कथा

न्यू माल जंक्शनको एकालासको प्लेटफार्ममा सिलगढ़ी पेसेन्जर रेलगाड़ी दलगाउँबाट आएर थामियो। म उत्रिएँ । साथमा उत्रिएको एक आदिवासी परिवार फटाफट हिँडेर यसरी स्टेशन नाघेर गए- मानौं एकैछिन त्यहाँ अड़िनु महापाप हो। धेरै परसम्म आँखा डुलाएर हेरिपठाएँ।

अहँ ! कोही छैन। प्लेटफार्मको चिया पसलमा सस्तो पाइने खास्ता बिस्कुटसित चिया पिउन आउने धरि एकै जना छैन। त्यही पसले भने अघिल्तिर समाचार पत्र फिजाँएर उघिरहेको छ। तर सधैँ झैं लिचीरूख मुनि गुवाँपान पसल थाप्ने बूढ़ो मानिस पनि छैन। कस्तो जनहीन शम्सान सरह सुनसान हो यो ठाउँ ! भारतको सबैभन्दा शान्त रेल स्टेशनको रूपमा नाउँनै दर्ता गरिदिउ कि जस्तो ।

रोमान्टिक लेखक रस्कीनको ‘ए ट्रेन एट देवली’ कथाको एक सुन्दर स्टेशन सरह- न त चड़नेलाई हतार, न त झर्नेको घचारो। सिकारू चित्रकारले कोरेको चित्रझैं बांगिएको त्यो लिचीकै रूखको स्थिति छ यहाँ ।

केही पर पुगेपछि नीमतला जाने सवारी साधनको खोजी गर्दा एउटै रिक्सावाल रूखमुनि गम्छाले अनुहार ढाकेर मस्त निदाइरहेको देख्छु- मनमा महाकवि उदाउँछन्- गरीब भन्छौ ? सुखको मझैं धनी !…तर त्यस धनीको धन लुट्न म बाध्य ! काँधको झोलाले यति हिँडेर आउँदा पनि गलाएको छ मलाई । हिउँदमा पनि उखरमाउलो लाग्छ पहाड़े ज्यानलाई यो तराईको घाम ।

रिक्सावालले ब्यूँझेर रिक्सा अघि बड़ाइसकेको छ।
‘ नीमतला किधर जाना है?’
‘ प्रधान निवास’
‘ मैमान जा रहा है? ‘
उसले पाहुना जानुभएको हो भनेर बुझिहालिएकोले भनिदिन्छु-
‘ हाँ आज अजीका जनमदिन हैं ।’
‘ तभी तो इतना सामान आया ‘
‘ कहाँ से?’
‘ मालबजार सें!’
पक्का पनि सान्नजीकी नातिनी मेरी सखी रत्नाले ओसारी छ सामान यही रिक्सामा! उपरान्त कुरा हुँदैन । पुगिहालिन्छ । घरमा पनि स्टेशनको शुन्यता भेट्छु। जन्मदिनको आयोजन जस्तो केही रौनक भेट्दिनँ । सान्नजी नुहाएको चिसो सुनौलासेता कपाल घामतिर फिजाँएर बसेकी छिन्। रत्नाको चालचुल छैन। बिस्तारै छलिएर पाकघरतिर जान्छु। सान्नजीले देख्दिनन् । मेरो उद्देश्य रत्नालाई तर्साउनु हो । तर ऊ त्यहाँ भए पो ! खाजा खाएका भाड़ाकुड़ा होला माझ्दैरहिछ मिना, रत्नाकी घरेलु सहायिका । उसैलाई तर्साइदिएँ।
‘ अबुई!’ तर्सी ऊ।
‘ खोइ रत्ना? ‘सोध्छु
‘दिदी माल जानुभएको छ । पार्लर नगइ भएन अरे। एकजनाले बोलाको बोलाकै । स्टाफले गरिदिन्छ भन्दा मानेन अरे।’ सुधी मिना लगत्तै सोध्छे-
‘ चिया पिउनु हुन्छ?’
‘ बाहिर ल्याऊ ल ।’ म आगँनतिर जान्छु।
अब तर्सिने पालो सान्नजीको।
‘ मोरी यो काली! जहिल्यै तर्साउँछे । केट्केटीको बेहोरा!’ झर्किनछिन् एकछिन नब्बे टेकेकी सनमाया नेवारनी !
‘खोइ तेरो साथी बजारबाट आउदिन। साथीभाइ आउँछन् भन्छे । फुइया!’
‘ अब नब्बे वर्षकी बूढीको केक टिप्परमा ल्याउँदै होला।’ मिनाले ल्याएकी चिया सुरूप्प पार्दै जिस्काउँछु। सान्नजी झर्को माने जस्तो गर्छिन् । मिना हाँस्छे मज्जा मानेर।
नवासी हिउँद खाइसकेकी सान्नजी अझै राम्री देखिन्छिन्। परेली कति राम्रा । अलिअलि घुम्रिएर उँभो फर्केका। आँखा उस्तै आकर्षक लाग्छन्। मानिसको अनुहारको सौन्दर्य आँखामा बस्छ क्यार! आधा उमेरकी नातिनी रत्ना भन्दा राम्री छिन् सान्नजी। कमसेकम आफूले भोग्न परेको पीड़ालाई छेउमा ढिम्कनै नदिएर हो कि अझसम्म शान्त र शीतल देखिन्छिन् । अविवाहित रत्ना ससाना कुराले पिरोलिन्छे, झर्कन्छे, रिसाउँछे।
सान्नजीको व्यथा कथा कोट्याउदिन। सुन्नै चाहदिन। उल्टो मलाई थर्काउँछे-
‘ गाड़ेको मुर्दा नखोतल् है! भन्दै छु तँ लेखिकालाई!
हान्छु नि लात्तीले। ‘
तर म डराउदिनँ। सान्नजी जिउँदै हुँदा तिनको कथा लेखिनु पर्छ । ठानेकी यस्तै छु । अरूले सुनाएको कथाको के भर सान्नजी! म त आज यही अवसरको खोजीमा आएको पो! मनमनै भन्दैछु। कथा पनि सितिमिति हो र ! सामन्ती शासनमा पिरोलिएकी एक छोकड़ीको कथा पो त! तथाकथित श्रीमान जूय्ड स्मिथको खैरे छोरोको छ महिने आमा ।
रत्ना परि कृत्रिमताको व्यवहार- व्यवसायमा। ऊ ग्राहकलाई क्षणिक सुन्दरताको खुशी बाड़छे। कतिपय मनमा शब्द सौन्दर्यले छोड़न सक्ने स्थायित्वको भेद उसलाई के थाहा ! मानहानी मात्र देख्छे सान्नजीको साँचो मर्ममा।
म सोच्दैछु- आज म तपाईलाई पिलाउँछु सान्नजी। लुकीचोरी मताउँछु। तपाईको जन्मदिनमा तपाईकै जवानीको सार समेट्छु र त्यसलाई उदाङ्गो पार्छु। रत्नाको लातघुस्सा चलोस् । म खपुलीं , लौ!सान्नजीमाथि भएको अन्यायको कथाले कसो उसलाई पनि नरुवाउँला ! यति गम्दै म एकताकाकी छोकड़ीको अनुहारमा स्मिथ साहेबका स्मृतिका धर्सा ठम्याउन खोज्दैछु। हेरूँ, कति सफल बन्न सकुलीं। साँझ पख।
पल्लो कोठामा जन्मदिनको रमझम छ । यता म सान्नजीको स्वार्थी सेवामा खटिएकी छु । कम्मरसम्म सिरक ओड़ेर तिनी सिह्रानीको अड़ेस लागेकी छिन् ।हातमा छ ब्रान्डीको गिलास । प्लेटमा केही काजू बदाम राखिदिएकी छु। रत्नाको आदेश छ । दुई पेगभन्दा धेर नदिने। म भने कतिबेला सान्नजी तीन चारमा पुग्छिन् र बिगत बोल्छिन् भन्ने ताकमा छु । हात गोड़ा मिचिदिने चाप्लुसी चलाइसकेकी छु । रूपको प्रशंसा गरेर फुर्काउँदै सोध्छु – तिनकै माइतीखलक विषय । उत्साहित हुँदै भन्न थाल्छिन् सान्नजी
‘ म तेह्र वर्षकी हुदाँ आमा रोगले थलिन थालिन्। पहिले रहरले कहिलेकाही बिघामा जाने गर्थें। पछि खूरूखुरू जान पर्यो। बगानका कुल्ली आइमाईहरूले मलाई हेरेर भन्थे- सनमायाका हातखुट्टा , अनुहार हेर्दा कमाने काम सुहाउँदैन। हजार किसिमका कुरा गरेर थाक्दैन थिए । म सुरुसुरु हिँड़दै जान्थे एउटी साथीसित। पछिल्तिरबाट उनीहरू मलाई घोसे अबोला भन्थे। मलाई बगानमा त्यसरी खट्न पटक्कै मन थिएन। रोएर आमालाई गर्थे गुनासो । विचरी आमा ! घरबाट एकजनाले नखटे बगानमा बस्न पाइन्न भनेर भन्थिन्। बुवा कान्छी स्वास्नी लिएर अलग्गै बस्नु हुन्थ्यो । एकदिन पूर्णकाकालाई आमाले सुनाइन् मलाई काम मन नपरेको कुरा। पानीमा रूझीभिझी खट्दा आफै पनि विरामी परेकी थिइन् । काकाले दया देखाएर भने-
‘ कोठीमा आऊ । माली काम गर । ओल्याङटोल्याङ त हो अरूले खनखान पारिहाल्छन् । ‘
म खुशी भएँ। हाजिरा त्यही । काम भने हल्का।
कोठीमा काम शुरू गर्दा म सानै थिएँ । तरूणी हुने छनक देखिँदै थियो । त्यसै पनि उमेरभन्दा ठूली डालिली थिएँ म। पारी गाउँबाट बिहेको कुरा आइहाल्यो। कुरो ल्याउने हाम्रै फूपु थिइन् । मलाई बिहे गर्छु भन्ने चन्द्रवीर त्यही गाउँको थियो।
कुरा चल्दाचल्दै बगानमा मजदूर आन्दोलन मच्चिएर दुई गुटबीच झड़प भयो । पूर्णमान काका , चन्द्रवीर , अरू धेरै पक्रा परे। त्यही बीच बगानमा साहेब फेरिएर कोठीमा अर्कै साहेब आयो। नयाँ बड़ासाहेब जूय्ड स्मिथ बाँस जस्तो अग्लो र छुच्चो छ भन्थे सबै। नभन्दै उसले आउने बित्तिकै मजदूर गुटमा हिँड़नेलाई ‘ हट्टा बाहर’ गर्छु भन्ने धम्कि दियो। ‘
सान्नजी एक क्षण चुप लागिन् ।
मलाई कथाको चरम बिन्दुमा पुग्न हतार भइरहेथ्यो । अलिकति पेय थपिदिँदै मैले उस्काएँ तिनलाई। म चाहन्थे तिनमा सञ्जित असहजपन हटोस्। अतीतको आगोमा केही अवशेष छ भने बलोस् त्यो पेयको मादकतामा झर्झरती । के हो मैले सुनेकी सरोगेट सान्नजी वा छोकड़ी सनमायाको सत्यता? हरे! मेरो अधीरताले यसरी काम गर्ला ! नब्बे वयकी एक बृद्धाको कुटिल, अन्धकार , गहिरो स्मृतिको कुवाँमा एउटा कलम र कापी लिएर निर्धक्क पस्न मलाई कसले अधिकार दियो।
उत्तर फेरि अन्तंकरणबाटै आयो- अन्तंकरणले। जेहोस् , अर्धबेहोसी जस्तो अप्रासंगिक बोल्न थालिन् सान्नजी-
‘पर्खाल देखिस् होइन अघि आउँदा? ‘
मैले भने- ‘ हो हो देखें – त्यो पर्खाल कति बलियो । निर्माण सन् 1946 लेखेको छ। त्यसले स्टेशन र बगानको सिमाना चट्ट छुट्टाउँछ। वारी यता पनि जनजीवनको चहलपहल छ भन्नै गाह्रो पर्छ। ‘ थाहा गरेकी कुरा सुनाएँ मैले।
‘त्यही पर्खालको ठिका पाएर फुरूक्क भए पूर्णकाका। म कोठीको बगैंचाबाट चुपचाप सारिए त्यहीको एक कोठाभित्र। ‘
छक्कै पर्दैछु म । यतिको तेज स्मरण शक्ति, यतिको उमेरमा । के यो तेज ,कथाको पुनरूत्पादनकै निम्ति त सञ्चित गरिएको होइन र !
पेयको पन्यालो तरलताले अझ त्यसलाई ऊर्जा दिएको छ।
‘ त्यतिबेला मेरीमेम थिइन कोठीमा । स्वदेशी आन्दोलन चर्केदेखि नै बिलायतमा वास थियो। साहेब एकोहोरो भएको थियो। आयो , बरफ झिक्यो बरफ राख्ने बाकसबाट । बोतल झिक्यो। कौचमा धस्सियो ।पछि मेरीमेम आइ । मलाई गर्भवती देखेर माया दर्शाई । दुईको बहस चल्यो। पछि मतो भएछ कि कसो। नानी जन्मेर छ महिनासम्म दूध चुसाउन दिइ। त्यसपछि दुवै गए आफ्नै देश ,नानी चेपेर। सुनेको कुरा , पूर्णमान काकालाई मेरो निम्ति भनेर धेरै पैसा दिएकी रे। मैले थोरै पाएँ ।’
मैले सास रोकेर सुनें सबै।
‘ सान्नजी नानी कस्तो थियो?’
निदाउन लागेका आँखा बलैले उघारेर भनिन् तिनले।
‘ बाऊजस्तै गोरो। हुन त म पनि गोरी थिएँ । तर उनीहरू दूधमा रातो चन्दन मिसाए जस्तो गोरा , म त हर्दी! ‘ हाँस्दै भनिन्।
‘त्यसपछि?’
‘त्यसपछि जनता राज आयो। चन्द्रवीरले मलाई बिहे गर्यो। मेरो कथा सोधेन। गाउँलेले कुरा काटे केही दिन तर भुलिए। तँ कहाँबाट आइस् काली कथा सोध्ने?’
मलाई त्यसपछिका कुरा धेरथोर थाहै थियो। सान्नजीको चन्द्रवीरसित बिहे भएपछि दुई छोरा जन्मिए। दुवै कमानमा काम गर्थे । रक्सी पिउँथे । झगड़ा गर्थे । तर आफ्नी आमालाई माया गर्थे। चन्द्रवीर बिते। दुवै छोरा पनि । ठूलो छोराकी एउटै छोरी रत्नाले आमैलाई देखरेख गर्छे। सान्नजीको सबैभन्दा ठूलो चिन्ता रत्नाको घरजम हो। जो उसले सुन्दै सुन्दिन। वैध र अवैध दुवै बिहेका परिणाम देखेकी उसलाई कसले सम्झाउने!
एकैक्षण कुखुरे निद्रा निदाएर सान्नजी ब्यूँझी हालिन् ।मैले उत्तर दिन नसक्ने प्रश्न सोध्न थालिन्-
‘एइ नानी! किन हँ कोही म जस्तो भएनन्? गोराको गोरा जस्तो, कालाका कालै छोराहरू! खोइ म ? जन्म दिने चाहिँ ? न रूप आयो न रंग मेरो। नातिनी पनि छैन म जस्तो। ‘
यति जटिल कुरोको समाधान मसित थिएन। फेरि फुसफुस निदाइछिन् सान्नजी । म ढुक्क भएँ।

तपाईको प्रतिक्रिया