रोमन साम्राज्य (सन २७–४७६) ले युरोपका विभिन्न देशहरूमा साम्राज्य फैलाउँदै, कला, साहित्य, विज्ञान र अर्थनीतिमा आफ्नै नीति, सिद्घान्त र विचारको प्रयोग गरेको थियो । विशेषगरी, ब्रिटेनमाथि, विकास निर्माण र कला–साहित्य र राजनीतिमा यसको प्रयोग उल्लेखनीय छ । तर, ब्रिटेनले रोमन औपनिवेशिकताको प्रतिरोधमा मौलिक ज्ञानपद्धतिको अनुसरण गरेको थियो । यो मुक्कुमलुङ्को सांस्कृतिक प्रतिरोध आन्दोलनका आयामहरूसँग मेल खान जान्छ ।

रोमन सत्ताले विकास निर्माण गर्ने क्रममा सिधा बाटाहरू र बाटाहरूमा आकर्षक ढुुङ्गाहरू बिछ्याएको थियो जुन प्रशासनिक र सुगमताका हिसाबले पनि ती बाटाहरू सहज लाग्दथे । तर, ब्रिटेनले पछि आएर घुमाउरा सडकहरू निर्माण गरेको थियो । रोमनकालीन मूर्तिकलाहरूलाई भत्काएर नयाँ ढङ्गले मूर्ति निर्माण गरेको थियो । रोमनकालीन निर्माणहरु ठिक भएपनि ब्रिटिसले मौलिकतामा आधारित धरोहर निमार्णका लागि रोमनकालीन संस्कृतिको प्रतिरोध गर्दै पृथक संस्कृतिको नव–भाष्य निमार्ण गरेको देखिन्छ । नेपालको सन्दर्भमा , गोरखा राज्यले निर्माण गरेका नवसांस्कृतिक औपेनिवेशिकताको विस्तारमा यहाँका रैथाने जातिहरू परेकाछन ।

आदिवासी जनजातिहरूको आफ्नै थातथलो, संस्कार, संस्कृति र धार्मिक स्थलहरू रहेका छन् जुन परापूर्वकालबाट उपयोग गर्दै आएका हुन। तर, गोरखा राज्यको विस्तारसँगै हिन्दु आर्दश र आस्थालाई जबर्जस्त लाद्न थालियो । हिन्दुको चाडपर्व दशैँ, तिहार अनिवार्य मनाउनु पर्ने । मुन्धुमी कर्मकाण्ड अनुसार अनिवार्य रुपमा गाई, गोरु वलि दिनुपर्ने संस्कारमाथि गोरखा राज्यसत्ताले पूर्ण प्रतिबन्ध लगायो, जो आजपर्यन्त कायम छ ।

आदिवासी जनजाति मध्येका याक्थुङ समुदाय यस्ता औपनिवेशिक कामबाट अछुतो रहने कुरै रहेन । यसै सिलसिलामा, ऐतिहासिक र धार्मिक स्थलको हिन्दूकरण गरी खसपर्वते भाषामा नामकरण गर्ने काम विभिन्न कालखण्डमा गरियो । नश्लीय सरकारले अझै यस्ता कामहरू निरन्तर गर्दै आएको छ । यसको पछिल्लो उदाहरण ‘मुक्कुमलुङ’ लाई पाथिभरा नामकरण गर्नु पनि हो ।

पाथीभरालाई यहाँका रैथाने जातिले ‘मुक्कुम्लुङ माङ’ भन्दै आएका छन । तर, राज्यले पाथीभरा भन्दै याक्थुङहरूको पवित्र स्थललाई पाथीभराको नाममा हिन्दूकरण गरी रैथाने जातिहरूको धार्मिक स्वतन्त्रतामाथि नाङ्गो आक्रमण गरेको छ ।

आदिवासी जनजाति लगायत उत्पीडित जातिहरूलाई जे गर्दा पनि हुन्छ भन्ने उच्च जातीय अहङ्कारबाट सरकारले सबै काम गर्दै आएको छ । यो एकदमै निन्दनयी छ । जब मान्छे सत्तामा पुग्छ, तब आफ्नो धरातल बिर्संदै, त्यही साम्राज्यवादी नीति विस्तार गर्ने नेचरको बन्दछ ।

उदाहरण्को लागि, पछि ब्रिटिश साम्राज्यले भारतको मुम्बइलाई बम्बई बनाएको थियो । तर गान्धीको भारत छोड् आन्दोलन सफल भएपछि बम्बइलाई, मुम्बई बनाई छोडे । यो साँस्कृतिक प्रतिरोधको ठूलो नमुना हो । जुन मुक्कुमलुङको औपनिवेशिकता विरुद्धको आन्दोलनको सफल उदाहरण सँगसँगै आन्दोलनकारीहरूको नव भाष्य बन्नुपर्छ ।

अन्त्यमा, १३ औं शताब्दीदेखि १६ औं शताब्दीसम्म चलेको युरोपीयन साँस्कृतिक पुनर्जागरण आन्दोलनले युरोप केन्द्रित ज्ञानसत्ताको निर्माण गरेको देखिन्छ । गोरखा सत्ताले निर्माण गरेको ज्ञानसत्ता भत्काउन हामीले साँस्कृतिक पुनर्जागरणको जाग्रित आन्दोलन गर्न आवश्यक छ । याक्थुङ समुदाय गोर्खा राज्यसँग नहारेको रक्तिम इतिहास छ । पुर्खाहरूको ‘नहार्ने’ जेनेटिक मेमोरीको उपयोग गर्दै मुक्कुमलुङ नामकरणको आन्दोलनलाई सफल पार्न हजारौं एभानगार्डहरू आन्दोलनमा उत्रिन जरुरी छ । मुक्कुमलुङ नामकरणको साँस्कृतिक प्रतिरोध आन्दोलन पनि बहुल राष्ट्रिय राज्य निर्माण गर्ने आधार बन्न सक्दछ ।

तपाईको प्रतिक्रिया