बर्तमान पुस्तामा लेखीरहेका सर्जकहरु बीच हेमन्त शिशिर एक शसक्त कवि हुन । आफ्ना कविताहरुमा बेथितिहरुको बिरोधमा बिरोधका स्वरहरु उनका कविताहरुले यति खरो रुपमा बोलेका हुन्छन की उनका यहि चेतका कारण उनका कविताहरु जे जस्तो भए पनि आफ्नै किसिमका बान्की परेका मिठा कविताहरु हुन। प्रस्तुत छ हङकङ खबरमा साताको तीन कविता

दसैँ

त्यसो त दसैँ चट्याङ बनेर खस्छ
दु खका निधारहरूमा
दसैँ खुसीका देउरालीहरूमा
बस्छ ,
शासकको आँगनमा गीत गाउँछ ।
यहाँ ओठका काप-कापहरूमा दसैं आउँछ
कसैका खुट्टाका छाप- छापहरूमा दसैं आउँछ।

पहिरो जसरी
दसैं भोकको अनुहारमा आउँछ
घाउको सिमाना मिचेर
दसैं चोटको निधारमा आउँछ।
दसैं घरघरमा आउँछ
बगरमा फाँटमा आउँछ।
एउटा झुपडपट्टिमा दसैं
नदि किनारमा झोक्राएको डुङ्गा बनेर आउँछ ।
सेतीको पुलमुनि दसैं केवल
पोपलरको टुप्पोमा झुन्डिएको कंकाल बनेर आउँछ।
वर्षाभरि खेतमा भासिएका खुट्टाहरूमा
दशैँ पुरानै तुना फाटेको चप्पल बनेर आउँछ।
आलिमा चोबिएका औँलाहरूमा
रित्ता हातहरू बोकेर हरेक साल दसैं आउँछ ।

दसैँ कालो रिबन खल्तीमा बोकेर आउँछ
हावाले हल्लाई रहेको पुरानो झण्डालाई
खतराको संकेत दिएर जान्छ ।
दशैँ जीवनको क्यानभासमा नखुइलिने
विभेदका बुट्टाहरू भरेर जान्छ।
ओहो !
निधारको आयतनमा निर्भर छन यहाँ
आशीर्वादका स्वरूपहरू।
वर्गचक्रका भित्ताहरू फुटाउँदै
घर- घरमा
आगँन-आगँनमा
उन्मादमा ओर्लिरहेछ दसैँ।

जब पेटलाई जिस्काउँदै
झुल्न थाल्छन तिनीहरूका कित्तामा
धानका पहेंला बालाहरू
तब कुनै माइक्रोओरगानिजम झैँ
दसैं भोको बोरामा पस्छ
र उतै बिलाईजान्छ।
बरफको टुक्रा जसरी

आज सोध्न मन छ
कहिले आउँछ चुरापोते सँगसँगै
ओठबाट मुस्कान खोसिएकी बहिनीको दसैँ ,
फोहोरको थुप्रोमा निदाएर फूलहरूको सपना
देख्दै गरेको बालकको दसैं कुन क्यालेन्डरको कुन मितिमा पर्छ ?
खोइ मोहनाको किनारमा दसैं
जहाँ आगो बग्छ ?
खोइ ती प्राचीन झुपडी हरूमा दसैँ जहाँको
गरिबी जासुसी गर्दै जुनले रात काटछ ।

आउँदैन दसैं सूदुर किल्ला हरूमा
जहाँबाट पुराना जुत्ताहरूको एउटा मोर्चा
हरेक दिन सैपालको फेदबाट कालापहाड
तिर झर्छ ,
जो सधैं नाना ,खाना र छानाको अभावमा सर्तक
छ आफ्नै देशसँग ।

ओहो !
सिंहदरबारका खल्ती – खल्तीमा हरेकदिन दसैं
बालुवाटारका गेट- गेटमा हरेक दिन दसैं
लुकामारी खेल्दै – खेल्दै दसैं नागार्जुनमा पनि आउँछ ।

आँखा चिम्लिदा मनभरि आफ्नै दसैं आउँछ
आँखा खोल्दा गाउँभरी अरूकै दसैं आउँछ ।

हो बाढी आउँछ
पहिरो आउँछ
जस्तो कि दसैं आउँछ ।

रूईना थारूको सुहागरात

यो मैन बत्तीको मधुरो प्रकाश
लजाएको रातमा
फूलकुमारी उठाउ अलिकति तिम्रो घुम्टो
फालिदेउ एक किरण मुस्कान दैलाको गाजलु आँखामा
आज करेत सर्प ढोकाबाटै लजाएर फर्कने छ ।

धानको डाँठमा अस्तिपञ्चर छुटेको ,
जिन्दगीभर मालिककै कोदालीले हत्केला लुटेको
रूइना थारू हाजिर छ तिम्रो अगाडि
फूलकुमारी अब उठाउ कमैया मुक्तिको आन्दोलनले
वर्षौं देखि जिस्काईरहेको तिम्रो दुर्लभ घुम्टो
जहाँ लुकेर युगौँदेखि अर्को एउटा जून आफ्नो अस्तित्व खोजिरहेको छ ।

फूलकुमारी
भोलि त दोबाटोको पिपलले
कपाल नकोर्दै
चुरेडाँडाले आफ्नो मुहार खल्याङ्गमल्याङ्ग नपार्दै
एक हुल मिर्मिरे आएर अपहरण गरेर लैजाने छ

एक उज्यालो दिन ,
अनी आफ्नो दाईने खुट्टामा खोच्याउदै,खोच्याँउदै
तिम्रो छेउमा आएर खोक्ने छ
केवल एक थकित साँझ ,
फूलकुमारी आज उठाउ अलिकति तिम्रो घुम्टो ।

फूलकुमारी , भोलि त तिम्रो छोरो झोलामा
किताब होइन जोखिम बोकेर स्कुल जानेछ
पाँच कक्षा मै समाप्त हुनेछ उसको बिधार्थी जीवन
र त्यसपछि पढनेछ सिम्ला पहाडतिर स्याउको गणीत
अनि तिमीले र मैले चप्पल बिनै पार गर्नुपर्नेछ
अनकन्टार अमेजन ,बदलिने छ छिनछिनमा मौसम
र फर्किने छैन यो गुलाफी रात ।

आज
स्पर्श गर घामले पिठ्युँमा
छाडिगएका पैतलाहरू माथि
स्पर्श गर
ढिग्री जस्तै बाफिएको धडकन
माथि ,
आद्रता नभएको यो सुख्खा सिद्रा
जस्तो शरीर माथि ,
कालो – कालो अनि नक्सा जस्तै
कच्याककुचुक परेको ओठमाथि ,
फूलकुमारी उठाउ आज
अलिकति तिम्रो घुम्टो ।

फूलकुमारी –

आजको रात निभेपछि फेरि
फर्कने छैन कुनै मधुरो रात ।

मौनधारण

मुर्दालय जसरी मौनधारण
गरिरहेछन भट्टीहरू
जहाँ अचेल सवाल- जवाफ चल्दैन
मौनधारण गर्दागर्दै खोसिएको हो
ओठको सिमानाबाट रोटी
मौनधारण गर्दागर्दै अपहरित भएको हो
आफ्नै लालपुर्जाको ज्यामिति
रूखहरू जसरी मौनधारण गर्दागर्दै
काटिएका हुन सपनाका हांगाहरू
दियो जसरी मौनधारण गर्दागर्दै
जलेको हो तमसुकको आयु ।

बडो दोधारमा छन अतिवादीहरू
निर्धक्क निदाइरहेछन आतंकवादीहरू
अचेल चुपचाप – चुपचाप बिस्फोटित हुन्छन गोला बारूदहरू ।

अचेल टेलिभिजनको पर्दामा खुब मौनधारण
गर्छन पत्रकारहरू ,
रेडियोहरू केवल विज्ञापनका गीतहरू गाउँछन
पोस्टरहरू चुपचाप छन शहरका भित्ताहरूमा
चुपचाप छन नाइट क्लबहरू
चुपचाप छन क्यासिनोहरू ।

चुपचाप छन टेबुलमा रित्ता चियागिलासहरू
गाउँका चौताराहरू मौन छन
शहरका चोकहरू मौन छन
चोकमा उभिएका सालिकहरू मौन छन
अचेल अपराधीले भरिएका कारागारहरू
मौन छन
यहाँका पाठशालाहरू मौन छन्
त्यसो त अचेल अंग्रेजहरू मौन छन ।

यहाँ हरेक प्रश्नहरूमा मौनता छ
यहाँ हरेक उत्तरहरूमा मौनता छ
अचेल यहाँ हरेक पाठेघरहरूबाट
केवल मौनता जन्मन्छ ।

यहाँ बिचौलियाहरू मौन छन
माफियाहरू मौन छन
शाशकहरूको शयनकक्ष भित्र चुपचाप छन ।

आदर्शका रटानहरूले कुनै माइक्रोबस
झैँ खचाखच भरिएका शिक्षकका
मस्तिष्कहरू मौन छन ।
माइक्रोमा रित्ता हातहरू बोकेर
चुपचाप उभिरहेछन सह- चालकहरू
हातमा भाँचिएका स्टेरिङ्गहरू बोकेर

मौन छन चालकहरू ।

अब
आउनुहोस बाँकी
कार्यक्रममको सुरूवात
राष्ट्रियगान बाट गरौँ ।

तपाईको प्रतिक्रिया