नेपालमा निधेषाज्ञा लगायतका स्वास्थ्य सतर्कताका कारण कोभिड नियन्त्रण हुने अनुमान गरिएको भए पनि परीक्षण गरिएकाहरूमा दैनिक सङ्क्रमण दर भने लगभग २० प्रतिशतमा स्थिर रहेको छ।

स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङक अनुसार नेपालमा असार १ गतेयता १,५८,९६५ जनामा परीक्षण गरिएकोमा ३३,६१६ मा सङक्रमण पुष्टि भएको छ।

यो संख्याले सङक्रमण दर औसतमा २१ प्रतिशतभन्दा माथि रहेको देखाउँछ। सङक्रमण दर एन्टिजन परीक्षणमा १७।५ प्रतिशत र पीसीआर परीक्षणमा २३।५ प्रतिशत रहेको छ।

कन्ट्याक्ट ट्रेसिङ लगायतका कार्यहरू नभएको र सामान्य लक्षण भएका व्यक्तिहरू परीक्षण नगरी घरमै बसेकाले यो तथ्याङकबाट मात्रै सङक्रमणको सही अवस्था थाहा पाउन गाह्रो रहेको विज्ञ बताउँछन।

तर मन्त्रालयले कोरोनाभाइरसको लक्षण भएकै व्यक्तिहरू मात्रै परीक्षणका लागि अस्पताल पुग्ने हुँदा पनि सङक्रमण दर बढी देखिएको बताउँछ।

अस्पतालमा उपचाररत सङक्रमित र दैनिक पुष्टि हुने संख्या अपेक्षाकृत घटे पनि सङक्रमण दर किन घटेन त ?

स्वास्थ्य मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेल समुदाय स्तरमै सङक्रमण फैलिएको र नेपालमा डेल्टा भेरिअन्टबाट उत्परिवर्तन भएर विकास भएको भेरिअन्ट समेत पुष्टि भइसकेको अवस्थामा जोखिम कायम नै रहेको बताउँछन्।

सरकारले विभिन्न स्थानहरूमा निषेधाज्ञा लागु गरेको भए पनि त्यसले मानिसहरूको आवागमन ७० प्रतिशत मात्रै घटाउन सकेको र आवागमन बढेको अवस्थामा सङक्रमण अझ बढ्ने उनी बताउँछन्।

करिब देशका ७४ जिल्लामा निषेधाज्ञा जारी भएको बेला पनि हाम्रो आवागमन ७० प्रतिशत मात्रै घटेको थियो, उनले भने।

व्यक्तिगत र सामुदायिक स्तरमा कोभिडको जोखिम बुझेर मापदण्ड पालना गर्ने विषय गम्भीर रूपमा नलिइएसम्म सङक्रमण दर घटाउनु कठिन हुने उनको भनाइ छ।

“देशभरको औसत मात्रै हो २० प्रतिशत” कुनै स्थानमा ४० प्रतिशतसम्म छ, जोखिम कायमै रहेको अवस्थामा स्थान विशेषको निर्णय गरिनुपर्ने र देशैभर एकै खाले नियम प्रभावकारी नहुने पौडेलले बताए।

हाम्रो जोखिम हटिसकेको छैन भन्ने कुरा स्पष्ट भएको छ। हामी सचेत भएनौँ भने हाम्रोमा सङक्रमितहरूको संख्या फेरि बढ्न सक्छ।

हाल नेपालमा करिब ९ प्रतिशत जनसङ्ख्याले खोपको एक मात्रा प्राप्त गरेका छन् भने खोपको दुबै मात्रा लाउने २.६ प्रतिशत मात्र रहेकोछ जुन आवश्यकता भन्दा निकै कम रहेको अधिकारीहरू स्विकार्छन्।

सहरहरूमा निषेधाज्ञा लागु भए पनि ग्रामीण भेगमा मापदण्ड पालना नहुँदा सङक्रमितहरूको संख्या स्थिर रूपमा घटबढ भइरहने क्रम कायम नै रहेको जनस्वास्थ्यविद बिराज कर्मचार्य बताउँछन्।

शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा शेरबहादुर पुन परीक्षण गर्न आएकाहरू मात्रै को आधारमा सङक्रमितको दर देखिएकाले समुदायमा कति मानिस सङक्रमित छन् थाहा पाउन गाह्रो रहेको बताउँछन्।

यस अघि पनि लामो समयसम्म झन्डै ४० देखि ४५ प्रतिशतबीच सङक्रमण दर अडिएको र त्यसको झन्डै दुई हप्ता पछि ३० देखि ३५ प्रतिशतमा झरेको पाइएको आफूलाई स्मरण रहेको उनी बताउँछन्।

नेपालमा बैशाख २१ गतेदेखि जेठ ९ गतेसम्म २० दिनमध्ये १८ दिन दैनिक सङ्क्रमण दर ४० प्रतिशत भन्दा बढी थियो। जेठ १० गतेदेखि २७ गतेसम्म त्यो दर ३० प्रतिशतभन्दा बढी रहेको थियो भने त्यसयता लगातार २० प्रतिशतभन्दा माथि रहेको छ।
बिबिसिबाट साभर

तपाईको प्रतिक्रिया