तुलसीराज राना मगर

मगर संघ हङकङ स्थापना १९९७ मा भएको थियो । स्थापना भए पश्चात संस्थामा रहेर विभिन्न व्यक्तित्वले पुरयाउनु भएको योगदानले गर्दा हङकङमा रहेका मगरहरु भाषिक, धार्मिक , सामाजिक, आर्थिक, साँस्कृतिक लगायत विबिध रणनैतिक पक्षमा एकिकृत र गोलबन्द हुदै अगाडि  बढी रहेका थिए र छ्न। हङकङको नियम कानुनको परिधिभित्र रहेर सोसियल अर्डिनेन्स अन्तर्गत दर्ता भएको बिभिन्न संघसंस्था मध्ये  मगर संघ हङकङ पनि  एक बलियो संस्थामा गनिन्थ्यो ।

मगर संघ हङकङ स्थापना भएपछिका शुरुवात दशकमा संस्थाको नियमित बैठक सार्वजनिक पार्क तिरै हुने गर्दथ्यो । झरीबादल, जाडोगर्मी बिबिध मौसमको प्रतिकुल असर झेल्नु परेपछि भाडामा भए पनि आफ्नै कार्यलय स्थापना गर्न सफल भएको थियो । हङकङ भरिका मगरहरु एकजुट हुँदै ,अर्थ संकलन गर्दै गएपछि  आफ्नै मगर भवन खरिद गर्न सफल पनि भएकै हो। अहिले मगर संघ हङकङको कार्यलय बेच्ने हो भने न्युनतम ५ देखी ६ मिलियन डलर सम्भवतः पर्न जान्छ ।

मगर संघ स्थापना भएको झन्डै २५ बर्ष पुग्नै लागेको छ।हर्सोल्लास साथ सिल्भर जुब्ली मनाउने सुअवसर नजिकिदै छ । दुर्भाग्य! यस्तै बेला  जाबो एउटा अध्यक्ष पदको लागि सहमति हुन नसक्दा एउटा  संस्था टुक्रिएर दुइटा हुन पुगेको छ । सिंगो मगर समुदायको लागि यो विषय दुखद अनि निन्दनीय भएको छ। अध्यक्ष पदको लागि हर्क राना मगर र हेमराज थापा मगरको उमेदवारी दर्ता भएपछि  भित्रभित्रै केही मगरहरुले खिचडी पकाएर संस्थालाई फुटाएर छाडे।

गल्ती कसको ? 

मगर संघ हङकङको दशौं अधिवेशनको लागि गठित  निर्वाचन मण्डलले २९ सेप्टेम्बर २०२१ बुधवारको दिन उमेदवारहरुको नाम घोषणा गरि सक्नु पर्थ्यो । तर निर्वाचन मण्डलले समय मै कार्य सम्पादन गर्न सकेन र कार्य सम्पादन गर्न नसकेको कारणलाई निहुँ बनाइ    तत्कालीन निर्वाचन मण्डल खारेज गरि हेमराज समूहले अर्को निर्वाचन मण्डल  गठन गरेको थियो र १ अक्टोबर २०२१ को दिन मगर भवनमा ६४ औं आकस्मिक बैठक बसि मनोज सुर्यवंसीको निर्वाचन मण्डललाई विघटन गरेको  थियो । यद्यपि  मगर संघ हङकङ कार्यसमिति सदस्य शिशिर पुर्वाछाने मगरले गणक पुरा नभएको बैठकको निर्णय भन्दै विमति जनाएका थिए ।

अध्यक्षका प्रत्यासी हेमराज थापा बिधानत: अयोग्य छन भनेर उनको बिरुद्धमा ६ जनाको दाबी बिरोध परेको कुरा सुर्यवंशी  निर्वाचन मण्डलले जनाएको कुरा पनि सुन्नमा आएको थियो । विघटित निर्वाचन मण्डलका आयुक्त मनोज सुर्यवंशी मगर हस्ताक्षरित एउटा पत्र अधिवेशनको अघिल्लो दिन २ अक्टोबरको दिन सार्वजनिक भएको थियो जसमा अध्यक्ष  हर्क प्रसाद राना मगर, उपाध्यक्ष यम बुढाथोकी मगर, उपाध्यक्ष कुमारी थापा मगर र महासचिव रबिन्द्र थापा मगर रहेका थिए ।

३ अक्टोबरको दिन इन्डिया क्लबमा मगर संघ हङकङको दशौं अधिवेशन भएको थियो। कार्यक्रमको   बन्द सत्रमा एक पक्षले अध्यक्षका प्रत्यासी हेमराज थापा बिधानत: अध्यक्ष बन्न अयोग्य भएको जिकिर गरेको  थियो । अर्को पक्षले हेमराज थापा अध्यक्षको उमेदवार बन्न योग्य छन भनी रहेकोे थियो । दुई पक्षको तर्क बितर्क चल्दा निकै  होहल्ला भैरहेको थियो । यसै बीच एउटा पक्षले हर्क प्रसाद राना मगरलाई खादा लगाएर बधाई  दिदै सफल कार्यकालको शुभकामना दिएका थिए ।  मैले युके मै बसेर यो दृश्य प्रत्यक्ष हेर्ने अवसर पाएको थिएँ । यसै बीच अर्को पक्षले स्थिति अराजक भएको कारण देखाइ अधिवेशन स्थगित भएको घोषणा गरेको थियोे । यतिन्जेलमा अर्को पक्षले सामुहिक तस्बिर खिच्दै ,दशौं अधिवेशनको नयाँ  कार्यसमितिलाई बधाई छ भन्दै, बधाई सहितको फोटो सामाजिक सन्जालमा लगाइ स्थितिलाई भाइरल बनाइ सकेको थिए ।

प्रत्यासी अध्यक्षको योग्यता 

हेमराज थापा बिधानत: अध्यक्ष  बन्न योग्य  थिए वा अयोग्य  थिए ? भन्ने कुरालाई दुबै समुहले आ-आफ्नै अनुकुलतामा ब्याख्या गरेको देखियो। दुबै पक्ष आ-आफ्नै आग्रहका साथ अघि बढेका थिए । एक्ला जस्तै भएका हर्क प्रसाद  रानामगरलाई  नेपाल मगर संघले मान्यता सहितको पत्र दिएर झन यो विवादलाई  मलजल गरेको देखिन्छ । मगर संघ हङकङको बिधान मै मगर संघ हङकङ एक स्वतन्त्र सामाजिक संस्था भनेर उल्लेख गरिएको छ । यो संस्था हङकङको सामाजिक संगठन ऐनको दायारामा रहेर स्थापना भएको  हो । नेपाल मगर संघ र मगर संघ हङकङ बीच सामाजिक, भाषिक,धार्मिक,साँस्कृतिक,आर्थिक पक्षमा आदनप्रदान हुन सक्छ तर विवाद  समाधानको नाममा एकतर्फी   हस्तक्षेप गर्न  मिल्दैन मेरो विचारमा । विवादको कारण बुझी निकासको लागि सहजकर्ताको भुमिका भने निभाउन सक्दछ। वास्तवमा हङकङका केही संस्थाका अगुवाहरुले विवादको गम्भीरतालाई वास्ता नगरी  हर्क प्रसाद राना मगरलाई  औपचारिक  कार्यक्रम मै बधाई  दिएर आगोमा घिउ थप्ने काम पनि गरेका थिए ।

सहमति र सहकार्य  किन हुन सकेन ? 

नेपालमा नेताहरुले कतिपय मामलामा भद्र सहमति  गरेर कस्ता कस्ता अप्ठ्याराहरुलाई पनि  पन्छाएका कयौं नजिर छ्न।  सहमति र सहकार्यलाई  मध्यनजर गर्दै  हर्क प्रसाद राना मगरलाई  अध्यक्ष  दिएको भए के बिग्रन्थ्यो ? अथवा हेमराज थापालाई कार्यवाहक  अध्यक्ष  दिएको भए के जान्थ्यो ?

मगर संघ हङकङको मुल समिति लगायत भातृ संस्था साथै क्षेत्रीय समितिमा आवद्ध रहेर हर्क राना मगरले पुर्याएको योगदानलाई कदर गर्न एक कार्यकालको लागि  अध्यक्ष पद दिँदा पनि  हुन्थ्यो । र हेमराज थापालाई अर्को पटक अध्यक्ष बनाउने शर्तमा मुल कार्यसमितिको कुनै पदमा राख्दा हुने थियो । 

एकतर्फी चुनावको औचित्य

३ अक्टोबरको दिन हेमराज पक्षले स्थगित भएको भनिएको मगर संघ हङकङको दशौं अधिवेशन १४ नोभेम्बरको दिन मगर भवन जोर्डनमा सम्पन्न गर्ने सूचना सार्वजनिक गरयो र सो समूहले एकतर्फी  निर्वाचन पनि गरायो । हेमराज थापाले अत्याधिक मत ल्याएर  जितेको प्रोपोगन्डा जस्तो लाग्ने सामाजिक संजालमा भरिएको समाचारले संसारलाई  नै अचम्मित बनाएको थियो  ।

चुनाव बहिष्कार गरेर बसेका हर्क प्रसाद रानाको पक्षमा ५ मत खसेको प्रचार गरियो।  चुनाव बहिष्कार गरेको थाहा नपाएका राना समर्थकहरुले यो भोट खसालेको हुनसक्दछ। तत्कालीन  निर्वाचन मण्डललाई कार्वाही स्वरुप खारेज गरेको भन्दै अर्को निर्वाचन मण्डल  गठन  गर्नु जायज थियो कि थिएन ?  हर्क प्रसाद राना मगरले निर्वाचन बहिष्कार गरेको विज्ञप्ति जारी गरेको थाहा पाएपछि पनि निर्वाचन मण्डलले १४ नोभेम्बरको दिन मगर संघ हङकङको कार्यलयमा एकतर्फी निर्वाचन गर्नु उचित थियो की अनुचित ? 

हर्क प्रसाद राना मगर र हेमराज थापा मगरको भावी  चुनौती

बुद्ध र बोन धार्मिक आस्था नमिलेर तमु ट्हो हयूल  हङकङबाट तमु पे ल्हु  संघ हङकङ  गठन भएको थियो । पछी  फेरी तमु ट्हो ह्युलमा अध्यक्ष पदको लागि  झगडा  सिर्जना  भएपछि  फेरी सो संस्था दुई टुक्रा हुन पुगेको थियो । चिराचिरा भएको तमु संस्था झैं मगर संघ हङकङ पनि अहिले दुई चिरामा विभाजन भएको छ । मगर संघ हङकङको दुई चिराका दुई अध्यक्ष हर्क प्रसाद राना मगर र हेमराज थापा मगरले अब आ-आफना  समर्थक लिएर आ-आफ्नै तवरले कार्यक्रम गर्ने छन। यी दुई अध्यक्षहरु कसको ठुलो शक्ति भनेर कार्यक्रम गर्दा मान्छेको भिड जम्मा गरेर हाम्रो पक्षमा धेरै मगरहरुको समर्थन छ भनेर देखाउने अस्वस्थ प्रतिस्पर्धामा लाग्नेछन। कुनै कार्यक्रम गर्दा भव्य र सभ्य बनाउने भन्दै आर्थिक सहयोग संकलन गर्ने अस्वस्थ प्रतिस्पर्धा पनि हुने छ। बैधानिकताको लागि दुबै समुह बीच माथापच्चिसी अवश्य हुने छ । हेमराज नेतृत्वको संस्थामा उनैका समर्थकहरुको साथ सहभागिता रहने देखिन्छ भने हर्क प्रसाद राना नेतृत्वको संस्थामा उनलाई समर्थन गर्नेहरुको जमघट हुने देखिन्छ ।

मगर संघ हङकङको भवन अब के होला ? 

यदि  दुई  समुहमा विभाजित मगर संघ हङकङ मेलमिलाप सहित सहमति र सहकार्यको मिलान बिन्दुतर्फ अग्रसर भएर फेरी एउटै मगर संघ बन्न सकेन  भने मगर संघ हङकङको भवन पक्कै पनि बेच्नु पर्ने अवस्था आउन सक्छ । यदि  बेच्नु परे कसै कसैले भवन खरिद गर्दा आफुले गरेको आर्थिक  सहयोग फिर्ता माग्न पनि सक्लान। कसैले दुई समुह बीच आधा आधा (५०/५०) गर्नु पर्छ पनि  भन्लान। यी सबै परिदृष्यको लागि हङकङका सारा मगरहरु पुर्वतयारीका साथ बस्नुपर्ने स्थिति आएको छ।

तपाईको प्रतिक्रिया