जुनु दिव्य राना



सन २०१८ मा हङकङमा ‘टाँकीका फूलहरू’ नामक कथाकृति समस्त नेपाली साहित्यका पारखीहरूका लागि नितान्त प्रिय खुराक बनेर आएको थियो । हङकङ प्रवेश, हङकङेली परिवेश, घटना र परिघटनालाई बडो  सरल र शिष्ट भाषाशैलीमा ‘टाँकीका फूलहरू’मा  पस्किने स्रष्टा हुनुहुन्छ– श्री दाजु गुरुङ ।

मैले पनि हङकङेली परिवेशमा लेखिएका स्वादिष्ट कथाहरूको सङग्रह ‘टाँकीका फूलहरू’ पढने अवसर पाएकी थिएँ । कथाहरू पढिरहँदा आधा मन नेपालमा, आधा मन हङकङमा अल्झिरहन्थ्यो । वर्तमान अवस्था र विगतमा देशको अवस्था र देशबाट परदेशिनु परेका मानिसका भित्री अवस्था र स्वप्न, प्रेम, समाज र राजनीतिक विषय समेटिएको कथाकृति ‘टाँकीका फूलहरू’ पढिसकेपछि फरक खालको अनुभूति गरेकी थिएँ । दाजुको कथा लेखन शैली औधी मन परेको थियो । 
कृतिभित्रका कथामा चित्रण गरिएका विषयहरू कतिपय आफ्ना र चिनेजानेकाको जीवनसँग मेल खाएको पाएँ । सन १९९७ भन्दा अगाडि हङकङ आएका आइडी होल्डर भान्जाभान्जी, दोस्रो पुस्ताले हङकङमा भोग्नुपर्ने कठिनाई, भाषाको समस्या, अलग परिवेशमा गर्नुपरेका सङघर्षका कथा हुन वा फिलिपिनी युवती मोनिकाको मार्मिक प्रेम भोगाई होस ।
महिलाहरू प्रेमका लागि देश र जातीय संस्कारको संघार नाघ्न पनि तयार हुन्छन भन्ने बोध पनि भएको थियो । ‘टाँकीका फूलहरू’ मलाई बेजोड आख्यान लागेको थियो । त्यसपछि म दाजुको आख्यान लेख्ने बेजोड शैलीको प्रशंसक बनेकी थिएँ ।

हुन त कुनै चिज वा वस्तुलाई मान्छेले फरक फरक बुझ्न सक्छ । बोध गर्न सक्छ । कथा पढिरहँदा नचिनिकन कथाको भावमा डुबेर अपरिचित कोही परिचित लाग्ने  या वर्षौं परिचित पनि अपरिचित लाग्ने आभास दिन सक्नु एउटा कुसल कथाकारको खुवी हो  भन्ने मलाई लाग्छ ।
कुनै पनि लेखकको कृति पढदा पाठकले इमानदारितापर्वक पढनु पाठकीय धर्म पनि हुन जान्छ । क्षेत्र वा लिङ्ग नहेरी समग्र आम मानिसको कथा लेख्नु लेखकको धर्म र कर्तव्य दुवै हो । जुन धर्म ‘टाँकीका फूलहरू’का कथाकारले निर्वाह गर्नुभएको छ । र मैले पाठकीय धर्म निर्वाह गरेकी छु— लाग्छ ।

यति कुरा लेखिसक्दा ‘टाँकीका फूलहरू’का कथाकार दाजुको अर्को कथा सङग्रह हाम्रो सम्मुख आइसकेको छ— ‘लाई–सी’ कोसेली बनेर । ‘लाई–सी’ बारे त जान्नु हुन्छ नि ? त्यही क्या ! शुभ अवसरमा दिइने रातो पकेट अर्थात रातो खाम । अथवा चाइनिज नयाँ वर्षमा हङकङमा प्रियजनलाई प्रदान गरिने राता अथवा रङरङका पकेट । र, आजकाल त हङकङमा हामी नेपालीले पनि खास अवसरमा ‘लाई–सी’ संस्कृतिलाई आत्मसात गरेकै हुन्छौँ ।

म कौतुहलतापूर्वक बढो व्यग्र प्रतीक्षामा छु– श्रद्धेय कथाकार दाजु गुरुङको नवीनतम कोसेली  ‘लाई–सी’ को विमोचन गरिने शुभपलको । तपाईंलाई पनि यस्तै लागेको हुनुपर्छ । उसो भए हामी सँगै उपस्थित हुनुपर्छ है २०२१ अक्टोबर १७ तारिख, आइतबारका दिन दिउँसो १ बजे बगैँचा रेस्टुरेन्टमा, दाजुको ‘लाई–सी’ खोल्नुका लागि । कि कसो त ?

तपाईको प्रतिक्रिया