काठमाडौं — कोशी प्रदेशको नामविरुद्ध सञ्चालित ‘नो कोशी आन्दोलन’लाई कथावस्तुको आधार बनाएको नेपाली फिल्म ‘लडाइँ पहिचानको’ को टिजर सार्वजनिक गरिएको छ। फिल्म आगामी मंसिर ५ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ।

टिजरमा हालैका वर्षमा पहिचान, जातीय समानता र स्वायत्तताको मागसहित उठेका जनजातीय आन्दोलनहरूलाई प्रतिविम्बित गरिएको छ। सिलाम साक्मा अंकित झण्डासहित देखाइएको दृश्यले फिल्मले उठाउने मुद्दाको गहिराइ संकेत गर्छ।

फिल्ममा अभिनेत्री करिश्मा मानन्धर सञ्चारकर्मीको भूमिकामा देखिएकी छन् भने अभिनेता धिरेन शाक्यले प्रहरी प्रमुख र नेपाल आइडल विजेता प्रशान्त तामाङले पहिचानवादी नेताको भूमिका निर्वाह गरेका छन्। पूर्वी नेपालका विभिन्न स्थानमा छायांकन गरिएको यो फिल्म करिब १ करोड रुपैयाँको लागतमा तयार गरिएको हो।

भिम लामा फिल्म्स प्रालिको ब्यानरमा निर्माण गरिएको फिल्मका निर्माता भिम लामा, दिलु सुब्बा, रामजी बिष्ट र उमेश तामाङ हुन्। फिल्ममा धिरेन शाक्य, करिश्मा मानन्धर, प्रेम सुब्बा, राजेन्द्र खड्गी, दिनेश कोइराला, सुवास तामाङ, जेनी तामाङ, रामजी बिष्ट र दिलु सुब्बालगायत कलाकारहरूको अभिनय रहेको छ।

तपाईको प्रतिक्रिया