काठमाडौं। ‘लाहुरेको रेलिमाई फेसनै राम्रो, रातो रुमाल रेलिमाई खुकुरी भिरेको..’ भन्ने किंवदन्ती प्रतित कालजयी गीतका गायक बहुमुखी प्रतिभाका धनी, १/१ गोर्खा राइफलका सैनिक मास्टर मित्रसेन थापा मगर (१८९५ डिसेम्बर २९ – १९४६ अप्रील ६) को जीवनीमा आधारित उपन्यास “लाहुरेको रेलीमाई ” सार्वजनिक भएको छ ।

साङ्ग्रीला प्रकाशनगृहद्वारा बैशाख २३ गते शनिवार राजधानीमा आयोजित कार्यक्रममा सञ्चारिका समुहकी अध्यक्ष विमला तुम्खेवा, लेखक तथा समिक्षक प्रकाश सायमी, वरिष्ठ सर्जक प्रा. डा. गोविन्दराज भट्टराईले संयुक्त रूपमा यो पुस्तक लोकार्पण गरेका थिए ।

साङ्ग्रीला प्रकाशनगृहबाट प्रकाशित ‘लाहुरेको रेलिमाई उपन्यास लेख्न करिब ६ वर्ष मास्टर मित्रसेनको जीवनीबारे अध्ययन गरेको अनुभव उपन्यासकार हितानले बताए ।

विमोचन समारोहमा बोल्‍दै सञ्चारिका समुहकी अध्यक्ष विमला तुम्खेवाले सर्जक हितानद्वारा लिखित यस कृति पढ्दा गोरखा लाहुरेकोे हरेक परिवारले आफ्नै कथा लेखेको अनुभव गर्ने  बताइन्।

अध्यक्ष तुम्खेवाले यस्ता कृतिहरूमा घरमुली लाहुरे हुँदा वा घरवाहिर कमाउन बस्दा महिलाले निर्वाह गरेको संघर्षको यथार्थलाई पनि विशेष स्थान दिएर बयान गर्न कन्जुसी गर्न नुहुने बताएकी थिइन।

प्रा डा गोविन्दराज भट्टराईले यस पुस्तकमा गोरखा लाहुरेले प्रयोग गर्ने करिब एक हजार वटा शब्द प्रयोग भएका छन। सामान्य पाठकका लागि ती शब्दको अर्थ सहित आगामी संस्करणमा पुस्तकको पछाडिपट्टि छाप्नुपर्ने सुझाव दिएका थिए। हितानले आफ्नो सैनिक जीवन सँगसँगै बहुमुखी प्रतिभाका धनी पात्र मित्रसेनको डायरी उनका गीत सङ्गीत, नाटकलगायतका साहित्यिक गतिविधीको गहन अध्ययन गरेर त्यसलाई आख्यानका रूपमा यसरी बजारमा ल्याएको कृति निक्कै राम्रो बनेको भट्टराईले बताए ।


लेखक प्रकाश सायमीले जसरी गायिका नुर जहाँलाई भारत र पाकिस्तानमा गीत सङ्गीतको क्षेत्रमा विशेष सत्कार गरिन्छ, मास्टर मित्रसेन पनि नेपाल र भारत दुबै देशले उत्तिकै सम्मान पाउने पात्र हुन । नेपालका विभिन्न भूभागको वर्णन उनको गीतहरुमा पाइन्छ जसले नेपालका भूभागलाई चर्चामा ल्याउन सफल भएका थिए । सेनका यावत प्रतिभा तथा व्यक्तित्वका अनेकौं पाटाहरुलाई उपन्यासको रूपमा प्रकाशित गरी नयाँ पुस्तालाई मास्टर मित्रसेनबारे बुझ्ने मौका लेखकले दिएका छन सायमीले भने । उनले अगाडि थपे – हितानले गायकको रूपमा प्रख्यात मित्रसेन गोरखा लाहुरे मात्र होइनन पहिलो विश्वयुद्ध समेत लडेका लडाकु भएको तथ्यलाई यस कृतिमार्फत उजागर गरेका छन्

स्मरण रहोस् समाजमा पुर्याएको उनको योगदानलाई कदर गर्दै नेपाल र भारत सरकारले `मास्टर मित्रसेन´ को नाममा हुलाक टिकट जारी गरेको थियो

५६ वर्षीय उपन्यासकार हितान स्वयं ब्रिटिस गोर्खा पल्टनबाट अवकाशप्राप्त लाहुरे हुन् । उनले बेलायतको युनिभर्सिटी अफ ग्रिनवीचबाट वातावरण विषयमा स्नातकोत्तर गरी त्यहीं वातावरण विज्ञका रूपमा कार्यरत छन् । पर्यावरण साहित्य अभियन्ताका रूपमा परिचित हितानको ‘बिछोडअघिको रात’, ‘वाग्मती ब्लुज’ कवितासंग्रह, ‘थकित पृथ्वी’ कथासंग्रह, ‘इको उत्सर्जन’ निबन्धसंग्रह, ‘जयबहादुर हितानमगर : व्यक्तित्व कृतित्व’ लगायत कृति प्रकाशित छन् ।

तपाईको प्रतिक्रिया