१४ जुन २०२१ हङकङ । नरजित राई ।

किरात राई यायोक्खा हङकङ, सुप्तुलुङ मर्मत तथा निर्माण बिभागले आफ्नै भवन सुप्तुलुङ खिमको आगनमा किरात सभ्यताको आदिम पूर्खा रैछाकुलेको प्रतिमा निर्माण गरि १३ जुन २०२१ का दिन अनावरण  गरेको छ।

किरात राई यायोक्खा हङकङका अध्यक्ष हरिचन्द्र राईको प्रमुख आतिथ्य तथा बिभाग संयोजक धिराज कुमार राईले अध्यक्षता गर्नु भएको उक्त कार्यक्रममा किराया नेपालका केन्द्रीय सदस्य दिलिप राइ, नेपाली आदिवासी जनजाती  महा संघ हङकङका अध्यक्ष किसन राई बिशिष्ट अतिथि रहनु भएको थियो। सो कार्यक्रमको संचालन सुप्तुलुङ मर्मत तथा निर्माण बिभागको कार्यकारी सचिव  अधिराज(तेज) राईले गर्नु भएको थियो।

किरात परम्परा अनुसार कुबिमी  द्वय दल बहादुर राई र मैत्र कुमार राइले मुन्दुम फलाकेर सामुहिक चुलामा पुजा गर्नु भएको थियो । कुबिमी, साकेला सिलिकारहरुले प्रतिमास्थल वरिपरि शिली नाचेपछि प्रमुख अतिथि, बिशिष्ट अतिथिहरु र बिभाग संयोजकको हात बाट आदिम पूर्खा रैछाकुलेको प्रतिमा अनावरण  गरिएको थियो।

किरात सभ्यताको आदिम पूर्खा रैछाकुले को हुन ? भन्ने बारेमा किरात राई प्रज्ञा प्रतिष्ठान हङकङका कुलपति शशि मदन राईले यसबारेमा मिथक प्रस्तुत गर्नु भएको थियो। सो कार्यक्रममा किराया नेपालका केन्द्रीय सदस्य दिलिप राइ, नेपाली  आदिवासी जनजाति महासंघ हङकङका अध्यक्ष किसन राई, किराया हङकङका संरक्षक हेजेन राइ, किराया हङकङका प्रमुख सल्लाहकार रजिन राईले किरात राई यायोक्खा हङकङ र किरात सभ्यताको आदिम पूर्खा रैछाकुलेको प्रतिमा निर्माण बारे आफ्नो मन्तब्य दिनु भएको थियो।
किराया हङकङको पहिलो चरणको योजना अनुसार रैछाकुलेको प्रतिमा निर्माण गरिएको हो। रैछाकुलेको प्रतिमा पूर्ण कदको धातुले बनिएको छ। यो प्रतिमाको उचाई करिब ५ फिट रहेको छ। नेपालका मुर्तिकार रोजन राईबाट बनाइएको मुर्तिको कुल लागत खर्च १,८७,८०० हङकङ डलर (ने.रु. ५,९०,०००) रहेको छ। नेपालबाट रैछाकुलेको प्रतिमा निर्माण गरि हङकङमा ल्याईएको थियो। यो प्रतिमाको तौल  करिब २०० के.जि. रहेको छ।

मिति ३ अगस्त २०२० का दिन किरात राई यायोक्खा सुप्तुलुङ खिम हङकङको आंगनमा किरात मुन्दुम अनुसार किरात राई यायोक्खा हङकङको प्रमुख कुबिमि (नोछुङ) नारायण प्रसाद राई र सुप्तुलुङ खिमका संयोजक धिरज कुमार साम्पाङ राई द्वयले रैछाकुलेको प्रतिमा निर्माणका लागि जग खन्ने कार्यको शुभारम्भ गर्नु भएको थियो।

मिति ७ अगस्त २०२० का दिन रैछाकुलेको प्रतिमा राख्नका लागि ढलान गरिएको थियो। मिति १६ अगस्त २०२० का दिन रैछाकुलेको प्रतिमालाइ सुप्तुलुङ खिम हङकङको आंगनमा उभ्याउने  कार्य गरिएता पनि विश्व महामारी नोवल कोरोना भाइरस- १९ का कारणले अनावरण  कार्य रोकिएको थियो।

स्मरण रहोस, किरात सभ्यताको आदिम पूर्खाको नाम रैछाकुले चामलिङ भाषामा भनिएको हो। यसलाई साम्पाङ भाषामा खोक्चिलिप्पा, बान्तवा भाषामा हेत्छाकुप्पा र अन्य किरात राई भाषाहरुमा खोक्चिलिप, खक्चुलुक्पा, खक्चिलिप्पा, खक्चिलुपा, काक्चिरिक्पा, खाक्चिलिपा, हेछाकुप्पा, हेत्छाकुवा, कक्तिसाला आदि नामले चिनिन्छ।

तपाईको प्रतिक्रिया