नरजित राई



 (क) गान्तोक सम्म


२४ अप्रिल २०२३ का दिन पहिलो पटक सिक्किम घुम्न जाँदै थिए। मैले सिलिगुडी बजार, कर्स्याङ्ग, मिरिक, दार्जिलिङ पहिलै नै यात्रा सकेको थिए। तर सिक्किम घुम्न भने साइत जुरेको थिएन। हामीले काकडभिट्टाबाट सिक्किमका लागि आतेजाते १९००० भा. रु. मा जीप रिजर्भ गरेका थियौं। बिहानको ४:५० बजेको पहिलो बसमा काकडभिट्टा लाग्नु पर्छ है भेना शिवले सम्झाएकी थिइन। मलाई बिहान ३:०० बजे नै निन्द्राले छोड्यो। हामीलाई यात्राका लागि आवश्यक पर्ने सम्पुर्ण समानहरु बेलुकी नै पोको पारी सकेका थियौं। झापाबाट बहिनी र ज्वाइँ पनि संगै सिक्किम घुम्न जाने भएकाले काकडभिट्टामा भेट्ने सल्लाह थियो।
हामी सिटि सफारिमा आपगाछी चोकबाट भानु चोक स्थित बस स्टेसन तिर लाग्यौ। तर पहिलो बस हेर्दाहेर्दै हुइकियो। हामी चढेको दोस्रो बस १५ -२० मिनेट पछि दगुर्न थाल्यो। बसको निधारमा सुपर एक्सप्रेस लेखिएको भएता पनि लोकलमा नै परिएछ। ईटहरी देखी बस -बसका स्टाफहरु बीच यात्रुहरूलाई तानातान,मनपरि  भनाभनमा निकै समय खर्च गरे। हामी ९:०० बजे काकडभिट्टामा उत्रिन सफल भयौं।

हामीलाई काकडभिट्टामा भारतीय नेम प्लेट भएको प्राइभेट जिप पर्खिरहेको थियो। हाम्रो जिप चालक याम तामाङ हुनुहुदो रहेछ। वहाँको आफ्नै जिप भएकाले यात्रा सजिलो महसुस गरें। हामीले  बिहानको खाना थकाली भान्साघर काकडभिट्टामा खाएपछि मेची नदी पार गर्यौं। हामी सिक्किम यात्राको लागि म ,साली शिव बान्तवा, बहिनी चन्द्र कुमारी, जुवाइ मुगाधन राई थियौं।
गुरुजीले पानी ट्यांकि भन्ने ठाउँमा जिपलाइ फुल पेट्रोल पिलाएपछि बालासान,महानन्द खोला र साल्लुगढ बजार हुँदै सलल जिप हुइकाउन थाल्नु भयो। तर के अगाडी बढेका थियौं। अत्यास लाग्दो ट्राफिक जामले खुत्रुक्कै बनायो। जिपको एयरकन्डिसन पनि बिग्रीएकाले सिलिगुडीको गर्मी धुवाँ र धुलोले राम्ररी नै स्वागत गर्यो। सिलिगुडीबाट सिक्किमको गान्तोक ११६ किमि टाढा रहेछ। बल्लतल्ल जामबाट मुक्त भएपछि जिप हुइकिदै जादा टिस्टा नदि देखियो। मैले धेरैपटक नाम सुनेको टिस्टालाइ प्रत्यक्ष देख्न पाउँदा आनन्दको अनुभुती गरें। मैले माधव घिमिरेले लेख्नु भएको ” पश्चिम किल्ला काङ्गडा पुर्बमा टिस्टा पुगे थियौं” भन्ने गीतलाइ सम्झिएँ। त्यहाँको प्रसिद्ध बागपुल जीर्ण अवस्थामा पुगेता पनि अझै टिस्टा माथि तनक्क तन्की रहेको थियो। कालिझोरामा टिस्टा नदीको बहावलाइ रोकि हाइड्रोपावरको निर्माण गरिएको रहेछ। पहाडका भित्तालाई छेड्दै खाली ठाउँमा अग्ला -अग्ला पिलरको निर्माण गरि सिलिगुडी देखि गान्तोक सम्म जोड्ने रेलवे लाइनको निर्माण भइरहेको थियो। ड्यामले गर्दा पानीको सतह बढेर टिस्टा नदी बिशाल ताल बनेको थियो।


हामी बागपुल देखि करिब २०० मिटरको दुरिमा  पुग्दा पुनः ट्राफिक जाम शुरु भयो। सबै यात्रीहरु गाडीबाट ओर्लिएर सडकमा गर्मी ताप्न विवश थिए। हामी पनि जिपबाट ओर्लिएर टिस्टा नदीको निलो रंगलाई हेर्दै र पृष्ठभुमि बनाउदै आ-आफ्नो  आकृतिलाइ मोबाइलमा कैद गर्यौं।  करिब ३० मिनेटपछि जाम खुल्यो। खासमा पहिरोले गर्दा बाटो बनाउदै रहेछ।  टिस्टा नदीको किनारै किनार, दुइतर्फी साँगुरो बाटो, गाडिका ताती, धुलाम्मे सडक देख्दा नेपाल र भारतमा खास भिन्नता देखिन।
हामी टिस्टा बजार देखि दाहिने मोडिएर टिस्टाको पुल तरि सिक्किम तिर लाग्यौं। टिस्टा बजारको तल्लो सडकबाट दार्जिलिङ र बायाँ सडकबाट कालेबुङ्ग जाने बाटो छुट्दो रहेछ। घामको राप र गर्मीको ताप उस्तै थियो।अब बिस्तारै गर्मीको ताप घट्नेछ है दाइ भन्दै  गुरुजीले जिपलाई हुइकाइ रहेका थिए। मेल्ली भन्ने ठाउँमा र्याफिटिङ्गमा मानिसहरू रमाइ रहेका देखिन्थे।
हामी रङ्पो बजारमा पुगेपछि गुरुजीले जिप रोक्नु भयो। त्यसठाउँबाट सिक्किमको सिमाना शुरु हुँदोरहेछ । त्यहाँ सिक्किम प्रवेशका लागि बिदेशीहरुले अनुमति पत्र बनाउनु पर्ने रहेछ। हामीले नेपाली नागरिकताको प्रमाणपत्र देखाइ ,त्यसको फोटोकपि बुझाइ ४ दिनका लागि सिक्किम घुम्ने अनुमति पत्र पायौं। गुरुजीले गाडिको स्ट्रीङलाइ  कहिले दायाँ कहिले बायाँ मोड्दै सिङताङ्ग, रानीपुल बजार हुदै उकालो लागी रहयौं। हामीले अपराह्न २:०० बजे सिक्किमको राजधानी गान्तोकलाइ छोयौं ।  गुरुजीले होटल हाइवेको एउटा मात्र जिप अट्ने  ठाउँमा जिपलाइ पार्किङ गर्नुभयो। यो होटल नै  आरामस्थल रहेछ। शरीरमा टासिंएको धुलो, पसिना, मैलोलाई होटल हाइवेमा राम्ररी नै पखालियो। भोक पनि लागेकाले एम. जि. रोडमा (महात्मा गान्धी ) थुक्पा बजायौं। एम. जि. रोड गान्तोकको मुख्य बजार तथा प्रख्यात भ्रमणस्थल रहेछ। त्यो ठाउँ पर्यटकलाइ लोभ्याउने विभिन्न मुर्ति कलाहरुले भरिभराउ रहेछ। हामीले पनि विविध कलाहरुलाई पृष्ठभुमि बनाउदै फोटोहरु खिच्यौं। हामी नथाकिन्जेल एम.जि. रोडमा यताउता हिडि रहयौं। छङ्गु लेक यात्राका लागि अनुमति लिन होटल साहुलाइ रम्फुमा प्राप्त कागतपत्र, नागरिकताको कपि र एक-एक प्रती फोटो बुझायौं। भोलिका लागि कुप्लुक्क खाएर घुप्लुक्क निदायौं।


(ख) गान्तोक वरिपरि


 पेटमा अचानक राति मेघ गर्जन हुन थाल्छ। त्यो डाइरिहियाको सङ्केत थियोे। म निकै पटक सौचालय- ओछ्यान गरिरहें। तर अचानक निदाए छु। बिहान उठदा शरीर आलस्य भएको थियो। हाम्रो उदेश्य गान्तोक वरिपरिको रमणीय दृश्यहरुलाइ अवलोकन गरि दिमागलाई आनन्द बनाउनु थियो।

बिहान चिया,पाउरोटी,अण्डा खाजा खाए पछि डाइरिहियाको औषधि निले। हामीले यात्रामा लाग्ने संभावित रोगका लागि केहि औषधिहरु पनि बोकेका थियौं।
हामीले दिनभर घुम्नका लागि नियमत लोकल जिप नै रिजर्भ गर्नु पर्ने रहेछ तर त्यसो नगरी नेपालबाट नै लगेको जिपलाइ पुनः ४ हजार थपि गुरुजिलाइ मनायौं। यसो गर्दा दिनभरि जता घुम्दा पनि सजिलो हुने थियो । लोकल ड्राइभरले बिरोध जनाए वा पुलिसले सोधपुछ गरे सिलिगुडीबाटआफन्तको गाडी  लिएर धुम्न आएको हौं भन्नू पर्ने रहेछ।
हामी बिहानको ८:०० बजे होटल हाइवेबाट निस्कियौं। हामी पहिले वाक्ताङ्ग झरना पुग्यौं। माथी डाँडाबाट खसेको पानीले कास्टिङ्गमा नै आँखा र मनलाइ मन्त्रमुग्ध बनायो। झरनालाइ पृष्ठभुमि बनाएर विभिन्न कोणबाट आ-आफ्नो आकृतिलाई मोबाइलमा कैद गर्यौं।  त्यसपछि गोङ्जङ मोनास्ट्री ( गुम्बा) र बोटानिकल गार्डनमा प्रवेश शुल्क तिरेर धित मरुन्जेल अवलोकन गरियो। बोटानिकल गार्डेन भित्र नै क्यान्टिन रहेकाले खाजा चाउचाउ  खाएर शरीरमा उर्जा थप्यौं। हामी केहि उकालो चडेपछि अर्को बौद्ध गुम्बामा पुग्यौं। त्यस ठाउँबाट छङ्गु हिमाल देखिदो रहेछ। हिम शृङ्खलाको दृश्यलाई अझ नजिकैबाट नियाल्न रकम तिरेर बाइनोकुलरबाट एक आँखा चिम गरेर अवलोकन गरि रमायौं। भोलिपल्टको यात्रामा छङ्गु हिमाललाई नै छोएर रम्ने तालिका थियो।


हामी सोधपुछ गर्दै गान्तोकको प्रख्यात ठाउँ झाँक्री फल्स पुग्न सफल भयौं। झाँक्री झरना  करिब ३० मिटर माथीबाट इन्द्रेणीको रंग देखाउदै अविरलरुपमा खसी/ झरिरहेको थियो। झाँक्री झरना टिस्टा नदीलाइ भेट्न आतुर देखिन्थो। झरनाको कलकल संगीतले मनलाई शान्त बनाइ रहेकोे थियो। त्यो झरनाको छेउमा वन झाँक्री तपस्या गरेर बस्थ्यो रे भन्ने मिथकले त्यस ठाउँको नाम नै झाँक्री फल्स रहेको रे। त्यो झरनाको वरिपरि राक्षस,धामी, बिजुवा, झाँक्री , वन झाँक्रीहरुको प्रतिमुर्ति राखिएको थियो। तत्कालीन मुख्य मन्त्री पवन चाम्लिङले पर्यटन प्रबर्द्धनका लागि त्यस ठाउँको बिकास गरेका रहेछन् । त्यहाँ घुम्न जाने पर्यटकहरुका लागि अति सुन्दर, मनोरम, मनोरञ्जन गर्ने ठाउँ रहेछ। हामीले झरना,धामीझाँक्रीहरुको प्रतिमूर्तिलाई पृष्ठभुमि बनाउदै सम्झनाका लागि थुप्रै फोटोहरु खिच्दै रमायौं। मलाई पेटको समस्याले गर्दा घरीघरी सौचालय तिर पनि दगुरिरहें।


गान्तोक वरिपरिको अन्तिम घुमाइ किरात राईहरुको पवित्र स्थल पारुहाङ साप्तेन माङ्खीम रहेको थियोे। त्यो पुर्ब सिक्किमको राई गाउँ राङ्क्का भन्ने ठाउँमा अवस्थित रहेछ। हामीले प्रवेश शुल्क तिरेर माङ्खिमको भवनमा छिर्न अघि गेटमा सेवान्ने शब्द लेखिएको रहेछ। मलाई शब्द पढ्दा खुसी लाग्यो। हामी माङखिम भित्र  प्रवेश गर्नै लाग्दा पानी छिट्टाउन थाल्यो। हामी भवनको  छतमा पुग्दा झन सिमसिम पानी पर्न थाल्यो। पानी रहने कुनै छाट थिएन। हामी अलिअलि रुझ्दै भिज्दै,रमाउदै,हाँस्दै दृश्यवलोकन गरिरह्यौं। भवनको छतलाई नै कार्यक्रम गर्न सकिने सानो रंगशालाको रूपमा बनाइएको रहेछ। त्यस भवनबाट गान्तोक शहर प्रस्टै देखिन्थ्यो । त्यहाँ पारुहाङ, सुम्निमा, रैछाकुले, तयामा खियमा सिक्रीम आदिका सुनौलो प्रतिमुर्ति स्थापित थिए। किरात राई परम्परा,संस्कृतिमा आधारित कलाकृतिहरु देख्न पाउँदा गर्वित भएँ। 


भवनको सबैभन्दा माथिल्लो तल्लामा तीन चुल्होको स्थापना गरिएको रहेछ। चुल्होमा चौबीसै घन्टा आगो बाल्न र पुजा गर्न नोक्छुङको पनि व्यवस्था गरिएको रहेछ। २७ डिसेम्बर २००९ का दिन तल्कालिन मुख्यमन्त्री पवन चाम्लिङले माङ्खिमको शिलान्यास गरेका रहेछ्न। ५०×५० फिटको जमिन स्व.बाबा आमा शरमान कोयु राई र हर्कमाया राइको स्मृतिमा धुर्ब कुमार राई,फुलमाया राई, असोक कुमार राई र मिना राईले जग्गा दान गरेका रहेछ्न। यो पारुहाङ साम्तेन माङ्खिम बनाउन ४३ करोड भारु खर्च भएको रहेछ। यहाँ ३००० भन्दा बढी पुस्तक भएको पुस्तकालय पनि रहेकोे छ। हामीले पुस्तकालयका प्रमुखसंग गपशप गर्ने मौका पनि पायौं। हामी माङखिमको भ्रमण सकेर गेट बाहिर निस्किएका मात्र के थियौं, पानी पर्न छोड्यो।

हामीलाई पारुहाङ सुम्निमाले  सिमसिम पानी पारेर  गान्तोकको माङ्खिममा स्वागत, सत्कार र आशिर्वाद दिएका सम्झियौं। हामी माङ्गखिम नजिकैको एक रेस्टुरेन्टमा खाजा खाइ होटेलमा पुग्यौं।  मलाई बेलुकी देखी  ज्वरो पनि आएकाले सिटामोल खाइ घुप्लुक्कै सुतें। मलाई खान केहि मन लागेन।  साली शिव भोलिपल्टका लागी चाहिने केही समानहरु किन्न एम.जि. रोड गएर र आइन।


(ग) छङ्गु ताल र हिमालमा रमाउदा

सिक्किमको छङ्गु लेक यात्राका लागी पर्यटन बिभागसंग अनुमति लिनु पर्ने रहेछ। हामीले निवेदनका लागि सबै कागजात होटल साहुलाइ बुझाइ सकेका थियौं। होटलले नै छङ्गु लेक जाने पर्मिट निकाल्न सहयोग गर्ने रहेछ। त्यहाँ पुग्न स्थानीय जिप र गाइड नै प्रयोग गर्नु पर्ने भएकाले बन्दोबस्त गरि सकेका थियौं। मेरो स्वास्थमा केही सुधार भएको महसुस गरें।


मेरो मन छङ्गु हिमालमा पाइतलाले टेक्दै हिउँसंग खेल्न र रमाउन उत्साहित थिए।
हामी बिहान ८:०० छङ्गु लेक तिर लाग्ने होटेल साहुजिले जानकारी गराएकाले तयार भयौं। तर हामीलाई लिन  ९:०० बजे मात्र जिप होटल आइपुग्यो।
– किन ढिलो हाउ गुरुजी भनी सोध्यौं।
 – सर पास दिने अफिस अलिक ढिलो नै खुल्छ। चाँडो गएर दुई माइलमा बस्नु भन्दा त ढिलै जानू ठिक हुन्छ। गुरुजीले भन्नू भयो।


हामी दुई माइल पुग्दा गाडीको निक्कै लामो ताती थियो। छङ्गु जाने पास कसैकोआइ सकेको थिएन। हाम्रो गाडी पनि त्यहीँ लाममा रोकियो। मैले भनेको थिए नि हजुर , छिटो आएर केही हुन्न। यी यस्तो छ हालत। गुरुजीले अघिको कुरालाइ अझ सच्याउने प्रयास गरे। हामीले पनि उनको कुरालाइ पत्यायौं। पेट दुखेर पो बाटोमा गाह्रो पार्छ कि भनी सम्झिएँ।
– यहाँ सौचालय कता होला गुरुजी ?
– सिधै अगाडी बाटोको दायाँ पट्टि पर्छ। त्यो  श:शुल्क सौचालय रहेछ। म पेट साफ भएपछि बाहिर निस्किएँ।
– सौचालय गएको कति पैसा तिर्नु पर्ने होला भाइ ? 
– ए हजुर त नेपाली पो हुनुहुदो रहेछ ।तपाईंले पैसा तिर्न पर्दैन। बंगालीहरुलाइ मात्र पैसा लिने हो। मेरो मनमा कौतुहलता जाग्यो र सोधेँ।
–  बंगालीहरुलाइ मात्र किन र भाइ?
– हामीलाई उनीहरुको ठाउँमा कम्ती हेप्छ दाइ।उनिहरुलाइ हाम्रो ठाउँमा किन छुट दिने? कारण यहि हो दाई। उसले हाँस्दै रहस्य खोल्यो।
मैले नेपाली भाषी र बंगालीहरु बीच आपसी  वैमनस्य रहेछ भन्ने प्रष्ट बुझेँ। हामी नेपाली प्रति देखाउने सद्भावना सिक्किमका नेपाली भाषीहरुबाट राम्रै रहेको पाएँ।

– लु बसौं दाई ,पास आयो। गुरुजीले छङ्गु लेक तिर प्रस्थान गर्ने सङ्केत गर्नु भयो। हामीलाई २-४ वटा  चेक पोस्टमा चेक गरेपछी नागबेली सडकमा गुरुजीले तामाङ सेलो गित घन्काउदै जिप दगुराउन थाल्नु भयो। गान्तोक देखि छ्ङ्गु लेक ४० कि .मि. टाढा रहेछ। हामीले गाईडको लागि पैसा तिरेका थियौं तर गाइड उपलब्ध हुन नसकेपछि गुरुजीले नै बाटोमा छङ्गुबारे केही कुरा बताए।
– यहाँ छिनछिनमा मौसम परिवर्तन भइ रहन्छ। यहि बाटोमा ( दुर्घटनास्थल देखाउदै)पोहोर हिमपहिरामा परि ३ जना घुम्न आएको नेपाली पनि परेर मरे। अनि अरु प्रायः बंगालीहरु नै परे। यहाँ ७-८ जना मरे, थुप्रै घाइते भए। नजानु भन्दाभन्दै गएर हिम पहिरोमा अचानक परे र मरे। हिउँ देख्नेसाथ भनेको नटेर्नाले ठुलो घटना घट्यो। त्यो मानिसहरूको भाग्यमा यहिं मर्न शायद लेखिएकोले होला। छङ्गु हिमालमा बर्षमा एकपटक धामी,झाँक्री, लामाले पुजा गर्छन।


हामी घुम्ती, उकाली, ओराली गर्दै छङ्गु लेक नजिकैको बजारमा पुग्छौं। त्यहाँ खाजा खाने भइयो। त्यहाँ अति नै जाडो थियो। चिसोले गर्दा बहिनी चन्द्र कुमारीले स्वास फेर्न गाह्रो होला जस्तो छ भन्न थालिन। त्यस्तो सोच्नु हुन्न केहि हुदैन, उनलाइ सम्झाएँ। हामीले चाउचाउको  तातो झोल र थुक्पा खायौं। हामी अझै उकालो हुदै छ्ङ्गु लेक पुग्यौं। आफुलाइ लेक लाग्छ कि भन्ने डरले बहिनी गाडीबाट बाहिर ननिस्क्ने कुरा गरिन। उसलाई गाडीमा नै छोड्यौं। उनलाइ फोटो खिच्न र हिउँ छुन एकछिनका लागी गाडिबाट निकाल्यौं।
सेताम्य हिउँले ढाकिएको अग्लो डाँडाहरु, फेदमा अबस्थित निलो ताल। चिसो हावाले फुक्दा बनेका तरङ्गहरुले मनलाई गदगद बनाइ रहेको थियो। यात्रुलाई ताल नजिकै रंगीचंगी सजिएर पर्खी रहेका चौंरीका लस्करहरु।  हामीले शेर्पा जातिको परम्परागत लुगा लगाएर चौरिको ढाडमा चडी धित मरुन्जेल फोटो र भिडियोहरु खिचियो। मैले चढेको चौंरीको मुटुको धड्कन उफ्रिएको अनुभुती गर्दा, रमाइलोका लागि उसलाई दु:ख दिएकोमा ग्लानी पनि महसुस गरें। हामी छ्ङ्गु तालको अर्कोतिर हिउँले ढाकिएको स्थानमा गइ हिउँका ड्ल्ला बनाउदै, माथि-माथि फाल्दै, लडिबुडी गर्दै रमाउनु सम्म रमायौं। हामी छङ्गु पुग्दा न बादल ,न चिसो बतास, सफा मौसम, घमाइलो वातावरणमा रमाउन पाउदा भाग्यमानी सम्झियौं। छङ्गु लेकको उचाई ३,७५३मिटर (१२,३८७ फिट ) रहेछ। लाम्चो आकारमा अवस्थित तालको फराकिलोपन ४२७ स्क्वायर मिटर र गहिराई १५ फिट रहेकोे कुरा थाहा पाएँ। तालको एक छेउमा शिवजीको मन्दिर स्थापना गरिएको रहेछ। गुराँसका स- साना पोथ्राहरु हिउँमा पनि चिसो सहदै अटल भएर बाँचिरहेका रहेका थिए ।
हामी करिब २-३ घण्टा छ्ङ्गु लेकको प्राकृतिक  सोन्दर्यसंग  रमाएर गान्तोक फर्कियौं। घुमाउरो ,ओरालो सडकमा कुहिरो लागेर बेलाबखत अन्धकार हुन्थ्यो। हामी एम. जि. रोडमा उत्रियौं। एम.जि. रोडको एउटा रेस्टुरेन्टमा खाना खाएर होटल हाइवेमा आयौं। सिक्किमको छङ्गु ताल,हिमालमा रमाउन,खेल्न पाउँदा  स्वर्गीय अनुभुती  प्राप्त गरें।


(घ)  नाम्ची हुदै नेपाल
हाम्रो यात्राको योजना अनुसार दक्षिण सिक्किमको नाम्चिमा बास बस्न पुग्नु थियो। भोलिपल्ट बिहान चार धामको दर्शन गरि नेपाल फिर्नु थियो। नाम्ची शहर गान्तोक देखि ७८ किलोमिटर टाढा रहेछ। हामी होटल हाइवेबाट  हार्दिकता साथ बिदावारि भयौं। हाम्रो गुरुजीले गान्तोकका  सागुरो बाटोहरुमा कतै ट्राफिक जाम झेल्दै त कतै मुक्त हुँदै जिपमा ओरालो बाटोमा गुडाउन थाल्नु भयो। पेन ड्राइभमा लोड गरिएको नेपाली गीतहरु सुन्दै आनन्द लियौं। हाम्रो जिप गान्तोकको प्राकृतिक सौर्न्दर्यहरुलाई पछि पार्दै गन्तव्य तिर गुडिरहेको थियो।
हामी सिक्किमको सिमना रङ्पो बजार नजिकैबाट माम्चीको लागि उकालो लाग्यौं। त्यहाँ ३ दिन अघि बनाएको सिक्किम यात्राको अनुमति पत्र बुझाउनु पर्ने रहेछ तर बाटो फरक भएकाले नवुझाइ नाम्चि तिर तेर्छियौं। समुन्द्री सतहबाट १,७७५ मिटर उचाईमा अवस्थित नान्चि, उकालो, ओरालो र घुमाउरो  बाटोमा गुरुजीले स्ट्रीङलाई दायाँबायाँ घुमाइ रहेका थिए। हामी सिक्किमका प्रख्यात फुटबल खेलाडी भाइचुङ भुटियाको नाममा स्थापित भाइचुङ रंगशाला हुदै घाम डुबेपछी नाम्ची बजारको एक होटलमा बास बस्न पुग्यौं।
नाम्चीमा भर्खरै पानी परेकाले त्यहाँको मौसम न जाडो न गर्मी ठिक्कको अवस्था थियो।
पहाडको टुप्पोमा रहेको नाम्ची शहर केहि समथल रहेछ। मलाई भौगोलिक बनावट, प्राकृतिक वातावरण देख्दा गान्तोक भन्दा नाम्ची सुन्दर  ठाउँ लाग्यो।
हामी बिहान ७:०० बजे नाम्चीको चार धाम घुम्न निस्कियौं। यो चारधाम नाम्ची बजार देखि ५ किलोमीटर टाढा सोलोफोक डाडोमा अवस्थित रहेछ। यसलाई सिध्देस्वर धाम पनि भनिदो रहेछ। हामी चारधामको गेटमा पुग्दा गेट खुलि सकेको थिएन। गेटमा बन्दुक सहित उभिरहेको प्रहरीलाई सोध्यौं।
– मन्दिर भित्र प्रवेश गर्न कति बजे गेट खुल्छ होला भाइ?
–  तपाईहरु कहाँबाट आउनु भएको होला?
– हामी नेपालबाट आएका हौं। मन्दिर बिहानै खुल्छ होला भनेर पो चाँडै आइयो।
– अहिले दर्शनका लागि मन्दिरका ढोका खुलेको छैन।  ८:०० बजे पछि मात्र खुल्ला हुन्छ। बाहिरबाटै दर्शन गर्ने भए जान सक्नु हुन्छ। तपाईहरुको जिपलाइ भित्रै पार्किङ गर्न मिल्छ।
–  तर फर्कदा प्रवेश शुल्क दिनु होला। म भरै मन्दिरको ढोका खुलेपछि काउन्टरमा पैसा बुझाइ दिनेछु। हामीलाई प्रहरी भाइले मुख्य गेटको ढोका खोल्दै सल्लाह दिए।
– हुन्छ भाइ। हामी लागेको सबै दस्तुरहरु फर्कदा बुझाउने छौं। हामी खुसी हुदै भित्रियौं।
पार्किङस्थलमा जिपलाइ पार्क गरेर मन्दिर घुम्न निस्कियौं। त्यस ठाउँको मुख्य आकर्षक शिवजीको बिशाल मुर्ति रहेछ। यो मुर्ति ८७ फिट अग्लो रहेछ।  शिवजीको मूर्तिलाई रिनोभेसन गरिदै रहेछ। हामीले ४ धाम फरक फरक स्थानमा अवस्थित होला भनी सोचेका थियौं तर चारधामलाइ एकै स्थानमा स्थापित गरिएको रहेछ। चार धामहरु :- द्वारिका धाम, रामेशिवरामधाम, जगन्नाथ धाम, बद्रीनाथ धाम र किरातेश्वर माङ्खिमलाइ पनि धाममा समावेश गरिएको रहेछ। यसैगरी शिवका १२ ज्योतिर्लिङ्गहरुका मन्दिरहरु पनि वरिपरि स्थापना गरिएका रहेछन। ज्योतिर्लिङ्गहरु :- महाकालेश्वर,सोमनाथ,मल्लिकार्जुन,औकारेश्वर,बैधनाथ,भिमशन्कर,राधेश्वरम, नागेश्वरम, बिश्वनाथ, त्राम्बकेश्वर, केदारनाथ ,घुश्वमेश्वर रहेछन। हामीले चारै धाम र ज्योतिलिङ्गलाइ बाहिर बाहिरै दर्शन गर्यौं। हामीले मन्दिरहरुलाई पृष्ठभुमि बनाउदै मनलाग्दी फोटोहरु खिच्यौं। त्यहाँ हेर्नू र घुम्नु पर्ने ठाउँहरु नरहेकोले बाहिरियौं।

हामीले बाहिर सेक्युरिटी गरिरहेका प्रहरीलाई सोध्यौं।
– पैसा कति  तिर्नु पर्ने भयो भाइ ?
–  जिप पार्किङको मात्र ५० रुपैयाँ दिनुहोस् न। अरुको पर्दैन। प्रहरीले हास्दै भन्यो।
– सहयोगका लागि धन्यवाद भाइ। हामीले ५० रुपैयाँ दिएर गेटबाट बाहिरियौं।

हामी नाम्चीसंग बिदा माग्दै पुनः ओरालो घुम्तीलाई पार गर्न थाल्यौं। नाम्ची देखि सिलिगुडीको दुरि  ९३ किलोमिटर रहेछ। गुरुजीले रङ्गित नदीको किनारमा जिप रोक्नु भयो। रङ्गित नदी टिस्टालाइ भेट्न गीत गाउदै  अविरल बगिरहेको थियो। मैले प्रकाश कोविदले लेख्नु भएको उपन्यास ” टिस्टा रंगित” लाई सम्झिए। त्यतै टिस्टा रंगितको किनारमा जोडिहरुले बैंसालु उमेरमा स्वच्छ  मायाप्रीति गाँसे होलान्। मैले प्रकाश कोविदले लेख्नु भएको धेरै उपन्यासहरु बैंसालु उमेरमा नै छिचोलेको थिएँ। हामी  एउटा छाप्रेखालको खाजाघरमा भित्र छिर्यौं। त्यो एकमात्र फासफुड खाजाघर रहेछ।ग्राहकहरुको निकै भिडभाड थियो। हामी पनि पालो पर्खिएर छासछुस खाजा खाएर बाटो लाग्यौं। शिव फुलप्रेमी भएकीले सिलिगुडीमा फुलका केही बिरुवा किनिन। काकडभिट्टामा फुलको बिरुवा देखेर पुलिसले केही दाम झर्छ कि भनी किचकिच गर्‍यो।  मलाइ सिक्किम नेपालको कुनै जिल्लामा घुमे झैं लाग्यो। नेपालमा झैं सबै नेपाली भाषी होटल रेस्टुरेन्ट र पसलहरुमा नेपाली गीतहरु गुन्जिरहेका थिए। मैले गुरुजी याम तामाङलाई कुसलतापुर्वक ड्राइभिङ गरि स-कुसल यात्रा सफल गराइ दिनुभएकोमा धन्यवाद दिए।

३१ मे २०२३
तु क्वा वान,हङकङ

तपाईको प्रतिक्रिया