हाल नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति रहनु भएका भूपाल राई नेपाली गीत संगीतको क्षेत्रमा एक कालजयी नाम हो । चालिसको दशकदेखि पहिचानको मुद्धाप्रति प्रतिबद्ध उहाँको लेखनमा रैथाने स्वर र सुगन्धहरु पाइन्छ । आदिवासी सौन्दर्यशास्त्र , उनीहरुको संस्कृतिको अर्गानिक स्वरुप उहाँको लेखनमा जबरजस्त रुपमा आएको हुन्छ । मार्क्सवादी दर्शनबाट नजिक रहेका उहाँका कविताहरु बास्तबमै समग्र नेपाली कविहरुको कविताबीच फरक र शक्तीशाली छ । प्रस्तुत छ साताको तीन कविता ।

मेरी यारी ! मलाई एकदमै हतार छ

जुलुसजस्तो जिन्दगी हाँकेर
हेर !
म तिम्रो ८४ लाख जुनिमा उपस्थित छु

तर माफ गर मलाई
म तिम्रो प्रेमको आरामदायी काउचमा बसेर
कुनै उत्तरजन्मको भविष्यवाणी
पर्खिरहन सक्दिन
मलाई अफसोच छ
किनभने मलाई एकदमै हतार छ

सय सय जुनिको तिम्रो भक्तिलहरी
कुनै धुरन्धुर वस्तादको स्वरमा गुन्जिए जस्तै
मेरो पनि जन्म जन्मान्तर हुने भए
म छुट्याउँने थिएँ एउटा जुनि गीतलाई
अर्को जुनि छुट्याउँथे दुखको सौन्दर्यलाई
छुट्याउथेँ तेस्रो जुनि मुक्तिको उज्यालोलाई
र अन्तिम जुनि तिम्रो प्रेमलाई

तर अफसोच छ
मलाई एकदमै हतार छ

सक्छौ ?
बन्द गर त्यो ८४ औँ योनिको लीला
च्यात दिमागबाट
आधा लेखेर पट्याइएको कागज
र माया गर – मेरो मायाको बिज्ञानलाई
कि सबथोक मायाको न्युटन सिद्धान्त
र प्रणय शास्त्रको आइन्स्टाइन सुत्र
मैले यहि जुनिमा परिक्षण गरिसक्नु छ
बाँचिन्जेल भूतका रसायन
र भविताका अणु परमाणुहरु
मैले यहि जिन्दगीले भोग्नु छ

धेरै गाँसहरु बैँशको हतारमा
या कुनै अनाशक्त हातमा
छाडेर हिडेको छु
म त्यो दिनको पनि भोको छु
धेरै सासहरु अर्काको ईच्छामा
अर्काकै छातिमा जो फेरेको छु
म त्यसको पनि भोको छु
सिङ्गै खोला धाएर मेट्न नचाहेको तिर्खा
सिङ्गै ब्रह्माण्ड पाएर चढ्न नसकेको चोमोलुङ्मा
यात्राको यस टाकुराबाट हेरिपठाउँछु
म त कहाँ हो….कहाँ
झर्दै झर्दै आइपुगेछु

अफसोच छ
मलाई साच्चिनै हतार छ

हतार हतारमै टिपेर हिड्नु छ
मैले जुलुसबाट एउटा जिन्दगी
बदल्नु छ एक पछि अर्को स्टेसन
छुट्नु छ रेल
र हतार हतारमै फेरि
हाँक्नु छ मैले अर्को जुलुस
पिउन नजानेर चोख्खै -बगि गएको खोला
चढ्न नसकेर झन झन अग्लिगएको चोमोलुङ्मा
र छाडेर हिडेका युगिन भोकहरु
जसलाई गालेर दुई थोपा पदार्थमा
जम्मै जम्मै क्षतिको हिसाब स्वरुप
मैले यहि जुनिमा रोइदिनु छ

यहि जुनिमा लेखिसक्नु पर्ने छ
मैले दुखको सौन्दर्यशास्त्र
ढलेका छन् आफ्नै आँसुको धरहरामुनी
अनाम गाथाका शिरहरु
तिनलाई कसैगरी उठाउनु छ
लड्नु छ सघन लडाई अँध्यारो पृथ्वीसंग
र हल्लाउँदै मुक्तिको उज्यालो ग्रहमा
तिम्रो प्रेमको गुलाफी रुमाल
यहि जुनिमा गाउँनु छ
मैले सय सय जुनिको गीत

बिस्वास छैन मलाई
कुनै अर्को अतिरिक्त जन्मको
हेर, एक दिनको मेरो एक डल्ला घाम
मेरै थाप्लोको क्षितिजबाट
अब उत्तरार्ध ढल्किसकेको छ
बिस्तारै साँझ पर्नै लागेको छ
र एकैछिन पछि तिमिलाई छाडेर
मैले फेरि घर फर्किनु छ
मेरी यारी !
त्यसैले मलाई हतार छ
मलाई एकदमै हतार छ ..

रारा कि अप्सरा ?

हरेक सुन्दर चिज
मात्र त्यस्तो हुदैन
जस्तो एक भब्य दरबारबाट निस्किएको
कुनै राजाको आँखाले देख्छ

रारा !
निस्सन्देह सुन्दर छ
जति कि दुखी आमाहरुको नीलो आँसु
या आँसुले भिजेको मुगुको दुर्गम छाती
अथबा गरिबहरुको गहिरो पसिना

हरेक सुन्दर चिज
मात्र कुनै लहडी कविको
अप्सरा हुदैन ..

अन्तिम हिसाब

सात सात अर्ब मानिसहरु मध्ये
मात्र तिमी एकजनालाई
सुनाउनु पर्ने एउटा कुरा छ
तर समस्या छ
दुनियामा तिमी एक्लो छैनौ
तिमिसंगै सात सात अर्ब मानिसहरु पनि छन्

सुन्ने अधिकार तिम्रो हो कि हैन ?
थाहा छैन
तर नसुनाउने अधिकार कसैसंगै छ भने
त्यो केवल मसंग मात्र छ

अँ ह ! सुनाउँदिन

मात्र तिम्रो लागि खिपेको ओँठको ढाई अक्षर
ओँठमै बाँध्नेछु
उँड्न लागेको सासको एक संवाद
सासमै थुन्नेछु
र मेरो अन्तिम प्रस्थानसंगै
लगेर आफ्नो चिहानमा
त्यसलाई
आफैसंग सेलाउनेछु

बल्ल
थाहा पाउनेछौ
घाटा कसलाई पर्नेछ !

तपाईको प्रतिक्रिया