रमेश के.सी.


भारतको प्रसिद्ध पत्रिका इन्डिया टुडेले लेखेकोछ “सलमान रुश्दीले जब “सेम” उपन्यास लेखे तब पाकिस्तानलाई सताए । जब “मीड नाइटस चिल्ड्रेन” लेखे भारतलाई सताए । अन्तत “दि सटानिक भर्सेज” लेखे र संसारलाई सताए” । यिनै विवादस्पद उपन्यासहरुको बलमा उनि विश्व विख्यात बने । आफुलाई शहरहरुको बारेमा लेख्ने गद्यकार बताउने रुश्दी को जन्म भारत स्वतन्त्र भएको वर्ष सन १९४७ मा व्यापारिक शहर बम्बेमा भएको हो ।


व्यापारिक परिवारका सदस्य रुश्दीको शिक्षा बम्बे र बेलायतमा भयो । इतिहासमा स्नाकोक्तर क्यामब्रीज विश्व विद्यालयबाट गरेका उनि समकालिन विश्व आख्यानका हस्ती हुन । सन १९८९ मा “दि सटानिक भर्सेज” नामक उपन्यास मार्फत इस्लामका धर्म गुरु मोहम्मदको अवमूल्यन गरेको आरोपमा इरानका धर्मगुरु आयोतोल्ला खोमेनीले मृत्युदण्डको फैसला सुनाए । उनलाई मार्नका लागि पुरस्कारको घोषणा गरिएपछि  उनी  विवादमा तानिए । ईरान प्रतिको अमेरिका र बेलायतको कुटनीति पनि प्रभावित भयो यस मुद्दाका कारण ।  त्यस बखतदेखि लुक्दै आएका उनी हाल न्यूयोर्कमा बस्छन । बम्बै, लण्डन र न्यूयोर्कमा जीवन विताएका कस्मोपोलीटान रुश्दी विश्व आप्रवासी समस्याका आधिकारिक  लेखक हुन । आफ्नो भुमिगत  जीवनबारे उनले आत्मकथा “जोसेफ अन्टोन” मा सविस्तार लेखेका छन ।

जोसेफ अन्टोन उनको नाम हो । जुन पोलिस उपन्यासकार जोसेफ कनराड र रुसी कथाकार अन्टोन चेखवबाट लिइएको हो । लुक्नलाई छदम नाम चाहिएकोले उनले  सुरक्षाकर्मीहरुलाई सजिलो होस भन्नका लागि यो नाम लिएका थिए । गद्य र गैर  आख्यान दुवै विधामा कलम चलाउने रुश्दी बहुविषय र क्षमताका लेखक हुन । उनको “इम्याजनरी होमल्याण्ड” निवन्ध संग्रह उत्तर औपनिवेशवादमा आधारित थियो भने “स्टीप अक्रोस दीस लाइन” राजनीतिक टिप्पणीहरुको संग्रह हो । सिर्जनशीलता मात्र होइन बौद्धिकतामा पनि प्रखर उनी राजनीतिक रुपमा सचेत लेखक हुन ।

सन २०२१ मा उनको नयाँ निवन्धहरुको संग्रह “ल्याङवेज अफ ट्रुथ” प्रकाशित भएको छ । चार भागमा विभाजीत उनको यो निबन्ध संग्रह सन २००३ देखि २०२० सम्म लेखिएका लेखहरुको संकलन हो । सत्यको भाषाहरुमा रुश्दी  संसारका सत्यहरु भन्दछन । कल्पनाको यथार्थसँगको सम्बन्धलाई केलाउदै उनी इतिहासको तथ्य हुने भएकोले त्यसलाई साहित्यले भन्नु पर्छ भन्छन। रुश्दी पराविद्या तथा तत्वमिमांसाका लेखक भन्दा यथार्थवादी लेखक हुन । उनी वर्तमान विश्वको फेक न्यूजको प्रकोप र राजनीतिक दक्षिणपन्थका कटु आलोचना गर्छन । डोनाल्ड ट्रम्पको अमेरिका देखि भारतका नरेन्द्रमोदीको हिन्दुत्वको राजनीतिकले अल्पसंख्यकलाई दमन गरेकोमा आक्रेश व्यक्त गर्छन । राजनीतिक रुपमा उदारवादी रुश्दी वर्तमान विश्वको परिचयको सामाजिक साँस्कृतिक लहरका चिन्तक हुन । शेक्सपियरपछि मात्र अरु लेखकहरु आउने भएको हुनाले उनले शेक्सपियरको साहित्यिक गरिमा र सास्वतामाथी दुईवटा निबन्ध लेखेका छन । आफ्नो छोराका लागि बाल साहित्य लेख्ने उनी विश्व पात्र र घटनालाई इतिहासबाट सापटी लिएर तथ्य सिर्जना गर्ने आख्यानकार हुन । उनी बहुसाँस्कृतिक संसारमा बाँच्छ्न र त्यसैलाई लेख्छन । रुश्दी विश्व व्यक्तित्व हुन । उनको संगत विश्व प्रसिद्ध लेखक र कलाकारहरुसँग छ । त्यसैको विवरण यस पुस्तकमा छ । उनको अध्ययन प्राचीन  ग्रीक देखि अंग्रेजी, रुसी, अरवी, ल्याटीन अमेरिकी र भारतीय अंग्रेजी लेखन सम्म छ । सानोमा हजुर आमाले अरेवियन नाइटसका कथा सुनाउने गरेको संस्मरण गर्दै कसरी उनी महाभारत, रामायण र बाइबलसम्म आईपुगे त्यसको चर्चा भीन्न भीन्न निबन्धमा गरेका छन ।

कपडा उद्योगपतीका छोरा रुश्दी पारवारीक व्यवसाय छोडेर लेखक बन्न लागे । सानैमा कथाप्रतिको आकर्षणले उनलाई लेखक बन्ने बिज  राखिदिएको थियो । अध्ययन पश्चात लन्डनको एउटा विज्ञापन कम्पनीमा  काम गर्दा गर्दै उनले “ग्रीमस” उपन्यास लेखे तर यसले चर्चा पाएन । जब उनले स्वतन्त्र भारत र त्यसपछि अवस्थाबारे “मिड नाइटस चिल्ड्रेन” लेखे तब उनले प्रतिष्ठित बुकर पुरस्कार पाए । उनको यो उपन्यासले बुकर अफ दी बुकर भन्ने बुकर प्राप्त गर्ने किताबहरु मध्ये सबै भन्दा उत्कृष्ट भयो । उनले बुकर पाउँदा भारतीय उपमहाद्विपले विश्व  साहित्यमा आफ्नो आवाज पाएको टिप्पणी गरियो । उनको तुलना ग्रावीयल मार्खेज र गुन्टर ग्रास जस्ता लेखकहरुसँग भयो । यस किताबले उनको शैली, चमत्कारिक भाषा र इतिहास माथिको बक्तव्यका लागि चर्चित भयो । उनको नयाँ निबन्ध संग्रहमा मार्खेज सँगको सम्बन्ध र सम्पर्क बारे एउटा निबन्ध छ । मार्खेज जसलाई उनी  आफ्नो लेखनको प्रारम्भिक कालमा चिन्दैन थिए । पछि उनको लेखन मार्खेजको जादुई यथार्थवादसँग मील्छ भनेर साथीले भनेपछि उनले मार्खेज पढेका थिए । तिनै मार्खेजसँग पछि उनको मीत्रता भयो । दुई लेखक दुई भू–भागका प्रतिनिधि स्वरहरु हुन । यिनै  लेखकको आत्मिय कथा पुस्तकमा पढन पाईन्छ । त्यस्तै  उनले सर्वान्तिज र शेक्सपियर, स्यामुयल बेकेट, कुर्ट भोनिगट, हारोल्ड पिन्कर, हान्च क्रिस्चियन एनडरसन, र फिलिप रोथ जस्ता लेखकहरु माथी कलम चलाएका छन । उनिहरुको विषय र शैली मात्र होइन कल्पना र सौन्दर्य चेतमाथी विमर्श गरिएको छ पुस्तकमा । कतिपयसँग उनको मित्रता पनि छ । न्यूयोकरका पत्रकार डेभिड रिमनिकको किताबमाथी उनको टिप्पणी छ । उपन्यास र आत्म जिवनीको सम्बन्ध र प्रभाव बारे पनि घोत्लिएका छन ।

मुस्लिम अभियन्ताहरु रुश्दीको पुत्ला जलाउदै , नयाँ दिल्ली , भारत

तेस्रो खण्डमा आफु पेन अमेरिकाको अध्यक्ष हुँदा दिएका वक्तव्यहरु छन । यस खण्डमा लेखकीय स्वतन्त्रता राजनीतिक र लेखन र सत्ताले लेखकलाई दमन गर्ने प्रबृतिका विरोधमा बोलेका छन । चिनिया कलाकार आएवेवेको प्रतिरोधी कलाकारिताको चर्चा गर्दै राज्यले कुनै पनि मुल्यमा स्वतन्त्रताको हनन गर्न नहुने भन्दै चिनी सरकारको सत्ताको विरुद्ध तर्क गर्छन । फिलिप रोथका आप्रवासी यहुदी चरित्रहरुको मनःस्थिती केलाउदै पिन्टरको नाटकका डार्क कमेडीहरु कसरी मानवीय यथार्थलाई उजगार गर्छ उनले देखाएका छन । मुम्बईको साँस्कृतिक परिवेशबाट बाल्यकालले प्रभावित रुश्दीले मुम्बईको विशेष गरेर बालठाकरेको शिवसेनाको हिन्दु राजनीतिको पृष्ठभूमीमा एक उपन्यास उनले लेखी सकेकाछन । व्यङ्ग, जादुई प्रस्तुती, भाषाको चमत्कारिता र असमान्य पात्रहरु मार्फत उनको उपस्थिति  आख्यानमा देखिन्छ । निबन्धमा उनी विभिन्न कलाका ज्ञाता र पश्चिमी गैर पश्चिमी संसारका लेखक हुन । इतिहास दन्त्यकथा र जोडदार कथ्यका सिर्जनाका हस्ती हुन उनी ।                                                                                           रुश्दी मानवीय  स्वत्रन्त्रता र सौन्दर्यका गायक हुन । उनको लेखनको भूगोलमा प्रायः सबै कुुराहरुलाई  अनुमति दिइन्छ  । उनि आफू पनि मृत्यु दण्डको घोषाणबाट पिडित भएकाले स्वतन्त्रता मुख्य विषय रहेको छ । चौथो खण्डमा फोटोग्राफी र चित्रकलाका समिक्षाहरु छन । भारतकी प्रख्यात चित्रकार अमृता सेरगिलमाथी सुन्दर निबन्ध लिेखेका छन् । त्यस्तै भूपेन काकारमाथी पनि अर्को लेख छ । अन्तिम निबन्ध भने कोभिड महामारीको अवस्था माथी चिन्तन गरेका छन । पहिलो खण्डमा भने ग्रीक दार्शनिक हेरा क्लीटस र गद्यको विषयमा चार ओटा निबन्धहरु छन । पुस्तकमा मुम्बईका समलीङ्गीहरु माथी एउटा चर्चा छ । लेखक रुश्दीको क्यानभास फराकिलो छ । अनिश्वरवादी प्रतित हुने उनी धार्मिक ग्रन्थ र कथाका कुशल पारखी हुन । रुश्दी भारतीय चरित्र वेगरको आख्यान आफुले लेख्न नसक्ने बताउछन । सायद यो पुस्तकमा कविता चित्रकला, फोटोग्राफी, स्मरण आदिको माध्यमबाट पाठकलाई एउटा मनोरम साहित्यिक  भुगोलमा भ्रमण गराउछन । अंग्रेजी लेखनका उस्ताद हुन उनी । बिसौं शताब्दीको अन्त तिर उदाएर एकाइसौ शताब्दी माथी शब्द खर्च गरी रहेका दुई शताब्दीका पुल हुन उनी ।

लेखक : सलमान रुश्दी
किताब : ल्याङवेजेज अफ ट्रूथ
प्रकाशन : पेन्गइन रयाण्डम हाउस
पेज : ३५६
मुल्य : ७९९।– भा.रु.

तपाईको प्रतिक्रिया