नरप्रसाद लुम्फुङवा लिम्बु

काठमाडौ । किरात याक्थुङ चुम्लुङको विषयगत समिति लिम्बुवान अध्ययन केन्द्रले जुन, ३ शुक्रबार विष्णुदत्त–सरस्वती आङबुहाङ प्राज्ञिक पुरस्कार २०७५ र २०७८ वितरण गरेको छ ।

ललितपुर चुम्लुङ हिममा सम्पन्न विष्णुदत्त-सरस्वती आङबुहाङ प्राज्ञिक पुरस्कार वितरण समारोहका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति माननीय  गंगाप्रसाद उप्रेतीले पुरस्कार विजेता वि.सं.२०७५ का लागि विजय लुम्फुङवा लिम्बु र २०७८ को लागि डा.मारोहाङ लिम्बु (याक्थुङ) लाई नगद र प्रमाण पत्र प्रदान गरेका थिए । 

लुम्फुङवाको सोध पुस्तक ‘लिम्बुवान आन्दोलन (विकास क्रमः विगत र वर्तमान)’ २०७५ सालका लागि र लिम्बुको अनुसन्धानमुलक अंग्रेजी भाषामा लिखित पुस्तक ‘डिलिङकीङ, रीलिङकीङ, एण्ड लिङकीङ राइटिङ एण्ड रेटोरिक्स’ २०७८ सालको लागि प्राज्ञिक पुरस्कारको  छनौटमा परेको हो।

कोभिडका कारण वितरण हुन नसकेको र प्रत्येक दुई वर्षमा वितरण हुने विष्णुदत्त–सरस्वती आङबुहाङ प्राज्ञिक पुरस्कार एकै पटक दुईजना स्रष्टालाई वितरण गर्नुपरेको आयोजक लिम्बुवान अध्ययन केन्द्रले जानकारी दिएको छ ।

प्रमुख अतिथिको आसनबाट नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले लिम्बु याक्थुङहरुको नेपाली समाज र संस्कृति निर्माणमा महत्वपूर्ण योगदान रहेको प्रष्ट पार्दै प्रज्ञा प्रतिष्ठान र लिम्बुवान अध्ययन केन्द्रले आगामी दिनमा हुने कुनै पनि  सोध कार्यमा साझेदारी गर्न सक्ने बताए ।

पुरस्कृत कृति
पुरस्कृत कृतिका लेखक विजय लुम्फुङवा

विशेष अतिथिको आसनबाट किरात याक्थुङ चुम्लुङका संघीय-केन्द्रीय अध्यक्ष प्रेम येक्तेनले, ‘किरात याक्थुङ चुम्लुङ ३० वर्षको समयावधीमा एउटा थेसिसको रुपमा विकास भईसकेको र डा.मारोहाङ लिम्बु याक्थुङको पुुस्तक ‘डिलिङकीङ, रीलिङकीङ, एण्ड लिङकीङ राइटिङ एण्ड रेटोरिक्स’ एण्टी थेसिसको रुपमा आएको र समाजले यसलाई कसरी सेन्थेसीस गर्छ हेर्न बाँकी रहेको’ बताए । उनले भने- ‘सत्य एउटै मात्रै हुँदैन । आफ्नो अनुसन्धान र खोजभन्दा अर्को पनि सत्य हुने’ भन्ने कुरालाई अनुसन्धानदाता लेखकहरुले स्विकार्नुपर्ने जिकीर गरे ।

पुरस्कृत व्यक्तित्व डा.मारोहाङ लिम्बु (याक्थुङ) ले आफ्नो पुस्तकबारे प्रकाश पार्दै, ‘सन २०१४ देखि मात्रै याक्थुङ क्षेत्र खोज अनुसन्धानमा लागेको र खोजको क्रममा हामीले हाम्रो अस्तित्व, पहिचान र मौलिकता यही याक्थुङ माटो र लाजेमा खोज्नुपर्ने र पाईने विश्वास’ प्रकट गरे ।

अर्का पुरस्कृत व्यक्तित्व विजय लुम्फुङवा लिम्बु हाल युके भएकाले उनको पिता हस्तवीर लुम्फुङवाले एक लाख नगदको चेक र प्रमाण पत्र ग्रहण गर्दै, ‘छोराको सफलतामा खुशी व्यक्त गर्दै सबैलाई धन्यवाद प्रकट’ गरे ।

पुरस्कृत कृति
सम्मान ग्रहण गर्दै डाक्टर मारोहाङ लिम्बु बायाँ , उपकुलपति गंगाप्रसाद उप्रेती दायाँ

प्राज्ञिक पुरस्कारको संस्थापक विष्णुदत्त आङबुहाङले समारोहलाई सम्बोधन गर्दै ‘राज्यबाट पाखा पारिएको समुदायको इतिहास, संस्कृति, परम्परा, साहित्य लगायतको क्षेत्रमा उल्लेखनीय सोधकार्यमा प्रोत्साहन गर्ने उदेश्यले हरेक दुई वर्षमा प्रदान यो पुरस्कार प्रदान  गर्ने लक्ष्य रहेको’ बताए । उनले आगामी वर्षहरुमा अहिलेको ३० लाखको कोषलाई ५० लाख पुरयाउने लक्ष्य रहेको पनि जानकारी दिए । स्मरण रहोस यो कोषको संस्थापकमा विष्णुदत्त आङबुहाङ र श्रीमती सरस्वती आङबुहाङ रहेका छन।

प्रमुख अतिथि , पुरस्कृत व्यक्तित्व, विशेष अतिथि र सहभागीलाई स्वागत गर्दै लिम्बुवान अध्ययन केन्द्रका उपाध्यक्ष एवम प्राज्ञिक पुरस्कार तथा अनुसन्धानवृत्ति छनौट समितिका संयोजक भगिराज इङनामले लिम्बु समुदायमा अनुसन्धानको क्षेत्र धेरै भएको र यस क्षेत्रमा लाग्न अनुसन्धानदाताहरुलाई अपिल गरे ।

पुरस्कार वितरण समारोहका सभापति लिम्बुवान अध्ययन केन्द्रका अध्यक्ष अर्जुन लिम्बुले अनुसन्धानदाताले प्राप्त गरेको ‘फाइन्डीङस’ समाजमा तुरुन्तै लागू हुनुपर्छ भनेर आग्रह गर्न नहुने बताए । उनले कतिपय निचोड (फाइनडीङस) उपयुक्त भए पनि लागू हुनु नसकेको दृष्टान्त प्रस्तुत गरे ।

कार्यक्रम लिम्बुवान अध्ययन केन्द्रका सचिव टंक माबुहाङले सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया