तीसको दशकको शक्तीशाली लेखक मध्ये कवि,कथाकार, निबन्धकार, नियात्राकार भुवन ढुङ्गाना नेपाली लेखक संघसँग लामो समयदेखि नजिक हुनुहन्छ । बिक्रम सम्बत २००३ साल जेठ २ गते गहेलीटोल, विराटनगरमा जन्मनु भएकी भुवन कोइराला मानव अधिकारकर्मी दमननाथ ढुङ्गानासँग विवाह भएपछि भुवन ढुङ्गानाका रुपमा स्थापित हुनु भएको हो । सुरुको दिनहरुमा भुवन कोइरालाको नामले साहित्यिक क्षेत्रमा प्रवेश गर्नु भएको हो । २०२६ सालमा मधुपर्क साहित्यिक मासिकमा कविता प्रकाशन भएपछि नेपाली साहित्यमा हस्तक्षेपकारी रुपमा साहित्यमा आउनु भएको हो । ‘जनमञ्च’ साप्ताहिक पत्रिकामा ‘हक-बेहक’ स्तम्भमा आफ्ना सोचहरु साहित्यिक भाषामा संवेदनशील ढङ्गले राख्न सफल भुवन ढुङ्गाना २०२६ सालदेखि हालसम्म पनि निरन्तर लेखिरहेकिछिन । नेपाली साहित्यमा गुञ्जनको आफ्नै गरिमा छ । उबेला भुवन ढुङ्गानाले १२ जना लेखिकाहरुसँग सहमति गरी नयाँ किसिमको साहित्यिक सक्रियता, जागरण ल्याउन र स्तरीयता विकास गर्न गुञ्जन समूहको स्थापना गरी पुर्याउनु भएको योगदान नेपाली साहित्यमा सधैँ प्रशंनसनिय छ प्रस्तुत छ उहासँग कवि विमला तुम्खेवाले गरेको लामो कुराकानी ।
हाल के लेख्दै हुनुहुन्छ ? अनि दिनहरु कसरी बितिरहेछ ?
कोरोना त्रासबाट राहत पाएका दिनहरु क्रमश व्यस्ततामा नै बितिरहेका छन । हाल वी पी आत्मवृतान्तमा लेख्न थालिएको धारावाहिक निबन्ध पूरा गर्ने तर्फ लागिरहिछु । यसका केही अध्यायहरु कान्तिपुर (२०५५ )मा प्रकाशित भईसकेका छन ।
जतीबेला साहित्य लेखनमा तपाई आउनुभयो त्यो समय र अहिलेको समयबीच महिला लेखकहरुको उपस्थिति के कस्तो छ ?
म साहित्य लेखनमा आउदा हातका औँलाहरुमा गनेर महिला लेखिकाका नाम , प्रवृति र संरचनाबारे भन्न सकिन्थ्यो । तुलानात्मक दृष्टिकोणले हेर्दा संख्यात्मक रुपमा महिला लेखनको सहभागिता बढेको देखिन्छ ,गुणात्मक प्रतिस्पर्धामा आउन अझ केही समय पर्खिनु पर्ने हो कि ? सहभागी नै ठुलो कुरा हो , समय र कृति लेखनले पनि मूल्यांकन गर्ने नै छ भन्ने बिस्वास राख्दछु ।
तीसको दशकमा उदाएका शक्तीशाली पहिला लेखकहरु मध्ये तपाईको नाम अग्रपंक्तिमा छ र त्यही समयमा लेखिएको नारीवादलाई प्रखररुपमा मुखरित गरेको देखिन्छ । तर एकथरी पाठकहरुको आरोप भने महिला लेखकहरु लेखनमा पनि रोनाधोनामा मात्र सिमित भयो भन्ने आरोप छ नि ?
तीसको दशकमा म र मेरो लेखन अग्रपंक्तिमा थियो भनेर मूल्यांकन गर्ने काम त समालोचकहरुको हो , म यसमा कुनै दावी गर्दिन । वरिष्ठ पत्रकार एवम लेखक किशोर नेपालले आफ्नो “ मेरो समय “ भन्ने पुस्तकमा मेरा बारे त्यस्तै अग्रपंक्तिका कुरा लेखेका छन । धेरै लेख्न नसकेता पनि लेखन जिजिविषा भने म भित्र तीसको दशकदेखि अहिलेसम्म उस्तै छ । समय प्रवाहमा कति कुरा बगेर बिर्सीएर जाँदा रहेछन । समयलाई समातेर लेख्न नसक्नु नै मेरो कमजोरी भयो । त्यसो त भारतका चन्द्रधर शर्मा गुलेरी भने एउटै कथा “उसने कहा था” लेखेर साहित्यमा स्थापित भए । म पनि संख्यात्मक होईन गुणात्मक लेखको खोजीमा छु । पयत्नरत छु । परिणाम भविष्यले नै बताउला आरोप केही हदसम्म ठिक होला तर त्यो नै समष्टिमा महिला लेखनको बिषयबस्तु होईन । पुरुष लेखनले पनि त महिलालाई रोना धोनामै चित्रण गरेका हुन्छन नी । महिला लेखनमा बढी यथार्थपरक हुनु रोना धोना मात्र नभएर अलग पहिचान होईन र ?
तर धेरै जसो महिला लेखकको लेखनमा समाज र तीनको तत्वहरु छुटिरहेको हुन्छ यसलाई कसरी बुझ्ने ?
त्यसो होईन । अहिलेको महिला लेखनमा सामाजिक तत्वहरु बारे , महिला हिंसा, शोषण , असुरक्षा , असमानता आदि इत्यादि कुराहरु आक्रमक शैलीमा लेखिएका हुन्छन । त्यो भन्दा भिन्न साहित्य र सामाजिक तत्वको समन्वय हुने गरि शालिन शैलीमा प्रस्तुतीकरण गर्न सकियो भने पाठकले साहित्यको मिठास र मर्म लेखनसँगै सामाजिक तत्व छुटेको होईन , बढी उजागर भएको महशुस गर्ने छन । यो मेरो धारणा हो ।
अहिलेको समयमा तपाईले भन्नै पर्दा साहित्यमा आएको बैचारिक परिवर्तन र दृष्टिकोण के कस्तो छ?
अहिलेको समाजमा साहित्यमा देखा परेको बैचारिक परिवर्तन र दृष्टिकोण अस्पष्ट छ । साहित्य लेखनले समाज न राजनीति केही पनि सुधार्न सकेको छैन । भारतमा हेर्नुहोस महाश्वेता देवि र अरुन्धती रायले समाज सुधार र साहित्यलाई सँगसँगै लगेका छन । मान्यता पनि पाएका छन । कोरोना संक्रमण कालपछिको समयमा लेखिने साहित्यले केही नयाँ नौलो गति र दिशा लिनेछ भन्ने आशामा छु ।
अलिकता फरक प्रसङ्ग सोधेँ दमननाथ ढुङ्गाना नेपाली राजनीतिको क्षेत्रमा एक चिनिएको नाम , साहित्यको पनि गम्भीर पाठक तपाईंको साहित्य लेखनमा उहाँको कस्तो प्रतिक्रिया आउँछ ?
पहिलो कुरा दमननाथ ढुङ्गाना साहित्यको गम्भीर पाठक मात्र होईन , स्वयम पनि बीसको दशकतिर चिनिएका कलमजिवी हुन । तीसको दशकतिर उनको “संचय” ( बासु शशीको सम्पादन ) पत्रिकाका लागि वीपीसंग लिएको अन्तवार्ता निकै चर्चित छ । मेरो लेखनको प्रारम्भिक चरणमा सुन्ने सुनाउने धेरै हुन्थ्यो । तर अहिले हाम्रो बिधा बेग्लाबेग्लै क्षेत्रमा छ । उनको कानुन र राजनिति, मेरो साहित्य पठन पाठन र लेखन । मेरो लेखन प्रति उनको कुनै नकारात्मक प्रतिक्रिया वा टिका टिप्पणी छैन , त्यसको अर्थ सकारात्मक छन भन्ने बुझ्दछु । लेखनको निम्ति म पुर्णरुपमा स्वतन्त्र छु ।
देशमा लोकतन्त्रको उदयसँगै लेखकीय धारहरु फराकिलो हुँदै आएको छ र साहित्यवृतमा लेखनमा आएको विभिन्न बिचारहरु स्पष्टरूपमा देखिएको छ । यसरी हेर्दा हाम्रो साहित्य अन्तर्राष्ट्रिय स्तरमा कहाँ छ ?
यो सत्य हो कि लोकतन्त्रको उदयसंगै विभिन्न भाषामा लेख्ने लेखक लेखिकाहरुमा पनि साहित्यिक चेत बढदै गएको छ । आफ्नै थातथलोका बारेमा उत्कृष्ट उपन्यासहरु लेखिएका छन । नयाँ नौलो प्रयोग भईरहेछन तर अन्तर्राष्ट्रिय स्तरमा पुग्न नसक्नुको मुख्य दुई कारण देखेकी छु । एउटा अंग्रेजी भाषामा लेख्न सकिन्दैन र स्तरियताको सकस , दोस्रो हाम्रो अनुवाद र अनुदित नेपाली साहित्य विश्व स्तरमा पुग्न नसक्नु । ( खासगरि भारत ,बंगलादेश, पाकिस्तान ) प्रतिस्पर्धामा आउन सक्दछ , भाषाको कठिनाइ मुख्य समस्या हो ।
नेपाली साहित्य लेखनले शताब्दीको यात्रा तय गरिसक्दा महिलाहरुको लेखनमा उपस्थिति अत्यन्तै न्यून छ । यसको मुख्य कारण के होला ? अंग्रेजी र भारतीय साहित्य र कानुनको पनि गहन पाठक तपाईं यसरी हेर्दा भारतीय , अंग्रेजी र नेपाली साहित्यमा आउने चरित्रहरुमा के भिन्नता छ । हाम्रो परिवेशमा चाहिँ लेखकहरुको के कस्ता अवस्था र चुनौतीहरु छन ?
महिला लेखनको उपस्थिति पहिले भन्दा धेरै नै बढेको जस्तो लाग्छ । अहिले प्रकाशन गर्ने, महिला लेखकले स्पेस पाउने कुरा सजीलै छ । मानवीय चरित्र र गुणहरु त सबैजसो मुलुकमा उस्तै उस्तै हुन्छन खासगरि दक्षिण एसीयली मुलुकहरुमा । तर एउटा लेखकको बिषयबस्तुको प्रस्तुति आफ्ना लेखनमा कसरी गर्दछ त्यो महत्त्वपूर्ण कुरा हो । हाम्रो परिवेशमा धेरै जसो लेखकहरु आंशिक छन । रोजीरोटीको निम्ति अन्यत्र बस्न बाध्य छन । बिद्वानहरु पनि पर्याप्त छैनन । यो अवस्था र चुनौतीहरुबीच पनि लेखकहरु लेखिनै रहेका छन त्यो नै सराहनीय छ ।
तपाई शास्त्रीय नृत्यमा पनि गहिरो रुचि राख्ने व्यक्ति उबेला ब्राह्मण परिवारको छोरी, नृत्यमा आउन सजिलो थियो त ? केही रमाइलो र महत्वपूर्ण संस्मरणहरु छन भने भनिदिनहोस न ?
यो २०१५ – १६ सालतिरको कुरा हो । वी पी पत्नी शुसीला भाउजुले बिराटनगरमा एउटा नृत्य प्रशिक्षण स्कुल खोल्नु भएको थियो । पहिले त घरमै ( कोईराला निवास ) थियो पछि अन्यत्र सर्यो । दस बाह्र जना विद्यार्थी थियौँ । नृत्य सिख्न गएको घटना सम्झीरहेछु । म पढाइमा राम्रै विद्यार्थी थिएँ । एकदिन स्कुलमा अंग्रेजी बिषय पढाउने शिक्षिकाले घरमा आएर नृत्य सिक्न गएर पढाइ बर्बाद हुने भयो भनेर परिवारसँग गुनासो गर्नुभयो । त्यो सुनेपछि म पनि रिसाएर नृत्य प्रशिक्षण कक्षामा गइन । शुसिला भाउजु घरमै आउनुभयो । मेरो कुरा सुनेर भन्नुभयो , तिमीलाई म अंग्रेजी पढाइदिन्छु तर भोलीदेखि नियमित कक्षामा आउनुपर्छ भनेपछि म फेरि जान थालें । त्यो मेरो जीवनको अविस्मरणीय घटना हो । त्यो मोडको परिणामस्वरूप पछि म कोलोम्बो प्लान अन्तर्गत शार्लि निकेतनमा नृत्य शिक्षाको उच्च अध्ययनका लागि गएकी थिएँ , जुन ठाउँमा मैले साहित्य संगीत नृत्य कलाको त्रिवेणी देखें रविन्द्रनाथ ठाकुरको बहुआयामिक व्यक्तित्वलाई चिने ।
नेपाली साहित्यमा विपि कोईरालाको उपस्थितिलाई कसरी बुझ्नुहुन्छ ? कोईराला परिवारसँग तपाईको निकै नजिकको सम्बन्ध छ भन्ने साहित्यवृतमा चर्चा हुन्छ रमाइलो संस्मरण भए बताईदिनु न ?
यो मुलुकमा प्रधानमन्त्रीहरु ,राजनीतिज्ञहरु त धेरै भए । तर वीपीको मात्रै सधैं कालजयी रुपमा नाम लिनुपर्ने ? कारण हो उहाँको साहित्यीक देन । महिलाको सम्बन्धमा, उहाँले जेलमा लेख्नु भएको पहिलो उपन्यास “तीन घुम्ती “ बहुचर्चीत छ । यो २०२६ सालतिरको कुरा हो । वीपी बनारसमा निर्वासित जीवन बिताईरहनु भएको थियो । संयोगले मलाई पनि बनारस जाने मौका मिल्यो । म र पुरुत्तोम बस्नेत साहित्यीक पत्रिका ‘ सिउडी ‘ सम्पादन गर्दथ्यौं । वीपीसँग पत्रिकामा छाप्नका लागि केही कविता छन कि भनेर माँगे । उहाँले खाटमाथि बसेर चार ओटा कविता सुनाउनु भयो । त्यो मागेर ल्याएको कविता पछि सिँउडीमा छापियो । त्यो घटना मेरा लागि चिरस्मरणीय छ ।
नयाँ पुस्ताको सर्जकहरुलाई के भन्न चाहनुहुन्छ ?
नयाँ पुस्ताका लेखक, लेखिकाहरुले पुरानाहरुलाई पनि पढनु पर्दछ । उनीहरुले समयमा कसरी लेखेका रहेछन । उनिहरुको लेखन तथा धारणा कस्तो रहेछ भनेर बुझ्न पनि पढनु पर्दछ । अहिलेको आधुनिक तकनिकीको संचार माध्यमबाट उत्कृष्ट नेपाली साहित्यलाई अन्तराष्ट्रीय जगतमा कसरी चिनाउन सकिन्छ , कस्तो लेखन हुनुपर्छ भन्ने अध्यायन गर्नुपर्छ हाम्रो साहित्य पनि कतै नवेल पुरस्कारको हकदार छ कि भनेर युवा पुस्ताले सोच्ने बेला आएको छ ।
अहिलेको पाठकले अबको दिनमा तपाईको कथा,उपन्यास कविता के पढन पाउने आशा गर्ने ?
म अहिले २०२६ साल देखि लेखिएको संकलित कविताहरुलाई संग्रहमा प्रकाशित गर्ने र निबन्ध संग्रहमा पनि काम गरिरहेछु आशा छ यी दुवै पुस्तक २०७८ सालमै प्रकाशित हुनेछन ।