नेपाली कविता लेखनको क्षेत्रमा पचासको दशकमा उदाएकी शक्तीशाली लेखक शकुन्तला जोशी आफ्ना समकालीनहरु माझ प्रीय र पाठकहरुमाझ लेखन शक्तीकै कारण परिचित व्यक्तीत्व हुन् । उनका कविताहरुले सामाजिक न्याय र असमानताको बिरोधमा चर्कोरुपमा प्रतिकार गरिरहेका हुन्छन् । प्रस्तुत छ साताको तीन कविता ।

चोक कुरिबसेकी आइमाई

यसअघिका दिन जस्तै
यो साँझ पनि कोही सोध्न आउने छैनन्
प्रेमीलाई पर्खिरहेकी तरुनी ठिटी जसरी
चोकलाई कुरिबसेकी म
किन चढिंन कुनै गन्तव्यतिर हुँइकिइरहेको साझा बस ?
कोही सोध्न आउने छैन ।

हतारमा छ सडक
हतारमा छन् मानिस
चिप्लेकिरा जति पनि हिड्दैनन् गाडीका टायरहरु
ऐठन जस्तो छटपटीमा सडकभरी थुकिरहन्छ भिड
प्यान्थरको बेवारिस प्याकेट फालिएको फोहोरको डुंगुरमा
खेलिरहेकी छ लाटी आइमाइकी छोरी
भोको पेटलाई आमाचकारी गाली गरिरहेछन्
डेन्ड्राइट्सको नशाले लठ्ठीएका सडक बालकहरु
घरिघरी मतिर हात थाप्छन्
रैथाने ज्यापु बस्तितिर आज कुनै भोज नभएको हुनुपर्छ
कसैले बाटोमा राखेन सिकी बोः दे बोः
म सिर्फ माफिका आँखाहरुले हेर्छु उनीहरुतिर
कोही हेर्दैनन् हामीलाई

हतारमा छ सडक
हतारमा छन् घर भएका मानिसहरु ।
मेरै छेऊ भएर बगिरहेछ मानिसका ताँती
तर कसैले सोध्ने छैनन्
– किन कोही लिन आएन मलाई रात खसिसक्दा पनि ?
– किन बुढो कुकुरसँगै बाटोमै अल्मलिइरहे छु म ?
– किन घर जाँदैनन् ती बालकहरु ?
कसैले सोध्ने छैनन्
हतारमा छ सडक
हतारमा छन् अग्ला पर्खालभित्र बस्ने मान्छेहरु ।

यही बाटो हुँदै सवारी हुन्छ प्रधानमन्त्रीको गाडी
यहींबाट दाँया मोडिएको हो
मेशिनगन ओभरलोडेड ट्यांकर
यतै फालेर गएका हुन्
संयुक्त राष्ट्र संघले शान्ति मिसनको पर्चा
राष्ट्रिय झण्डा फहराउँदै
प्रधानन्यायाधीश हिड्ने बाटो यही हो
यतैबाट निस्केको थियो राजतन्त्रविरोधी जुलुस
यही चोकमा हुन्छ गणतन्त्र विरुद्ध नारावाजी
शिरमा कालोपट्टी बाँधेका जवानहरुले
यहीं उभिएर मार्च पास गरेका हुन्
दिनभरी यही गस्ति गरेर फर्केका हुन् सुरक्षाकर्मीहरु

शंकाको गोलगप्पा आँखा बोकेका सज्जनहरु
हतार हतार नाघ्दै छन् चोक
हातमा नानी डोर्‍याएर आमाहरु
दौडिरहेछन् असुरक्षाको गन्ध सुँघ्दै
यी सब दृष्यहरुको चस्मदिद गवाह म
यही असुरक्षित चोकमा
कुकुरसँग गुडुल्किएर रुँघिरहेछु रातलाई ।

सखारै निद्रा बिथोल्छ मन्दिरको घण्टा
रोगी शहरलाई बोकेर साइरन बजाउँदै दगुर्छ एम्बुलेन्स
हतारिदै पिपलमा पानी चढाउँछन्
रातभर लोग्नेको कुटाइ खाएका महिलाहरु
काकाकुल शहरलाई पानी बेच्दै दौडिन्छ
शुद्ध पानी बोकेको ट्याङ्कर
बुट बजार्दै निस्कन्छन् परेडमा सिपाहीहरु
खर्पनभरी तरकारी बोकेर निस्कन्छ बुढो ज्यापू
हाइ काढिरहेका विद्यार्थी कोचेर
दौडिन्छ स्कूल बस
सरकारी अर्दली
असिनपसिन हुँदै नगरबस पर्खिरहेछन्
चलिरहेकै छ सफाइ मजदुरको हडताल
उही समय यू¬ट्यूब लाइभमा मस्त छन् नगरप्रमुख

जुगजुगानु चलिआएको थितीलाई मिचेर
कुन देशद्रोहीले झोस्यो संसद भवनमा आगो ?
हुरहुरी सल्किरहेछ लालमोहर लागेका विधेयकहरु
मयलले कट्कटिएको मेरो छालाभन्दा कालो धुँवा फाल्दै
यहीबाट घिस्रिन्छ जुद्ध बारुण
लखेटिदै लखेटिदै शहरका अनेक चोक र गल्लीबाट
सभ्य र भव्य मन्दिरका आँगनबाट
यो चोकमा आइपुगेको म र बुढो कुकुर
जीवनलाई विस्तारै निलिरहेका नशाग्रस्त बालकहरु
लाटी र त्यसकी छोरी
हो, हामी तपाईको लालमोहर ठोकिएको
संविधान उलंघन गरिरहेका छौं यतिबेला
यो आदिम नगरमा हामी आफ्नो हराएको अनुहार खोजिरहेका छौं
सरकार ?
के तपाईको संसद भवनभित्र थुनिएका छन् हाम्रो अनुहार ?

कोही जवाफ दिने छैनन्
आज पनि हतारोमा छ सडक
हतारोमा छ सदन
हतारमा छन् अग्ला पर्खालभित्र बस्ने मानिसहरु ।

बागी प्रेमीको बकपत्र

यो प्रेम बिक्ने शहरमा
यो मुर्दाहरुको बजारमा
जहाँ प्रेमीहरु मारिन्छन्
मलाई बागी उभिन मन छ
तिम्रो नाम लिएर
खुलेआम चिच्याउन मन छ

म त प्रेम गर्छु तिमीलाई
तिम्रो पसिनाले उभ्याएको यो सभ्यतालाई
तिम्रो रगत मिसिएको यो धर्तीलाई
तिम्रो सपना टाँगिएको यो आकाशलाई
हो म प्रेम गर्छु
तिम्रो श्रमले फलेको अनाज दाना
तिम्रो प्रतिबिम्ब लाहुरे फूल
तिम्रो चीत्कार मिसिएको छाँगाको आवाज
तिम्रो करङमा उभिएका पूलहरु
पूलमुनी बगि रहेका नदीहरुलाई

आदिम रोमको कुनै शासक होस्
घोडसवार जंगबहादुर

शासकको शालिकमा भेटिदैन प्रेमको सौन्दर्य
न भेटिन्छ तिनको बहि खातामा
स्तन काटिएका नवयौवनाहरुको वियोग
हजारौं अबोधका रजले नुहाउने
कामातुर शासक झैं
त्यही विरासतको लयमा देख्छु
नयाँ धरहराको मुनि उभिएर हेर्दा
मेरो देशको शासकको अनुहार

भर्खरै बाढीले लग्यो तिम्रो झुपडी
बाढीमै बगे परिवार
तिमी भने मैलो बाहुलाले पुछेर शोकको आँसु
थपिरहेछौ तल माथी तल
त्यो राष्ट्रिय इमारतको
कुँदिरहेछौ टुँडालमा
रतिरत शासकको कामकला
उभ्याइरहेछौ भिमसेन थापाको नयाँ धरहरा
खनिरहेछौ रानी पोखरीको नीलो दह
शीर उठाएर जब जब हेर्छु यो धरहरा
यसैले किचि मारेको न्हुछेमानको याद आउँछ
जब देख्छु ताज महलमा मानिसहरुको भिड
भेरीमा फालिएको नवराज विकको याद आउँछ
न्यायको चिसो बरफमा जमिबसेको अजित मिजारको याद आउँछ
जब टेक्छु रोमको पिरामिड
एक लाख प्रेमीहरुको रुवाइले बिथोलिन्छु
यसरी हजारौं वर्षदेखि तिम्रो चित्कारले अशान्त पृथ्वीमा

म कसरी गाउँ ॐ मणि पद्दमे हुँ ?

म खोजिरहेछु एक एक हिसाब
यी रहस्यमयी टुँडालहरुमा
किन खोपिएनन् तिम्रा नाम कतै ?
पुरातत्व विभागको उत्खननमा
किन भेटिएन तिम्रो अनुहार कतै ?

यति बेला म औधी प्रेम गर्छु
कहीं नलेखिएको तिम्रो नामलाई
ए अछुत मेरो प्रेमी
ए बेरंग मेरो प्रेमी
तिमीलाई प्रेम गर्नुको अर्थ
घृणा गर्छु तिनीहरुलाई
जसले मेटे तिम्रो नाम इतिहासबाट

कुल्चेर तिम्रो आदिम गाउँ
बसाए नयाँ प्लानिङ टाउन
उठाए बहुतले भवन
हाले होर्डिङ बोर्ड बहुराष्ट्रिय कर्पोरेसनको
उभ्याए टुँडालहरुको मन्दिर
टाँसे सूचना – ‘यो प्रेम निषेधित क्षेत्र हो ’

हो उनीहरुलाई घृणा गर्नुको अर्थ

निषेधित क्षेत्रमै उभिएर
चिच्या इ–चिच्याइ भन्न चाहन्छु
म तिमीलाई औधी प्रेम गर्छु ।।

अमेजन रेनफरेष्ट अर्थात आदि मानव

म हुँ यो धरतीको आदि मानव
न सिकाउ मलाई सभ्यताको पहेंलो पाठ !

मैले रोपेको हुँ
सृष्टिको पहिलो फूल
मैले खनेको हुँ मानिस हिड्ने
पहिलो गोहो
मैले चिनेको हुँ
अनाजको पहिलो दाना
मैले चाखेको हुँ विष र अमृत
मैले ठोसेको हुँ पहिलोपल्ट दल्छिन ढुंगा
र निस्केको हो आगो
म हुँ यो धरतीको आदि मानव
न सिकाउ मलाई सभ्यताको पहेंलो पाठ

मेरै पूर्खाबाट निस्केको तिमी सबभन्दा चतुर हाँगा
विकासका सिंढीहरुमा ढोंग रोप्दै हिड्यौ
थाहा छ,
आफ्नै गिदी किनबेच हुने तिम्रो सुपरमार्केट छ
तिमी बेच्न चाहन्छौ– आदिम गन्धले भरिएको मेरो नाङ्गो शरीर
एक आदिम अनुहार
र एउटा आदिम धून
जो मेरो छालाबाट बनाएको बाजाबाट निस्कने छ
यसकारण धाइरहन्छौ अचेल
कहिले उपहार लिएर
कहिले क्यामेरा त कहिले हतियार लिएर
यसरी तिमी जंगलको सभ्यतामा छिरयौ
म जंगलको राजा
तिमी आएपछि,
तिम्रो रबर उद्योगले दास बनायो मलाई
मेरो तलाउ र खोलाहरु चुसेर निकाल्यो विजुली
टेकेपछि तिमीले हाम्रो भूमि
रिसाए हाम्रो भूमिदेव
यो जंगल जस्तै शान्त हामी
एकाएक लडाकु बन्यौं

यो जंगल– मेरो देवता पनि शक्ति पनि
मेरो पूर्वज र जरा पनि
हाम्रो पवित्र पंक्षी ओरुबुरुको पंख खसेको यो भूमि
तिमी मेरो जंगललाई ब्राण्डिङ गरेर
संसारभरी मेरै सुगन्ध पो बेचिरहेछौ

ओ अमेजन !
ओ ब्राजिलियन भूमि !
ओ एयासी ताल !
ओ जुरुवा नदी !
ओ एन्भीरा !
हामी तिम्रो काखमा छौं
हामी तिम्रो रक्षार्थ छौं
तिमी देऊ हामीलाई तिम्रा जराहरु
आउने अनेक जुग
हामी तिम्रै हावामा बाँच्न चाहन्छौं

मैले पढेको छैन कुनै अल्जेब्राका सूत्रहरु
न त थाहा छ आइस्टाइनको विज्ञान
म बुझ्दिनँ तिम्रो भाषा
बुझ्दिनँ तिम्रो राजनीति
मेरो के कुरा भो,
तिम्रो सभ्यताको मानकमा टिक्न
आफ्ना करङ फलामे ताता भट्टीहरुमा पोलिरहेको मजदुरलाई सोध !
ऊ साँच्चै बाँचिरहेको छ
कि बाँच्नका लागि मरिरहेको हो
भर्खरै किताब खोसिएको अफगान नानीलाई सोध
ऊ साँच्चै हाँसिरहेको छ
कि तिम्रो बन्दुकको डरले रुँदारुँदै काँपिरहेको हो
कहिल्यै निर्जिव खेलौना नदेखेका
मेरा मोये, इयो, यायाहरु
बाघका डमरुसँग खेल्छन्
साथी बनाउँछन् बाम्बिनोका बच्चाहरु
उनीहरु हाँस्छन् जंगली फूलसँग
सिक्छन् काठका भाला तिर्खान
शिकार गर्छन् जंगली बँदेलको
उनीहरु जंगलसँग जीवन सिक्छन्
सिक्छन् आफ्ना बाबुहरुबाट
जंगलसँगै बाँच्ने तरिका
सिक्छन् आमाहरुबाट जंगलसँगै सुसेल्ने कला
यसरी हामीले जोगाउँदै आयौं अनन्तकालदेखि
यो अनादि जंगललाई,
यहाँका सिमसार,
यहीबाट निस्रित खोला नदीमा हाम्रो रगत मिसिएको छ
म हुँ यो धरतीको आदि मानव
न सिकाउ मलाई सभ्यताको पहेंलो पाठ

मेरै रगतको रंग चिनाउने
तिमी को हौ
सुन,
मैले कहिल्यै तिम्रो तरबार ताकिनँ
देख्दै नदेखेको दरबार ताकिनँ
किन तिमी पठाउँछौ मेरो जंगलतिर– मेशिनगन बोकेका मान्छेहरु
चोर शिकारी र तस्करहरु

म आदिमानव !
बुझ्छु यही जंगलको भाषा
हुँ त एक अचुक निशानावाज
तिम्रो बुर्ज खलिफाको टुप्पो ताकेर
मेरो तीर छुट्यो भने
तिम्रो ह्वाइट हाउसतिर मेरो निशाना चुक्यो भने
वा चुक्यो भने अमेजोनाको व्यस्त सुपरमार्केटतिर
के धान्न सक्छौ कार्बनडाइअक्साइडको ताकतदार हतियारले !

म हुँ यो पृथ्वीको आदि र अन्त
मैले स्वास फेर्छु र यो जंगलमा बतास चल्छ
सिंगो अमेजनले सास फेर्छ
र तिम्रो राज्यको फोक्सो चल्छ
अझ भनौं,
व्यापार गर्छौ तिमी अक्सिजनको
उद्योग चलाउँछौ तिमी पानीको
यही जंगलमा डोजर हानेर
खोतल्छौ पृथ्वीको गर्भ
निकाल्छौ कोहिनुर, कोइला
डुबुल्की मार्छौ यसरी कि
एक्लै रित्याएर सारा धर्तिको तेलको कुवा
बन्न चाहन्छौ साम्राज्य नायक

ए सभ्य दुनियाँ !
के यो सृष्टि तिम्रो पुस्ताकै लागि मात्रै हो
के यो पृथ्वी तिम्रै भोगविलासको लागि मात्रै हो
कि छन् भोली आउने कोही तिम्रो दलानमा पनि
के तिनले चाख्न नपाउन् पृथ्वीको आदिम कन्दमुलको स्वाद
के तिनले लिन नपाउन् यो जंगलको पवित्र हावाको उच्छ्वास
के तिनले टेक्न नपाउन् हिउँ ओढेको सगरमाथा
के तिनले हेर्न नपाउँन् ह्वेलको भिमकाय स्वरुप

हामी जंगलबासी
कसैसँग गुनासो थिएन
प्रश्न थिएन
एकाएका बिथोलेपछि हाम्रो जंगलको शान्ति
खलबलियो हाम्रो आदिम सभ्यता
रिसायो हाम्रो प्रकृति हाम्रो प्रेम
हामी नांगै जन्मिएका
काँडाहरुसँग नांगै जिस्किदै हुर्किएका
हाम्रो यौनांग प्रकृति हो हाम्रो लागि
आदिशक्ति हो सृष्टिको
तिमी जस्तो छोप्न सिकाएर
बजारमा खुलेआम नङ्ग्याउँदैनौ हाम्रा छोरीहरुलाई
तिमी जस्तो रयाम्प र कोठीहरुमा बेच्दैनौं हाम्रा स्त्रीहरुलाई
हामी सँगै बगाउँछौं पसिना सँगै गर्छौं भोजन
तिमी हजार व्यञ्जनको भोग लगाउँछौ
तिम्रै राज्यमा भोको पेटमा नाम्लो बाँधी
मर्नेहरु मरिरहन्छन्
ओहो ! कुन मुखले सिकाउछौ मलाई
‘कमसे कम लगौटी लगाऊ
हाम्रो मानव सभ्यताको लाज राख ! ’

म हुँ तिम्रो अस्तित्वको जरा
मसँग छ त यो ब्रम्हाण्डको सिंगो शक्ति
मैले चाहे पल्टाइदिन सक्छु पृथ्वीलाई उल्टो
बगाइदिन सक्छु यी नदीहरुलाई उल्टो
उखेलदिन सक्छु तिम्रो दरबारका जराहरु
जो मेरै छातिमा उभिएका छन्
ओ आधुनिक मान्छे !
तिमीभन्दा कति कति सभ्य छु म
म जे छु देखिएको छु
मेरो नांगापन मेरो आदिम सभ्यता हो

भो मलाई नपढाऊ !
म हुँ यो धरतीको आदि मानव
न सिकाउ मलाई सभ्यताको पहेंलो पाठ ।।

तपाईको प्रतिक्रिया