‘मान्छेलाई श्रम गर्दा जस्तो सुन्दर केही गर्दा देखिदैन ।’ यसो भनिरहँदा स्वयं श्रममा लीन भैरहेकी हुन्छिन प्रदेश नम्बर एक प्रदेशसभा सदस्य कृष्णकुमारी राई । घरका सदस्यहरु कोही हङकङको आइडिवाल, कोही युकेको लाहुरे कोही हेटमास्टर, कोही वकिल, कोही सांसद, कोही मेयर, औसत नेपाली समाज अनुसार उनलाई भौतिक श्रमको आवश्यकता छैन तर उनको दर्शन श्रमसँग जोडिएको हुनाले उनी आफ्नै सादगीमा रमाउँछिन ।
२०५३ सालमै महेन्द्रमोरङ्ग क्याम्पसबाट इतिहासमा एमए पास गरेकी हुन उनले । आफ्नो चोक र घरमा भने उनलाई अन्तरी तिति भनेर चिन्छन । यो बिशेषण राई भाषामा सानो बैनीले ठुलो दिदिलाई गर्छ । आमरुपमा नेताको छवि जनताको नजरमा कस्तो छ ? भन्दा धेरैले नकारात्मक प्रतिक्रिया दिन्छन तर कृष्णकुमारी राईको प्रसङ्गमा यो लागू हुदैन ।

ग्रामीण महिला जस्तै साधारण पहिरन प्राय लुङ्गी र भेस्ट अनि बढीमा दुई सयको लोतीवाल चप्पल, आफ्ना जनतासंग सधै सम्पर्कमा रहनको निम्ति जम्मा पन्द्रह सयको माइक्रोम्यास मोबाइल फोन त्यो पनि परानो भैसकेको, पछाडी लगेर बनाईएको कपालको जुरो, श्रृङ्गार बिनाको सादा गहुँ गोरो अनुहार । यसो हेर्दा कहि कतैबाट हामीले देखीरहने सभा समारोहमा देखिने भेटिने अन्य सभासदहरु भन्दा नितान्त फरक जीवन जीउने तरिका पूरै नेन्सल मन्डेला स्टाईल । जन्म खोटाङ रतन्छा वार्ड नम्बर ५ साल्मे गाउँ। बुबा अधम बाहादुर राई, आमा अपरलक्ष्मी राईको चार छोरा र आठ छोरी मध्ये छोरीतिर अन्तरी त्यसकारण उनलाई अन्तरी तिति भनेर चिनिन्छ ।

बाउ बाजेकै पालाबाट निरन्तररुपमा राजनितिमा सक्रिय । नजिकबाट नेपाली राजनितिलाई बुझी सुनी आएको तर आजको राजनितिक प्रणालीप्रति एक सय असी डिग्रीको अन्तरले राईको बिमति छ । आफ्नै पार्टीभित्रको बेथितिप्रति उहाँ भन्नुहुन्छ ‘जनताले चाहेको कम्युनिजम र सपना यस्तो थिएन । उसबेला राजा फालेपछि सबै समस्या सकिन्छ जस्तो लाग्थ्यो तर फेरि अरु राजाहरु जन्मदा रहेछन। तितिको बुझाईमा अझै नेपाली राजनितिको उमेर परिपक्व भैसकेको छैन । आशावादी हुनुपर्छ’ यसो भनिरहदा भुटेको मकै खादै घरमा भेटन आएको जनतालाई सोध्दै थिईन ‘के समस्या भएर आउनुभयो ?’ स्कुल र कलेज जीवन हुँदै यो चारदशक लामो राजनितिक जीवनमा स्थानिय जनताले कृष्ण कुमारी राईलाई सभासद भन्दा पनि बढि आफ्नो अभिभावकको रुपमा चिनेका छन ।

गाउँमा मर्दा होस कि बिहे पर्दा जस्तोसुकै अप्ठ्यारो र साह्रो अवस्थामा रातदिन नभनी जनतासँगै हुन्छीन । कतिपय अवस्थामा बोलाईरहनु पनि पर्दैन सुनेपछि आफै दगुरी हाल्ने । उनी बारे बनेको किस्सा त कति सम्म भने बिरामीलाई कुरीरहदा बिरामीसँगै बेडमुनि कार्टुन ओछ्याएर बिताएको रातहरु हिसाब गरेर साध्य छैन। यसरी कुर्दा आफु निदाई हाले बिरामीलाई सानो छडी राखिदिएर अप्ठ्यारो परे त्यहि छडीले कोट्याएर उठाउनु है भन्दै बिताएको रातको संस्मरणलाई आफैले भने कहिले कतै उल्लेख गरिनन। बरु उनको यो सादा जीवनशैली धेरैको निम्ति प्रेरणा भएको छ कतिले आफ्नो हैसियत थाहा नभएको प्रतिक्रिया पनि दिन्छन र भन्छन ` कस्तो सभासद भएर पनि यस्तो भएर हिडेको ’ तर अन्तरी तितिलाई आफुमाथीको सबै हसीमजाक आम लाग्छ र भन्छीन `जनताको के दोष नेताले नै त्यस्तै सिकाएको छ ’ ।

अरु नेताहरुको निम्ति उनिबाट सिक्नु पर्ने कुराहरु धेरै छन । काठमाडौंमा हुने ठुलठुला सभा समारोहमा झुक्किएर मात्र पुग्छिन। जिल्लामै पनि अति जरुरी मिटिङ र जानै पर्ने समारोहमा मात्र भेटिन्छ नत्र त बिहान उठेदेखि राती नसुतेसम्म जनताकै समस्या समाधान गर्न लागि परिरहेको देखिन्छ उनलाई । पि एच डी गर्ने रहर छ तर ठेगान छैन जनताको काम गर्दागर्दै समय नै नपुग्ने कुराको सिलसिलामा व्यक्त गरिन । प्रदेश सदनमा भुमीसुधार सामाजिक सुरक्षा, स्थानिय प्राकृतिक स्रोत व्यावस्थापन र परिचालन लगायतको निति निर्माण प्रकृयामा उनको महत्वपुर्ण भुमिका रहेको छ । स्वयं बुबा सामाजिक कार्यकर्ता, पंचायतकालमा माईला दाजु समदत्त राई उपाध्यक्ष सायद यही र यस्तै कारण र पारिवारिक परिवेशले हुनसक्छ अन्तरी तितिको यति लामो राजनितिक जीवनमा भ्रष्टाचारको दाग छैन ।
पहिलो र दोस्रो संविधानसभाको चुनावमा समानुपातिक तर्फको सूचीमा रहेपनि पैसा र शक्तिको उन्मादमा रुमल्लिएको राजनीतिले उनलाई सभासद बनाएन । पार्टीभित्र पनि कहिले आफुले केहि नमागेको एउटा जिउदो उदाहरण हो राई । उनको बिचारमा नेता भनेको त जनताको सुरक्षाको चौकीदार हो राजनितिक जीवनको यति लामो समयमा उनले जम्मा जम्मी बुझेको यति हो । तर यसरी कति नेताले सोच्छन यो समयमा ? पार्टीले ईमान्दार र क्षमतावान कार्यकर्तालाई किनाराकृत गरेको उनलाई चित्त बुझेको छैन । जनताको सेवा गर्नु साधारण काम होइन लोभ र घृणाबाट जो कोही नेता माथि उठन जरुरी छ। पार्टी भित्र राम्रो भन्दा पनि हाम्रो मान्छे हेरिने कारणले हिजोको दिनमा ज्यानको प्रवाह नगरि जनताका लागि संघर्ष गरेकाहरु आज गुमनाम जीवन बाचिरहेछन। यो हाम्रो मात्र पार्टीमा होईन सबै पार्टीको समस्या हो । त्यसमा पनि महिलालाई अझ गाह्रो छ ।

राजनितिक जीवनको यति लामो समयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई जम्मा दुईपटक मात्र भेटेको स्मरण गर्दै भन्छिन भेट हुदा के छ भन्नु हुन्थ्यो म सबै ठिक छ भन्थे यति नै हो । विश्व राजनितिमा राम्रै ज्ञान छ तर राजनितिमा आउनु अघि सपना त शिक्षक बन्ने थियो तर त्यो रहर राजनीतिको चापमा त्यसै सेलाउदै गयो । कैरियरको सुरुका दिनहरुमा टोल र आफन्तका छोराछोरी भेला गरेर फ्रिमा टियुसन पढाई दिन्थिन । हरेकदिन बिहान चार बजे उठेर तातो पानी खाएपछि टोल छेउको चौक झाडु लगाउनु दिनचर्या नै हो उनको ।

मान्छेको भाग्य शिक्षाले मात्र बदल्न सक्छ भन्ने कुरा जन्मदै घर परिवारमा सुन्दै आएकि कारणले पनि हुनसक्छ सबैलाई पढनुपर्छ भन्न छुटाउदिनन। अनुभव र उमेर बढदै जादा अनि समाज देश र राजनितिलाई गहिरिएर बुझ्दै जादा खास समस्या त मानिसको चरित्रमा हुँदोरहेछ भन्ने कृष्ण कुमारी राईको ठम्याई हो । उनको आदर्श नेता नेल्सन मन्डेला हो अनि लेखक चाहिँ पारिजात ।

दुईदशक अघि र अहिलेको अवस्थामा त्यसो त धेरै परिवर्तन आईसकेको छ यतिका धेरै महिलाको सहभागिता बढेको छ । स्थानिय तहमा चालिस प्रतिशत महिलाको सहभागिता छ देशले राष्ट्रपति, सभामुख, प्रधान न्यायधिस पाईसकेको छ। यो हाम्रो सफलता हो आउने दस बर्षपछिको लागि महिलाको निम्ति यो राम्रो संकेत हो । जबसम्म महिलाहरु आर्थिकरुपमा सक्षम हुन सक्दैनन तबसम्म महिलाको जीवनमा आर्थिक परिर्वतन हुदैन भन्ने बुझाईका साथ भन्छिन ‘वास्तवमा जबसम्म मान्छेको चेतनाले पशुत्वको अन्त्य गर्नेछ तबमात्रै समाजवाद र समानता सम्भव छ’ । यसो भनिरहँदा उनको अनुहारमा एक किसिमको दृढ भावना झल्कन्थ्यो ।

अन्तिममा सोधेको प्रश्नको उत्तर थियो ‘सायद अब बिहे गर्दिन होला यो जुनीमा’ यसो भन्दा फेरि अनुहारमा उज्यालो छाएको थियो । थाहा छैन, सिमोन दि वोउवारको जीवन दर्शनबाट पो उनी प्रेरित थिइन कि शायद !

तपाईको प्रतिक्रिया