करुणा राई समकालीन नेपाली कविता लेखीरहेकी एक शसक्त कवि हुनुहुन्छ । मान्छेले भोग्ने सबै किसिमको अनुभवहरुको एक संगालो हो यी कविताहरु भन्दा फरक पर्दैन प्रस्तुत छ। साताको तीन कविता ।
जुत्ता
जहिले पनि तँलाई खोलेर
बाहिर राख्छु ।
र ढोकाबाट भित्र पस्छु
म अरु सरह
ए जुत्ता, तँलाई थाहा छ ?
यो ढोकाभित्र के हुन्छ ?
अरे यार तँलाई के था
यहाँभित्र के हुदैन
र के हुन्छ ।
तँलाई त ढोका बाहिर
पर्खिरहनुपर्छ भन्ने थाहा छ ।
निस्किएपछि भित्रबाट
मान्छेहरु बोकेर हिड्नुपर्छ
यो था छ ।
तँ यति इमानदार छस्
कि, इमानदारीकै कारण
तँलाई भित्र पस्न निषेध छ ।
दिलसरा
बहुलाहीको नामले चिनिन्छ
दिलसरा-
अत्याचार बिरुद्ध आवाज उठाउदा
ठिँगुरोमा कैद भएको दिन
नयाँ नाम जुरेको हो उसको- बहुलाही
एक दिन समय यसरी हार्ने छ की
ठिँगुरोबाट मुक्त हुने विश्वासमा
उदेश्यको तरवार उद्दाइरहन्छ ऊ
मलाई आजकल सत्य बोल्नेहरुको
जीवन देखेर खुब डर लाग्छ
र डराइरहेको छु
ठिँगुरो मुक्त भएकै दिन
देश निकाला हुन सक्छ – दिलसरा
भ्रम
धैर्य गरेर भगवान ढोगें
मनलाई साँची राखेर विश्वास गरे
सम्झिए मैले मान्दै आएको भगवान त
जाबो ढुङ्गा न हो मुर्ति न हो
उ आफु त मान्छेको हातबाट बनाएको
आँखाले हेरेको नक्कल गर्छ
मान्छेले नै भिराइ दिएको त्रिशुल भिरेर
उसको सामु उभिएको म
मलाई नै डर देखाउछ
मूर्तिकारको कलामा
उ आफै भ्रम जिन्दगी बाँचेको छ
उसैलाई थाहा छैन आफ्नो जन्म दाता
अहँ उसलाई केही थाहा छैन म के हो ?
तर म उसलाई भगवान भन्छु
विश्वासले ढोग्छु
मैले उसलाई ढोगिरहदा
उ आफैलाई विस्वास नगरेर
मूर्ति बनिदिन्छ ।