समकालीन कविता क्षेत्रका युवा हस्ताक्षर हुन् कवि युवीर चेम्जोङ । पछिल्लो समय नेपाली साहित्यमा चलेको फरक आयाम आन्दोलनका एक अभियन्ता हुन् उनी । स्थानीय स्वाद, अर्गानिक बिम्ब र पहिचान उनको कविताको आधार स्तम्भ हो । उनको कविताहरुले भुईमान्छेको बिषयबस्तुहरुलाई सजिव रुपमा चित्रण गरेको हुन्छ । प्रस्तुत छ साताको तीन कविता

हजुरलाई एउटा प्रश्न

मेरो कुराले हजुर पिरमा होला
म त भिरमा छु
माथि जाउँ चढ्न सक्दिन
तल झरुँ लढि मरुँला ?

जसरी रात रात बन्छ
अँध्यारोको घुम्टोले दिन….दिन बन्छ
उज्यालोको आकाशले
उसैगरि जीवन…..जीवन बन्छ
उत्सवहरुको ईन्द्रेणीले

कति युगौँदेखि पुरानो
एउटा संगीतको लत छ मलाई

च्याङ….धुम…..च्याङ
च्याङ….धुम…..च्याङ

जो बिना बन्दैन चाड…..चाड जस्तो
बन्दैन पर्व…..पर्व जस्तो
बन्दै बन्दैन उत्सव…..उत्सव जस्तो
उत्सव बिनाको जीवन
शुसेली बिनाको नदि जस्तै हो
चञ्चल नृत्य बिनाको झरना जस्तै हो
चराहरुको संगीत बिनाको जङगल जस्तै हो।
………
म एस्तो मरुभुमि बनुँ
जहाँ कुनै हरियो बन्ने सपना नहोस,
म एस्तो खडेरी बनुँ
जहाँ हरेक पालुवाहरु पात नहुँदै पहेँलो बनुन

सायद-
हजुरको चाहना एस्तै हुनुपर्छ
या त
हजुरको चेतनाको आयतनले
अरुणको साँगु तर्नै सक्दैन
या त
हजुरलाई बिचारको अर्को नदि बग्नै आउदैन

जरुर एस्तै केही त हुनुपर्छ
हैन भने किन छेक्थ्यो
एउटा सुन्दर गाउँलाई
कुहिरोले छेकेझैं
कानुनकै पहाडले एक आदिम संगीतलाई ?

एउटा जब्बर मुटु

युद्धमा बेपत्ता पारिएको नागरिक झैं
हराएर वर्षौं सम्म
भेटियौ द्विज भर्चुवल दुनियाँमा
हतारमा सोध्यौ
तिमीलाई कस्तो छ ?
तिमीलाई भेट्न चाहान्छु।
तिमीलाई हेर्न चाहान्छु।

लिएर दुनियाँका सप्पै सप्पै सौन्दर्यहरु
आएथ्यौ जिन्दगीको क्यानभासमा
जसरीआउँछ बेहुली ईन्द्रेणी
रङ्गहरुको जन्त लिएर
रिमझिम रिमझिम पानीमा,
हल्लियो मन बेस्सरी
जसरी तिर्थयात्रीले चढाउँदा फुल
हल्लिन्छ तलाउ तरङ्गमा
बेहिसाव अङकुराउन थाले
अम्लारिका तरेलीहरु
कलेजीको बगैंचाभरि
जसरी रात आएपछि
जुरमुराउन थाल्छन
ताराहरु आकासमा

थाहै भएन कति चाँडै
दुई शरीर एक आत्मा बनेछ
जसरी हिँड्दा हिँड्दैको दोबाटो
मिलेर बन्छ एउटा मुल सडक

तेतिबेला भन्ने गर्थ्यौ-
मैले चड्ने दुःखको पहाडमा उभिदिने
शितल एउटा चौतारी तिमि।
विरक्तिएको मनलाई अल्हादित बनाउने
टुङगुनाबाट खसेको एउटा मिठो धुन तिमी

तिम्रो दुःख मामुली एउटा पहाड थियो
मेरो दुःख सगरमाथाको अग्लो चुचुरो
जसलाई झेल्ने तिम्रो सामर्थ्य नै कहाँ थियो र ?
त्यसैले होला-
हिड्दा हिड्दैको प्रेमको मुल सडक
छुट्टिएथ्यो जिन्दगीको गोरेटोहरुमा

वाचा कसमहरु उडिगए बताससँगै
जसरी हाँगाबाट छुटेपछि पात
उडिजान्छ कता कता
छायाँले नि छोड्छ अँध्यारोमा साथ
हिड्यौ होला उज्यालो छ जता जता

मलाई भेट्नुभन्दा पहिले
मेरो हृदय बोकेको त्यो चिठ्ठीलाई भेट
जो पुगेको थियो थिएन तिम्रो ठेगानामा
कहिंकतै छन ईश्वर भने
सुरक्षित होला यै दुनियाँमा
मलाई भेट्नुभन्दा पहिले
हामी बस्ने त्यो चौतारीलाई भेट
जो तिमी गएपछिको मेरो मनझैं भत्किएको छ क्षतविक्षत
मलाई हेर्नुभन्दा पहिले
उदास त्यो एक्लो देउरालीलाई हेर
जो वर्षौं देखि पर्खिरहेछ कसैलाई

अनि भेट्नु मलाई
अनि हेर्नु मलाई
उस्तै छन तिमीलाई हेरेर
प्रेमको समुद्रमा डुबिरहने आँखाहरु
उस्तै छ
तिम्रो निम्ति धड्किएर कहिल्यै नथाक्ने एउटा जब्बर मुटु।

मुस्कान

सम्झनामा आउँछ अझै
सन्नाटाले छोपेको त्यो साँझ र मुस्कान
ब्यथित एक लम्बा यात्रा
ताप्छ शितलता उकालीमा
जवान एक्ले बरको
देखिन्छ आफ्नै प्रतिबिम्व
जस्तोकी छैन साथ आफ्नै सफरमा
उसैगरि छैन साथ बरलाई पनि पिपलुको ।

निक्कै माथि उभिएकी रहेछ
मुस्कुराउदै एक्ली तरुनी पिपल
आफु जस्तै एक्ली युवतीलाई दिएर साथ शितलताको ।
लाग्यो-
मजाक गर्दैछ ईश्वर
बनाएर पात्र हामीलाई
सोच्न थाल्छ मनले मिल्ने भए ल्याउँथे
तानेर बरको छेवैमा पिपललाई

तर…
तेसै तेसै तानिएछु आफु
गुरुत्व बलको नौलो नियममा
खसेछु माथि पिपलको छेवैमा
नबोलेरै संवाद गर्छन
युवतीका र मेरा नयनहरु
गुञ्जिन थाल्छ
स्पन्दनभित्रको मीठो मीठो संगीत
गरेर स्पर्श हृदयलाई
मुस्कुराउन थाल्छिन युवती मन्द मन्द
एस्तो लाग्छ।।
लाग्दैछ जुन एतै कतै टह।।टह।।

नबोलेरै भन्न मन लायो

कोहि मुस्कुराए मनले सस्तो बनायो
कोहि मुस्कुराए रिसाउँ जस्तो बनायो
मुस्कुराउनेहरु त धेरैनै आए जीवनमा
तर तिम्रै मुस्कानले कस्तो कस्तो बनायो।

तपाईको प्रतिक्रिया