लेखक,पर्यावरणविद तथा वातावरण सरंक्षण अभियन्ता विजय हितानको उपन्यास ‘लाहुरेको रेलिमाई’माथि अन्तरक्रिया गरिएको छ । सम्पूर्ण किताबको आयोजनामा सोमबार गैंडाकोट स्थित नारायणी रिसोर्टमा कार्यक्रम गरिएको हो ।पुस्तकमाथि बोल्दै समीक्षक उदय अधिकारीले पुस्तकमा लेखक हितानले लाहुरेको कथालाई मर्मस्पर्शी ढंगले लेखेको बताए । पुस्तक पढ्दा लाहुरेका दुख र दर्दले धेरै ठाउँमा सम्हालिन सकिन, आँसु पनि रोक्न सकिन, अधिकारीले भने । नेपाली युद्ध साहित्य दरिलो रूपमा नआए पनि केही पुस्तकहरू प्रतिनिधिमुलक रूपमा आएका र लाहुरेको रेलिमाई यसैको उदाहरण भएको अधिकारीले बताए ।पुस्तकमा सेनाको मनोविज्ञानलाई अत्यन्तै सजीवरुपमा प्रस्तुत गरिएको समीक्षक रमेश प्रभातले बताए । पहिलो विश्वयुद्धमा ब्रिटिस सेनाको गोर्खा राइफलका तर्फबाट युरोपीय भूभागका बेल्जियम, फ्रान्स र अफ्रिकी भूभागका मेसोपोटामिया लगायतका विभिन्न स्थानमा युद्ध लडेका मित्रसेन थापाले युद्ध सकिएपछि सम्पूर्ण जीवन साहित्यको बिभिन्न बिधाहरु नाटक, गीत, भजन तथा संगीत र नाटकको मञ्चनमा बिताएको कुरा पनि पुस्तकमा समेटिएको प्रभातले बताए । उनले अगाडि भने -“त्यति मात्र होइन उनी समाजमा भएका कमीकमजोरी हटाउनका लागि समाजसेवामा पनि होमिए । भारतीय भूमिमा बसेका उनले आफ्नो पुर्खाको थातथलो खोज्दै गुल्मीसम्मको यात्रा पनि तय गरे । यिनै जीवनभोगाइको फेहरिस्त हो लाहुरेको रेलिमाई उपन्यास ।”लामो समयदेखि बेलायत सरकारसँग आवद्व रहेर पर्यावरणविदको रुपमा कार्यरत हितान पछिल्लो समय नेपाली साहित्य लेखनको माध्यमबाट वातावरण संरक्षणको निम्ति सक्रिय अभियन्ताको रुपमा परिचित छन् । साङ्ग्रीला बुक्सले प्रकाशन गरेको लाहुरेको रेलिमाई उपन्यास मास्टर मित्रसनको जीवनीमा आधारित छ । यो कृतिले नेपाली पाठकहरुलाई गोर्खा लाहुरे र प्रथम विश्वयुद्वलाई नजिकबाट बुझ्न सहज बनाउनेछ ।कार्यक्रमका प्रमुख अतिथि डाक्टर अशोक थापाले लाहुरेको रेलिमाई पुस्तकमा युद्धको भाषा लेखिएको बताए । युद्धको भाषा बन्दुकले मात्र लेख्न सक्छ, कलमले लेख्न खोज्ने मुर्खहरू हुन्, विजय हितान महामुर्ख बनेर यो उपन्यास लेखेका हुन्, थापाले भने । पुस्तकमा नेपाली जीवन सँगसँगै युद्ध संस्कृति, त्रास र पारिवारिक विछोडका मुटु छेडने भावनाहरू भएको थापाले बताए । युद्ध कसका लागि हो र हामी कसको लागि लडेका छौँ भन्ने कुरा यो पुस्तकमा लेखिएको छ, उनले भने । थापाले युद्ध साहित्यको क्षेत्रमा नेपाली साहित्यमा २२ वटा कृति आइसकेका र यसको लाइनमा यो अर्को कृति थपिएको बताए । उनले प्रथम विश्वयुद्धमा सामेल नेपाली सेनाको युद्ध मनोविज्ञानलाई जीवन्त र शसक्त अरु कमै कृति रहेको उल्लेख गरे ।सम्पूर्ण किताबको आयोजनामा गरिएको कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले युद्ध साहित्यका बारेमा बोलेका थिए । रानाले माओवादी जनयुद्धको चर्चा गर्दै आफू उक्त युद्धको भुक्तभोगी र युद्धपीडित भएको उल्लेख गरे । प्रसिद्ध कवि गोविन्दराज विनोदीको अध्यक्षतामा कार्यक्रम गरिएको थियो । अध्यक्ष विनोदीले उपस्थित सबैलाई आभार व्यक्त गर्दै लेखक विजय हितानको लाहुरेको रेलिमाई आख्यानको सफलताको शुभकामना व्यक्त गरे ।कार्यक्रममा बोल्दै लेखक हितानले लाउरेले बाँचेको जीवन अनि अनुभव र भोगाइलाई किताबमा उतारेर पाठकसामु यो कृति पस्केको बताए । उनले सैनिक सेवामा भर्ती भई आफूले कहिल्यै नबिर्सने क्षण यस कृतिमा असी प्रतिशत यथार्थ र बीस प्रतिशत काल्पनिकता मिश्रित भएको बताए । कार्यक्रमलाई सम्पूर्ण किताबका सञ्चालक लेखराम सापकोटाले सहजीकरण गरेका थिए ।

तपाईको प्रतिक्रिया