सबैभन्दा सुरक्षीत स्थान हामीलाई अक्सर आफ्नो घर लाग्ने गर्छ तर हङकङका गगनचुम्बी टावरमा अकस्मात् लागेको आगोले अनाहकमा सयौंले ज्यान गुमाएपछि भने यो संसार साच्चै असुरक्षित महसुस भएको प्रतीत हुन्छ । एउटा सानो मानवीय त्रुटीले यति भयानक विनाश ल्याउछ भनेर कसले चिताएको थियो होला र ! एउटा टावरको भुइतलामा झुन्डिएको हरियो सेफ्टी नेटमा खै कसरी हो आगो सल्किन्छ। आगो त्यहाँ काम गर्ने मजदुरले मिल्काएको चुरोटको ठुटाबाट लागेको शंका गर्नेहरु पनि थुप्रै छ्न। सानोतिनो आगोले छुदैमा जलिहाल्ने कमसल प्लास्टिकको जाली हुनु नै आखिर यस नरसंहारको कारक बन्यो । त्यसैले हङकङ प्रहरीले नोभेम्बर २६ तारीख बुधबार दिउँसो ताइ पोस्थित वाङ फुक कोर्ट परिसर भित्र रहेका आवासीय टावरहरूमा भएको विनाशकारी आगलागीपछि सर्वप्रथम मानव हत्याको आशंकामा निर्माण कम्पनीसंग संबंधित तीन जना पदाधिकारीलाई अनुसन्धानको लागि पक्राउ गरेको थियो ।
होम अनरसीप स्किम अन्तर्गत सरकारले बनाएको यस हाउजिङ कम्प्लेक्स वाङ फुक कोर्ट भित्र जम्मा आठ वटा ३१ तले बिल्डिङ टावरहरु छन् । जम्मा १,९८४ थान अपार्टमेन्ट रहेका यी सरकारी भवनमा करिब ४,६०० बासिन्दा बस्ने गर्दछ्न। सन १९८३ मा यी टावरको निर्माणकार्य सम्पन्न भएको हो। गत साल जुलाई देखि ३३ करोड हङकङ डलरको लागतमा बृहत मर्मतसम्भार कार्य शुरु भएको हो । प्रत्येक फ्लाट धनीको टाउकोमा फ्लाटको साइज हेरेर १ लाख ६० हजार देखि १ लाख ८० हजार सम्म परेको थियो । निकै खर्चिलो र संचालक समितिको अपारदर्शी कार्यशैलीका कारण कतिपय घर मालिक बिरोधमा उत्रिएका थिए । निर्माण सम्बन्धि विवाद आएपछि नयाँ संचालक समिति निर्वाचन बाट चयन गरिएको थियो । मर्मतसम्भार कार्य जारी भएको वर्ष दिन भन्दा बढी भैसकेको छ। स्काफोल्डिङ चाहिँ अर्को वर्षको मार्च देखि जून महिना भित्र चरणबद्ध रूपमा हटाउने योजना थियो । मुख्य ठेकेदार कम्पनी नाम प्रेस्टिज कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङ कम्पनी लिमिटेड हो। स्मरणीय छ कि बासिन्दाहरूले पहिले निर्माणको क्रममा कामदारहरूले धूम्रपान गरेको गुनासो गरेका थिए।
वाङ च्यङ हाउस अर्थात ब्लक एफ वरिपरि मर्मतसम्भारका लागी ठड्याइएको बाँसको स्काफोल्डिङ र त्यसमा लगाइएको हरियो सेफ्टी नेटमा शुरुमा आगो लागेको थियो र आगो लागेको रिपोर्ट गरिएको समय दिउसो २:५१ बजे हो। यी सबै टावरहरु रेनोभेसनरत अवस्थामा थिए । रेनोभेसनको लागि सबै टावरको सिर देखि पुच्छर सम्म बाँसको स्काफोल्ड ठड्याएर हरियो सेफ्टी नेट बेरिएको थियो । त्यसबेला चलेको बतासले बलेको आगोलाई बेस्सरी फुक्यो । र कन्स्ट्रक्सनको लागि यत्रतत्र राखिएको मालसामानले आगोलाई बढाउन इन्धनको काम गर्यो । त्यसपछि आगोको लप्काले छेउको अर्को टावरमा आगो झोस्यो । एवं रितले समयान्तरमा अरु ६ वटा टावरमा पनि आगो सल्कियो । 

अनगिन्ती फ्ल्याटहरूको भित्री भागसम्म अग्निसिखा धमाधम पस्न थालेका थिए । मिडियामा छाएका अनलाइन फुटेजहरुमा फ्ल्याटका झ्यालहरूबाट आगोको मुस्लो निस्किरहेका देखिन्थे । हेर्दाहेर्दै आकाशमा धुवाँको कालो बादल मडारिन थालेका थिए । जब आगोको मुस्लो अगाडि बढ्दै गयो तब बासिन्दाहरूले त्यस इलाकाबाट बारम्बार विस्फोटक आवाजहरू आएको रिपोर्ट गरेका थिए ।
आगलागीमा ज्यान गुमाउनेको संख्या नोभेम्बर २८ तारीख १२८ पुगेको थियो । आगो लाग्न शुरु भएपछि २७९ जना बेपत्ता भएका थिए र ४५ जना घाइते भएका थिए। नोभेम्बर २६ तारीख दिउँसो २.५० बजेतिर सुरु भएको आगलागीले उत्तरी न्यु टेरिटोरी भरि बाक्लो धुँवा फैल्याएको थियो, अग्नि नियन्त्रकहरूले आगोलाई नियन्त्रणमा लिए पछि मात्र धुँवा क्रमशः हटेको थियो र बिहीबार बिहानसम्म पनि आगो बलिरहेको थियो ।
एक फायर फाइटरको मृत्यु
आगो लागेकै दिन अर्थात नोभेम्बर २६ तारीख ड्युटीमा खटिएका नौ वर्ष सेवा गरेका ३७ वर्षीय हो वाइ हो नाम गरेका एक अग्नि नियन्त्रकको मृत्यु भयो। अग्नि सेवा विभागका निर्देशक एन्डी यङले साँझ ५ बजेतिर उनको उपचार भैरहेको प्रिन्स अफ वेल्स अस्पतालमा पुगेका थिए । साँझ ७ बजेतिर मिडियासंग बोल्दा उनले शा तीन फायर स्टेशनमा कार्यरत हो वाइ हो त्यस दिन भुइतलाबाट उद्धार कार्यमा संलग्न थिए। उनीसँगको सम्पर्क लगभग ३:३० बजे टुटेको थियो। उनी ४:०१ बजे वाङ च्यङ हाउसको लिफ्ट विपरीत स्थित खुला क्षेत्रमा अनुहार जलेको अवस्थामा फेला परेका थिए र उनलाई प्रिन्स अफ वेल्स अस्पताल लगिनु अघि प्यारामेडिक्सले उपचार गरेको थियो। उनलाई ४:४५ बजे अस्पतालमा मृत घोषित गरिएको थियो।

वरिष्ठ प्रहरी निरीक्षक एलीन चुङ लाई-यीले पत्रकार सम्मेलनमा ब्लकहरूको बाहिरी भागमा जडान गरिएका सामग्रीहरूले अग्नि -सुरक्षा मापदण्ड पूरा नगरेको र त्यसैमा आगो सल्किएपछी यसले आगोको फैलावटलाई तीव्र बनाएको शंका अनुसन्धानले जनाएको बताइन् । एउटा टावरमा त प्रत्येक तल्लाको लिफ्ट लबीका झ्यालको बाहिर पट्टी ज्वलनशील फोम बोर्डहरू जडान गरिएको थियो। “निर्माणप्रति जिम्मेवार व्यक्तिहरूको घोर लापरवाहीका कारण आगो द्रुत गतिमा फैलिएर यस्तो गम्भीर हताहतहरू भएको हाम्रो विश्वास छ,” उनले भनिन्। पक्राउ परेकाहरूमा दुई कम्पनी निर्देशक र परियोजनासँग संलग्न एक सल्लाहकार समावेश छन्।

आगोको लप्काले डढेपछी भाँचिएका बाँसका मचान र कुडा कर्कट खसेर फ्लाटबाट ज्यान बचाउन भाग्दै गरेका बासिन्दाको बाटो नै छेकेको थियो । त्यसपछि आफ्नै निवास भित्र थुनिएका बासिन्दाहरुले आपतकालीन लाइनमा फोन गरेर हार गुहार मागेका थिए ।
अत्यधिक गर्मी, खसिरहेका सामग्री र स्काफोल्डिङले निम्त्याएको खतराले फायर फाइटरहरुलाई भित्र पस्न गाह्रो भएको कुरा अग्नि सेवा विभागका उपनिर्देशक डेरेक आर्मस्ट्रङ चानले बताए । एक वरिष्ठ अग्नि अधिकारीले उल्लेख गरे अनुसार घटनास्थलमा उपचार गरिएका लगभग १०० जना घाइतेहरूमध्ये ४० जनाको मृत्यु घटनास्थलमा भएको थियो । र ४५ जनाको अवस्था गम्भीर थियो। 
घटनास्थलमा २,००० भन्दा बढी अग्नि र एम्बुलेन्स कर्मचारीहरू खटाइएका थिए। ३१ तले टावरहरूको माथिल्लो तल्लाहरुमा पुग्न भर्याङवाला ट्रकहरू संघर्ष गरिरहेका थिए यहाँ सम्म कि आकाशिदो आगोको लप्कालाई धुरी सम्म पुगेको पानीको फोहोराले भेटन सकेको थिएन । त्यसो त हङकङ अब्जर्भेटरीले मौसम सुख्खा भएका कारण आगो लाग्ने जोखिम बढेको चेतावनी सहितको सूचना जारी गत हप्तामा गर्दै आएको थियो ।
अधिकारीहरूले विस्थापितहरूका लागि नजिकैका सामुदायिक केन्द्र र एउटा विद्यालयमा अस्थायी आश्रयहरू खोलेका थिए ।
स्थानीय मिडियाले वृद्ध बासिन्दाहरूलाई भवनहरूबाट डोर्याएर तोकिएको सुरक्षित बिन्दुमा भेला गराइ रहेको देखाएको थियो । प्रहरीले पनि घर-घरमा गएर वासिन्दाहरुलाई सुरक्षीत स्थान तर्फ अवतरण गर्दै थिए ।
अधिकारीहरूले अनुसन्धान बाह्य पर्खाल प्रणाली र अस्थायी प्रकृतिका कामहरु प्रचलित ऐनकानुन बमोजिम भए नभए माथि केन्द्रित हुने बताएका थिए । जस अन्तर्गत सुरक्षात्मक जाली, स्काफोल्डिङ बन्दोबस्त आदि बारे छानबिन हुनेछ ।
सरकारले सुरक्षाको कारण देखाइ गत साल देखि नै बाँसको स्काफोल्डिङको प्रचलनलाई क्रमशः उन्मुलन गर्दै लैजाने प्रयासलाई अगाडि बढाएको थियो । विगतमा बाँसको स्काफोल्डिङमा आगो लाग्दा आगोको रफ्तार तेज भएपछि स्टीलको मचान तर्फ सरकारको ध्यानाकर्षण भएको थियो ।
प्रहरीले पक्राउ परेका तीन जना व्यक्तिहरु दुई जना कंस्ट्रक्शन कंपनीको डायरेक्टर र एक जना कंसल्टेंट रहेको कन्फर्म गरेको छ र तिनै जनालाई हिरासतमा राखिएको थियो । फोरेंसिक जांच र गवाहीको इंटरव्यू लिने कार्य पनि शुरु भैसकेको थियो । आगलागीको सही कारण यसबेला सम्म पत्ता लागेको थिएन ।
२७ तारीख बिहीबार दिउँसो ४ बजेसम्ममा अस्पताल प्राधिकरणले ८० जनालाई अस्पताल लगिएको रिपोर्ट गरेको थियो , जसमा १३ जनाको अवस्था गम्भीर, २८ जना गम्भीर, १८ जना स्थिर र १६ जना डिस्चार्ज भएका थिए । दिउँसो ३ बजेको अघिल्लो अपडेटमा ७८ जना अस्पताल भर्ना भएका थिए, जसमा १५ जना गम्भीर, २९ जना गम्भीर, १८ जना स्थिर र १२ जना डिस्चार्ज भएका थिए।
नोभेम्बर २७ तारीख घटनास्थलको निरिक्षण पछि हङकङका चिफ एक्जिक्युटिव जोन लीले आगलागीबाट प्रभावित वासिन्दालाई सहयोग प्रदान गर्न हङकङ डलर ३० करोड बराबरको कोष स्थापना गरिएको जानकारी दिए। जस अनुसार प्रत्येक प्रभावित घरपरिवारले आपतकालीन राहत कोषको रूपमा हङकङ डलर १०,००० प्राप्त गर्नेछन्।
हङकङ जकी क्लबले नोभेम्बर २७ तारीख यस घातक आगलागीबाट प्रभावित पीडितहरूलाई सहयोग गर्न हङकङ डलर १० करोडको आपतकालीन राहत कोष प्रदान गर्ने घोषणा गरेको छ।
जस अनुसार प्रत्येक मृतकको परिवारलाई हङकङ डलर १५०,००० प्रदान गरिने बताएइको छ।
गम्भीर घाइते भएका प्रत्येकले हङकङ डलर १००,००० र स्थिति सामान्य भैसकेकाले हङकङ डलर ५०,००० पाउनेछन्।
घरपरिवारको आकारको आधारमा स्थानान्तरण गरिएका परिवारहरूलाई कम्तिमा हङकङ डलर १०,००० प्रदान गरिनेछ।
साथै आफ्नो अस्थायी आवासलाई बस्न लायक बनाउनको आवश्यक डेकोरेसन गर्न प्रभावित घरपरिवारलाई हङकङ डलर २०,००० सम्म प्रदान गरिनेछ ।
यो कोषको वितरण सोसल वेल्फेयर डिपार्टमेन्ट र गैरसरकारी संस्था मार्फत वितरण गरिनेछ।
क्लबले जानकारी दिए अनुसार यो सहयोग राशी “पहिलो किस्ता” मात्र हो।
नोभेम्बर २८ को अप्डेट
सरकारले राहत रकम वृद्धि गर्यो
सरकारले नोभेम्बर २८ तारीख शुक्रबार आगलागीबाट प्रभावित परिवारहरूलाई दिइने आर्थिक सहयोग बढाउने घोषणा गर्यो । आगलागीबाट मृत्यु हुनेको संख्या कम्तिमा १२८ पुगेपछि यस्तो घोषणा गरिएको हो।
जस अनुसार आगलागीमा मारिएका प्रत्येक व्यक्तिको परिवारलाई शोक रकमका रूपमा हङकङ डलर २००,००० दिने घोषणा गरियो ।
प्रत्येक वाङ फुक कोर्ट परिवारलाई आपतकालीन नगद हङकङ डलर १०,००० देखि बाहेक हङकङ डलर ५०,००० जीविकोपार्जन भत्ता पनि प्रदान गरिने भयो।
गृह मामिला सचिव एलिस म्याकले बासिन्दाहरूलाई सहयोग गर्न सरकारले स्थापना गरेको ३०० मिलियन हङकङ डलर(तीस करोड )को कोषमा अरु ५०० मिलियन हङकङ डलर( पचास करोड ) चन्दा संकलनबाट वृद्धि भएको बताइन्।
.टावर ब्लक आगलागीमा कम्तिमा १२८ जनाको मृत्यु भएको थाहा भएको छ
.थप ७९ जना घाइते भएका छन् र १६ जनाको शव भवन भित्रै छ। दर्जनौं मानिसहरू अझै बेपत्ता छन्
.फायर सर्भिसले पत्ता लगाए अनुसार आठै वटा ब्लकहरूमा अग्नि अलार्मले प्रभावकारी रूपमा काम गरिरहेको थिएन
.यस घातक आगलागीको मुल कारण अझै स्थापित भएको छैन तर झ्याल बाहिर राखिएको स्टाइरोफोमका कारण आगो द्रुत गतिमा फैलिएको तथ्य सुरक्षा प्रमुखले बताए ।
नोभेम्बर २९
गृह तथा युवा मामिला मन्त्री एलिस माकले आगलागी पीडित रूपमा आफ्नो नाम दर्ता गर्नेको संख्या १,२०० पुगेको र जस मध्ये ३६० भन्दा बढी घरपरिवारले सरकार तर्फबाट हङकङ डलर १०,००० आपतकालीन भुक्तानी प्राप्त गरिसकेको बताइन् ।
माकसँगै बोल्दै श्रम तथा कल्याण मन्त्री क्रिस सनले धेरै डोमेस्टिक हेल्परहरू अझै पनि बेपत्ता रहेको बताए।
सरकारले स्थापना गरेको राहत कोषमा पब्लिक डोनेसनबाट उठेको रकम ८०० मिलियन हङकङ डलर पुग्यो । प्रशासनबाट प्राप्त ३०० मिलियन हङकङ र पब्लिक डोनेसनबाट उठेको रकम जोड्दा राहत कोषको कुल राशी १.१ अर्ब हङकङ डलर पुगेको छ।
गृह तथा युवा मामिला प्रमुख एलिस माकले नोभेम्बर २९ शनिबार दिउँसोसम्म ९२० भन्दा बढी घरपरिवारले आपतकालीन नगद १०,००० हङकङ डलर प्राप्त गरेको पुष्टि गरिन।
उनले आगलागीको समयमा वाङ फुक कोर्टमा रहेकाहरुले मात्र आर्थिक सहयोग पाउने बताइन् जसमा ५०,००० हङकङ डलर बराबरको लिभिङ एलाउन्स पनि पर्दछ ।
३० नोभेम्बर
सहायक अर्थ मन्त्री माइकल वङले ३० नोभेम्बर आइतबार वाङ फुक कोर्टमा भएको घातक आगलागीबाट घरबारविहीन भएका १,५०० भन्दा बढी मानिसहरूलाई नि:शुल्क पुनर्वास गरिएको बताए।
कमर्सियल रेडियोमा बोल्दै वङले लगभग १,००० जना संक्रमणकालीन आवास वा हाउजिङ सोसाइटी इस्टेटमा छन् भने बाँकी नागरिकहरु विभिन्न होटलहरूमा रहेकोे बताए ।
प्रहरीले बेपत्ता भएका वासिन्दाको खोजी कार्य जारी राख्ने क्रममा १८ वटा थप शव फेला पारे पछि आगलागीमा मृत्यु हुनेको संख्या १४६ पुगेको थियो ।
४० जनाभन्दा बढी व्यक्ति अझै बेपत्ता थिए । कुल ७९ जना घाइते भएका छन् भने ५४ जनाको शव पहिचान हुन बाँकी थियो ।
अधिकारीहरूले आइतबार वाङ किन हाउस, वाङ ताई हाउस र वाङ शिङ हाउस भित्र खोजी कार्य गरेका थिए। उनीहरूले प्रभावित सात ब्लकमध्ये चारमा खोजी कार्य पूरा गरेका थिए ।
उनीहरूले भर्खरै भेटिएका धेरै जसो शवहरू वाङ ताई हाउसबाट आएको बताए। यो ब्लकमा शुरु मै आगो लागेको कारण समयमै भाग्न नसक्नाले ज्यान गएको थियो।
डिसेम्बर १
राहत कोषमा पब्लिकबाट उठेको फन्ड ९० करोड पुग्यो । सरकारको तर्फबाट ३० करोड गरेर राहत कोषको कुल रकम १.२ अर्ब हङकङ डलर पुगेको छ।
आपतकालीन नगद अनुदान १० हजार प्राप्त गर्नको लागि १,९०० भन्दा बढी घरपरिवारले आफ्नो विवरण दर्ता गरे ।
आइतबार दिउँसो १ बजेसम्ममा १,४२० घरपरिवारलाई उक्त अनुदान हस्तान्तरण गरिएको थियो ।
प्रत्येक मृतक परिवारले एकताको प्रतीकको रूपमा थप २००,००० हङकङ डलर साथै अन्त्येष्टि र त्यससंग सम्बन्धित खर्चको लागि ५०,००० हङकङ डलर पाउनेछन्।
सोमबारदेखि आगलागीबाट क्षतिग्रस्त सात भवनहरू मध्ये अन्तिम दुई – वाङ सन हाउस र वाङ च्यङ हाउस – मा खोजी सुरु गरिएको थियो । यस क्रममा थप शवहरू फेला पारेका थिए जसमध्ये केही शव चिन्न नसकिने गरी जलेको अवस्थामा रहेका थिए । यो समेत गरेर आगलागीमा मृत्यु हुनेको संख्या १५१ पुगेको थियो ।
वाङ च्यङ हाउसको फ्ल्याट, करिडोर र भर्याङमा आठ शव फेला परेको न्यु टेरिटोरिज नर्थ रिजनल कमान्डर लाम मान हानले बताइन् जसमध्ये तीनवटा पहिले आपतकालीन कर्मचारीहरूले फेला पारेका थिए।
“वाङ च्यङ हाउस आगो लाग्ने पहिलो भवन थियो र आगो निभाउन धेरै समय लाग्यो। त्यहाँको अवस्था अत्यन्तै खराब थियो। विनाशको एउटा बिद्रुप दृश्य थियो त्यो । केही शवहरू अपूर्ण थिए वा जलेर खरानीमा परिणत भएका थिए” उनले भनिन्।
प्रमुख सुपरिटेन्डेन्ट साङ शुक-यिनका अनुसार ३० भन्दा बढी व्यक्तिहरू अझै बेपत्ता छन्।
केही शवहरू जलेर खरानीमा परिणत भएकाले बाकी बेपत्ता व्यक्तिहरु कति जना सम्म फेला पर्छ यसै भन्न नसकिने अवस्था थियो ।





