बर्तमान पुस्ताहरुमाझ कविता लेख्दै आएका युवा कविहरुमा देवकी अभिलाषी स्थापित नाम हो । प्रज्ञा प्रतिष्ठानको कविता महोत्सव २०७८ बाट पुरस्कृत, विभिन्न सामाजिक अभियानमा आबद्धता रहेको छ उनको । हालसम्म प्रकाशित कृतिहरु धरातल भित्रको जिन्दगी ,आँसु पिउदै हास्नेहरु,भावनाका फुलहरु पाटेबाघ र डल्ले कमिलो बाल कथा रहेको छ प्रस्तुत छ साताको तीन कविता

यो शहरलाई म प्रेम गर्छु

गाउँ छाडेर जव
प्रबेश गरें म शहरमा
शहर पसेकै दिनबाट
बढन थालेको हो
गाउँ प्रतिको बिछट्टै माया
सुरु भएको हो यहींबाट
देश खोज्ने मेरो शिलशिला ।

यही शहरले सिकायो
इन्द्रेणी सपनाहरु बुन्न
यही शहरले सिकायो
पहाड झैं सहनशीलताको पाठ
शहर आएपछि सिकेको हुँ
काँडाहरु माथि बाटो बनाउँन
फूलहरुसँग होसियार बस्न
यहीँबाट सुरुवात भयो
जीवनको मेरो पहिलो अध्याय ।

यस्तो लागिरहेछ
यो शहर त मेरो
पाठशालाको कुनै गुरु जस्तो ।

यही शहरको बुई चढेर तिमी
गरिरहन्छौ आरोहण जिन्दगीका हिमालहरु
यहीँ अड्डिएर हुट्टिट्याउ झैं
चलाइरहन्छौ आफ्नै साम्राज्य
विचरा ! शहरको छात्ती चिरेर
बनाइरहन्छौ सपनाहरुको आधार शिविर ।

बिहान उठन नपाउँदै
गाली गर्छौ सिंहदरवारलाई
घण्टाघरलाई, सडकलाई
फेरि हिँडछौ शहरकै बाटो
सपनाको चङ्गा उडाएर
किन भन्न गाह्रो छ तिमीलाई
यो शहर मेरो हो
यो देश मेरो हो ।

शहरकै विरुद्ध गीत गाउँदै हिँडनेले
किन देखि हिंडछौ
हरेक रात शहरमै सपना
कति आरोप सहनु शहरले पनि
सपना बेचेको आरोप – सपना किनेको आरोप
म त भन्छु
तिमी शहरमा छिरेपछि
लाटो भएको हो यो शहर
एउटा बसाईं सर्दैमा
अर्कै भूगोल मान्छौ यो शहरलाई ?
शहरलाई अँध्यारो देख्नेहरु
किन बोल्दैनौ एक काँटी सलाई अँध्यारोको विरुद्धमा ।

तिमीले धावा बोलेको यो प्राचिन अलकापुरी
कालीगढको सुन्दर आकृति झैं लाग्दछ
यहाँका कलामन्दिर न्यातपोल झैं अग्लो सौन्दर्यलाई
सिंगो रुखको एउटै कलाकृति काष्टमण्डपलाई
सुललित, लयवद्ध त्रिपुरको दमित शक्तिलाई
आजकाल म
गाउँ जतिकै प्रेम गर्न थालेको छु ।

यातना गृह

जब खुल्ला आकाशका चराहरु
उडदा उडदै खस्छन बधशालाको अगाडि
सोच्नुस अब
बन्द भयो उसको उडान ।

संसारकै एउटा
निर्मम ठाउँ हो यातना गृह
जसलाई मन पर्दैन
प्रेमको शब्द
जीवनको सौन्दर्य
स्वतन्त्रताको गीत।

लाग्छ
यातना गृहमा
उज्यालो निषेधित छ
खुशी निषेधित छ
आवाज निषेधित छ
कोहि यहाँबाट छुटकारा पाउँन
कि बन्नुपर्छ बत्तीको पुतली
कि त कुर्नुपर्छ भयानक मृत्यु
कि त सुरुङ खनेर पुग्नुपर्छ सडकको छात्तीसम्म
कि त झोस्नुपर्छ घामले आँखा नखोल्दै
तानशाहको महलमा आगो।

यो कुरा कहिल्यै नबिर्सनु
यातना गृहमा भूतहरु बस्छन
र उडाइरहन्छन हाम्रो सात्तो ।

प्रणय दिवसको एक साँझ

घाम फर्किएपछि आफ्नो गूंडमा
एकहुल चराहरुले
प्रेमिल सवार गरे बतासको बाटोमा ।

पर क्षितिज सम्म
मैले लगाएथेंँ आँखाहरुको बिस्कुन
मनको चौतारीमा कुरि बसेर तिमीलाई
फलाएथें खुशी तिम्रै खातिर
युगौं जस्तो
दिनको समय चोरेर
बनाइ दिएथेँ पृथ्वीलाई सानो आकार
आकाश जस्तो अनन्त यादहरुको दुरीलाई
घटाएथेँ सयौ कोष ।

आज कति खुलेको हो
सधैं रिसाइरहने पहाड
हिमपातले खाइ पठाएका रुखहरु पनि
नाचिरहेछन मारुनी नाच
सधैं हाट जस्तै लागिरहने शहरमा
पसे जस्तो तपस्वी साधु
बडो अचम्म लागिरहेछ l
के को निम्ती
मौन बसेका छन आँखाहरु
के को निम्ती
विश्राम लिएको हो समयले ।

किन यो सिरेटो
सम्झनाको मफलर लगाएर हाँसिरहन्छ
पूरानो आफ्नै तस्वीर हेरेर
मख्ख पर्दै हाँस्दै
किन आएको हो अल्लारे उमेरको चन्चलता
केही खास त हुँदैछ आज
कतै प्रेमको बाढीले बगाएर
लान्छ होला मलाई
तिम्रो छात्तीको किनारसम्म ।

प्रणय दिवसको यो साँझ
हत्या गरेर राता गुलावहरु
म आएको छु तिम्रो सामु
बर्षौदेखि नदी र किनारा जस्तो हामी
चुपचाप हामी सँगै सँगै बगौं आज
म आज तिम्रै लयमा
एउटा सागर उर्लन चाहन्छु ।

तपाईको प्रतिक्रिया