नरजित राइ

आमा रकको फेदमा साहित्यिक कार्यक्रम – १

सेप्टेम्बर महिनाको हङकङ साहित्यिक साझा शृङ्खला ११२ औं भाग  आउट डोर पदयात्रा सहित हुदैछ। र साझा शृङ्खलाको लोगो सहितको  टि सर्ट पनि श – शुल्क  बितरण गरिने भएको छ। दाइ यसपालि चाहिँ जसरी पनि समय मिलाउनु  होला है। मलाई हङकङ  साहित्यिक साझा शृङ्खला संयोजक रमण गुरुङ भाइले फोनमा आउदो  योजनाबारे जानकारी गराउनु भयो।
– कुन ठाउलाइ छान्नु भयो  हाउ भाइ ?  कौतुहलताबश सोधेको थिएँ।
– ठाउँ फिक्स त भइ सकेको छैन तर आमा रक हुन सक्छ। केहिदिन पछि ठाउँ हेरेर सबैलाइ खबर गर्नै छौं।
– हुन्छ भाइ यसपालि जसरी पनि समय मिलाउने छु। मैले रमण भाइलाई आश्वासन दिएको थिएँ।

हङकङको अति ब्यस्त जीवन, कहिलेकाही चाहेर पनि समय मिलाउन गाह्रो हुँदा साहित्यिक कार्यक्रममा सहभागी हुन नसक्दा धेरै पटक खल्लो अनुभुती गरेको छु। लेख्न रुचाउने, जागरिला साहित्यिक स्रष्टाहरुको जमातले इ .स.२०१२ सालमा हङकङ  साहित्यिक साझा शृङ्खलाको स्थापना गर्नु भएको थियो। प्रत्येक महिनाको अन्तिम आइतबार साहित्यिक   स्रष्टाहरु एकै ठाउँमा भेला भइ साहित्य सम्बन्धि बिचार बिमर्श  तथा  रचनाहरुलाइ वाचन गर्ने गरिन्छ। मेरो ब्यक्तिगत ब्यस्तताको कारण्ले गर्दा कहिलेकाही झुक्किएर कार्यक्रममा फुत्त पुग्ने गरेको छु।

मैले २५ सेप्टेम्बर २०२२ मा हुने हङकङ साहित्यिक साझा शृङ्खलाको पदयात्रा सहितको साहित्यिक कार्यक्रम, मंकी हिल देखि आमा रक सम्म नै हुने भन्ने फेसबुकमा टाँसिएको सूचनाबाट थाहा पाएँ।

अलिक टाढाबाट हेर्दा आमाले बच्चालाइ ढाडमा बोकि रहेकी जस्तो देखिने, शातिन डाडाको टुप्पोमा अवस्थित, ठूलो ढुङ्गालाई आमा रकले चिनिन्छ। मैले धेरै पटक  बसबाट शातिन जाँदा, फर्कदाँ लायन रक टनलबाट देखेको थिएँ । र त्यसबारे  मिथक पनि सुनेको थिएँ। मैले ताइमोसान, लानतावो ,काउलुन पीक , ताइलाम चुङ जस्ता अग्ला डाँडाहरुलाइ विभिन्न मोहडाबाट पाइतालाले टेकिसकेको थिएँ। तर यत्रो लामो हङकङ बसाईको क्रममा आमा रक सम्म पुग्न नसकेकोमा आफै आश्चर्यचकित पनि भएँ। 

मिति २५ सेप्टेम्बर २०२२ को बिहान। म सदा झैं ५:०० बजे नै ब्युँझिए। बिदाको दिन झ्यास्स सम्झिएर २-४ मिनेटका लागि ओछ्यानमा पल्टिएँ। सुत्ने बितिक्कै भुसुक्कै भएछु। मेरो दिब्य दिमागले कताकता हङकङ साहित्यिक साझा शृङ्खलाको कार्यक्रम पो त हाउ भन्ने सम्झाइ दियो। म अतालिदै ब्युझिएँ। मैले झ्याप्प घडी हेर्दा बिहानको  ७:३० बजेर पनि काटाहरु अझै उकालो दगुर्दै रहेछ। बिहानी पखको गर्नु पर्ने सम्पुर्ण कर्मलाइ हतार हतार आफैलाइ गाली गर्दै सिध्याएँ। पदयात्राका लागि बोक्नु पर्ने आवश्यक खत्र्याक खुत्रुक्क समानलाइ झोलामा खाँदखुँद गरें। घडिका काटाहरु झनझन छिटो-छिटो चली रहदा मन भुट्भुटी रहयो। बिहानको ८:३० बजे मङ्की हिलमा पुग्नु छ। मैले रमण भाइलाइ फोन गर्दा गन्तव्य तिर पाइला चाली सकेको बताउनु हुँदा झन मन हिरिक्कै भयो। शरीरभरि चिटचिट पसिना आए। जिउ हुप्प फुलेर, शरीरका रौ ठाडा भए। म  कुनै पनि कार्यक्रम वा काममा समेत जादा कहिल्यै जिरो आवरमा नदौडिने मान्छे भएकाले मनोबैज्ञानिक असर परेको होला। म हतारै हतारममा तयार भएर कोठाबाट हान्निएर बाहिरिएँ। मेरो बिहानै खाजा खाएर हाइपर्टेन्सनको औषधि खाने बानी भएकाले केही त खानै पर्ने थियो। म्याक डोनाल्डमा गएर म्याक पनि हतार हतारमा नै बजाएर मैले त्यहीँ हाइपर्टेन्सनको औषधि पनि  निलेँ। मोबाइलमा पिलिक्क समयलाई  हेर्दा बिहानको  ८:१० हानी सकेको थियो। म हतारिंदै ट्याक्सीबाट मन्की हिल तर्फ रवाना भएँ।

म आयोजकले दिएको समयमा नै मन्की हिल पुग्न सफल भएकोमा निकै खुसी भएँ। तर त्यहाँ कोहि साथीहरू नदेख्दा नेपाली समयलाइ झल्यास सम्झिएँ। आफू धेरै हतारिएकोमा मन खिन्न बनाउदै पछुताएँ। केहीछिन पछि बहिनी जुनु दिब्य राना र भाइ डिबि पालुङवा आइपुग्नु हुँदा मन उज्यालो भयो। ९:०० बजे पछि साथीहरू भकाभक आउन थाले। मैले घायम्पे भुडिलाइ छोप्ने साइज थ्री एक्सल नम्बरको हङकङ साहित्यिक साझा शृङ्खलाको लोगो भएको टि-सर्ट लगाएँ। हङकङ साहित्यिक साझा शृङ्खलाको मुख्य नारा  “नेपाली वाङमयको बिकासमा समर्पित” भन्ने रहेकोे थियो। आयोजकद्वारा बितरित खाना र पानीलाई झोलामा राखेँ। हाम्रो मुख्य अतिथि नेपाल सरकारका प्रतिनिधि जनरल कन्सुलर उदय बहादुर राना पनि आइ सक्नु भएको थियो।

समय झन झन उकालो लाग्दै  थियो। पर्खा पर्खिको आवश्यकता देखिएन। गाइबस्तु धपाउनु पछाडिबाट मान्छे धपाउनु अगाडिबाट भन्ने उक्ति अनुसार  म, राज कुमार राई, धिराज राई, कमला बहिनी, चन्द्रीका माइजू ,जुनु दिब्य बहिनी, कमल राई तथा अन्य सहयात्रीहरु शातिन तर्फको मुख्य सडकको पेटी हुँदै हिड्न थाल्यौं। हामीलाई त्यसपछि सबै सहयात्रीहरुले पछ्याउन थाले।  मैले पछाडी फर्केर हेर्दा एकै रंगका टि सर्ट लगाएका साहित्यकर्मीहरु ग्वारग्वार्ती हिडि रहेका देख्दा रमाइलो अनुभुती गरें।

आमा रकको फेदमा-२

बाटोको बायाँ पट्टि विशाल जलाशय सेक लेइ मुइ निलो रंगमा चम्की रहेको थियो। हावाका  झोक्काले जलासयका पानी तरङ्गित भइ रहेका देखिन्थे। सडकमा सवारी साधनहरु बेजोडले आ-आफ्नो लेनमा हुइकी रहेका थिए। सिरसिरे बतासले रुखका पातहरुलाइ हल्लाइ रहेका थिए।
बाँदरहरुको साम्राज्यस्थल भएकाले त्यस ठाउँको नाम  नै मन्की हिल ( चिनिया भाषामा = मालाउ सान) रहेको हो। त्यहाँ कोहि बाँदरहरु उफ्रिरहेका त कोहि झगडा गरिरहेका, कोहि पदयात्रीहरुबाट खानेकुरो पाउने आशामा आँखा नझिम्काइ हेरिरहेका, आमा बाँदरहरुले आफ्नो सानो बच्चालाई दूध चुसाइ मातृत्वको भुमिका निभाइ रहेका देखिन्थे। आफुलाइ मन परेको रमणीय दृश्यलाई पृष्ठभुमि बनाउदै फोटो खिचाखिच गर्दै ओभर हेड बृजबाट मुल सडकलाइ छोडयौं।

हाम्रो लक्ष्य र गन्तव्यस्थान भनेको आमा रकको पाउलाइ छुनु, र प्रकृतिको हरियालीमा रमाउदै  साहित्यिक कार्यक्रम गर्नु थियो। हामी मुल सडकबाट केही माथी पुग्दा निक्कै ठूलो कुलो भेटयौं। त्यो कुलो आमा रक,लायन रक जस्ता अग्ला डाँडामा वर्षात हुँदा पानीलाइ निकास दिन, परेको पानीले बस्ती,शहरलाइ डुवान हुन नदिन, भु क्षय हुनबाट बचाउन र सो पानी खानेपानीका लागि  पनि उपयोग गर्नका लागि बनाइएको रहेछ। जुन निकासा तल सेक लेइ मुइ जलाशयमा विलीन हुने रहेछ। वर्षातको पानीलाइ जम्मा गरि खानेपानीका लागि प्रयोग गरिने यस्ता जलाशयहरु  हङकङका कयौं ठाउमा बनाइएका छन। हामी कालो पत्रे सडक  (विल्सन ट्र्याल)  हुँदै कुलोलाई दायाँ बनाउदै लगातार बाटोलाई पाइतालाले नापी रहयौं।

बाटो छेउको कमलो माटोमा बंदेलहरु आफ्नै सुरमा केही पाउनका  माटो उधिनी रहेका देखिन्थे। मसिना माछाहरु कुलोका पानीमा पौडीदै रमाइ रहेका थिए। घामकिराले पानीलाइ फयाट्ट फ्याट्ट छुँदै जिस्काइ रहेको थियो।   आखिर सबैको जीवन हो, प्रकृतिले दिएको  बरदान अनुसार आ-आफ्नो तरिकाले बाँच्नका लागि कर्म गरि रहेका थिए।
हामीले अन्दाजी अढाई कि. मि. सम्मको पाइला चाली सकेका थियौं। पदयात्रीहरु बिसाउने,सुस्ताउने फलैंचामा पुग्छौं। पदयात्रीहरुलाई सुबिधाको लागि यहांँको सरकारले हिड्ने बाटोको ठाउँ ठाउँमा  विश्रामस्थलहरु बनाइ दिएका छन। हामी पुगेको स्थानमा नै आयोजकहरुबाट  खाना खाएर मात्र अघि बढने कुरा भएकाले सबै जम्मा हुन्छौं। प्रकृतिको अनुपम दृश्यहरुलाई आँखा र दिमागले स्वाद लिए पनि ,पेटले भने निहुँ खोज्ला झैं गरि रहेको थियो। हामीलाई मङकी हिलमा आयोजकको तर्फबाट दिइएको खानाको पोकालाइ आ-आफ्नो झोलाबाट झिकी लस्करै  बसेर स्वादिष्टताका साथ मजाले मुर्याइयौं।

हामी  पुनः कुलोलाइ पछ्याउँदै अगाडि बढी रह्यौं। मैले जानकारीका लागि आमा रकबारे लेखिएका सूचनाहरुलाइ मोबाईलमा कैद गर्दै हिडि रहे। आमा रकलाइ चिनियाँ क्यन्टोनिज भाषामा मोङ फु सेक अर्थात ” श्री मानलाइ पर्खिरहेकी ढुङ्गा ” भन्दो रहेछ। मैले एउटा सूचनापाटीमा आमा रकको किम्बदन्तीबारे यस्तो लेखिएको भेटें। ” कुनै समय त्यस नजिकैको गाउँको मानिस आफ्नो श्रीमति र दुई जना बच्चालाई छोडेर काम गर्न परदेश गए, तर त्यो मानिसले कहिल्यै घरमा पत्र र खबर पठाएन। उसको श्रीमतिले दुई जना बच्चालाई लिएर माथी डाडामा आफ्नो श्रीमान आउछ कि भनी दिनदिनै पर्खी रहिन। तर कुनै दिन ठुलो  आँधीले गर्दा तिनिहरु ढुंगाको स्तम्भमा परिणत भएका थिए। ” ( once upon a time,the master of a family  in a nearby village left his wife and two children behind to work overseas .But he sent no letters home . His wife climbed  to the hill top with the children and waited for husband daily . And in one day, they became stone columns after  a thunderstorm.)
आमा रक र लायन रकका अग्ला डाँडाको छायाँले गर्दा गर्मीको महसुस त्यति भएन। हामीलाइ बेला बेला तलबाट आएको सिर्सिरे बतासले छुँदै उकालो लाग्दा हिडाइमा राहत मिलेको थियो। अग्ला डाडाका चेपबाट उम्रीएका पानी कुलोमा पुग्नु पुर्ब मसिनो संगीतयुक्त ध्वनि निकाल्दै मिसिएका दृश्यले मन आनन्दित भयो। हामी पदयात्रीका पाइतलाहरु आफू खुसी आमा रक तर्फ चली रहदा अन्दाजी ५-६ कि. मि. हिडि सकेका थियौं।

आमा रकको फेदमा -३

अलिक छिटो पाइला चाल्ने सहयात्रीहरुले दोबाटोमा पर्खी रहेका थिए। हामिले कुलोलाइ छाडेर अब भने डाँडा तिर लाग्नु पर्ने रहेछ। मैले  माथी डाँडाको टुप्पोमा अचानक हेर्दा ठूलो बडेमानको ढुङ्गा ठिङ्ग उभिरहेको देखे।म छक्क परेर केही छिन अवाक हुँदै विशाल चट्टानलाइ हेरि रहें।  त्यहाँबाट छुट्टिने बाटोहरुको दिशाबारे सूचना लेखिएको थियो। जसमा दाहिने पट्टिको उकालो आमा रक डाडा, जसको लम्बाई ०.५ कि.मि. र त्यहाँ पुग्न आधा घण्टा लाग्ने। यसैगरी देब्रे पट्टीको उकालो लागे, लायन रक डाँडा पुगिने र जसको लम्बाइ १.९ कि.मि. त्यस ठाउँमा पुग्नका लागि १ घण्टा लाग्ने। कुलोको बायाँ पट्टी हुँदै तल ओर्लिए लाइन रक टनलमा ( सवारी साधनहरु डाँडा मुनिबाट पास हुने बाटो ) पुग्न सकिने रहेछ।

हामी दाहिने पट्टिको उकालो हुँदै गन्तव्य स्थान आमा रक तिर लाग्छौं। शारिरमा घामको सिधै प्रकाश, उकालोको हिँडाइ, स्वासप्रस्वास  प्रक्रियामा तिब्रता ,मुटुको उफ्राइ उस्तै , शरीरबाट पसिना तरर, लगाएको कपडा झ्याप्पै भिजि सकेको थियो। उकालो छोटो भए पनि बास्तबिक पदयात्रा शुरु भएको थियो। खोल्सोमा सङ्लो  कलकल पानी बगि रहेको देख्दा गएर झ्यापै तातिएको जिउलाइ  झ्याइ हुने गरि भिजाइ दिउँ कि भन्ने पनि सोंचे।
पदयात्रीहरुको उँभो जाने र उँधो झर्ने चापले बाटो नै जाम हुदा सगरमाथा चढदा पनि मानव जाम हुन्छ भन्ने समाचारलाइ झल्यास सम्झिएँ।   म स्याँ स्याँ फ्याँ फ्याँ हुँदै घ्याम्पे भुडीलाइ ठेल्दै आमा रकको पाउ सम्म पुग्न सफल भएँ। बाफ रे, कल्पना गरे भन्दा नि ठुलो र अग्लो करिब १० – १२ मिटरको उचाइमा ठडिएको ढुङ्गा देख्दा प्रकृतिको आबिस्कार तथा संरचनाप्रती नतमस्तक भएँ। आमा रकलाई छुने मौका दिएकोमा हङकङ साहित्यिक साझा शृङ्खलाका टिम प्रति आभारी भएँ। हामीले आमा रकलाइ पृष्ठभुमि बनाउदै सामुहिक, ब्यक्तिगत तथा सेल्फी फोटोहरु खिच्दै आ-आफ्नो प्रतिबिम्बलाई मोबाइलमा कैद गर्यौ।

हङकङ साहित्यिक साझा शृङ्खलाको पदयात्रापछिको औपचारिक साहित्यिक कार्यक्रम अझै डल्लै बाँकी थियो। साहित्यिक कार्यक्रम भर्खरै हिडेर छिचोलेको कुलै कुलोको बाटो फर्कनु पर्ने रहेछ। हामी केही सहयात्रीहरु आमा रकको बायाँ पट्टि तल रहेको फलैंचामा चिसो हावाको प्रतीक्षामा गलेर थ्याच्छ बस्न पुगेका थियौं।  त्यस स्थानमा पनि साहित्यक कार्यक्रम गर्न सकिने पर्याप्त मात्रामा ठाउँ थियोे। यहि ठाउँमा कार्यक्रम गर्दा पनि हुने थियो नि केही सहयात्रीले मनको कुरा पोखे। तर आयोजकको योजनालाई मान्नु पर्ने नै थियोे। केहि सहयात्रीहरु आमा रक पुगेपछि आ-आफ्नो समस्या, बाध्यता र ब्यस्तताका कारणले बाटो तताए। कोहि अघिको उकालोबाट ओरालो झरेछन। हामी तितरबितर जस्तै भइएछ। हामी पनि समुहसंग छुटि सकेका रहेछौं।
हामी डाँडाको बीचबाट उम्रीएको मुलको पानी पिएर मात्र अन्य सहयात्रीलाई भेट्ने सल्लाह भयो। हामी भाइ राज कुमार राइलाइ पछ्याउँदै  सो स्थानमा पुग्नका लागि उकालो,तेर्सो, हुँदै ओरालो लाग्यौं। हामी मुलको धारामा पुग्दा  कलकल सङलो, सफा चिसो पानी बहि रहेको थियो। यो पानी बाहिरी वातावरण भन्दा ज्यादै नै चिसो थियो। हामीले खाली बोतलमा चिसो पानी थापेर घटघटी  पिउदै तिर्खा मेटाएर ओरालो लाग्यौं।  

हामी फलैचा  सहितको विश्रामस्थलमा पुग्दा संस्थाको ब्यानर टागिएको थियोे। निकै ठूलो ठाउँ वरिपरि हरियाली, स्वच्छ हावा, शान्त वातावरणमा हङकङ साहित्यिक साझा शृङ्खलाको ११२ औ भागलाइ कवि टि.बि.याख्खाले सन्चालन गर्नु  भयो। मुख्य अतिथि जनरल कन्सुलर उदय बहादुर राना हुनु हुन्थो। आ- आफ्नो  बिचार पस्कदै कविता वाचन गरेर आमा रक सम्मको पदयात्रा र साहित्य गोष्ठीको बीट मारियो।


नोट: साहित्यिक कार्यक्रमको सम्पुर्ण समाचार सामाजिक सन्जालमा छ्यापछ्यप्ती  सम्प्रेषण भएका छन। धन्यवाद ।



०५ अक्टोबर २०२२
तु क्वा वान,हङकङ

तपाईको प्रतिक्रिया