क्रान्ति सुब्बा

मानिसको साझा शत्रु कोरोना भाइरसको विरुद्धमा मानिसले खोपको आविष्कार मात्र के गरेका थिए अघोरी शैलीमा कोरोनाले पनि  डेल्टा भेरिएन्ट जस्तो जब्बर अस्त्रलाई बारुदखानाबाट निकाल्यो। कोरोना मुक्त संसारको नोस्टाल्जिया बाँच्न बाध्य मानिस आज  कोरोना मुक्त संसारको युटोपियामा रमाउनु परेकोछ। अक्सर दिनचर्या मानिसको कोरोनाबिहिन दिवा सपना देखेर बित्छ। सुते पछि आँखा खोलियो भने एकदिन बढी बाँचेको आभासमा लामो सास फेर्नु परेको छ। खै ! जिन्दगी ! मानिसको हालत भएकोछ।

यसै मेसोमा  कोरोना भाइरसको म्युटेन्ट स्ट्रेन अर्थात उत्परिवर्तित स्वरुपहरुको प्रकोप दिनानुदिन वृद्धि हुन थालेपछि कोभिड विरुद्धको हर्ड इम्युनिटी अर्थात सामुहिक रोग प्रतिरोधात्मक क्षमता यथाशीघ्र स्थापना गर्ने हङकङको सपना पनि  चकनाचुर भएकोछ।  युनिभर्सिटी अफ हङकङका माइक्रोवायलोजी संकायका चेयर प्रोफेसर युन क्वक-यङले अप्टिमिस्टिक हुने समयमा यस्तै पेसिमिस्टिक कुरा भर्खरै गरेकाछ्न।

२००३ सालमा हङकङबाट पुरै हराएको सार्स रोग जस्तो यो भाइरस लोप हुदैन उनले भनेकाछ्न।

हर्ड इम्युनिटी अर्थात कोरोनाको विरुद्धमा लड्ने लास्ट रिसोर्ट अर्थात अन्तिम किल्ला स्थापना भएपछि पनि अरु मानव कोरोनाभाइरस जस्तै मनुष्यसंग यो दिर्घकाल सम्म रहन्छ।

डेल्टा भेरिएन्टको उदगमनले हर्ड इम्युनिटी हासिल गर्ने कुरा अब उसो अप्राप्य भैसकेको र यो साझा प्रतिरोधक तत्व हाम्रो लागि अब  ” आकाशको फल आँखा तरि मर” भएको कुरा यङले गरेकाछ्न। कस्तो आतेस लाग्ने कुरो। पहिलो पुस्ताको भ्याक्सिनको अकर्मण्यताले मानिसको हबिगत यस्तो भैरहेको स्थिति हो अहिले ।

यद्यपि खोप लाउनुको वैकल्पिक विकल्पको उपस्थिति शुन्य रहेको अहिलेको परिप्रेक्ष्यमा  खोप लाउनुमा नै कल्याण छ भन्दै  जनसमुदायलाई खोप लाउन आग्रह गर्छन उनी ।

अगस्ट २६ तारीखको एक रेडियो कार्यक्रममा उनले शुन्य संक्रमण कायम गर्नु र भाइरसलाई पुरै निर्मुल गर्नु दुई फरक कुरा हुन भनेकाछ्न। उनको विचारमा शुन्य संक्रमण कायम गर्नु अल्पकालीन कुरा हो। कोरोना भाइरसको उत्पादन दर अहिले २.५ प्रतिशतबाट बढेर ७ प्रतिशत भएकोछ। ७० प्रतिशत जनसंख्याले खोप लगाएपछि  समुदायमा कोभिड प्रतिकार क्षमता निर्माण हुन्छ भन्ने आकलन प्रारम्भिक अवस्थाको हो जतिबेला भ्याक्सिनलाई चक्मा दिएर मानिसलाई संक्रमण गर्ने हुति भएको डेल्टा भाइरस जन्मेको थिएन ।

चोर माथि चन्डाल निस्कियो  यो भाइरस। मानिसले यस्तो खोप बनाउदैछ , जुन खोपले मानिसलाई संक्रमणप्रुफ बनाउदैछ भन्ने बुझेर पुर्ण खोप हानी सकेको मानिसको इम्युन सिस्टमको घेराबाट उम्कन सक्ने क्षमता भएका भेरिएन्टहरु कसरी उत्पादन भैरहेछ? यक्ष प्रश्न ठिङ्ग उभिएकोछ।

यो भाइरस चिनले उत्पादन गरेको होइन प्राकृतिक रूपमा उत्पत्ति भएको हो भन्ने निष्कर्षमा टुंगिएको वैज्ञानिक दस्तावेजलाई बाइडन प्रशासनले मान्यता दिएको छैन अहिले सम्म।
कतै चीन र अमेरिका एउटा चै धाँमी अर्को चै बोक्सी त होइनन?
यो बारेमा चिन्तन मनन र बहस गर्ने बेला भैसकेको छ।

हालै मिङ पाउ डेलिमा प्रकाशित  लेखमा यङ र अरु दुई जना विज्ञले हङकङले प्रयोग गरेको खोपको प्रभावकारिताबारे एक तथ्यांक पेश गरेकाछ्न। सो तथ्यांक अनुसार डेल्टा म्युटेन्ट भेरिएन्टको विरुद्धमा बायोएन्टेक भ्याक्सिन ८८ प्रतिशत प्रभावकारी र साइनोभ्याक भ्याक्सिनको प्रभावकारिता ६० प्रतिशत रहेकोछ। यस हिसाबले हेर्दा हर्ड इम्युनिटी स्थापना गर्नको निम्ति बायोएन्टेकको खोप दर ९७.४ प्रतिशत पुग्नु पर्दछ भने साइनोभ्याकको खोप दर १४२.९ पुग्नु पर्ने हुन्छ।
” १०० प्रतिशत भन्दा बढी खोप दर हुनु सामान्य ज्ञान भन्दा टाढाको विषय जस्तो लाग्छ, तर भेरिएन्ट भाइरसको निरन्तरको विकासले हर्ड इम्युनिटीको थ्रेसहोल्डलाइ पनि उच्च पारिरहेछ।” उनले लेखेका छ्न।

अगस्ट २९ सम्मको तथ्यांक हेर्दा एक डोज खोप ६०% जनसंख्याले लगाइसकेका छ्न। जसमा ७०% त २० वर्ष देखि ५९ वर्ष बीचका काम गरिखाने जनसंख्या परेका छ्न। १२ देखि १९ वर्ष बीचका ५६% विद्यार्थीले खोप लगाएका छ्न। तर ज्येष्ठ नागरिकको खोप दर भने कम रहेको छ। ७० क्रस गरेका ३०% जनसंख्याले मात्र खोप लगाएका छ्न।

निजामती कर्मचारी र हस्पिटल अथरिटीका कर्मचारीको खोप दर क्रमशः ९१% र ९३% पुगेको छ।

खोप दर ९० प्रतिशत नै पुगे पनि मानिसहरुले अनिवार्य मास्क नलगाई धर छैन  भन्ने कुरा गरेकाछ्न । मास्क जीवन रक्षाको फस्ट डिफेन्स लाइन हो भनेर बुझ्न ढिलो गर्दा या बुझ पचाउदा पस्चिमी देशले ठुलै मुल्य तिरेकाछ्न, अध्यावधी तिर्दै छ्न। अनिवार्य मास्क लाउने कुरालाई नियमन र अनुगमन गरि  मास्क धारण नगर्नेलाई कार्वाहीको दायरामा ल्याउन सक्नुले हङकङले शुन्य संक्रमणलाइ कायम राख्न सकेको हो। मास्क धारण साक्षरता पब्लिकमा ल्याउन सक्नु हङकङको ठुलो सफलता हो बास्तबमा । नपत्याउने मास्कले ज्यान जोगाउछ भनेको यही हो सायद ।
हङकङमा मास्क नलाइ हिड्नेलाई आतंकबादीको नजरले हेरिन्छ। लोक लाज पचाउनको लागि भए पनि मास्क लाएर हिड्नु पर्ने दशा छ। अनि कसरी छिरोस भाइरस स्वास नलीमा।हङकङमा अझै एक वर्ष मास्क लाउनु पर्छ भनेर स्थानीय विज्ञले भनेका छ्न। लाग्छ मास्क बिना जीवन कुरुप बन्छ समयान्तरमा।

विडम्बना ! हङकङले मिहिनेत पुर्वक शुन्य केसको स्थिति ल्याएको उपलब्धि पनि बेकार झै भएकोछ।
लेखक त्रयले  हङकङ सरकारले अपनाएको “शुन्य केस”को नितिले कोभिड -१९ लाई निराकरण गर्न सक्दैन । यो नितिले त केवल मानिसलाई खोप हान्ने थप समय मात्र खरिद गरि दिने हो भनेका छ्न।

मानिसले अन्ततः भाइरससंगै सह-अस्तित्वका साथ बाँच्नु पर्दछ भन्ने आइडियासंग  यो “शुन्य केस” कायम राख्ने लक्ष्य बाझ्दैन तर  जनसंख्याको भारी बहुमतले खोप ग्रहण गरिसकेको अवस्था आएपछि मात्र सरकारहरुले यो भाइरससंग सह अस्तित्वका साथ बाँच्ने योजना बनाउन मुनासिव हुन्छ । विज्ञहरुले भन्न खोजेको के हो भने विश्व जनसंख्याको अधिकतम मानीसले खोप लगाइसकेपछि पनि यो भाइरस संक्रमण यथावत रहेमा बल्ल यो भाइरससंग सह अस्तित्वका साथ बाँच्ने मानसिकता बनाउदा हुन्छ। बहुमत जनसंख्याले खोप नलगाई सकेको अवस्था नआइ भाइरस संगै बाँच्ने कुरा सैद्धान्तिक मात्र  हुने भन्न खोजेका हुन।

मास भ्याक्सिनेसन अर्थात सय प्रतिशत( शतप्रतिशत ) जनसंख्याले खोप लगाइसके पछि मात्र भाइरस संगसंगै कसरी सह अस्तित्वमा रहने चरणमा हामी प्रवेश गर्दछौं ।

हङकङको सन्दर्भमा संक्रमणको खतरालाई घटाउन ठुलठुला भेलामा सहभागी हुने व्यक्ति  वा मास्क खोलेर भेला हुने क्रियाकलाप जस्तै व्यायाम तथा नृत्यमा सहभागी हुने व्यक्तिले अनिवार्य खोप लाउनु पर्ने कुरामा विज्ञजनको मत एक हुन थालेको देखिन्छ । यहाँ सम्म कि” हेल्थपास ” सिस्टमको पनि विकास गर्ने विषयमा बहस सुरु भएको छ।

यदि तपाईसंग भ्याक्सिन हानेको प्रमाणपत्र दर्साउने हेल्थपास छैन भने केही निश्चित स्थानमा तपाईलाई प्रवेश निशेध गरिनेछ। के यस्तो अभ्यास उपयुक्त होला? हङकङ सरकारले जतिसक्दो अधिकतम जनसंख्याले भ्याक्सिन लगाओस भन्ने हेतुले अनेक जुक्ति माथि अहिले चिन्तन गरिरहेको छ।

हेल्थ पास सिस्टमलाई अहिले अभ्यासमा नल्याउन सुझाव दिएका छ्न स्वासप्रस्वास औषधि विज्ञ डाक्टर ल्यङ चि- चिउले। यदि नागरिकले यसलाई अनिवार्य खोप लगाउन लाउने सरकारको दाउका रूपमा बुझिदिए भने असर नकारात्मक हुने भन्दै उनी भन्छ्न “मानिस सधैं गैरहेको स्थानमा भ्याक्सिन नलाको कारणले उनिहरुलाइ जान मनाही गरियो भने यसलाई भ्याक्सिन जबर्जस्ती लगाउने खेलको रूपमा बुझ्नेछ्न जसले आक्रोश उत्पन्न गराउनेछ।”

खोप नलाएका नागरिक माथी यस्तै हेल्थ पास सिस्टम लाद्ने काम गर्दा फ्रान्समा २ लाख मानिस यसको बिरोधमा सडकमा उत्रिएको उदाहरण उनले दिए। जुलाईको मध्यतिर फ्रान्समा लागु भएको कोभिड पास सिस्टम अनुसार रेस्टुरेन्ट ,थिएटर,सिनेमा , लामो यात्राको रेल वा ठुला सपिङ सेन्टरमा प्रवेश गर्दा अनिवार्य खोप प्रमाणपत्र कि त नेगेटिभ टेस्ट भएको रेकर्ड देखाउनु पर्दथ्यो।

हङकङको समस्या भनेको भ्याक्सिन प्रति नागरिकको पुर्ण विश्वास नहुनु हो। र भ्याक्सिन लगाएका मानिसमा देखापरेको स्वास्थ्य सम्बन्धि गडबडीलाई पारदर्शीपुर्वक सूचना प्रवाह गर्न नसक्नु अर्को कमजोरी हो। उनले अगाडि भने ” सरकारले खोपबारे नागरिक द्वारा उठाइएको सवाललाई तदारुकताका साथ सुन्नु पर्छ र खोप कसले लाउनु पर्छ र कसले लाउनु पर्दैन सुस्पष्ट ब्याख्या गरिदिनु पर्छ ।”

अर्का विज्ञ हो पाक ल्यङले त अब हङकङका प्रत्येक नागरिकले खोप अनिवार्य लाउनु पर्छ भनेका छ्न। भाइरसको नयाँ स्वरुपले भ्याक्सिनको प्रभावलाइ छ्लेर मानीसलाई विश्वव्यापीरुपमा संक्रमित तुल्याउन थालेपछि रोग प्रतिरोधात्मक साझा शक्ति खडा गर्ने उदेश्यमा क्षय आउन थालेको सन्दर्भमा उनले प्रत्येक नागरिकले अनिवार्य खोप लाउने कुरा गरेका हुन।
फोकटमा लाउने खोपबारेमा  थप चेतना बढाइ खोप प्रतिको विश्वसनीयतालाई  वृद्धि गर्न सकेमा र पुलपुलिएको बच्चा जस्ता हङकङका नागरिकले ल्याङ ल्याङ नगरी भ्याक्सिन लाएमा पचास प्रतिशत खोप लगाइसकेको हङकङले आफ्नो खोप दरलाइ चाडैं सय प्रतिशतमा पुरयाउनेछ।

” मानिसले अहिले हर्ड इम्युनिटी के हो बिर्सिसके। भाइरसको नयाँ उत्परिवर्तित स्वरुपको उत्पत्ति द्रुत स्तरमा भैरहेको तथ्यांकले बताउछ जसले भ्याक्सिनको प्रभावकारितामा ह्रास ल्याइदिएको छ” हङकङ युनिभर्सिटी संक्रमण केन्द्रका निर्देशक हो पाक ल्यङले अगस्ट २६ तारीख एक रेडियो कार्यक्रममा  भने।

बहुसंख्यक जनसमुदायमा जब संबंधित  रोगले कुनै पनि किसिमको प्रभाव पार्न नसक्ने स्थिति सिर्जना हुन्छ तब मात्र हर्ड इम्युनिटीको रचना हुन्छ। साझा रोग प्रतिरोधक तत्वको रचना पश्चात   एक व्यक्तिबाट अर्को व्यक्तिमा रोग सर्न प्राय असंभव हुन्छ। परिमाण स्वरुप बलियाहरु मात्र होइन सिंगो समुदाय नै सुरक्षित हुनेछ्न।

तर  यो भाइरसको उत्परिवर्तित स्वरुपको तीब्र उदगमनलाई देख्दा कोभिड – १९ को मामिलामा साझा प्रतिरोधक तत्वको रचना हुन सहज छैन भन्छ्न उनी।

७० प्रतिशत भन्दा बढी जनसंख्याले भ्याक्सिन लगाएको भएता पनि केही पश्चिमी र भुमध्यसागरिय देशहरूमा अहिलेसम्म यो भाइरस नियन्त्रणमा आउनसकेको छैन । कतिपय स्थानमा त भाइरसको सुपर क्लस्टर आउटब्रेक पनि भएकाछ्न होले भने । खोपले संक्रमणलाई पुर्णतः वर्जित गर्न नसकेता पनि यसले मानिसलाई गम्भीर बिमार र मृत्यु हुनबाट भने धेरै हदसम्म बचाएको तथ्य उनले सारे।

हङकङले अब हर्ड इम्युनिटी हासिल गर्ने  आफ्नो लक्ष्यलाई त्यागेर युनिभर्सल भ्याक्सिनेसन प्रोग्रामतर्फ अघि बढ्नु पर्दछ भन्छ्न उनी । युनिभर्सल खोपकरण कार्यक्रम अन्तर्गत प्रत्येक नागरिकलाई खोप दिएर गम्भीर विमारमा जानबाट बचाउनु पर्दछ र संक्रमितलाई   तंदुरुस्त तुल्याउनु पर्दछ। किनकि
खोप लगाइसकेको व्यक्तिलाई इन्फेक्सन नै भैहाले पनि उसलाई बिमारले त्यति साह्रो च्याप्दैन र मृत्यु हुनबाट बचाउदछ।
जस्तै :खोप लाउनु भयो भने  तपाईंलाई कोभिड लागि हाले पनि अस्पताल नै भर्ना हुने गरि रोगले च्याप्दैन। र अहिलेको खोपकरणले ठुलो स्केलको कोरोनाभाइरस संक्रमणलाई पनि रोक्दछ।

सिभिल सर्भिस मन्त्री पेट्रीक निप पनि चाडो भन्दा चाडो सबै समुहका नागरिक , विद्यार्थी देखि बुढाबुढी सम्मलाई खोप दिएर सामाजिक गतिविधिलाई कोभिड आउनु भन्दा अगाडिको स्थितिमा पुरयाउन र सबै सिमानाकालाई खोल्न चाहन्छ्न।

संक्रमण नियन्त्रण गर्न कार्यान्वयनमा रहेको हालको  मापदण्डलाई भने  खुकुलो पार्नुको लागि हतारिन नहुने कुरामा   उनले जोड दिएका छ्न।

” भ्याक्सिन लाउनेको संख्या ५० देखि ६० लाख नै पुगे पनि अनुपातमा हेर्दा त्यो भनेको इजरायल , युएइ या तेहि लेभलमा पुगेको अरु स्थान स्तरमा पुग्नु हो। तर भ्याक्सिन दर उल्लेख्य स्तरमा पुग्यो भनेर जनस्वास्थ्य मापदण्डलाई खुकुलो पार्ना साथ संक्रमणको निकै ठुलो मुल अवश्य फुट्छ” उनले चेतावनी नै दिएछ्न।

प्रत्येक खोप लाउन योग्य नागरिकले यथाशीघ्र खोप लगाएर संसारका प्रत्येक मुलुकले खोप दरलाइ ७० प्रतिशत सम्म पुरयाएपछी मात्र कोभिड विरुद्धको पहिलो चरणको युद्ध समाप्त हुन्छ। तेतिन्जेलसम्म कोभिडद्वारा कसैको मृत्यु भएको भन्दा आश्चर्य नमाने हुन्छ। खोप लाएर आत्मबल बढाउनु , आत्मरक्षाका सिरिखुरी तौरतरिका अपनाउनु र महामारीको महा प्रस्थानलाई कुर्नु मानिसको तत्कालीन नियति बनेको छ।

यस्तो पाराले महामारीको महाप्रस्थान कहिले होला?

तपाईको प्रतिक्रिया