न्यूयोर्क,अमेरिका। नेपाल आदिवासी जनजाति महासंघ,अमेरिका (फिप्ना) को १० औं राष्ट्रिय महाधिवेशन यही अप्रिल १९ तारीख सम्पन्न भएको छ । अधिबेशनले नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरेको छ। महाधिवेशनबाट अध्यक्षमा पासाङ शेर्पा (एपी लामा शेर्पा) तथा महासचिवमा सुमन थाम्सुहाङ लिम्बु निर्विरोध निर्वाचित हुनुभएको छ। नयाँ नेतृत्व चयनसँगै अमेरिकामा रहेका नेपाली आदिवासी जनजाति समुदायबीच उत्साह र नयाँ आशा थपिएको छ। महाधिवेशनले संगठनलाई थप सशक्त, समावेशी र समुदायमुखी बनाउने विश्वास व्यक्त गरेको छ।

नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा शम्भु राई, उपाध्यक्षमा राजु तामाङ, सहकोषाध्यक्षमा कर्मा शेर्पा ढोक्प्या चयन हुनुभएको छ भने महिला उपाध्यक्ष र कोषाध्यक्ष पद पछि मनोनित गरिने जनाइएको छ। सदस्यहरूमा टासी ढोन्धुप लामा, ओम गुरुङ, हरि जवेगु तथा भुपेन्द्र बज्राचार्य निर्वाचित हुनुभएको छ। नयाँ कार्यसमितिले संगठनको पहिचान, अधिकार, भाषा, संस्कृति तथा समुदायको एकतालाई अझ मजबुत बनाउने प्रतिबद्धता जनाएको छ।

महाधिवेशनमा वक्ताहरूले फिप्नाले विगत दशकदेखि अमेरिकामा नेपाली आदिवासी जनजातिहरूको हकहित, पहिचान र सांस्कृतिक संरक्षणमा खेलेको भूमिकाको प्रशंसा गरेका थिए। नव निर्वाचित अध्यक्ष पासाङ शेर्पाले संगठनलाई सबैको साझा चौतारीका रूपमा अगाडि बढाउने, युवापुस्ताको सहभागिता बढाउने र समुदायका मुद्दालाई थप सशक्त रूपमा उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। महासचिव सुमन लिम्बूले संगठनलाई संस्थागत रूपमा अझ बलियो बनाउँदै समुदाय सेवामा समर्पित रहने बताउनुभयो।

निर्विरोध रूपमा नेतृत्व चयन हुनु संगठनभित्रको एकता, सहमति र परिपक्वताको संकेतका रूपमा लिइएको छ। अमेरिकामा रहेका नेपाली आदिवासी जनजाति समुदायले नयाँ नेतृत्वलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्। फिप्नाको यो १० औं महाधिवेशनले संगठनको आगामी यात्राका लागि नयाँ दिशा, ऊर्जा र प्रतिबद्धता दिएको सहभागीहरूले बताएका छन्। उक्त महाअधिबेशनले प्रेसिडेन्ट अवार्ड (President award) द्वारा संस्थाका महासचिब दिपक चौधरी र युनाइटेड किरात राई अर्गनाइजेसन अमेरिका (united kirat rai organization of America ) का उपाध्यक्ष समाजसेवी केशब राम राइ सम्मानित हुनु भएको थियो !

तपाईको प्रतिक्रिया