लेखनको माध्यमबाट पर्यवरण संरक्षणको निम्ति दुई दशक भन्दा लामो समयदेखि निरन्तर रुपमा क्रियाशील लेखक तथा तथा पर्यावरण विज्ञ तथा अभियन्ता विजय हितान नेपाली साहित्यमा स्थापित नाम हो । साहित्यको विभिन्न बिधामा उत्तिकै सशक्त हितानको पछिल्लो समयको चर्चीत आख्यान ‘ लाहुरेको रेलीमाई ‘ हो । पेशाले त्यसो त बिट्रिश आर्मी समेत रहेका हितान साहित्यको माध्यमबाट पर्यावरण संरक्षणको निम्ति निरन्तर रुपमा आवज उठाउने अग्रणी व्यक्तित्व हुनुहुन्छ । प्रस्तुत छ साताको तीन कविता ।
मेरो भगवान
म संधै आईरहने मन्दिरमा आज पनि आएँ
तर आज
देख्न सकिन मेरो भगवानको प्रतिमा
कसले हरेर लगेछ ऊसलाई मन्दिरबाट ?
सम्हालिनै सकिन र स्तब्ध बनेछु
ऊसले छोडेर गएका टिका र प्रसादका अवशेष
दुना र टपरिमा यत्रतत्र त थिए
टंङ्टङ् बज्दै गरेका घण्टीहरुका ध्वनीले
परेवा परेवीका गुञ्जनले
भरखरै जलेर निभेका दियोका धॅुवा र अगरबत्तिका सुगन्धले
हावाको सन्नाटामा फरफराउदै गरेका ध्वजाका स्पर्शले
ऊ यतैकतै छ कि भन्ने
आभास त पाउथें नै
अनुपस्थित थियो ऊ, आखिर किन ?
म सोच्नै सकिन
ध्यानस्थ भएर वसें एकैछिन रित्तो मन लिएर रित्तो मन्दिरभित्र
बल्ल याद भयो-
मेरो भगवानलाई त मैले नै
लगेर जलाईसकेको रहेछु घाटमा ।
मलाई आर्यघाट लगेर नजलाउनू
म मरेपछि
मलाई आर्यघाट लगेर नजलाउनु
किनकि मलाई जलाउने दाउराको चिताबाट हावामा उत्सर्जन हुनसक्ने विषालु कार्बनले म तिम्रो फोक्सो जलाउन चाहन्नँ
मेरो मृत्युमा तिमी बाँच्नेहरूलाई अक्सिजन दिने रुखहरूको पनि म मृत्यु देख्न चाहन्नँ
म बाँचुन्जेल मेरा दुव्यर्वहारले तिम्रो मन कति धमिलिए होला !
म मरेँ पछि मेरो खरानी बाग्मतीमा बगाएर भो, तिमीले पिउने पानीलाई धमिलो पार्न म चाहन्नँ
म बाँचुन्जेल कार र प्लेन चढेर वायुमण्डलको अक्सिजनमा यति धेरै कार्बन घोलेँ हुला कि ऋणमुक्त बनेर मर्न देऊ मलाई म कार्बन न्युट्रल भएर स्वर्ग जान चाहन्छु
त्यसैले भन्छु- म मरेँ पछि सफा ऊर्जाद्वारा संचालित इन्सिनरेटरभित्र हालेर जलाइदिनु
मलाई मेरो कार्बन फूटप्रिन्ट घटाएर मर्न चाहन्छु
होइन भने, मेरै बारीमा लगेर गाडिदिनू ताकि, गड्यौंलाहरूको एक छाक आहारा बन्न सकूँ र उर्वर माटोमा अर्को वर्ष राम्रो फसल लाग्न सकोस्
तर, म मरेपछि
मलाई आर्यघाट लगेर नजलाउनू ।
ओ साला हिमाल !
मलाई मन्त्रमुग्ध पार्ने तेरो सुन्दर अनुहार भित्र
भूउपग्रहका रेडारले पनि देख्न नसक्ने
एटम बम च्यापेर बसेको रहेछस्
पख तॅलाई !
थाहा थियो
एटम बम बनाउन चाहिने
कच्चा पदार्थ- युरानियमलाई
भित्रभित्रै ‘इनरिचमेन्ट’ (समृद्ध) गर्दैछस् भनेर
तर विश्वासै लागेको थिएन अहिलै पड्काइहाल्लास भनि ।
हेर त
ल्येन्दे, भोटिकोशी, र त्रिशुलीका बगर
युद्धपस्चातको स्थलमा छटपटाई रहेका छन् ।
देखेको छस् ?
केरुङ, स्यॅाफ्रुबेसी, टिमुरे, वेत्रावती, र बिदुर
मुर्दा स्थलमा परिणत भएर गुञ्जाइरहेका छन् चिर क्रन्दन।
पख तलाईं !
अव म पनि
अमेरिकाले इरानलाई आक्रमण गरेसरि
कार्वनका बाल्लिस्टिक मिसाइल
नाइट्रोक्स अक्साइडका क्रुज मिसाइल
मिथेनका हाइपरसोनिक मिसाईल
र हरितगृह ग्यासका ड्रोनहरु
तेरो बदनमा ड्यामकि ड्याम बर्साएर
चिप्रिक्कै पगाल्न सकिन भने तेरो अनुहारको सुन्दरता
मरिजाम ! म मानव हैन ।
ओ साला हिमाल ।





