- अक्कल तामाङ

न्युयोर्क,ज्याक्सन हाइट्स — ‘हामी नेपाली ग्लोबल, यूएसए – न्युयोर्क सब–च्याप्टर’ को तेस्रो अधिवेशन ज्याक्सन हाइट्समा भव्यताका साथ सम्पन्न भएको छ। अधिवेशनले आगामी कार्यकाल (2026–2029) का लागि 21 सदस्यीय विशाल कार्यसमिति तथा विभागीय समितिहरू चयन गरेको छ जसले संस्थालाई थप सक्रिय र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

कार्यक्रमको पहिलो चरण तत्कालीन अध्यक्ष विरेन्द्र जङ्ग केसीको सभापतित्वमा सम्पन्न भएको थियो भने दोस्रो चरण नव–निर्वाचित अध्यक्ष अदिप तामाङको सभापतित्वमा आयोजना गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि हामी नेपाली ग्लोबलका केन्द्रीय अध्यक्ष अमृत लामा रहनु भएको थियो भने विशिष्ट अतिथि न्युयोर्कको डिष्ट्रीक्ट एसेम्ब्ली सदस्यका उम्मेदवार सोमनाथ घिमिरे हुनुहुन्थ्यो। त्यसैगरी अन्य अतिथिहरूमा संस्थाका केन्द्रीय प्रवक्ता केशब राम राइ, केन्द्रीय सदस्य अक्कल तामाङ, अमेरिकाको अध्यक्ष सोभाकान्त पाण्डे, तामाङ सोसाइटी अफ अमेरिकाका महासचिव चाँदनी लामा, नेवा नखका महासचिव तुलसी नाथ चित्रकार तथा सामाजिक व्यक्तित्व विनोद चापागाइको उपस्थिति रहेको थियो ।

आफ्नो मन्तव्य दिनु हुदै प्रमुख अतिथि अमृत लामाले संस्थाको स्थापना किन र कसरी भयो भन्ने विषयमा स्पष्ट पार्दै संस्थाको उद्देश्य र भविष्यको दिशा प्रस्तुत गर्नुभयो ।

विशिष्ट अतिथि सोमनाथ घिमिरेले आगामी निर्वाचनमा नेपाली समुदायबाट भोट, सहयोग तथा स्वयंसेवाको अपिल गर्दै आफू निर्वाचित भएमा समुदायको हरेक सुख–दुःखमा साथ दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

केन्द्रीय प्रवक्ता केशव राम राईले नवगठित कार्यसमितिमा जुझारु र ऊर्जावान युवाहरूको सहभागिता भएकोले संस्थालाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो साथै आपतकालीन कोष पनि स्थापना गर्न सुझाव दिनुभयो ।

सामाजिक अभियन्ता अक्कल तामाङले संस्था, समाजसेवा र सामाजिक कार्यको वास्तविक अर्थ स्पष्ट पार्दै सदस्यहरूलाई संस्थामा आवद्ध हुँदा प्राप्त हुने फाइदाको बारे प्रकाश पार्नु भयो ।

कार्यक्रमको समापन गर्दै नव–निर्वाचित अध्यक्ष अदिप तामाङले संस्थाको विधान र परिधिभित्र रहेर सबै सदस्यहरूसँग सहकार्य गर्दै प्रभावकारी रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै आफूलाई निर्विरोध अध्यक्ष चयन गरेकोमा सम्पूर्ण सदस्यप्रति आभार व्यक्त गर्नु भयो ।

कार्यक्रमको शुरूवात ‘हामी नेपाली ग्लोबल अमेरिका’ का अध्यक्ष शोभाकान्त पाण्डेको स्वागत मन्तव्यबाट भएको थियो भने कार्यक्रम सञ्चालन NRNA न्युयोर्क च्याप्टरका सचिव दीपर्शन प्रसाईँले गर्नुभएको थियो ।

यस अधिवेशनले न्युयोर्कमा नेपाली समुदायलाई अझ संगठित, सशक्त र सेवामुखी बनाउने स्पष्ट संकेत दिएको छ। नयाँ नेतृत्व र सक्रिय कार्यसमितिको साथमा ‘हामी नेपाली ग्लोबल’ ले सामाजिक, सांस्कृतिक तथा आपतकालीन सेवाका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

तपाईको प्रतिक्रिया