कविता,कथा गीत तथा थुप्रै फुटकर रचनाहरूमा सक्रिय कवयित्री दिपा राई पुन समकालीन साहित्यको एउटा शसक्त नाम हो । आमा बिमला राई, बाबा श्री प्रसाद राईको कोखबाट बिसं २०२५ सालमा जन्मिएकी राईले नेपाली विषयमा एम ए गरेकी छिन भने हाल हालसम्म चार कविता संग्रह, केहि गीती एल्बम प्रकाशनमा आईसकेका छन । विशेषतः कविता र गीती विधामा बढी देखिने दिपा राई प्रकृति पुजक कवयित्री को रुपमा चिनिन्छीन । प्रकृति,माटो र प्रेम विषयमा विभिन्न दृष्टिले हेर्दै सरल शब्दमा भाषा नरम र सहज लाग्छ भने विषय वस्तु उठानमा गम्भीर्यता पाइन्छ । हाल बोस्टन अमेरिकामा सपरिवार बस्दै आउनु भएकी दिपा राई अनेसास बोस्टन च्याप्टर को अध्यक्ष पनि रहेकी छिन । प्रस्तुत छ आज हामीले उहाँको आउदै गरेको कृति ,डायस्परीक साहित्य लेखनमा के कस्ता बिषयबस्तुहरु तिख्खररुपमा आएका छन भन्ने बिषयमा केन्द्रीत रहेर गरिएको कुराकानी ।

दियोको अन्तिम लप्का र शरदका पहेला पातहरु कविताकृति बजारमा आएको छ तपाईंलाई शुभकामना छ। यस कृतिभित्र कस्तो कस्तो कविताहरु समेटिएको छ ?
शुभेच्छाको निमित्त धेरै धेरै धन्यवाद छ ।‌ यो समग्र संग्रह भएकाले‌ सबै खाले विषयवस्तुमा आधारित कविताहरु समेटिएका छन । खासगरी समसामयिक विकृति विसङ्गतिप्रति लक्षित रचनाहरु धेरै छन भने मानवीय संवेदना गुमनाम हुदै गएको अवस्थाप्रति चिन्तित कविताहरु पनि समेटिएका छन ।

लेखनमा कहिलेबाट आवद्व हुनुहुन्छ ? हालसम्म तपाईंको प्रकाशित कृतिहरुको बिषयमा भनिदिनुहोस न ?
चालीसको दशकदेखि लेख्न सुरु गरें , तर बीचमा शब्दखेती छोडेर फूलको खेती तिर लागें , माटोको मर्मसंग मिसिन पुगेर लेखन कतै अल्मलिएको अवस्थामा रहयो लामो समय । पछि प्रवासीने क्रममा अमेरिकाको बसाई हुन थालेपछि घरदेश र परदेश बीचको ग्यापले मेरो संवेदनाहरुमा उथलपुथल हुन पुग्यो । तर लेखन कुनै पनि लेखकको निम्ति आन्तरिक शक्ति रहेछ । मलाई यही लेखनले मानसिक र आत्मीकरुपमा बिथोलिनबाट बचाईरह्यो । अनि त्यसैलाई लिपिबद्ध गर्न थालें । हालसम्म मेरो प्रकाशित कृतिहरु तिम्रो सपनाको म २०६८, स्पन्दनका रागहरू २०७०, छुटेको बागदाता २०७२ र २०७४, प्रतिरूप गीति एल्बम रहेको छ ।
बिषेशगरी तीसको दशकपछि नेपाली साहित्यमा महिलाको उपस्थिति बैचारिकरुपमै शक्तिशाली रुपमा आएको देखिन्छ ? तपाईको दृष्टिमा नेपाली साहित्यको केन्द्रमा महिलाका बिषयबस्तुहरु कसरी उठान भैरहेछ्न ?
महिला पुरुष सम्बन्धमा जता पनि र सबै खाले विषय प्रसंगमा तुलना गरेर आएको पाइन्छ ।‌ लेख्नेहरु जुनसुकै कालखण्डमा पनि सक्रिय थिए । पूर्वीय एवं पाश्चात्य साहित्य र समाजको ईतिहास खोतल्ने हो भने‌ कतै न कतै महिलाहरु शक्तिशाली रुपमा प्रस्तुत भएको पाईन्छ नै ।‌ धेर थोरको कुरा मात्र होला । नेपाली साहित्यमा महिला सम्बन्धि विषयवस्तुहरू प्रशस्त उठान भएको पाईन्छ, तर त्यसलाई हेर्ने हाम्रो नजर र मुल्यांकन गर्ने विधि कमजोर भएको पाईन्छ ।

राम्रो साहित्य हुन वा राम्रो लेख्नको निम्ति कुनै पनि कृति अथवा सृजनाहरुमा के के तत्व हुन जरुरी हुन्छ ?
खोज अनुसन्धान र अध्ययन जरुरी छ ।‌विषय वस्तुको गहिरो अध्ययन विना गहन लेख्ने कुरा हम्मे‌ पर्दछ ।

तपाईं लामो समयदेखि अमेरिकामा बस्दै आउनु भएको छ पछिल्लो समयमा डायस्परीक साहित्य लेखनले नेपाली साहित्य लेखनलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन के कस्तो भुमिका खेलेको छ ?
यो इन्टरनेटको युगमा एकअर्कालाई चिनाउने चिन्न सहयोग गर्ने धेरै माध्यम छन । समय निरन्तर डिजिटलाइज्ड हुदै छ । सामाजिक सन्जाल र गुगल जस्ता ग्लोबल प्लेट फर्मले एक देशदेखि अर्को देशबीच आपसी चिनजान र अनुवादको सुविधा ले गर्दा यतिखेर नेपाली साहित्यले ठुलो फडको मार्दै छ । यो हामी सबैको गर्वको कुरा हो ।

मुलधारको साहित्य लेखनमा तपाई एक महिला भएको कारण महिलाका बिषयहरुलाई कतिको प्रभावकारी रुपमा उठाएझैं लाग्छ ?
लेखन यात्रामा देखिएका र भेटिएका विषय वस्तुहरुमा सबै खाले पात्रहरू समेटिएका हुन्छन तर पनि महिला लेखक भएकाले नाताले निश्चय पनि यसमा जोड हुनेगर्दछ । र म पनि अपवाद हुन सक्दिन ।

तपाईं गीत लेखनमा पनि उत्तिकै सकृय हुनुहुन्छ । नेपाली गीत संगीतमा आफ्नो मौलिकता कतिको जीवन्त छ ?
यो चिन्ताको विषय बनेको छ । समयको गतिलाई पछ्याउन दगुर्ने होडले हामिले हाम्रो अपनत्व गुमाउदै गएको कुरा कसैले हैन भन्ने अवस्था छैन । हाम्रो पहिचान गुमनाम हुदै छ भन्ने कुरामा हामी सुचित त छौं तर खास काम गर्न सकिएको छैन । केही विधाले मौलिक मनोविज्ञान बोकेका छन ।
तपाईं कसका निम्ति लेख्नुहुन्छ र लेखनले तपाईंलाई दिने सन्टुष्टि के हो ?
लेख्ने कुरा समाज र कला दुवैका निमित्त हो र यसबाट मैले वस्तु स्थितिलाई नजिकबाट नियाल्न पाउछु भने प्रहार पनि गर्न सकिन्छ निरन्तरको विकृति विसङ्गतिप्रति । अर्थात यो एउटा ऐना पनि हो जसलाई हेरेर आत्मसंतुष्टी हुन्छ ।
जीवन के रहेछ ?
जीवन कर्म र अनुभवको दस्तावेज हो ।

अन्तमा केही भन्न बाकी छ कि ?
सबैको मंगल कामना । लेख्न धेरै बाँकी छ ,हिडन पनि लामो बाटो बाँकी नै छ । निरन्तर हिड्नु जीवनको गति हो । मेरो नयाँ कृति पढेर प्रतिक्रिया दिनुहोला ।

तपाईको प्रतिक्रिया