अनलाइन खेलका कारण बालबालिकालाई पठनपाठनमा समय नदिने समस्या भएको, अत्यधिक खेलका कारण उनीहरूमा एकोहोरोपन विकास भएको लगायतका गुनासा बढ्दै गएपछि अनलाइन खेलका लागि विश्वकै सबैभन्दा विशाल बजारका रूपमा लिइने चीनका प्राविधिकहरूले प्रशासनको दबाबमा यो निर्णय गरेका हुन्।

अबदेखि बालबालिकाले एउटै अनलाइन खेल हप्ताको तीन घण्टा मात्र खेल्न पाउने छन् । यसलाई प्राविधिकको विवेकी कदमको रुपमा चिनियाँ जनताले स्वागत गरेका छन् ।

१८ वर्ष मुनिका अनलाइन खेलाडीहरूलाई शुक्रबार, शनिबार र आइतबार बिहान ८ बजेदेखि ९ बजेसम्म मात्र अनलाइन खेल्न अनुमति दिइने चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जानकारी दिएको छ। प्राविधिकहरूले यसलाई खेलमा हुने अत्यधिक नशालाई रोक्ने कदमका रूपमा व्याख्या गरेका छन्।

नाबालिगहरूले आफ्नो उमेरबारे झूट नबोलेको सुनिश्चित गर्न अनलाइन खेल्न दर्ता गर्दा खेल खेल्नेहरूले आफ्नो आईडी कार्ड प्रयोग गर्नु आवश्यक हुनेछ। यद्यपि बालबालिकाको मनोरञ्जनका लागि विद्यालय बिदामा उनीहरूले केही बढी समय खेल्न पाउने छन् अर्थात् दैनिक तोकिएको समयभन्दा ६० मिनेट बढी खेल्न सक्ने छन्।

चिनियाँ नेसनल प्रेस एण्ड पब्लिकेशन एडमिनिस्ट्रेशनले भनेको छ, ‘अनलाइन खेल खेल्ने लतले अध्ययन र सामान्य जीवनमा असर गरेको छ । थुप्रै आमाबाबु दुःखी भएको पाइएकोले खेलको नियमलाई सुधार गरिएको छ।’ निर्णयअनुसार चीनले कम्पनीहरूलाई तोकिएको घण्टा बाहिर गेमिङ सेवा प्रदान गर्न निषेध गरेको छ तर नियम तोड्नेहरूलाई के सजाय दिइनेछ भन्ने कुरा स्पष्ट पारिएको छैन।

सन् २०१९ को अन्तदेखि लगाइएको यस पहिलेको प्रतिबन्धले राति अबेर खेलहरू खेल्नमा प्रतिबन्ध लगाएको थियो र खेलाडीहरूलाई हरेक दिन ९० मिनेट र सप्ताहन्त र बिदाहरूमा तीन घण्टा मात्र खेल्नसक्ने गरी प्रतिबन्ध लगाएको थियो।

चिनियाँ युवाहरूमाझ संस्कृतिप्रतिको रूचिमा वृद्धि गर्ने, आँखाको दृष्टि खराब हुँदै जान रोक्ने र अनलाइन खेलमा लाग्ने लतलाई कम गर्न लक्षित कार्यक्रमहरू ल्याइएको हो। चीन अडियो–भिडियो र डिजिटल प्रकाशन सङ्घका अनुसार यस वर्षको पहिलो छ महिनामा १३० अर्ब युआन (करिब २० अर्ब अमेरिकी डलर) राजस्व कमाएको थियो।

तपाईको प्रतिक्रिया