“आगोको समाधी “

– सुनिता गिरी

उनीहरुका निर्दोष देहमाथी
पालैपालो नृत्यरत आगोको कुरुप नृत्य
हेर्दै चम्किरहे नौलाख तारा सगरमा
आगोको बिषाक्त लप्कामा
हाँस्दै जलिरहेका उनीहरुका आवाजहरु
सुन्दै मौन बगिरहे सागरका लहरहरु
उनिहरुका निभ्दै गएका आँखाका उज्यालो छाम्दै
निसब्ध उभिरहे वरिपरि पहाडहरु
मौन ब्रत झै चुपचाप टोलाइरहे गगनचुम्बी महलहरु
उनिहरुका सुक्दै गएका आँसु
नियाल्दै निशब्द टोलाईरहे बाटाहरु…
खरानी भईरहँदा अंग प्रत्यंग उनिहरुका
आएनन् निभाउन कुनै सुनामी
पग्लिरहँदा इच्छा , सपना र मुस्कान उनीहरुका
आएनन् बचाउन कुनै ईश्वर
हे अग्निदेव !
यतिका समुन्द्र हुँदाहुँदै यस पृथ्वीमा
किन पियौ उनीहरुको कम्जोर आँसु ?
जसले तिमिलाई
हरेक बिहान् श्रद्धाले ढोग्थे
पुजा आरधना गर्दा…
यतिबिघ्न पापैपापका प्यालाहरु हुँदाहुँदै
यस धर्तीमा
किन पियौ उनीहरुकै निर्दोष रगत ?
जसले तिमीलाई
प्रत्येक साँझ बिश्वासका फुल चढाउँथे…
जब तस्वीरमा श्रद्धाञ्जली चढाएँ मैले प्रत्येकको
हरेक सपनामा आईरहेछन मेरो आँखामा
म कुन बाटो देखाउँ उनिहरुलाई
कुन सम्बोधन गरुँ
कुन माया दिउँ
कसरी बिश्वास गरुँ
कि मरेका छैनन् उनिहरु
अहँ ! हामिलाई छाडेर गएका छैनन् उनिहरु
अब म आगोको समाधी उत्खनन् गरेर
अन्तिमपल्ट संगाल्छु मेरा प्रिय मृतजनका अमुल्य चिनोहरु ।

-हङकङ

तपाईको प्रतिक्रिया