धरान, सुनसरी । विमल स्मृति पुस्तकालयका संरक्षक  पुर्णवहादुर गुरुङले नेपाली साहित्यको उन्नयनका लागि १ करोड ४ लाख रुपैयाँको अक्षय कोष स्थापना गरेको कुरा बताएका छ्न। विमल गुरुङको ५० औं जन्मजयन्तीको अवसरमा आयोजित कविता महोत्सवमा पुस्तकालयले प्रत्येक बर्ष उत्कृष्ट एक पुस्तकलाई २ लाख नगद राशिको ‘विमल कृति पुरस्कार’ प्रदान गर्ने  घोषणा पनि गरेको छ।

महोत्सवमा बोल्ने क्रममा पुस्तकालयको तर्फबाट मुन्धुम कवि तथा साहित्यकार प्रदीप मेन्याङबोले आगामी वर्षहरुमा मंसिर १९ गते कै दिन पारेर नगद २ लाख रुपैयाको ‘विमल कृति पुरस्कार’ प्रदान गरिने घोषणा गरेका हुन । स्वदेश र विदेश बस्ने नेपाली भाषी लेखक साहित्यकारहरुले लेखेका आख्यान र गैरआख्यान एवं  काव्य विधाका उत्कृष्ट पुस्तकलाई आगामी ०७९ सालको मंसिर १९ गते उप्रान्त यो पुरस्कार  प्रदान गरिने घोषणा भएको हो ।

Poet Bimal Gurung

लेखक, साहित्यकारले लेखेका उत्कृष्ट पुस्तकलाई ‘विमल कृति पुरस्कार’ प्रदान गर्न संरक्षक अध्यक्ष गुरुङ र छोरी शान्तिले काठमाडौका प्राज्ञ कवि शशी लुमुम्बू, मुन्धुम साहित्यकार प्रदीप मेन्याङबो, लेखक राजकुमार दिक्पाल (पोर्चुगल), जसकुमार वेखर्ची राई (अमेरिका) र डम्बरकृष्ण श्रेष्ठ ‘अनुशील’ (हङकङ) लाई तत्कालका लागि जिम्मेवारी दिएका छन ।

व्रिटिश गोर्खा लाहुरे पूर्णबहादुर गुरुङ र उनका स्वर्गीय श्रीमती सरस्वती गुरुङ र छोरी शान्तिले १९ बर्षको आयुमा ०४८ साल वैशाख २४ गते  दिवंगत भएका कवि विमलको स्मृतिमा धरानको बुद्धचोकमा पुस्तकालय स्थापना गरेका छन।

पुस्तकालयमा रहेको विमल गुरुङको सालिक

धरान स्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयद्धारा आइतबार आयोजित राष्ट्रिय कविता महोत्सवमा सोलुखुम्बुका गणेश खतिवडाको ‘मृतिका सुगन्ध’ शीर्षक कविताले प्रथम पुरस्कार प्राप्त गरेको थियो । स्वर्गीय कवि गुरुङको ५० औं जन्मजयन्ती र ३० औं राष्ट्रिय कविता महोत्सवमा  विजेता खतिवडालाई  नगद २१ हजार रुपैया र प्रमाणपत्र हस्तान्तरण गरिएको थियो ।

बुद्धचोक स्थित पुस्तकालय भवनमा आयोजित समारोहमा झापाका प्रकाश निरौलाको ‘गाउँका कविता’ शीर्षकले दोस्रो पुरस्कार पाएको थियो । निरौलाले नगद १५ हजार रुपैयाँ पुरस्कार स्वरुप प्राप्त गरेका थिए ।  खोटाङका मुकुन्दकृष्ण थापाको ‘राहदानीको विलौना’ भन्ने कविता  तृतीय भएको थियो । तेस्रो हुने कविले नगद ११ हजार रुपैया हातपार्न सफल भएका थिए । मोरङका नगेन्द्र सुवेदी र उदयपुरका सुमित्रा पोखरेलाई सान्तवना पुरस्कार स्वरुप  नगद ५ हजार रुपैयाँ जनही प्रदान गरिएको थियो ।

उक्त अवसरमा समाजमा विभिन्न पक्षबाट योगदान दिने २१ जनालाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको थियो । सम्मानित र विजेताहरुलाई धरान उप महानगरपालिकाका प्रमुख तिलक राईको हातबाट  प्रमाणपत्र वितरण भएको थियो ।

कवि बिमल गुरुङबारे विकिपिडियामा यस्तो लेखिएको छ

प्रारम्भिक जीवन र शिक्षा

वि.सं २०२८ कार्तिक १९ गते पिता पूर्ण बहादुर गुरुङ्ग र माता आमा सरस्वती गुरुङ्गको कोखबाट विमल गुरुङ्गको हङकङको किङ्गस पार्क अस्पतालको पोलुममा जन्म भएको हो ।[१][२] बालापनका केही समयहरु र प्रारम्भिक शिक्षा हङ्कङ्ग मै गोर्खा आर्मी चिल्ड्रेन्स स्कूलबाट शिक्षा लिएका उनी वि.सं. २०३६ सालमा आमा बुबाका साथ धरान फर्किए पछि धरान ४ स्थित सेकेण्डरी बोर्डिङ्ग स्कूलमा भर्ना भई एस.एल.सी सम्मको अध्ययन पूरा गरे ।[२] सानै उमेरदेखि विमल अरु केटाकेटी भन्दा फरक स्वभावका भएका कारण खेल, मनोरन्जन तिर भन्दा अध्ययन, चिन्तन र लेखन तिर नै बढि झुकाउ थियो ।[१]

साहित्यिक यात्रा

वि.सं. २०४३ सालको एस.एल.सी. परीक्षा दिएपछिको समय पश्चात २०४४ सालदेखि घरैमा स्वतन्त्र अध्ययन र लेखन कार्य थाले । साहित्य र दर्शनशास्त्रहरूको अध्ययनका साथै विश्व विख्यात व्यक्तित्वहरूको जीवनी र कृतिहरुबारे अध्ययन गरे । स्वाभिमानी र स्वतन्त्रता प्रेमी युवा विमल आफ्नो देशको माटो र जाति प्रति सदा गर्व गर्ने गर्दथे । बहुसंख्यक शोषित पीडित जनताहरूको पक्षमा बोल्न र लेख्न सदा तत्पर रहने विमल न्यायपूर्ण र सुन्दर भविष्य निर्माणमा लागि पर्ने अठोटका साथ कलम चलाउने गर्दथे । आफ्ना सशक्त युवा अभिव्यक्तिहरु कविता मार्फत प्रस्तुत गरेर श्रोता वर्गलाई चकित तुल्याउने विमलले आफू लगायत दौंतरी युवाहरूको साहित्य प्रतिको चाखलाई ख्याल गरी सोको प्रबद्र्धनका निमित्त उत्साहित युवा साथीहरु सँग मिलेर धरान १८ स्थित बुद्ध चौकमा वि.सं. २०४५ साल तिर बुद्ध वाचनालयको स्थापना गरे । सोही वाचानालय मार्फत विमल कै सम्पादनमा वि.सं. २०४६ साल मंसिर २५ गतेका दिन इँटा नामक हस्तलिखित भित्ते पत्रिकाको प्रकाशन समेत शुरु गरे । इँटाको प्रकाशनले वि.सं. २०४७ साल फाल्गुण २५ गते सम्म निरन्तरता पाई जम्मा १५ अङ्क सम्म प्रकाशित भएका छन् । २०४७ साल माघ १५ गतेका दिन खाडी नामक हस्तलिखित भित्ते पत्रिकाको एक अङ्क पनि प्रकाशित भएको छ जो तत्कालीन खाडी युद्ध सम्बन्धमा रहेको छ ।[२]

१५/१६ वर्षको उमेरदेखि नै साहित्य लेखनतर्फ अग्रसर विमलले प्रशस्त कविता, लेख रचना सिर्जना गरेका छन् । विमलले विशेष समाचारपत्रहरूमा रिपोर्टिङ्ग गर्दा वा प्रतिकृयाहरु छपाउनु पर्दा “सर्वेक्षण” नामक उपनामबाट छपाउने गर्दथे । उनको लेख र निबन्धतर्फ पनि विशेष रुचि थियो । वि.सं. २०४६ साल बैशाख १ गते धरान जेसिजद्धारा आयोजित प्रतियोगतात्मक कविता गोष्ठीमा उनको कविता “एक किलो जंगल” प्रथम भएको थियो ।[२]

सत्र वषैको कलिलो उमेरमै उनी राजनीतिक रूपले सजग र कविता सृजनामा सशक्त भैसकेका थिए । उनले “एक किलो जंगल” जस्तो ओजस्वी कविता सत्रै वर्षको उमेरमा रचेका थिए भने बांकी अठार वर्षको उमेरमा रचेका हुन् । अल्पायुमै सैकडौ कविता र अनेकौ निबन्ध रचेका विमल गुरुङ्गले पढाइका साथै सङ्गठनात्मक कार्यहरु चालु राखेका थिए ।[१][३] उनको असामयिक महायात्रापछि उनीमाथि कवि श्यामलले लेखे, “लाखौं सूर्यहरुमध्ये खस्यो एउटा सूर्य”। अनि मोदनाथ प्रश्रितले उनीमाथि नै लेखे, “इतिहास चुक्चुकाइरहेछ” ।[४]

Poet Bimal Gurung

एक किलो जंगल
  – बिमल गुरुङ

अब मुद्दाको कविता लेख्न लागेको छु
वर्षौं – वर्ष देखि
आकाशतिर नियाल्दै
आफ्नो शुरमा
आफ्नै सुसाहट बोकेर
बगिरहेकी बगिरहेकी
दुधकोशीको तिरमा बसेर
लेख्न लागेको छु, लेख्न बसेको छु
फांसीको – फंन्दाको
कविता लेख्न लागेको छु ।
~
तीन त्रिलोक, चौध भुवनको
समस्त फूलबारीहरूको
अपुर्ब ब्याख्या गर्दै थाकका थाक लेखे कबिहरूले
कबिहरूले महलमा बसेर
पृथ्वीका सुन्दरी अप्सराहरुका
हाउभाउ र कटाक्षका कबिता लेखे
कबिहरूले समुन्द्रका कबिता लेखे
कबिहरूले झरनाका कबिता लेखे
धकै नमानी
कबिहरूले
दाउरे दाईले बनजांचको आखा छलेर
बनबाट ल्याएको दाउरले पकाएको खाना खाईरहे
क्रमश:
टेबुलमाथि
ब्राण्डी/भ्याट-६९ र स्कचका बोतलहरु लडिरहे
लडिरहे
ओंठमा याक जलिरहे जलिरहे
एष्ट्रेमा मोर निभिरहे निभिरहे
कबिहरूले दाउरे दाईको भोक-प्यास-सपनाको
कबिता लेखेको कसैलाई थाहा भएन
यसैले, म बाध्य छु तलबवाला कबिहरु !
म अब गोलभेडाको कबिता लेख्छु
म अब तिर्खाको कबिता लेख्छु
म अब न्याउरी मुसाको चाहनाको कबिता लेख्छु
म अब बेसी फुर्सद पाएर बैशले पात्तिएका
महाजनहरुका छाउरा/छाउरीहरुका खिल्ली उडाउंदै कबिता लेख्छु ।
~
कबिहरूले
खोलाका एकनास-एकनास धुनहरुका कबिता लेखे
कबिहरूले
चांप/लालीगुराँस/ सुनगाभा र सयपत्रीका कबिता लेखे
कबिहरूले
आफ्नै बहिनीको चोलो च्यात्ने
मालिक साहेबको जयजयकार गर्दै कबिता लेखे
मालिक साहेबलाई रिझाइबक्सन
कबिहरूले स्तुति र गुणगानका कबिता लेखे
कबिहरूले भक्ति र प्रसंशाका कबिता लेखे ।
~
(कवितांश… एक किलो जंगल)
(२०४५/११/२१

(२०४५ को जनआन्दोलनले चरम उचाई लिइरहेको अवस्थामा जेलनेल भोगिरहेका बिमल गुरुङद्वारा जेलयात्राकै क्रममा लेखिएको यो कबिताले उनलाई निरंकुश पञ्चे शासकहरूको नजरमा अझ बढि अराष्ट्रिय कुतत्व हुन मद्दत मिलेको थियो)[५]“”

लेखनशैली

अभिव्यक्ति प्रस्तुत गर्ने क्रममा विमल कवितातर्फ जीवनवादी र प्रगतिवादी देखिन्छन् भने गद्य रचना र लेखनतर्फ उनी हक्की र केही आक्रामक देखिन्छन् ।

शैली, प्रतीक, विम्ब आदि सबै दृष्टिले परिपक्व पुगेको वान्किी परेका कविता लेख्ने उनले सबै कविता छन्दको रमरम आभाष मिल्ने गद्य शैलीमा रचेका छन् लघु कविता, मुक्तक र हाइकुतिर उनको लेखनी रमाएको छ ।

राधेश्याम लेकालिका साथमा बिमलका पिता

कवि मोदनाथ प्रश्रित कवि गुरुङ्गबारे अझ भन्छन्, मेरी सपनाकी प्रेमिका, विधवा गरीजस्ता कविता कलात्मक सौन्दर्यमा खरा छन् । कलिलो उमेरमै उनी सुन्दर कविता सिर्जिन्थे भने आज उनी भएका भए राष्ट्रिय स्तरका प्रगतिवादी कविका रूपमा सुप्रशिद्ध हुन्थे ।

मृत्यु

राजनीतिक चेत भएका सुन्दर कविता लेख्ने कवि गुरुङ्ग मनभरी सुर्य बोकेर सूर्यलाई जिताउन काठमाडौबाट धरानतिर लाग्दा जुकेपानी (थानकोट र नौविसेबीच पर्ने ठाउँ) मा २४ बैशाख २०४८ मा बस दुर्घट्नामा परी उनको दुखद निधन भयो ।[६]

तपाईको प्रतिक्रिया