सोनाम सज्जन किराँती नेपाली कविता लेखनको क्षेत्रमा चुपचाप लेख्न रुचाउने एक ससक्त कवि हुन् । उनका कविताहरुले समाजमा रहेको बेथितिको बिरोध गर्छ । समाजमा रहेको अन्याय अत्याचार र बेथितिको बिरोधमा जबरजस्तरुपमा आफ्नो बिमती राख्छ । उहाँका कविताहरुले आम मान्छेको आवाजलाई कवितामार्फत स्पष्टरुपमा राखेको छ । प्रस्तुत छ साताको तिन कविता

म घोत्लीरहेछु

न डस न हो कोब्राहरु
भालु स्यालका नङ्ग्रा देखाएर नकोतर न
जतिसुकै चिथोर्न खोजे पनि
अब तिमीलाई हाम्रो समाजले
छेपारा मलस्याप्रा
घोषित गरिसकेको छ
आदि ईत्यादीले अब हामीलाई छुने होईन
धोकेवाजको चतुर्‍याइँले हामीलाई छेक्ने छैन

भिडबाट बुलन्द आवाज होईन
भयङ्कर आगोका लप्काहरु निस्किरहेछ
र विराटनगरको बिराट
बिरामी सरकारको
कार्यलयतिर सोझीरहेछ
यो गर्मी मौसममा सल्कदै
कतिखेर जोगबनी कलकत्ता कट्छ
थाहा छ कि छैन

जसको निर्देशनमा यो भईरहेछ
हामी सल्कदै फेद सम्मै पुग्न चाहान्छौ
र जलाएर खरानी बनाउने छौ

र यो खडेरीको मौकामा जसरी
पहिचानवाला आगो डुलिरहेछ
हावाहरुले साथ दिईरहेछ
घामको तापले सुकौरो बनाउन साथ निभाईरहेछ
त्यो ज्वाला सप्तकोशीको पानीले निभाउने छैन
रातारात बनेको भनिएका एक अञ्जुली
समुन्द्रहरुले भ्याउने छैन
र अनन्त सभ्यताको प्रगतिमा रोकावट
कुनै पनि हालतमा आउने छैन

आगो जुन आशनबाट निस्किन्छ
उ संग खेलाची नठान
अपत्यारिलो हुन्छ तर
पत्थरहरु भित्र भित्र सम्म बाँचीरहेको हुन्छ

आगो ढुङ्गाको नशा हो
फोक्सो कलेजो मुटु हो
नशा नशा भएर उसको रक्त संचार हुन्छ
आम मस्तिष्क आगोबाटै बन्छ
र जस्तैः ठण्डाहरुले मार्न सक्दैन

मानिसको चेतना त्यस्तै हो
त्यो ढुंगा पन्छाए जस्तो हुदैन
ढुङ्गा भित्रको आगो
पटक्क निभ्दैन
यसर्थ भिडबाट आवाज हैन
आगो निस्किरहेछ
बीभत्स बिभाजन गर्न खोजिएको सभ्यता बोकेर
पहिचानको हत्केलाले
त्यही ढुङ्गाहरु रगटीरहेछ

ओ शाषक तिम्रो त्यो अध्यारो कुत्सित
मनसायको शिकार
हाम्रा आवाजहरुलाई बनाउन नखोज
यस्तो अबस्था बारे अझ गम्भीर भएर
सोच्न बाध्य नपारियोस ।

हिमाल

फराकिलो छाती
उक्काएर देख्छु आगन
हुर्किए त्यहीँ खेलेर
तर पनि भगवान
अरु नै मानिन्छ
आमालाई चिनिदैन
यही बिडम्बनाले मलाई घोचीरहेछ

अहिले मानिस
यन्त्रले रम्छन
जो जहाँ भए पनि भेटिन्छन्

तर पहाडकि रानी पहाड
आमा ! सेतो बर्की ओडेर बसेकीछन
कुनै मतलब छैन कसैलाई
आज खुईलिईएको देखे हिमाल
र आमाको अस्तित्व

यस्तो बोध भएको छ साह्रै दुखि छु
जब कि दिल दुखेको बेला
कसैलाई भन्न सकिन्न
हो आमाको त्यो ब्यथा मेट्नु छ
हिउँको खेती रोपेर ……..

सास्ती

मुड्कीको मुर्छा खाएर
थापिदिए पिठ्युँ
र सहीदिए बजारिएको बुट
सैनिक परेड
त्यसै यो छात्तीले सहेन
आमा तिम्रो सपना बोकेर
म हल्लिदै हल्लिदै
एकदिन
सगरमाथा र उसको उचाई
कोक्रोबाट काखमा रम्ने छ
र कैयौं माईलको यात्रा जारी रहनेछ

मेरो रगतमा रगतसितै
बगेको छ मिसिएर
मित्रताको महासागर

र चुलिदै छ
आमा प्रतिको बलियो काँचो आस्था
जब बितेर जानुभयो बुवा
देश जनताको युद्ध भुमिमा
त्यो रगतमा बगेको हो
संसार बदल्ने जाँगर

र फैलिएको हो
त्यही दिनबाट
मुक्तिको मुद्दा
मस्यौदा बनेर
अँटेको हो उज्यालो
समाजको निर्माण खातिर

भन्न सकेको छैन
उ कसरी असम्भव भएर
रम्न सक्छ
प्रश्न गर्ने चेस्टामा बेरिएर

घुरमैलो दौराको फेरो समातेर
म निरन्तर संगै रहन सकिन
हिड्न पाईन
तर मेरो देश त्यही बाटोमा हिडिरहेछ
मेरो शहीद पिता र राष्ट्रको सम्बन्ध
यसरी बाँचीरहेछ

हो आप्पा
तिमी बिना पनि तिम्रो अभाव
महशुस गरेको छैन मातृत्व पिएर ।

तपाईको प्रतिक्रिया