
म चरित्रहिन आइमाइ बनाइएँ ।

पढने रहर छ पढ्न दिनुस बा
सानै छु बढ्न दिनुस बा
बलात्कारीले मार्छ मलाई
नसुम्पनुस बा
रुदै जीवनको भिख मागिरहँदा
तपाइ र तपाईको समाजले
मलाई न्याय दिनुको सट्टा
बलात्कारी कै हातमा सुम्पने फैसला गर्यो
त्यहि दिन देखि
अविभावक हुनुको कर्तव्य र दायित्व जिम्मा लाएर
तपाइ फुक्का हुनुभयो
पित्रीसत्ताको जाँतोमा
निरीह घुन बनाएर
मजस्तै कयौ छोरीहरुलाई
तपाई बाहरुले पिसीरहनु भयो ।

बलात्कारीको हातमा सुम्पिएकी म
मुर्छा पर्दै व्युझिदै
रातदिन दाह्रा किटेर
पासविक बलात्कार सहिरहे ।
रगतसंगै कोखको बच्चा पनि गिरे पछि
त्यो बधशालाबाट भागें ।

भाग्दै गर्दा
काठमाण्डौको व्यस्त बजारभित्र छिरेँ
व्यापारीहरुले अर्धनग्न पारेर
विभिन्न पोजहरुमा मेरो तस्वीर खिचेर
होडिङबोर्डहरुमा झुण्डयाए
उत्पादित वस्तुहरुलाई
ब्राण्डेड बनाउन मेरो तस्वीर टाँसे
मेरो सुन्दरताको बलात्कार गरेर
उन्मुक्त हाँसो हासे ।

भीड छिचोलेर भाग्दै गर्दा
बसमा चढें
कुटिल हातहरु मेरो शरीरभरी सल्बलाए
कोही जिब्रो पडकाउथे
काही आँखा झिम्काउथे
चुम्न आतुर अतृप्त ओठहरुले
मेरो मानसिक विचलनको बलात्कार गरे ।

भाग्दा भाग्दै एजेण्ट भेटेँ
स्वर्णिम सपनाका संसार देखाएर
एजेण्टले नै बलात्कार गरयो
मेरो निरीहपनको ।

मेनपावरमा पुगेँ
मेनपावरले मोलमोलाइ गर्दै
बलात्कार गरयो मेरो विवशताको ।

आफनै जीवन लिलाम विक्रिमा राखेर
साउदी पुगें
त्यहाँ त कोही फकाएर लुटने
कोही थर्काएर लुटने
आफनै घरदेशमा लुटिदा लुटिदै
परदेश पुगेकी म अब त लुटिन बाँकी नै के रहयो र
एउटा निरस सपाट कंकाल शरीर
र एकमुठी सास
यहि लिएर घरदेश फर्किएकी छु ।

मलाई देख्ने वित्तिकै बा भन्नुहुन्छ
भन यो फेरी कसको हो ?
वेश्या जन्मिछस किन विदेशमै मरिनस ?
समाजको अगाडी मेरो नाक काटिस ।

आमा भन्दै थिइन
तँ जस्ती कुलाङ्घार्नी
मेरो छोरी भएर जन्मिनु भन्दा किन कोखमै मरिनस ?
भन तेरो कुनै पोइ छ की ?
नाठोको बोकिस पेट ?

पुरुषोत्वको अभिमान बोकेको
कुनै पोईसंग सहवास गरेर
बलात्कारी छोराहरुको समाज
जन्माउनु छैन मलाई
कोख मेरो
रगत मेरो
सन्तान या वंश पुरुषको ?
यस पटक मेरो आफनै
ईच्छाको पेट बोकेकी छु ।

मानौ कुलको इज्जत
समाजले दिने प्रतिष्ठा र सम्मान
छोरीको अस्मीता र आचरणमा अडेको छ ।
बा तपाईजस्तो पुरुष अभिमानले व्याप्त यो समाज
म जस्तै थुप्रै छोरीहरुलाई
देउकी, झुमा ,कुमारी र छाउपडीको नाममा
बलि दिएर
शक्तिशाली भएको ठान्नुहुन्छ ।

बच्चा जन्माउदैमा
कहाँ भइन्छ र आमा ?
बच्चा जन्मिए पछि सालनाल सहित झाडीमा फाल्नु
छोरीको लिङ्ग पहिचान हुने वित्तिकै
गर्भपतन गराउनु
छोरीलाई बलात्कारीको हातमा सुम्पिनु
आमा शब्द कै अपमान गर्नु हो
आमा नबन्नु जत्तिकै हो
आमा हुनु भनेको त
मातृत्व शक्तिले सन्तानको सुरक्षा गर्नु पनि हो
आमा हुनु भनेको त
सन्तानलाइ न्याय गर्नु पनि हो
परन्तु
पुतली जस्तै बनेर तपाई आमाहरु
पितृसत्ताकै विरासत थामिरहनु भएको छ ।

जतिबेला भागीरहें
यो समाजले लखेटी रहयो
मात्र मेरो अस्मिता माथि प्रश्न गरिरहयो ।

यतिबेला यहि समाजको अगाडी
फुलनदेवी भएर
युगिन आवश्यकताको पेट बोकेर उभिएकी छु
भन्छन नि टेष्टयुव बेबी
हो त्यहि टेष्टयुव बेबी
हुर्किदै छ मेरो पेटमा
आमा बन्ने स्वतन्त्रता सहितको
यो पेट मात्र मेरो पेट हो । ।

तपाईको प्रतिक्रिया