कवि वियोगी बुढाथोकी हाल नेपाली लेखक सङ्घको केन्द्रीय अध्यक्ष रुपमा क्रियाशील हुनुहुन्छ । चार दशक भन्दा लामो समयदेखि नेपाली साहित्यमा सकृय उहाँ साहित्य लेखन , साहित्यीक अभियान र प्रकाशनमा पनि समानरुपले सकृय हुनुहुन्छ । प्रस्तुत छ साताको तीन कविता ।
जेनजी, समय र संबोधन
असोज महिनाको निष्पट गहिरो रात
प्रहरपछिको अर्को पहर
नव तारागणको सरसराहट, झल्याकझिलिक
अनुहारमा आक्रोशको आगो
असन्तोषको शिखर विस्फोटको हुंकार
सायद –
सत्ताको वागडोर ‘म्युजिकल चियर’ मार्गीको गठबन्धनको कमाइ
विसंगती, असमानता, स्वच्छाचारिताले जन्माएको
चरम निराशाको प्रतिफल
अस्वाभाविक निरन्तरको खेलतर्फ थियो ।
र दोष, कुशासनको राप
फरियावादका कारण युवाहरूको लर्को
विदेश पलायन हेर्दाहेर्दै हेर्न नसकेर थाकेका आँखा
दुःखेको मन, चिन्ताको खहरे
उर्लिएर उकुसमुकुस वाँध भत्काउन सक्रिए
चिच्याहटमा धर्तीले ओढेको आकाशबाट
अन्धकारलाई भगाउन जुधेको रैछ
कुदेको रैछ ।
उज्यालोसंगै
उर्लिए कलिला उमेरका उम्दा तर प्रविधिले जन्माएको गठजोडको महासागर
ब्युँझाउन खोज्यो सत्ताको मातलाई
ब्यँुझिएन
कायरले भटाभट भुट्यो, दोष पन्छायो ।
समयले सम्बोधन खोजेको पत्तै पाएन सत्ताले
दम्भको कुर्सीसंग
अनुनय–विनय गरेको चाल पाएर पनि चाल मारयो
सत्ताको मातले एकसुरले एकोहोरो बाँसुरी बजाइनै रह्यो ।
दम्भको मौकामा चौका हान्न खप्पिसहरू
भागे कैदखानाबाट, जलाए देशको मुटु
इतिहासकै कलंक चर्चित मुद्दाहरू स्वाहा पारे
आगो तापे, खुशियाली मनाए ।
देशले भने सहिनै रह्यो
प्रश्नपछि जिज्ञासाका छाल निरन्तर उर्लिंदो छ
संसद भवन, सिंहदरवार, अदालत, मालपोत, अख्तियार, प्रहरी चौकी
निजी सार्वजनिक सम्पत्ती
अनि व्यक्तिगत निवासको के दोष ?
दोषी त व्यक्ति हुनु पर्ने हो
भइदियो भौतिक संरचना
घरमा आगो झोसेर न्यानो तापे
खरानीको टीका थापे
देश भने एकोहोरो रोईनै रह्यो ।
धर्तीको पुकार सुनौं जेनजी
दुःखपीडालाई शोकमा होइन सक्तिमा बदलौं
जरैबाट, जगैबाट उठौंं
पुनः विद्रोह व्यहोर्न नपर्ने गरी संयम बन्न देशको आवाज बुझौंं
वेथिति रोकेर पुनः निर्माणमा लागौं ।
हरेक दशकमा एक विद्रोह देशले झेल्दै आयो
विश्वले खेप्दै आयो
यो समयको माग हो जेनजी
फिलिपिन्सबाट फैलिएको सदाचारको अभियान
पुनः अर्कोपल्ट
‘मेडागास्कार’ को सत्ताले देश छोडेको पुनः कहिँकतै सुन्न नपरोस् !
देशले स्वच्छ छवि र ऊर्जाशीलको आँट
र, इच्छाशक्तिको अनुहार र ब्यवहार खोजेको छ
के तिम्रो साहसिलो युवावय यात्राले सो बारेमा सोचेको छ ?
साँझको बत्ती निभे जस्तै अनुहार
साँझको बत्ती बलेजस्तै अनुहारमा आयौ
दुःखमा साथ निभाउन व्यवहारमा आयौ ।
आँधी, हुरी, बतास हो कि मनको त्रास मेरो
अन्धकार रातलाई छल्न बारम्बारमा आयौ ।
दिलको देउता देखाएर पूजा अर्चनामा
श्रद्धा सुमन चढाएर लगातारमा आयौ ।
घाइते मनको चाहनामा दुःख बाँड्न सखा
एक्लो भौँतारिँदै थिएँ म हरिद्वारमा आयौ ।
संयोग जुर्यो भेट भयो बसौँ चौतरीमा
चाह होईन वियोगीको हार गुहारमा आयौं ।
पर्खाई
काम, क्रोध, लोभ र मोह
जिन्दगीको प्राप्ति
उमेर अनुसार फरक, पृथक स्वाद
तीतोपिरो
त्यो जाँगरिलो उर्जाशील उमेर र समय कता गयो !
जिन्दगी सफल-असफल
जोख्ने तराजुको अभाव
उत्तरार्द्धको परनिर्भर अल्छी समय
यतै दुख्छ, उतै दुख्छ !
व्यवहार नामको खहरे खोलाको पानीसँग खेल्दा
हुत्याएर लैजान खोज्छ
मृत्युसंग नडराउने मान्छे
बाँकी उमेर बांच्नदेखि डराउँछ !
जिन्दगीको मधुरो बत्ती
झ्याप्प निभ्न
ए बलवान समय तैं भन्
कतिन्जेल कुर्नुपर्ला ?
कविता, मलाई सन्चै छ देशलाई कस्तो छ ?
टाउको फुट्ला झैं
निधारमा चट्टयाङ पर्ला झैं
टनटन गर्दो छ !
गाला रातो न रातो
मुस्ताङको पाकेको स्याउ भएको छ
मुख सुकेर प्याकप्यक्तीको अवस्था, नभनौं भो ?
आँखाले चश्माको खोल लगाएको धेरै भो
मिथ्या आरोप छ
दायाँ कानले सुन्छ, वायाले उडाउँछ भन्ने
भन्नेकै समस्या हुनुपर्छ
यथार्थमा वायां कानले सुन्न छोडेकै धेरै समय भो !
कहिले यता, कहिले उता चस्किन्छ
मन त्यसै त्यसै झस्किन्छ
पेटमा बर्षाको आकाशझैं गड्याङगुडुङ गर्दो छ !
गोडा बाउडिनु
पैताला भत्भती पोल्नु
बांझो खेत झै चरचरी चिरिनु
वंशानुगतनै होला
यदाकदा शरीरको सुगम र दूर्गम भेगमा
रातो दागले थाहा नपाएजस्तो गरी
चिलाउन थालेको भर्खरै होइन !
समय निदानको खोजिमा निस्किएको छ
भन्नुहोस् विज्ञ महोदय !
मलाइ मात्रै यस्तो हुन्छ कि !





