नरजित राई        

हाम्रो मुख्य कार्यलयका केहि कर्मचारीहरुलाइ कोभिड – १९ ले आक्रमण गरि सकेको रहेछ। १८ फेब्रुअरी २०२२ का दिन कम्पनीले ४ बजे नै पैसा तिरेर पिसिआर टेस्ट गर्नु भनी बिदा दियो।


हामी  तीन नेपाली (शेर बहादुर पयाङगो,लक्ष्मी  लिङदेन र म) र तीन चिनियाहरु ( तङमिङ, आकोङ, आचोङ) याउ मा तेइ स्थित कम्युनिटी सेन्टरमा भएको अस्थायी शिबिरमा कोरोना टेस्ट गर्न हाकियौं। हामी सबैको बस्ने ठाउँ काउलुन एरियामा नै भएकाले लङपिङबाट एमटिआरबाट (मास ट्रान्जिट रेलवे) अस्टिन स्टेसनमा  आयौं । त्यहाँ पुगेर बुझ्दा पैसा तिरेर सेम्पल दिनु पर्ने कोटा सकिएको रहेछ। चिनियाँ साथीहरूले  कम्पनीका सम्बन्धित ब्यक्तिलाइ त्यहाँको बस्तुस्थिति बारे जानकारी गराए। हामीले पैसा तिर्नु नपर्ने अर्को (याउ मा तेइ बास्केटबल ग्राउण्ड) शिबिरमा निकै लामो लाइनबद्ध हुँदै नाक र घाटीको सेम्पल दियौं। हामीले  पैसा तिरेर चेक गराउनु खोज्नुको मुख्य उदेश्य आजको भोलि नै कोभिड – १९ को नतिजा थाहा पाउनु थियो। हामीले  कोभिड – १९ को रोकथामका लागि भरपर्दो दुइटा खोप  ( बायोएनटेकको इन्जेक्सन) लगाइ सकेका हुनाले निकै ढुक्क पनि थियौं ।

लेखक

२१ मार्च २०२२ सम्म पनि पिसिआर (polymerse Chain Reaction) टेस्टको रिजल्ट आएन। कम्पनीले बजारमा पाइने रापिड टेस्ट किट किनेर आफै टेस्ट गर्नु  भन्यो। यदि पोजिटिभ  परिणाम आए काममा नआउनु भन्ने सूचना प्राप्त भयो। हामीले बेलुकीपख जोर्डनको जापानीज होममा कोभिड -१९ एन्टिजेन रापिड टेस्ट कीट गोटाको २२५ का दरले ५-५ वटा किन्यौ। मैले कोठामा पुगेर दिइएको इन्स्ट्रक्स्नलाइ पढें। नाकको सिङ्गानलाइ दिइएको तरल पदार्थमा घोली केही थोपा किटमा राख्नु पर्ने रहेछ । त्यो किटमा  C र T लेखिएको थियो।  यसको अर्थ  कोरोना भाइरस -१९ पोजिटिभ भए दुबैमा दुइवटा  धर्काको सङकेत दिने रहेछ। एउटा धर्का C मा मात्र देखिए कोभिड नेगेटिभ भएको थाहा हुने रहेछ। मैले आफ्नो सेम्पल किटमा लगाए र करिब १० मिनेट पर्खिए। त्यहा रातो दुई धर्का स्पस्टै देखियो।  मेरो शरीरमा कोरोना भाइरस छिरेको  प्रस्टै भयो। मैले कति जोगिने कोसिस गर्दा गर्दै पनि कोरोना भाइरस -१९ को मायाजालमा कतिबेला फसींएछ। मलाइ निकै दिक्क लाग्यो। मैले भाइहरुलाइ फोन गरि सोध्दा सबैको रिजल्ट पोजिटिभ नै आएको रहेछ।

हामीले  टेस्टिङ सेन्टरमा पुनः पैसा तिरेर सेम्पल दिई अझै कन्फर्म गर्ने सल्लाह गरियो। पैसा तिरेर पि सि आर टेस्टका लागि सिमित कोटा हुने भएकाले बिहान ६ बजे नै लाइन लाग्न कम्युनिटी हलको शिबिरमा गयौं। त्यहाँ निक्कै लामो लाइन लागि सकेको थियो। यसो कुरा बुझ्दा बिहानको ४ बजे देखि नै लाइनमा उनिहरु उभिएका रहेछन। बिहानको ८ बजे  शिबिर खुल्दा दोहोरो लाइन भइ सकेको थियो। हामीले  १०:३० बजेको कोटा पाएका थियौं। उनिहरुले दिएको समयलाइ पर्खिएर नाक र घाटिको रयालको सेम्पल दियौं।

मैले कोठामा पुगेर  कोभिड -१९ एन्टिजेन रयापिड टेस्ट कीटमा पुनःटेस्ट गर्दा पोजिटिभ नै  देखायो। भोलिपल्ट करिब १२ बजे अननोन कललाई रिसिभ गर्दा – तपाईंलाइ कोरोना पोजिटिभ भएकाले घरमा नै (होम आइसोलेसन) मास्क लगाएर बस्नु होला। अन्य जानकारी पछि दिइने छ। मेरो सेम्पल नम्बर र परिचय सहितको म्यासेज केहि छिनपछि आयो । त्यहाँ आफुलाइ कोरोना पोजिटभ भएको कुरा लेखिएको र अनलाइन फारम  पठाएको थियो।

थकाइ लाग्ने, टाउको र माङपेशी दुख्ने, हल्का शरीर तातिएको महसुस हुने, नाकबाट पानी बग्ने र नाक बन्द हुने, रिंगटा लाग्ने, एक्कसी  जाडो हुने राती पसिनाआउने,खोकी लाग्ने,आँखा दुख्ने कोरोना भाइरस ओमिक्रोनको लक्षणहरु हुन। मलाई यी लक्षण मध्ये सामान्य खोकी मात्र शुरु भएको थियो। अहिले हङकङ कोरोनाको उर्वराभुमि पनि बनेको छ।

ओल्डोमिटरको कोरोना भाइरस शाखाको रेकर्डमा नाम  दर्ता भइ सकेको थियो। म निकै निरास पनि भए।आफ्नो उकालो लाग्दै गरेको उमेरलाई गनेँ। आफ्नो मृत्यु कोरोनाबाट नै भए पनि त्यसलाइ स्विकार्ने भएँ। मेरो मृत्यु सहज र सामान्य नै होस भन्ने चाहना हो। सामाजिक सन्जालमा कोभिडबाट धर्तीमा बिलिन हुन लागेका मानिसहरुको मृत्यु संस्कारलाई सम्झिएँ। समाज र पारिवारिक संपर्क बिनाको मृत्यु संस्कारमा पो परिन्छ कि?  खोजखबर बिना नै कतै खरानी पो भइन्छ कि क्या हो? मेरो मनमा नकारात्मक सोच पनि आएको थियो।

यो जिन्दगी अजम्बरी त होइन । एकदिन धर्तीमा लिन हुनु नै छ भने के को चिन्ता?  मनलाइ कठोर बनाएँ। मलाइ पनि बिश्वब्यापी कोरोनाको त्रासले मनोबैज्ञानिक असर पारे कै थियो। म अब शुरु हुने कोरोना भाइरसको अन्य लक्षणहरुसंग जुध्ने तयारीमा लागेँ।

मैले प्रत्येक दिन कोठामा रापिड टेस्ट किटमा  सेम्पल टेस्ट गरि रहेँ। मैले कोठामा आलो बेसार,मरिच,अदुवा, लसुनलाई कुटेर सुप बनाइ जबर्जस्ती  पिइ रहेँ। मैले केही दिन बिहान बेलुकीको खाना जाउलो (खोले) मात्र खाएँ भने सुइचोको बाफ पनि लिए। मलाई खोकी बाहेक कोरोनभाइरस-१९ को अन्य केहि लक्षणहरु देखा परेन।
मलाई  कोरिनाको कहर बीच एउटा समस्या भयो। मेरो १ मार्च २०२२ का दिन बिहान ८:३० बजे हाइपरटेन्सन तथा डाइबिटिजको शारीरिक  चलखेल बारे रगत जाच (फास्टिङ) को एपोइमेन्ट थियो। ८ मार्च २०२२ का दिन  ब्लड  रिपोर्ट र  हाइपरटेन्सनको औषधि लिनु थियो। जुन औषधि त्यहि दिन नै सकिने स्थिति थियो । मलाइ निकै चिन्ता भयो। मैले हस्पिटलमा फोन गरेर आफ्नो समस्या अवगत गराएँ। मलाइ ब्लड टेस्टको (फास्टिङ) अर्को एपोइमेन्ट पछि दिने र औषधि लिन भने जानू पर्ने जानकारी पाएँ। खोकिको मात्रा दिनमा भने निकै बढिरहेको थियो तर रातमा भने कुनै असर गरेन।

३ मार्च २०२२ का दिन बिहान उठेर एन्टिजेन रापिड किटमा खकार र सिगानलाई दिएको झोल पदार्थमा घोलेर टेस्ट गरेँ । त्यो किटले नेगेटिभ परिणाम देखायो। आफैलाइ बिश्वास नलागेकाले पुनःअर्को किटमा टेस्ट गर्दा सोही परिणाम आयो। त्यो दिन कोरोना भाइरससंग   छुटकारा पाए कि भन्ने सोचेँ। भोलिपल्ट बिहान पनि एन्टिजेन रापिड किटमा टेस्ट गर्दा नेगेटिभ देखायो। आफ्नो शरिरले आतंककारी कोभिड -१९ लाई पचाएकोमा गदगद भएँ। कोभिडसंग डराउनु नै पर्छ तर हरेस खानु हुन्न रहेछ। अहिले प्रत्येक दिन बिहान कोभिड -१९ को एन्टिजेन रापिड टेस्ट गरि कर्म क्षेत्रमा दौडिरहेको छु। अब फेरि भेट नहोस । तथास्तु।


११ मार्च २०२२
२७ फाल्गुन २०७८

तपाईको प्रतिक्रिया