क्रान्ति सुब्बा

हङकङ सरकारले हालै ट्राभल बबल नीति अन्तर्गत आफुले अपनाएको पुर्ववत यात्रा प्रतिबन्धलाई केही हद सम्म खुकुलो पारेकोछ। अगस्ट ९ तारीखपुर्व अति उच्च जोखिमपूर्ण स्थानको कोटिमा पर्ने दस देशबाट  कसैलाई पनि हङकङ प्रवेश गर्न दिइएको थिएन । तर अति उच्च जोखिमयुक्त स्थानलाई अहिले उच्च जोखिमयुक्त ( ग्रुप ए) कोटिमा ल्याइएको छ। र उच्च जोखिम युक्त देशबाट हङकङ रेसिडेन्टहरु निश्चित शर्त पूरा गरेर हङकङ आउन सक्ने भएकाछ्न। रेसिडेन्टको परिभाषा भित्र डोमेस्टिक हेल्परहरु पनि  पर्दछ्न। हङकङमा कामदारको सख्त अभाव भएपछि फिलिपिन्स र इन्डोनेसियाबाट  हङकङमा पुर्ण खोप लगाएका घरेलु कामदारहरुलाइ समान शर्तमा हङकङ आउने अनुमती सरकारले दिएको छ। हङकङमा डोमेस्टिक हेल्परको कुल जनसंख्या करिब चार लाख जति छ्न जसमा ६१% ले भ्याक्सिन लगाइसकेकाछ्न।

उच्च जोखिमयुक्त स्थानमा परेका देशहरू हुन ब्राजिल ,इन्डिया ,इन्डोनेसिया ,आयरल्यान्ड,नेपाल , पाकिस्तान ,फिलिपिन्स ,रशिया,साउथ अफ्रीका र युके।

अगस्ट २० तारीखबाट यो उच्च जोखिमयुक्त इलाकाको सुचीमा अरु १५ वटा देश थपिएका छ्न । ती हुन : बंगलादेश ,कम्बोडिया ,फ्रान्स ,ग्रीस,ईरान ,मलेसिया ,नेदरल्यान्ड ,स्पेन ,श्रीलंका , स्वीजरल्याण्ड, तान्जानिया,थाइल्यान्ड ,टर्की , युनाइटेड अरब इमिरेट्स र युनाइटेड स्टेट्स अफ अमेरिका ।

नेपालमा फँसिएका हङकङवासी नेपालीहरु

उच्च जोखिमयुक्त देशबाट केवल हङकङ बासिन्दालाई मात्र आउने छुट छ जसले निम्न आधारभूत र अन्य केहि शर्तलाई पूरा गर्नु पर्दछ।
१. हङकङ वासिन्दा जसले भ्याक्सिनको कोर्स पूरा गरेको हुनु पर्दछ अर्थात पुर्ण मात्रा खोप लगाएको हुनु पर्दछ। र मान्यता प्राप्त भ्याक्सिन रेकर्ड उपलब्ध गराउनु पर्दछ। भ्याक्सिन रेकर्ड अर्थात खोप लगाएको प्रमाणपत्र हङकङ सरकारको आधिकारिक स्वास्थ्य बिभागले प्रदान गरेको हुनु पर्दछ अथवा विश्व स्वास्थ संगठनको मातहतको स्वास्थ्य वा राष्ट्रिय नियामक प्राधिकरणले प्रदान गरेको खोप प्रमाणपत्र हुनु पर्दछ। अथवा मुल भुमि चीन वा मकाउको नियामक प्राधिकरणले उपलब्ध गराएको खोप प्रमाणपत्र हुनु पर्दछ जुन प्रमाणपत्रमा यात्रीको विवरण चाइनिज कि त अंग्रेजी भाषामा हुनु पर्दछ।
विश्व स्वास्थ्य संगठनले मान्यता दिएको  सुची भित्र पर्ने देशहरू:
१.अष्ट्रेलिया २.अस्ट्रीया ३.बेल्जियम ४.बुल्गेरिया ५. क्यानाडा ६.क्रोसिया ७.साइप्रस ८.चेक रिपब्लिक ९.डेनमार्क १०.एस्टोनिया ११. फिनल्यान्ड १२.फ्रान्स १३.जर्मनी १४. ग्रीस १५. हंगेरी १६.आइसल्याण्ड १७.आयरल्यान्ड १८.इटाली १९. जापान २०.लात्भिया २१.लेच्टेन्स्टेइन २२.लिथुवानिया २३.लक्जमबर्ग २४. माल्टा २५.नेदरल्यान्ड २६.पोल्यान्ड २७. पोर्चुगल २८.रोमानिया २९.स्लोभाकिया ३०.स्लोभानिया ३१.स्पेन ३२.स्विडेन ३३.स्वीजरल्याण्ट ३४.युनाइटेड किङडम ३५.युएसए ३६.नर्वे

उच्च जोखिमपूर्ण ग्रुपबाट विश्व स्वास्थ्य संगठनले मान्यता दिएको देशमा ब्रीटेन र आयरल्यान्ड मात्र परेकोछ। यी दुई देशमा हङकङ सरकारले मान्यता दिएको भ्याक्सिन लगाएर हङकङका रेसिडेन्ट हङकङ आउन सक्छन भने बाकी उच्च जोखिमपूर्ण देशबाट हङकङ आउनेले हङकङ सरकारले मान्यता दिएको भ्याक्सिन माथि तोकिएको स्थानमा लगाएको हुनु पर्दछ।
हङकङ सरकारले मान्यता दिएको भ्याक्सिनहरु:

१.अस्ट्राजेनेका कोभिड -१९ भ्याक्सिन ।निर्माता :अस्ट्राजेनेका /एसके बायोसाइन्स
आवश्यक मात्रा : २

२.ZF 2001
निर्माता: एन्हुइ जिफेइ लङ्कम बायोफर्मासिटिकल
आवश्यक मात्रा : ३

३.कोमिनार्टी , फाइजर-बायोन्टेक कोभिड-१९ भ्याक्सिन
निर्माता : बायोन्टेक
आवश्यक मात्रा :२

४.रिकम्बिनेन्ट कोभिड-१९ भ्याक्सिन (एडोनोभाइरस टाइप-५-भेक्टोर्ड भ्याक्सिन ),कन्भिडिसिया
निर्माता: क्यानसिनोबायो
आवश्यक मात्रा :१

५.जान्स्सेन कोभिड-१९ भ्याक्सिन
निर्माता : जान्स्सेन
आवश्यक मात्रा :१

६. मोडेर्ना कोभिड-१९ भ्याक्सिन
निर्माता : मोडेर्ना
आवश्यक मात्रा : २

७.कोभिसिल्ड
निर्माता : सेरम ईन्स्टिच्युट अफ इन्डिया
आवश्यक मात्रा :२

८. भेरोसेल कोभिड- १९ भ्याक्सिन
निर्माता : साइनोफार्म/बेजिङ ईन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्टस
आवश्यक मात्रा : २

९. भेरोसेल कोभिड-१९ भ्याक्सिन
निर्माता :साइनोफार्म /वुहान ईन्स्टिच्युट अफ वायोलोजिकल प्रोडक्टस
आवश्यक मात्रा :२

१०. कोरोना भ्याक
निर्माता : साइनोभ्याक
आवश्यक मात्रा:२

११. स्पुतनिक भि
निर्माता: गामेलिया नेशनल सेन्टर अफ एपिडेमियोलोजी एन्ड माइक्रोबायोलोजी
आवश्यक मात्रा : २

१२.सार्स-कोभ-२ भ्याक्सिन ( भेरोसेल)
निर्माता : सेन्जेन काङ्ताइ वायोलोजिकल प्रोडक्टस
आवश्यक मात्रा : २

१३. सार्स- कोभ-२ भ्याक्सिन (भेरोसेल)
निर्माता : ईन्स्टिच्युट अफ मेडिकल बायोलोजी चाइनिज एकेडेमी अफ मेडिकल साइन्सेस
आवश्यक मात्रा : २

सामान्यतया हङकङ सरकारले सुचीकृत गरेको  भ्याक्सिन हङकङ बाहिर लगाएको भए हङकङ सरकारलाई स्विकार्य हुन्छ भनिएता पनि   यो कुरा  उच्च  जोखिमयुक्त कोटिमा परेका सबै  देशहरूको हकमा लागू भएको स्थिति   छैन  अहिलेसम्म ।

हङकङमा पुर्ण मात्रा खोप लगाएर नेपाल गएका र नेपालबाट हङकङ फर्कन चाहने हङकङ आइडी होल्डरलाई  यो नयाँ यात्रा प्रबन्धले अनुमती दिएको छ। जुन स्वागतयोग्य र खुशीको कुरा पनि  हो। तर हङकङमा खोप नलगाईकन थुप्रै  नेपाली मुलका आइडी होल्डर र चिनियाँ मुलका हङकङ आइडी होल्डर पर्यटक नेपाल गएकाछ्न । र कतिपय नेपालीहरु हङकङ फर्कन चाहन्छ्न। तर हङकङले मान्यता दिएको भ्याक्सिन नेपालमा हानेको भएता पनि  उनिहरुलाई हङकङ आउन प्रतिबन्ध नै छ।

सामान्यतया  विश्व स्वास्थ्य संगठनले मान्यता दिएको भ्याक्सिन लगाएको यात्रीले निस्कन्टक विश्वको कुनै पनि देशमा स्थानीय स्वास्थ मापदण्ड पालना गर्दै भ्रमण गर्न पाउनु पर्ने हो। तर हङकङले यस कुरालाई मान्यता हाल सम्म दिएको छैन । त्यसैले अन्य मुलुकमा गएर जीवन रक्षा खातिर  कोभिड खोप हानेका हङकङ नागरिकहरु अहिले चाहेर पनि आफ्नो घर फर्कनु सकेका छैनन।

अब हङकङ सरकारले यथाशीघ्र उच्च जोखिमयुक्त इलाकामा फसिएका हङकङ नागरिकहरुको उद्वार गर्ने उपयुक्त प्याकेज ल्याउन अति आवश्यक छ। नेपालमा मात्र अहिले नेपाली मुलका करिब ४०० जना हङकङ आइडी होल्डरहरु हङकङ फर्किन आतुर भएर बसेका कुरा हङकङ रेसिडेन्ट कविता गुरुङले हङकङ खबरलाई काठमाडौबाट  बताइन।

खोप नेपालमा लाएर हङकङ आउने तयारीमा बसेका नेपालीहरु

हङकङ स्थित नेपाली महावाणिज्यदूतले नेपालमा फसेका हङकङ रेसिडेन्टको उद्वारको लागि हङकङ सरकारसंग वार्ता गरेर कुनै न कुनै निकास निकाल्न पहल गर्न सक्छ ।
के अब नेपालमा अल्झिएका हङकङ रेसिडेन्टहरुले हङकङले कहिले नेपाललाई मध्यम र न्यून जोखिमपूर्ण स्थानको कोटिमा झार्छ र हङकङ फिर्ने भनेर कुरेर बस्ने?
नेपालका विज्ञहरुले अब कुनै पनि बेला नेपालमा तेस्रो लहर आउन सक्छ भनेर आँकलन गरिरहेको अवस्थामा हङकङ सरकारले नेपाललाई मध्यम जोखिममा झार्ने संभावना छैन। कि त नेपाल सरकारले  कोभिड महामारीलाई हङकङले तोकेको  मध्यम जोखिम मापदण्ड सम्म पुर्याउनु पर्यो। नेपालमा रहेका चार पाँच सय हङकङवासीको लागि नै भनेर कोरोनालाइ थप प्रभावकारी ढंगले नेपाल सरकारले नियन्त्रण गर्न पनि असंभव छ।
अहिलेको अवस्थामा संभावित विकल्प भनेको नै हङकङले मान्यता दिएको खोप लगाएका हङकङबासीलाई नेपालबाट हङकङ फर्कन दिनु हो।
जसको निम्ति  नेपाल सरकारले हङकङ सरकार संग वार्ता गरेर हङकङले मान्यता दिएको भ्याक्सिनको पुर्ण मात्रा लगाएका हङकङ रेसिडेन्टलाइ हङकङ फर्कनकोलागी मार्ग प्रसस्त गरिदिन सक्छ। तर यो विषय नेपाल सरकारको प्राथमिकताको सुचीमा पर्यो भने मात्र संभव छ।
नेपालबाट हङकङ फर्कनु तयार भएका करिब ४०० जना हङकङ रेसिडेन्ट नेपालीहरुले आफ्नो स्तरबाट दिएको दबाबको कुनै सुनवाइ भएको स्थिति छैन। प्रतिनिधि सभाको शुन्य समयमा यो विषयले प्रवेश नै पाएको छैन।
हङकङ सरकारले आफ्नो नागरिकको उद्वार गर्नै नखोजेको हो त भन्न सकिन्न । तर अहिले हङकङ सरकारले सामना गर्नु परेको चुनौती भनेको नै अन्य देशमा लगाएको खोपलाइ कसरी प्रमाणीकरण गर्ने भन्ने  हो। संबंधित देशको खोप संयन्त्र भरपर्दो हो होइन? त्यसको आधिकारिकता पुष्टि हुने मार्ग र भाषाको कारणले आउने जटिलतालाई सोझ्याउन हङकङ सरकारले फिलिपिन्स र इन्डोनेसियासंग त गृहकार्य गरिसक्यो।  जुन कुरा नेपालसंग पनि हुन जरुरी छ। 
कठिन छ भन्दैमा नागरिकको उद्वार गर्ने मामलालाई  व्यवस्थापन गर्न नै नसकिने भने होइन। जस्तै हङकङ सरकारले नेपाल जस्तै उच्च जोखिमपूर्ण कोटिमा परेको मुलुक फिलिपिन्स र इन्डोनेसियाबाट हङकङमा पुर्ण मात्रा खोप लगाएका घरेलु कामदारलाई कामको सिलसिलामा हङकङ आउन र छुट्टी मनाउन आफ्नो घरदेश जाने अनुमती  दिने कुरा पनि अगस्ट ९ बाट नै लागू भएको हो।
तर हङकङमा भ्याक्सिन लगाएकाले मात्रै आउन जाने पाउने शर्त राखी दिनाले उक्त दुई देशको गासमा ढुंगा पर्यो। त्यसपछि फिलिपिन्स सरकारले विश्व स्वास्थ्य संगठनले मान्यता दिएको खोप प्रमाणपत्र ( international certification of verification , ICV or yellow card) लाई  पनि मान्यता दिइयोस भनेर हङकङ सरकारलाई अनुरोध गरेकोछ। तर हङकङ सरकारले अरु देशमा कुन स्थानीय वा राष्ट्रिय निकाय भ्याक्सिन रेकर्ड प्रदान गर्न जिम्मेवार छ त्यो पहिला अध्ययन गरिनेछ भन्यो। बिशेष गरि फ्लाइटमा चेक इन हुँदा गैर अंग्रेजी भाषामा भएको भ्याक्सिन रेकर्ड भेरिफाइ हुन कठिन हुने कुरा हङकङको सरकारी स्रोतले जनाएको थियो । स्मरण रहोस नेपाल सरकारले प्रदान गर्ने खोप प्रमाणपत्र पनि अंग्रेजीमा होइन नेपाली भाषामा मात्र छ।

त्यसमाथि अझ पुर्ण खोप लगाएका नागरिकलाई फिलिपिन्स सरकारले स्थानीय स्तरमा बेरोकटोक यात्रा गर्न छुट दिएपछि नक्कली भ्याक्सिन प्रमाणपत्रको बेचबिखन हुन थालेको रिपोर्ट हङकङ सरकारले प्राप्त गरेको कुरा पनि हङकङले जनायो।

हङकङ आउने प्रतीक्षामा बसेका नेपालीहरु

त्यसबेला अर्थात अगस्ट १२ तारीख बुधबार  फिलिपिन्सका परराष्ट्रमन्त्री टेउडोरो लोक्सिन जुनियरले म आफै औपचारिक रुपमा हङकङ नेत्री क्यारी लामसंग किन हङकङ सरकारले हाम्रो भ्याक्सिनलाई तेता जानको लागि मान्यता नदिएको हो सोधपुछ गर्छु भनेका थिए । रेमिटेन्सको भरमा चल्ने अर्थतन्त्र भएको  हाम्रो देश नेपालको परराष्ट्रमन्त्रीले के यस्तो तत्परता रेमिटेन्स भित्र्याउने हङकङ निवासी नेपालीको हकमा गर्लान ? हङकङ सरकारले माने पनि नमाने पनि आफ्ना  नागरिकलाई परेको समस्याबारे उत्तरदायी भएको देखाउन भए पनि सरकार वा संबंधित सरकारी निकाय जस्तै महावाणिज्यदूतले केहि त गर्नै पर्छ ।

त्यसपछि  फिलिपिन्स र इन्डोनेसिया कन्सुलेट र हङकङको सरकारी अधिकारी बिच बैठक बस्यो र  खोप रेकर्डलाई मान्यता प्राप्त गराउने सिस्टमबारे छ्लफल भयो ।
हङकङ सरकारले भ्याक्सिनलाई मान्यता दिने विषयमा उठाएको प्रश्न खोप प्रमाणपत्रमा भएको भाषा र यसलाई आधिकारिक तुल्याउने प्रक्रिया रहेको थियो । हङकङले दिएको खोप प्रमाणपत्रमा अंग्रेजी र चाइनिज भाषा प्रयोग भएकोछ। त्यसको अर्थ अंग्रेजी र चाइनिज भाषामा भएको मात्र हङकङको सिस्टमले रिड गर्छ।

अन्ततः हङकङ सरकारले भ्याक्सिन रेकर्डलाई भेरिफाइ गर्नको निम्ति सेन्ट्रल डाटाबेस सिस्टम सेट अप गर्ने योजना बनाएको कुरा हङकङ युनियन अफ इमप्लोइमेन्ट एजेन्सिजका अध्यक्ष थोमस च्यान तुङ-फुङले भनेकाछ्न।
“केवल सर्टिफिकेट मात्र पेश गर्नु भन्यो भने मानिसले सजिलै सित किर्ते बनाउने संभावना उच्च रहन्छ ।” च्यानले भने। त्यसकारण सर्टिफिकेटलाई अर्को तरिकाबाट पनि प्रमाणित गर्नु अति आवश्यक छ उनले थपे।
भ्याक्सिन प्रमाणीकरण गर्ने प्राविधिक संयन्त्र हङकङ सरकार र फिलिपिन्स सरकारले स्थापना गर्न सक्यो  भने हङकङ बाहिर अहिलेको स्थितिमा फिलिपिन्स र इन्डोनेसियामा हङकङले अनुमोदन गरेको भ्याक्सिन लगाएकाले यही महिना भित्रबाट हङकङ आउन सक्नेछन। यदि नेपाल सरकार पनि प्राबिधिक रुपमा उक्त संयन्त्रमा जोडिन सक्षम भएमा नेपालमा अलपत्र परेका सयौं हङकङबासी नेपालीहरु हङकङ सरकारले सूचीकरण गरेको भ्याक्सिन लाएर निर्धक्क साथ हङकङ फिर्न सक्छ्न। आशा गरौं हङकङको नेपाली महावाणिज्यदूतले हङकङ सरकार र नेपाल सरकारलाई यस विषयमा बुझबुजारथ गराएर निकासको ढोका खोलिदिन बिशेष पहल गरिदिनेछ र फलस्वरूप नेपालमा फँसिएका हङकङ वासिन्दाको उद्वार यथासमयमा हुनेछ।

तपाईको प्रतिक्रिया