क्रान्ति सुब्बा

हङकङ कहिले क्वारेन्टाइन मुक्त शहर बन्ला भन्ने प्रश्नले बिशेषगरि हङकङ भित्र बाहिर गरिरहनु पर्ने मानिसलाई धेरै सताएको थियो र छ। हाडी गाउँको जात्रा प्रतीत संसार कै सबैभन्दा लामो २१ दिने क्वारेन्टाइन अवधि हङकङमा लागु थियो कुनै बेला । २१ दिन भित्र जस्तोसुकै कोरोना भाइरसले पनि गर्भधारण गरि जन्म लिइसक्ने भएकोले र त्यसपछि यदि कसैमा यो भाइरस भएमा पीसीआरमा देखि हाल्ने भएकोले २१ दिने समयसीमा तय गरिएको थियो । तर पछि भाइरसका नाति पुस्ताहरुले तीन दिनमै जन्मिएर फोक्सो भत्काउन थालेपछि हङकङले अन्ततोगत्वा क्वारेन्टाइन अवधिलाई घटाएर १४,७ हुदै ३ दिनमा खसालेको हो। अहिले क्वारेन्टाइन उन्मुलनको बहस चलेको छ । अहिले ३ दिन  होटेलमा क्वारेन्टाइन बस्नुपर्छ र चार दिन घरमा आइसोलेसन बस्नु पर्छ। यदि ३ दिनको होटेल क्वारेन्टाइन खारेज भएमा ७ दिन घर मै आइसोलेसन बस्नुपर्नेछ। तर यो संभब होला नोभेम्बरबाट लागू  गर्न ? यो विषयलाई अहिले अन्तर्राष्ट्रियले धेरै चासोका साथ  नियालिरहेको छ।

हङकङ एउटा अति व्यस्त अन्तर्राष्ट्रिय फ्लाइट हब जहाँको एयरपोर्टमा यो महामारी शुरु हुनु अघि सन २०१९ मा करिब ५ करोड ६० लाख यात्रुले पाइला टेकेका थिए । अत क्वारेन्टाइन हटाएपछि मानिसको ट्राफिक पुन बढ्ने निश्चित छ। उसबेला हङकङको लामो पट्यारलाग्दो अलोकपृय क्वारेन्टाइन अवधिको सर्वत्र आलोचना भएको थियो । होटेल क्वारेन्टाइनको शुल्क ज्यादै महंगो र होटेल बुकिङमा धेरै कठिनाइ पनि  यात्रुहरुले  सामना गर्नुपरेको थियो । बिजनेस ट्राभल त रेगिस्तान भएको थियो ।

हङकङको लोक मा चाउमा निर्माण गरिएको कोभिड १९ आइसोलेसन सेन्टर

स्थिति अनुकुल भएमा हङकङले आगामी नोभेम्बरमा होटेल क्वारेन्टाइनको अन्त्य गर्ने लक्ष्य राखेको छ । र हङकङको क्वारेन्टाइन उन्मुलनले अन्तर्राष्ट्रिय महत्त्व राख्छ भन्ने कुरा दोहोराइरहन परोइन। संक्रमण भन्दा एन्टि-एपिडेमिक फ्याटिग सहन गाह्रो भएर सिंगो हङकङ शहर नै साइकाट्रीक हस्पिटल बन्दो धरातलीय यथार्थलाई समयमै मनन गर्नुपर्ने अवस्था पनि जिउँदै छ।

क्वारेन्टाइन हटाउनु पर्ने दबाब चौतर्फीबाट आइरहेको बेला हङकङमा हुन गइरहेको विश्व स्तरीय बैंकरहरूको शिखर सम्मेलन (ग्लोबल बैंकिङ कनफरेन्स)  र अन्तर्राष्ट्रिय रग्बी प्रतियोगितालाई  क्वारेन्टाइन हटाउने उचित कारण र अवसर बनाउन आँटिएको बुझ्न सकिन्छ । हङकङमा कोभिडबाट  संक्रमित हुनेको संख्या चिन्ताजनक तरिकाले बढीरहेको अवस्था छ। र पनि स्वास्थ्य अधिकारीहरू माथि जनित अन्तर्राष्ट्रिय स्तरको कार्यक्रम हुनु अघि नै होटेल क्वारेन्टाइन हटाउने गृहकार्यमा जुटिरहेको कुरा स्रोतले जनाएको छ। त्यसो त क्वारेन्टाइन पद्धति जति लामो समय सम्म रहयो त्यति नै यसको प्रतिकुल असर जनजीवनको मनोविज्ञानमा पर्ने देखिन्छ ।

सेप्टेम्बर १ तारीख ब्लुमबर्ग मिडियामा गरिएको एक रिपोर्ट अनुसार हङकङका कार्यकारी प्रमुख जोन ली पनि नोभेम्बरमा आयोजना हुने यी ठुला कार्यक्रम हुनुपुर्व नै होटेल क्वारेन्टाइन खारेज गर्ने पक्षमा रहेका छ्न। हङकङ पुनः आफ्नो व्यापारिक ट्रयाकमा आएको संकेत विश्वलाई दिन उनले यो कदमलाई समर्थन गर्नु परेको बताइएको छ । तर केहि स्वास्थ्य अधिकारी तथा आफ्नै क्याबिनेट मन्त्रीहरु बिशेष गरि स्वास्थ्य मन्त्री लो चुंग-माउ केसहरू बढिरहेको अहिलेको परिस्थितिमा कोभिड नियन्त्रणका मापदण्डहरु कडा गर्नुपर्ने पक्षमा छ्न। दैनिक सरदर १० हजार केस हुनु भनेको धेरै नै हो। केसहरुलाई  बसमा ल्याउन सकियो भने मात्र  मुल भुमि चीन र अन्तर्राष्ट्रियसंगको  सीमालाई पुनः खोल्न सकिने तर्क अघि सारिएको छ।

ब्लुमबर्गमा छापिएको यस्तो रिपोर्टले कोभिडलाइ डिल गर्ने बारेमा सरकार बिभाजित भएको गलत सन्देश गएको छ जुन साचो होइन। यस मामिलामा सरकार एकजुट भएर लागेको प्रष्टिकरण मन्त्री लोले हेल्थ डिपार्टमेन्टको वेबसाईटमा सेप्टेम्बर ४ तारीख आइतबार दिएका थिए ।

त्यसो त कार्यकारी परिषद सदस्य को विङ मानले पनि अहिलेको कोभिड लहर पिकमा नपुगेकोले बिदेशबाट आउने यात्रु अथवा संक्रमित व्यक्तिलाई क्वारेन्टाइन मापदण्डबाट छुटकारा दिने हैसियत सरकारसंग तत्काल नभएको जानकारी रिपोर्टरलाइ बताए ।

हङकङका कार्यकारी प्रमुख जोन ली प्रेस ब्रीफिङम

सेप्टेम्बर ६ तारीखको अप्डेटमा जोन लिले वित्तीय हब हङकङ माथि परेको बोर्डर खुला गर्नुपर्ने दबाबलाई ध्यानमा राख्दै होटेल क्वारेन्टाइन हटाउने बारे आन्तरिक छलफल भैरहेको स्विकारेका छ्न।
“समग्र कोभिड निति माथि पुर्णतः व्यापक छलफल गरेपछि हामी उचित निर्णयहरु गर्नेछौं ।” लिले भने । “थोरै मुल्यमा धेरै प्रभाव हासिल गर्ने हाम्रो सिद्धान्त रहेको छ।” उनले थपे।

हङकङलाई  क्वारेन्टाइन फ्री गरिने परिप्रेक्षलाई हेर्दा चीनसंग भन्दा पहिला विश्वसंगको सिमाना पहिला खोलिएला जस्तो देखिन्छ ।

अहिलेको माहौलमा आएको उभार भनेको  हङकङले अन्तर्राष्ट्रिय सिमानामा लागु गरेको  क्वारेन्टाइन सिस्टम अविलम्ब हटाइ निर्बाध आवतजावत गर्न यात्रुहरुले पाउन भन्ने नै हो। तर दैनिक केस गणना, मृत्यु संख्या र जनधारणाका आधारमा कस्तो निर्णय लिने भन्ने कुरा निर्भर हुनेछ भनेर ब्लुमबर्गको रिपोर्टमा भनिएको छ।

एक विज्ञप्तिमा हङकङ  सरकारका प्रवक्ताले होटल क्वारेन्टाइनको सम्बन्धमा प्रशासनको “कुनै असहमति” नभएको उल्लेख छ। त्यहाँ भनिएको छ “सरकारले महामारीको विकास र वैज्ञानिक तथ्याङ्कले दिएको   विश्लेषण अनुसार  उपयुक्त महामारी विरोधी मापदण्ड  समायोजन गर्दै जानेछ ।”

हङकङको चेक लाप कोक विमानस्थल

यात्रुले भोग्नुपरेको असुविधालाई न्यूनीकरण गर्ने विषयमा साथै मुल भूमि चीन र अन्तर्राष्ट्रिय जगतसँग कसरी हुन्छ जोडिनुपर्छ भन्ने मामिलामा सरकार निकै सचेत छ,’ प्रवक्ताले भने, ‘एउटा मुल उदेश्य भनेको नागरिकहरू विशेषगरी वृद्धवृद्धा र बालबालिकाको जीवन रक्षा कसरी गर्ने भन्ने रहेकोे छ।

२०२२ सालको मार्च महिना उप्रान्त कोविड संक्रमण हुने क्रम  र नागरिकको मृत्यु हुने क्रम नरोकिएको अवस्था हुदाहुदै पनि हङकङले महामारी प्रतिबन्धहरूलाई निरन्तर रूपमा सहज बनाउदै ल्याएको छ। समयको यही घडीबाट मुल भुमि चीनले अपनाएको कडा महामारी सम्बन्धि नियमबाट हङकङ अलग्गिएको हो। चीनले त अहिले पनि केसहरूलाई शून्यमा झार्न  कडा किसिमको लकडाउन र लामो क्वारेन्टाइन अवधिलाई  प्रयोग गरिरहेछ। हङकङले होटेल क्वारेन्टाइनलाई २१ दिनबाट घटाएर तीन दिनमा पुर्‍याएको छ । हङकङ र  सिंगापुर एशियाका आर्थिक हब हुन र हङकङको  प्रतिद्वन्द्वी हो सिंगापुर । सिंगापुरले सम्पूर्ण महामारी प्रतिबन्धहरू हटाएर सबै चिजलाई नर्मल बनाइसकेको छ। हङकङले पनि यथाशीघ्र त्यसो नगरी धर छैन।

हङकङमा कोविड केसहरूको बृद्धि हुने क्रम रोकिएको होइन तथापि क्वारेन्टाइन अन्त्य गर्ने बारे छलफल पनि जारी नै छ। कोभिडको बिगबिगी यति सम्म छ कि एक शीर्ष सरकारी सल्लाहकारले त यही सेप्टेम्बर महिनाको अन्त्यमा प्रति दिन २०,००० सम्म केस पुग्न सक्ने बताएका छ्न। ओमिक्रोन सब भेरिएन्ट बिए.५ ले वर्तमान संक्रमणको बागडोरलाई समातेको छ।

प्रोफेसर डेभिडले पनि दैनिक केस वृद्धिले निरंतरता प्राप्त गर्ने कुरा गरेकाछ्न सेप्टेम्बर ३ तारीख शनिबार ।यो भाइरसको प्रजनन रेट १.३ प्रतिशत भन्दा माथि रहेकोे छ। यसको मतलब एउटा कोभिड रोगीले एकजना भन्दा बढीलाई इन्फेक्ट गर्न सक्छ ।

अक्टोबर १६ मा सुरु हुने कम्युनिष्ट पार्टीको महाधिवेशनपछि हङकङको क्वारेन्टाइन नितिलाई कार्यान्वयन गर्न थप राजनीतिक स्पेस मिल्ने विश्लेषण पनि गरिएको छ। राष्ट्रपति सी जिनपिङले तेस्रो कार्यकालको लागि पदभार ग्रहण गरिसकेपछि अवश्य नितिगत निर्णय गर्न सजिलो वातावरण सिर्जना हुन्छ । भाइरसका कारण व्यापक रूपमा मानिसको मृत्यु हुने कुरालाई रोक्न चीनले अवलम्बन गरेको कोविड नीति संसार कै सर्वश्रेष्ठ निति हो भन्ने कुरा सि जिङपिङले सावित गर्नुपर्ने पनि भएको छ। र संसारसंग चीनलाई जोड्ने सेतुको रूपमा रहेको हङकङलाई उनले सधैं भरी डोकोले छोपेर राखेको कुखुरा बनाउनु आत्मघाती हुने प्रष्ट छ।

इन्टरनेसनल बिजनेस कम्युनिटीले अर्थतन्त्र चौपट हुनु अगावै होटेल क्वारेन्टाइन हटाइनु पर्छ भनेर दोहोर्‍याएर भनिरहेको छ।  हङकङ मनिटरी अथोरिटीले आयोजना गर्ने  नोभेम्बर सम्मेलनमा मुख्य मुख्य वाल स्ट्रिट बैंकका प्रमुखहरूलाई निमन्त्रणा गरिएको छ।
हङकङको वाटरफ्रन्टमा रहेको फोर सिजन होटलमा हुने  सम्मेलनमा निमन्त्रणा गरिएका प्रमुख कार्यकारीहरूमध्ये गोल्डम्यान स्याक्स ग्रुप इन्कका डेभिड सोलोमन, सिटीग्रुप इन्कका जेन फ्रेजर र मोर्गन स्टेनलीका जेम्स गोर्मन रहेका छन्।
अफसोस यदि हङकङले क्वारेन्टाइन फ्री इन्ट्री नदिएमा कतिपय हेभिवेट वित्तीय गुरु सम्मेलन भाग नलिने घुर्की लगाइरहेका छ्न। उनिहरु सरकारले दिने
क्वारेन्टाइन छूटको विशेष सुबिधालाई उपयोग गर्न चाहदैनन् । गत वर्ष जेपी मोर्गन चेज एन्ड कम्पनीका प्रमुख कार्यकारी अधिकृत जेमी डिमोन र अभिनेत्री निकोल किडमेनलाई हङकङ सरकारले क्वारेन्टाइन छुट दिएको थियो जसले गर्दा सरकार र संबंधित सुबिधा लिनेले आलोचना खेप्नुपरेको थियो । त्यस्तो आलोचना  बैंकरहरू खप्न चाहदैनन् ।

चलचित्र सुटिङमा हङकङ आएकी अभिनेत्री निकोल किडमेन बजारमा । हङकङ सरकारले उनलाई क्वारेन्टाइन छुट दिएको थियो ।

अन्तर्राष्ट्रिय पर्वको रूपमा आगामी नोभेम्बर ४ देखि ६ सम्म  हुने  हङकङ रग्बी सेभेन्स प्रतियोगिता अर्को एउटा पक्ष हो जसले हङकङलाई क्वारेन्टाइन मुक्त बनाउन दबाब दिइरहेछ।

सडक देखि सरकार सम्म अहिले हङकङलाई  क्वारेन्टाइन मुक्त शहर बनाउने विषयमा रस्साकस्सी चलिरहेको छ। वैश्विक र स्थानिक अनुभव र परिवेश हेर्दा यथासम्भव हङकङ क्वारेन्टाइन मुक्त शहर बन्ने दिशा तर्फ उन्मुख भएको देखिन्छ । अन्तिम अंकुस रूपमा रहेको दैनिक केस लोड साइजमा नै रहयो भने हङकङ क्वारेन्टाइन मुक्त शहर नोभेम्बरमा बन्ने पक्कापक्की जस्तै छ।

तपाईको प्रतिक्रिया